प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहितालाई विभिन्न मातृभाषामा अनुवाद गरी प्रकाशन गर्ने अभियानलाई तीव्रता दिएको छ । काउन्सिलले हाल २ वटा (नेवा र मैथिली) भाषामा आचारसंहिता प्रकाशन गरेकोमा थप ३ वटा भाषामा अनुवाद गर्ने काम अन्तिम चरणमा पुगेको छ ।
काउन्सिलको विधागत पत्रकारिता विकास उपसमितिद्धारा मङ्गलबार आयोजित ‘विधागत पत्रकारिताको विकासमा प्रेस काउन्सिलको भूमिका’ विषयक कार्यक्रममा काउन्सिलले जारी गर्ने पत्रकार आचारसंहितालाई विभिन्न मातृभाषामा अनुवाद गर्ने कार्यलाई तीव्रता दिइएको होे ।
हाल मैथिली र नेवा २ वटा भाषामा अनुवाद गरिएको र थप ३ वटा (डोटेल, थारु र भोजपुरी) भाषामा अनुवाद गर्ने काम अन्तिम चरणमा पुगेको अध्यक्ष बालकृष्ण बस्नेतले जानकारी दिए । उनले विधागत पत्रकारिताको विकासका लागि आवश्यक पहल लिन काउन्सिल तयार रहेको भन्दै सम्बन्धित पक्षबाट आउने सल्लाह र सुझाव सङ्कलन गरी हातेमालो गर्दै अघि बढ्ने विश्वास व्यक्त गरे । अध्यक्ष बस्नेतले विधागत पत्रकारितालाई बलियो बनाउन सके देश समृद्ध हुने भन्दै भाषाको जगेर्नामा टेवा पुग्ने बताए । उनले काउन्सिलले मातृभाषामा आचारसंहिता प्रकाशन गर्दै मातृभाषाको संरक्षण र सम्बद्र्घनमा योगदान दिएको बताए ।
विधागत पत्रकारिता विकास उपसमितिका संयोजक एवं काउन्सिलका सदस्य शरदप्रसाद अधिकारीले साहित्यलाई अनुत्पादक क्षेत्र भनेर सरकारले प्राथमिकतामा नराखेको गुनासो गरे । काउन्सिलका सदस्य ठाकुरप्रसाद बेलबासेले पत्रकार र सरकारबिचको सम्बन्ध सेतुको काम काउन्सिलले गरेको भन्दै विधागत पत्रकारितालाई मुलधारमा ल्याउनुपर्ने बताए ।