उता विकट गाउँहरुमा खेतीकिसान गरेर आफ्नो ज्यान पाल्ने किसानहरु घर छेउको खोलामा पुल नभएको कारण आधा घण्टा हिडेर यात्रा गर्नु र यता मुसिकोट खलंगाको लामो र अग्लो झोलंगे पुलमा युवायुवतीहरु टिकटक बनाएर मुस्कुराउँनुले सरोकारवाला र जिम्मेवारी निकायका मान्छेहरुलाई कत्तिको आनन्दको महसुस् हुन्छ त्यो त मलाई थाहा भएन । तर गाउँघरमा बर्षातको समयमा उर्लेर आउने खोलामा पुल नभएर दुःख पाएका धेरै किसान दाजुभाईहरुको आँसु सहितको दुःखेसो मैले सुनेको छु ।
हरि जिज्ञासु
रुकुम पश्चिमको सदरमुकाम मुसिकोटमा निर्मित खलंगा ब्राहाटाकुराबाट सल्ले विमानस्थल जोड्ने झोलंगे पुल निर्माण भएको देख्दा धेरैको मनमा खुसी छाएको छ । एक करोड ३० लाखको लागतमा निमार्ण भएको झोलंगे पुलको विषयमा कतिपयले आलोचना समेत गरेका छन् । तर यो विषयमा मेरा केही समर्थन संगै केही आलोचनात्मक विचार पनि छन् ।
एक ठाउँबाट अर्को ठाउँ पुग्न नदी वा खोला सहज साथ पार गर्नको लागि पुलको आवाश्कता पर्ने गर्छ । नेपालका अधिकांस पुलहरु यात्रुहरुलाई खोला वा नदीबाट बचाउनको लागि निर्माण गरिएको छ । तर हाम्रो रुकुम पश्चिमको मसिकोट खलंगाबाट सल्ले विमानस्थल जोड्ने २३८ मिटरको अग्लो झोलंगे पुल नदी वा खोलाबाट बच्नको लागि नभई दुरी नजिक होस् भनेर निर्माण गरिएको छ । यस्ता दुरी नजिक होस् भनेर निमार्ण गरिएका पुल नेपालमा कम छन् ।
जिल्लाका केही महत्वपूर्ण सरकारी कार्यालयहरु र विमानस्थल सल्लेमा भएका कारण झोलंगेपुल निर्माण भएपछि यात्रुलाई यात्रा केही छोटो भएको त छ नै । तर अहिले तत्कालका लागि यात्रा छोटो र लामोको सन्दर्भ भन्दा पनि पुलमा अड्डीएर टिकटक बनाउने, फोटो खिच्ने, भाइरल पुल भन्दै सामाजिक सञ्जालमा पोष्ट गर्ने गरिएको छ । नयाँ पुस्तालाई टेक्नोलोजी र यस्ता खालका सुन्दर झोलंगे पुलहरुले राम्रै साथ दिइरहका छन् । किनकि उनीहरुलाई फोटो खिच्न र टिकटक भिडियो बनाउन यस्तैखालका पुलहरु आवश्यकता पर्दछन् ।
हामीले मुसिकोट खलंगा र सल्लेको बीचमा पुल झुण्डिनुलाई कुन दृष्टिले हेर्दैछौँ भन्ने कुरा महत्वपूर्ण हुन्छ । पर्यटन विकासमा टेवा पु¥याउनको लागि निर्माण भएको होकी ? अथवामा आम जनताका दुःखका भावना बुझेर उनीहरुको यात्रालाई केही छोटो बनाउन निर्माण गरिएको हो भन्ने कुरा बुज्नु महत्वपूर्ण हुन्छ । तर पछिल्लो अबस्थामा लामो र अग्लो झोलंगे पुल निर्माण भएको देख्दा सबैको चासो गएको छ र धेरै जनाले पुलमा गएर टिकटक बनाउने फोटो खिच्न अनी भिडभाड गर्ने भएकाले दुई जना सुरक्षाकर्मी समेत खटेको समाचार बाहिर आएको थियो ।
पुलमा टिकटक भिडियो बनाई सामाजिक सञ्जालमा पोष्ट गर्ने चाहाना राख्नु, पुलमा अड्डीएर फोटो खिच्नु, लगायतका कुराले कहिले काहिँ दुर्घटना निम्ताउन सक्छ भन्ने कुराको ज्ञान आम रुकुमेली दाजुभाई दिदीबहिनीहरुमा हुन आवश्यक छ । पुल धेरै लामो र अग्लो भएका कारण पुलको माध्यामबाट आत्महत्याको प्रयास पनि हुनसक्छ भन्ने कुरालाई त्यहाँका सुरक्षाकर्मी लगायत सरोकारवालाहरुमा ध्यान जानु पनि अत्यन्त आवश्यक छ । लामो झोलंगे पुल झुण्डिनु, विजुलीका पोल घर अगाडी उभिनुलाई मात्र विकास भन्ने प्रचलन नेपालमा छ । बास्तमा त्यो झोलंगे पुलमा गएर पुल हल्लाउन हुन्न, धेरै समयमा त्यहि पुलमा उभिनु हुन्न भन्ने ज्ञानको विकास हुनु पनि मेरो व्यक्तिगत विचारमा विकास हो ।
रुकुम पश्चिमका कतिपय स्थानीय तह छन् जहाँ झोलंगे पुलको अभाव छ । समुदायको सक्रियतामा निर्माण गरिएका काठका पुल जुन वर्ष निमार्ण गरिएको हुन्छ सकरभर त्यहि बर्ष खोलाले बगाउँछ । यदि बगाएन भने एक दुई वर्षमा नै काठको पुल कुहिएर दुर्घटना निम्तिएको हामीले देख्छौँ । उता विकट गाउँहरुमा खेतीकिसान गरेर आफ्नो ज्यान पाल्ने किसानहरु घर छेउको खोलामा पुल नभएको कारण आधा घण्टा हिडेर यात्रा गर्नु र यता मुसिकोट खलंगाको लामो र अग्लो झोलंगे पुलमा युवायुवतीहरु टिकटक बनाएर मुस्कुराउँनुले सरोकारवाला र जिम्मेवारी निकायका मान्छेहरुलाई कत्तिको आनन्दको महसुस् हुन्छ त्यो त मलाई थाहा भएन । तर गाउँघरमा बर्षातको समयमा उर्लेर आउने खोलामा पुल नभएर दुःख पाएका धेरै किसान दाजुभाईहरुको आँसु सहितको दुःखेसो मैले सुनेको छु ।
सरकार जनताको हो र जनता सरकारका हुन् । जनताका सामुहिक र केहि व्यक्तिगत आवश्यकता पूरा गर्ने जिम्मा सरकारको हुन्छ । खोलाले बगाएर यात्रुको ज्यान लिन सक्छ भनेर निमार्ण गरिएको पुल महत्वपूर्ण की यात्रुको यात्रा केही छोटो होस् भनेर निमार्ण गरिएको पुल महत्वपूर्ण हो भन्ने कुरा जिम्मेवारी निकायले बुझ्नु आवश्यकता महत्वपूर्ण छ । मेरो मतलब मैले सल्ले र खलंगाको बीचमा पुल बन्नु हुँदैन्थ्यो भन्ने चाहिँ पटक्कै खोजेको होइन । निमार्ण भएको पुलको उचित सदुपयोग गर्दै रुकुमका दुर्गम गाउँहरुमा अझै पनि काठका पुल छन्, अझै पनि धेरै खोलाहरुमा पुल छैनन् ती पुल नभएको ज्यान लिने खोलामा पुल निर्माण गरेर सरकारले दुखी गरिबको ज्यान बचाइदियोस् भन्ने हो । उता दुर्गम गाउँहरुमा खेती किसान गरेर जीवन धान्ने दाजुभाईहरु प्रत्येक वर्ष उर्लीएर आउने खोलामा पुल नभएर संधै दुःखी हुने अनी हामी यता लामो र अग्लो पुलमा टिकटक र फोटो खिच्दै मुस्कुराउँनुले सचेत नागरिकको चेतनामा खासै आनन्दको महसुस् हुँदैन ।
त्यसकारण पुल निर्माण हुनु नराम्रो कुरा हैन । धेरै राम्रो कुरा हो । हामी सबै जनताले तीरेको करको रकमबाट एक करोड ३० लाख खर्चीएर निर्माण गरिएको पुलबाट टिकटक बनाउने र फोटो खिच्ने मात्रै सन्देश नगएर यस्ता खालका पक्की झोलंगे पुल दुर्गम गाउँहरुका खोलामा आवश्यकता छ भन्ने कुराको सन्देश जाओस् । निर्माण भएको पुल लामो र अग्लो भएका कारण यसबाट दुर्घटना र आत्माहत्या प्रयास जस्ता घटना घट्न सक्ने संभावना देखिएकाले सबै पुल प्रयोगकर्ता लगायत जिम्मेवारी निकायहरुको ध्यान जाओस् । विशेषगरी पुल निमार्ण गर्नका लागि पहल गरेका सरोकारवाला,जिम्मेवारी निकायका व्यक्तित्वहरुले निर्माण भएको पुलमा युवा युवतीले टिकटक भिडियो बनाएर सामाजिक सञ्जालमा पोष्ट गरेपछि, भिडियो हेरेर मख्ख मात्र पर्ने नभई, हामीले दुर्गम गाउँमा रहेका ज्यान लिने खोलामा पुल निमार्ण गरेर त्यहाँका दुःखी गरिब किसानको मनको घाउमा मलम लगाउनु आवश्कता छ भन्ने ज्ञान रहोस् ।