हरि जिज्ञासु
कक्षा दशमा पढ्दाखेरी मलाई महिनावारी के हो भन्ने कुरा त्यति नजिकबाट थाहा थिएन । केटीसाथीहरु ‘टाउको दुख्यो’ भन्दै शिक्षकलाई सोधेर घर जान्थिन् । उनी बसेको बेन्चमा रगत चुहिएको देखेर केटा साथीहरु एक आपसमा जिस्किदै कुरा काट्थे । म भने के ठूलै विरामी परेछीन् क्या हो भनेर झस्किन्थेँ । पछि विस्तारै थाहा पाएँ महिनावारी भनेको महिलाहरुको लागि प्राकृतिक नियम रहेछ । जुन उमेर बढे संगै प्रत्येक महिनाको एक पटक यौनीबाट रगत बग्दोरहेछ ।
हामी नेपाली समाजमा छौँ । हामी पुरुष प्रधान देशमा बसोबास गर्छौँ भन्ने कुरा पनि सबैलाई थाहा भएकै कुरा हो । अहिलेको समयसम्म आईपुग्दा जसले जे भनेता पनि पुरुषबाट महिला अपहेलित नै छन् । यो भन्दा दश वर्ष अगाडि कति अपहेलित थिए र आज कति छन् भन्नेकुरामा तुलनात्मक रुपले मात्रै फरक होला । संसारमा रहँदासम्म महिला र पुरुषको जिम्मेवारी कसको कति भनेर तुलना गर्दा पुरुषले महिलाप्रति गर्ने व्यवहारको अध्ययन गर्दा पूरा हुन्छ ।
महिनावारी महिलाहरुको लागि प्राकृतिक नियम हो भन्ने कुरा नबुझी महिनावारीलाई देबतासँग जोडेर पश्चिमका केही जिल्लाहरुमा महिनावारी भएका महिलाहरुलाई छाउगोठमा पठाइन्छ । यस्तो प्रकारको घृणित कार्यमा समाजको धार्मिक आस्था र पुरुषत्व पनि जोडिएको छ । महिलाका समस्याको समाधनाको लागि महिलाले नै आवाज उठाउनु पर्छ र दलितको समस्याको लागि दलित ले नै आवाज उठाउनुपर्छ भन्ने अच्चमको सोच नेपालमा छ । अहिलेसम्म कुनै पनि त्यस्तो बीर पुरुष देखेको छैन महिलाको अधिकारको लागि दिनरात खटिएको ।
पश्चिम नेपालका केही त्यस्ता दुर्गम गाउँहरु छन् जुन गाउँहरुमा सकभर अझै पनि सेनिटरी प्याड भनेको के हो भन्ने कुरा थाहा छैन । उनीहरु बिचरा टालोको भरमा आफ्नो महिनावारीलाई पार लगाउँछन् । आफ्ना देशका महिलाहरुलाई पुरानो अर्थात थोत्रो टालोले प्रत्येक महिना रातो रगत पुछ्न बाध्य बनाउने हाम्रै सरकार होइन र ? देशका ठूला झिलीमिली सहरमा बस्ने पुँजीपति वर्गका महिलाहरुले ब्राण्डेड सेनिटरी प्याड किनेर लगाउँनुलाईमात्र विकास भनिदैन । डोल्पा जिल्लाको एउटा विकट गाउँकी महिलाले बर्षौँ लगाएर च्यातिएको लुंगीको टुक्राले महिनावारीको रातो रगत कसरी पुछ्न सक्छिन् भन्ने कुराको अध्ययन गरी समस्या समाधानको निकास खोज्नु पनि एक प्रकारको विकास हो ।
भन्सार विभागको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७७÷७८ मा १ अर्ब ५ करोड मूल्य बराबरको १७ लाख ३८ हजारको सेनिटरी प्याड भित्रिएको कुरा अन्नपूर्ण पोष्टले गत असोज १३ गते प्रकाशित गरेको थियो । यो त सेनेटरी प्याड मात्रै भित्रिएको हो । नेपालमा ३० भन्दा बढि सेनेटरी प्याड उत्पादन हुने कम्पनी छन् । सेनेटरी प्याड उत्पादनको लागि ती कम्पनीलाई चाहिने सबै कच्चापर्दाथ अन्य देशहरुबाट आउँछ । ठूलो मात्रामा सेनेटरी प्याड सरकारले बाहिरबाट आयात गर्छ । यति ठूलो रकम बाहिर जाँदा सेनेटरी प्याडको लागि छुट्याईएको रकममा पनि भ्रष्टचार नहोला भन्न सकिन्न ।
हिजो आज सेनेटरी प्याडको मूल्य बढ्यो भनेर केही अधिकारकर्मीहरुले विरोध जनाएको पाईन्छ । विरोध जनाउनु स्वभाविक पनि हो । किनकि सेनेटरी प्याड भनेको महिलाहरुको रातो रगत लुकाउने साधन हो । अझ नागरिकहरुको जिम्मेवारी पूरा गर्ने सरकार भएको भएत महिलाहरुको रातो रगत लुकाउने साधनलाई निःशुल्क उपलब्ध गराउनुपर्ने हो । तर सरकारले सेनेटरी प्याडमा कर बढाउने प्रयत्न गर्छ । बजारमा सेनेटरी प्याडको मूल्य बढ्छ । प्रत्येक महिनामा गुप्ताङ्गबाट बग्ने रातो रगत लुकाउने सेनेटरी प्याडको मूल्य बढ्दा दिदीबहिनीहरुको मन चसक्क किन नदुख्ला र ?
मन कसको दुःख्ने र कसको नदुख्ने भन्ने कुराले पनि फरक पार्छ । यदि कोही आर्थिक रुपमा सम्पन्न दिदीबहिनीहरुलाई त्यसले खासै फरक नर्पला तर जसको प्रत्येक महिना प्याड किन्न सक्ने क्षमता छैन उनीहरुको मन चाहिँ पक्कै दुःख्छ । यो मन दुःखाउने काम सरकारले गरेको हो । सहर बजार बाहेक विकट गाउँहरुका अधिकांस दिदीबहिनीहरुले प्याड प्रयोग गर्दैनन् । किनकि कतिपय दिदीबहिनीहरुमा प्रत्येक महिना प्याड किन्न सक्ने क्षमता नभएपछि उनीहरुले टालो प्रयोग गर्छन् । टालोको प्रयोग गर्नुले ग्रामिण क्षेत्रका अधिकाँस महिलाहरु पाठेघरसँग सम्बन्धित रोगी हुन्छन् ।
त्यसकारण महिलाहरुको लागि प्राकृतिक प्रकृया महिनावारीलाई व्यवस्थापना गर्ने जिम्मा सरकारले लिनुपर्छ । किनकि यो महिलाहरुको लागि बाध्यात्मक प्रस्थिति हो । यस्तो बाध्यात्मक प्रस्थितिको ब्यवस्थापन गर्ने जिम्मा सरकारले नलिए कसले लिने ? दुःखलाग्दो कुरो के छ भने, नीति निर्माण गर्ने ठाउँमा सम्पतीवाला व्यक्तिहरु पुगेका छन् । उनीहरुका छोरी, नातिनीहरुलाई प्याड किन्नको लागि गाह्रोको विषय होइन् । प्याडको मूल्य बढ्यो भनेर उनीहरु सडकमा आउनु पनि जरुरी छैन । र अर्को कुरा सम्पती आर्जन गरेका नेताकार्यर्ताहरुलाई सबै जनता आफू जस्तै छन् जस्तो लाग्ने भएकाले गरिबीमा जीवन विताईरहेका दिदीबहिनीहरुको कथा के थाहा ।
वास्तविक गरिबी के हो भन्ने कुरा हामीलाई थाह छ । वास्तविक गरिबी के हो भन्ने कुरा दुर्गम गाउँहरुमा महिनावारी हँदा च्यातिएको टालोले रातो रगत लुकाउने महिला दिदीबहिनीहरुलाई थाह छ । महिनावारी हुँदा पनि एक छाक खानकै लागि काम गर्ने दिदीहरुलाई थाह छ । काम गर्दा गर्दै रगत बगेर त्यो रगत देखेपछि अरुले के भन्लान भनेर तर्सिनुपर्ने बाध्यता रहेको बहिनीहरुलाई थाह छ । त्यसकारण नेपाल सरकारले महिलाहरुको प्राकृतिक नियममा सञ्चालित महिनावारी व्यवस्थापनको जिम्मा लिनैपर्छ । नेपालका प्रत्येक महिलाहरुले सेनेटरी प्याड निःशुल्क पाउँनुपर्छ । किनकि यो बाध्यता हो ।
सहरबजार भन्दा अलि बाहिरका गाउँहरुमा बसोबास् गर्ने दिदीबहिनीहरुको कथा धेरै फरक छ । पश्चिम नेपालका केही जिल्लाहरुमा महिनावारी भएपछि छाउगोठ सर्नुपर्ने नारीहरुको कथा झन् फरक छ । गरिबीसँग जुधेर बाध्यताले रगत बगाउने तर रगतको व्यवस्थापन गर्न नसक्ने दिदीबहिनीहरुको कथा कति छन् कति । यी रगतसँग जोडिएका कथाहरुको न्यूनिकरण गर्ने एउटै उपाय भनेको सरकारले कर बढाउनुको सट्टा यसलाई निःशुल्क वितरण गर्नुपर्छ । रातो रगतको कथाले जसको पनि मन पोल्छ जसको पनि मन दुःख्छ सरकार । सेनेटरी प्याड किन्ने पैँसा नभएर महिनावारी हुँदा रातो रगत लुकाउन नसक्नुले आफूलाई खिन्नता महुसस् गर्ने प्रिय दिदीबहिनीहरुको आँसु लुकाउनु आवश्यक छ । लेखक रुकुम पश्चिम आठविसकोट नगरपालिका निवासी हुन ।