दामोदर पौडेल
रुकुमकोट, रुकुम पूर्व
आज असार मसान्त म र मेरी उनी (हृदय) विवाह बन्धनमा बाँधिएको ३० वर्षको वर्षा ऋतु पूरा भई ३१ औँ वर्षमा प्रवेश गर्दै छ । हाम्रा लागि यो दिन स्मरणयोग्य दिन हो । तीनदशकको हामी बिचको सहयात्राका केही अनुभूतिहरु संक्षिप्त रुपमा यहाँहरु समक्ष पस्कन खोजेको छु ।
२०३८ साल माघ महिनामा दिएको एस.एस.सी. परीक्षाको रिजल्ट २०३९ सालको श्रावण दोस्रो सातामा प्रकाशित भएको थियो । म द्वितीय श्रेणीमा पास भएको थिएँ । एस.एल.सी.पछि सहरका क्याम्पसमा गई प्राविधिक शिक्षा पढ्ने तीब्र इच्छा ममा पलाएको थियो । विशेष गरी ओभरसियर पढ्ने मेरो इच्छा थियो । पढ्नका लागि घरमा आर्थिक स्रोत जुट्न नसकिने अवस्था आएकाले पढाइलाई थाती राख्दै शिक्षण पेशातर्फ लागेँ । २०३९ भाद्र २४ गते हाल रुकुम पश्चिम जिल्लाको आठबिसकोट दाँजे तत्कालिनको हिमालय निम्न माध्यमिक विद्यालयमा प्रा.वि. अस्थायी शिक्षकमा नियुक्त भई पढाउन लागेँ । त्यस समयमा एस.एल.सी. पासको मासिक तलब स्केल ३२५ रुपैँया थियो । आफूले पनि पढ्दै र विद्यालयमा पढाउँदै २०४० साल असार २३ गते प्रा.वि. तहमा स्थायी भई हाल पूर्वी रुकुम भूमेको मोराबाङ तत्कालिनको शहीद शुक्र नि.मा.वि. सिमामा पोष्टिङ भएँ । त्यही विद्यालयमा कार्यरत रहँदै गर्दा आइ.ए. पास गरी नि.मा.वि. तहमा पोष्टिङ भएँ र पछि बि.ए. सम्म त्यसै विद्यालयमा रहँदै गर्दा पास गरेर २०५२ सालको आयोगको रिजल्ट २०६० सालमा आएकाले २०६० सालदेखि मा.वि. तहमा स्थायी कार्यरत रहेको छु । वि.स. २०५५ वैशाखदेखि मुसिकोट नगरपालिका स्थित यमुनानन्द नमुना माध्यमिक विद्यालय सेरीगाउँ रुकुम पश्चिममा हालसम्म कार्यरत रही प्रधानाध्यापकको जिम्मेवारी पनि सम्हाल्दै आइरहेको छु । आजसम्मको मेरो शिक्षण सेवातर्फको लगानी ३९ वर्ष १० महिना ७ दिन हुन आउँछ । यति लामो शिक्षण कार्यमा रहँदा के गरेँ ? के गर्न सकिन ? समीक्षाको विषयको पाटो अर्को सन्दर्भमा जोडौँला तर यस आलेखमा एस.एल.सी. टेस्ट परीक्षा पास गर्दै विवाह गर्ने कुरा जोडिन आएका सन्दर्भहरुलई टार्दै २०४८ सालको असार मसान्तको दिनमा दाङ घोराहीको बाल मन्दिर हलमा गरिएको प्रगतिशील विवाह र विवाहसँग जोडिन आएका केही सान्दर्भिक कुराहरु जोड्न गइरहेको छु ।
हामी पौडेलहरु आत्रेय गोत्रथरका रुकुमकोटको आला गौतम अत्री गोत्रथरका बाहुल्यता भएको ठाउँमा बस्ने भएकाले गौतमहरुका चेलीबेटीहरु विवाह गर्न लायकका धेरै थिए । म आफैमा फुच्चे भएपनि एस.एल.सी. पास गरेको, स्थायी शिक्षक समेत भएकाले विवाह गर्नका लागि कुनै समस्या नै थिएन । त्यतिखेर एस.एल.सी. जिल्लामै औँलामा गनिन सक्ने अवस्था थियो । मा.वि. तहका विषयसमेत एस.एल.सी. पास गरेकाले पढाउने अवस्था थियो । घरमा आमाले साँझ बिहान खाना खाने समयमा विवाह गर्ने कुरा नगरेको दिनै हुँदैनथ्यो । घरमा आउने जाने पाहुना इष्टमित्रहरुलाई भन्न छुटाउने त कुरै थिएन । तर मलाई भने विवाह गर्ने कुराले कतै पनि छुँदैनथ्यो । म आफू सार्थक रुपमा बलियो नभई विवाह गर्ने पक्षमा थिइनँ तर बिधुवा बुढी आमाका इच्छा आकाङ्क्षाहरुलाई पन्छाउँदै गएकामा दुःख भने लाग्दथ्यो । २०४४ वैशाखतिरको कुरा हो, आमाले धेरै कर गरेपछि साइली सानीमाकीेछोरी ठूली दिदी र भतिजा ज्ञानेन्द्र पौडेलसँग साथ लगाइ गाउँबाहिर अन्य ठाउँहरुमा केटी हेर्न पठाउनु भयो । आमाको इच्छा वैशाख जेठ विवाहका लगन महिनाभित्र जसरी पनि विवाह गराउनुु थियो । म पनि अब बाध्य भएर विवाह गर्ने मुडमा गएको थिएँ । गाउँघर वरपरका चेलीहरुदेखि अन्य ठाउँहरुमा हेर्दै जाने जहाँबाट गर्ने हो छिट्टै गरिहाल्ने योजनाकासाथ हाम्रो ३ पैदलयात्री रुकुमकोटबाट एकाबिहानै हिडि साँझ बास बस्न मुसिकोट सेरीगाउँ बुढा मावली सानाबुवा शशीराम गौतमका घरमा पुग्यौँ । बुबाकै सल्लाह र नचिनेको बाटाको नाम ठाउँ जानकारी लिँदै अर्को दिन करिब ३ बजेतिर उहाँकै नातेदारहरु पर्ने सल्यान स्थित शिवरथ देवकोटा परिवारहरुका घरमा पुग्यौँ । उहाँले खामबन्द गरिदिएको हाते पत्र एकजना आमालाई बुझाइ हिड्ने केही समय भएकाले हिडन् खोज्दा ती पत्र बुझ्ने आमाले मान्नु भएन वास बस्न करै लाग्यो । त्यस परिवारमा विवाह उमेरका दुइवटी राम्रा चेलीहरु पनि थिए । तिनिहरु केही दिन अगाडि दाङबाट घरेलु उद्योग तालिम लिएर आएका र एस.एल.सी. पढ्दै गरेका रहेछन । छोराहरु भने दाङ, काठमाडौँ पढ्न गएका रहेछन् । ती चेलीहरुसँगै घरनजिक काफल खान पनि गयौँ । हामी बास बसेको परिवार सभ्य, सुसंस्कृत थियो । एकाबिहानै पकाएको खीर खाएर र बाटामा समेत खीर लिएर हिड्यौँ । बरालाको उकालो चढ्दै गर्दा पिपलनेटानिर खलङ्गा जाने एक दम्पतीलाई भेट्दा अब धेरै हिड्न नपर्ने र उहाँहरुसँगै जाने भएकाले ढुक्क भएर अगाडि बढ्ने क्रममा कुरा गर्दै जाँदा उहाँ रामकुमार राई सुर्खेत वीरेन्द्रनगर सामुदायिक चिकित्साशास्त्र क्याम्पसमा टाइपिस्ट खरिदार पदमा कार्यरत भएको बताएकाले मैले तहाँ क्याम्पसमा हुने पढाइको बारेमा बुझ्दा त्रि.वि.अन्तर्गत १ वर्षे समुदाय चिकित्सा सहायक (अ.हे.व.) पढाइ हुने पढ्नका लागि हिमाल, पहाड र तराईका लागि २०÷२० कोटा र सेवा सर्भिसका लागि १० कोटा छुट्याइ वर्षमा ७० जनाले पढ्ने, व्यवस्था रहेको र एस.एल.सि.मा राम्रो मार्कमा पास भएकाले प्राथमिकताका आधारमा पढ्न पाउने, पछि जागिरी पनी पाउने र जागिरी बाटै बढ्न सके एच.ए. हुँदै एम.वि.वि.एस सम्म पढ्न सकिने बताएपछि मेरो प्राविधिक पढ्ने इच्छा पुनः पलाएर आयो र उहाँलाई भर्ना खुलेमा खबर गरिदिन अनुरोध गरेर मेरो विवाहको योजनालाई अब केही समयका लागि स्थगित गर्ने भित्री योजना बनाइ सकेकाले सल्यान खलङ्गा, गाराकोट, पाखापानी र रुकुम रुँघामा आफन्तहरु मार्फत केटी हेर्ने कार्यलाई अगाडि नबढाइ केवल अनौपचारिक भेटघाटमा सीमित गर्दै घर फर्केँ र आमा र अन्य लाई सम्झाउने तर्फ लागेँ ।

क्याम्पस भर्नाका लागि आवेदन खुलेको खबर राइ सरले हुलाक मार्फत रजिष्टरी पत्र पठाउनु भएको अलि ढिला गरी मध्य वर्षात्को भदौ दोस्रो सातामा पाएँ । पत्र पाएको भोलिपल्टै वर्षातको समय र नचिनेको बाटाको कुनै प्रवाह नगरी झोला, छाता र लुङ्गी बेरी हिँडिहालेँ सानीभेरी किनारै किनार र चौरजहारी पुगेपछि ठूली भेरी किनार पहिल्याउँदै सल्यान वनगार, सल्ली, संग्राही गर्चे हुँदै रामघाट पुल तरी सुर्खेत वीरेन्द्रनगर पुगी क्याम्पस भर्ना आवेदन फाराम भरी भर्नाका लागि राइसरलाई नै अनुरोध गर्दै फर्कने क्रममा सुर्खेत कोहलपुर नेपालगञ्ज बाटो बन्ने क्रममा रहेको, वर्षात्मा गाडी नचल्ने तर प्लेन चल्ने थाहा पाएपछि प्लेन चढ्न रहर जागेर पनि आयो । पहिलो पटक सुर्खेतबाट नेपालगञ्ज प्लेन चढेर आएँ । त्यस समयमा प्लेन भाडा १७० रुपैँया थियो । नेपालगञ्ज दाङ घोराही सम्म गाडीको यात्रा गरी घोराहीबाट पुनः ३ दिनको पैदल यात्रापछि घर पुगेँ । राइसरबाट नै भर्नाका लागि नाम निस्किएको भर्ना पनि गरिदिएको र पढाइ माघ १ गतेदेखि हुने भन्ने खबर पाएकाले ढुक्क भई समयमै पढ्नका लागि सुर्खेत गएँ । क्याम्पसको १ वर्षे कोर्ष पुरा गरी पास पनि भएँ । पाँचहजार छात्रवृत्ति पनि पाएँ तर अगाडि बढ्ने पढाइको नीतिमा भने परिवर्तन भएको, एच.ए. एम.वि.वि.एस. पढ्न लामो समय लाग्ने भएकाले अ.हे.ब. तर्फ जागिरी खान पनि गएन। बरु औषधी व्यवस्था विभागले औषधी व्यवसायीका लागी दिने गरेको अभिमुखीकरण तालिम लिए र औषधी व्यवसायका लागी आधार तयार गरे । उक्त पढाईले मेरो जीवनको आर्थिक स्तरबृद्धीमा महत्वपूर्ण भूमिका खेल्यो र विवाहका लागि पनि स्वास्थ्य तर्फकै व्यक्तिसँग गर्ने कुरामा अभिप्रेरित गर्यो । त्यसैले रामकुमार राईलाई मेरा जीवनमार्गमा परिवर्तन ल्याउने मुख्य वाहकको रुपमा सम्झने गर्दछु ।
अ.हे.ब.(सि.एम.ए.) पढ्दै गर्दा स्वास्थ्य नीतिमा गरिएको परिवर्तनले गर्दा त्यस बाटोबाट अगाडि बढ्न सम्भावना नदेखिएकाले दाङ घोराही महेन्द्र बहुमुखी क्याम्पसमा मानविकी संकायतर्फ वि.ए. पढ्न भर्ना लिएको थिएँ । २०४५ सालमा भारतले लगाएको नाकाबन्दीको अस्त व्यस्तता र पञ्चायती व्यवस्थाको चरम विरोध धर्ना कार्यक्रमहरुले पढाइमा अवरोध पु¥याइरहेको थियो भने २०४६ सालको वृहत् जनआन्दोलन र त्यसको सफलता पछिका राजनैतिक सांगठनिक कार्यक्रमहरुले झनै पढाइ अस्त व्यस्त भई त्यस बर्षको व्याच एकवर्ष पछि प¥यो र २०४८ सालमा मात्र सिद्धिएको थियो । विद्यार्थी स्तरीय देखि पार्टीका हरेक कार्यक्रमहरुमा आफ्नो तर्फबाट संलग्न रहँदै गर्दा र क्याम्पस पढ्दै गर्दाको अवधिमा अब विवाह गर्नुपर्छ भन्ने योजना बनाएको थिएँ । २०४७ साल पौष १५ गते नेकपा माले र नेकपा माक्र्सवादी एकीकृत भई नेकपा एमाले पार्टी बनेको थियो । भातृसंगठनहरु पनि एकीकृत हुँदै थिए । विद्यार्थी संगठनको राप्ती भेरी एकता विद्यार्थी समन्वय समितिको सदस्य रहेका नाताले बाँके बर्दियाका कतिपय क्याम्पसहरुका कार्यक्रममा जाने क्रममा नेपालगञ्ज नेपाल नर्सिङ क्याम्पसमा अहिलेकी मेरी उनी (बाँके खजुराकी हृदयकली देवकोटा) अध्ययन गर्दै रहिछिन् । त्यस क्याम्पसमा नेपाल प्रगतिशील विद्यार्थी युनियनको बाहुल्यता रहेछ । एकताकै क्रममा भएको सामान्य चिजजान पछि विवाहमै परिवर्तन भयो । दुबै पक्षका आफन्त विद्यार्थी संगठन र पार्टी संगठनको सक्रियतामा हामी विवाह बन्धनमा बाँधिने योजनामा गयौँ ।दुबै परिवारका सदस्यहरु कम्युनिष्टमा आस्था राख्ने भएकाले विवाह पनि प्रगतिशील रुपमा गर्ने टुङ्गोमा पुग्यौँ र विवाहस्थल दाङमा नै गर्ने सहमति भएकाले २०४८ असार ०५ गते दाङ जिल्लाको विद्यार्थी संगठनमा संयुक्त निवेदन हाल्यौँ र विद्यार्थी संगठनले असारको मसान्तका दिन घोराही त्रिभुवन पार्कस्थित बालमन्दिर हलमा गर्ने जानकारी गराएपछि हामी विवाह कार्यका लागि आवश्यक काममा जुट्यौँ । र अनेरास्ववियुले आफ्नो कार्यको जिम्मेवारी लियो ।
२०४८ असार मसान्तका दिन बिहान ११ बजेदेखि बालमन्दिर सभा हलमा सुरु भएको दाङकै लागि खुला रुपमा भएको धनदौलत, सामाजिक परम्परा तोड्दै गरिएको प्रगतिशील विवाह पहिलो बनेको थियो तत्कालीनका सञ्चारकर्मीहरुले त्यसैगरीसमाचार सम्प्रेषण गरेका थिए । अनेरास्ववियु दाङ जिल्ला कमिटिका अध्यक्ष शिवकुमार आचार्यको अध्यक्षतामा सञ्चालित वैवाहिक कार्यक्रमको उद्घोषण राष्ट्रिय पार्षद् सदस्य खेममान खड्काले गर्नुभएको थियो भने स्वागत मन्तव्य महेन्द्र बहुमुखी क्याम्पस प्रा.क. अध्यक्ष लक्ष्मण आचार्यले गर्नु भएको थियो । कार्यक्रमको प्रमुख अतिथि नेकपा एमाले केन्द्रीय कमिटि सदस्य तथा राप्ती अञ्चल इन्चार्ज युवराज ज्ञवाली हुनु हुन्थ्यो । भने विशेष अतिथिमा राप्ती अञ्चल सचिव दुर्गाप्रसाद मजगैँया हुनुहुन्थ्यो । दाङ जिल्ला कमिटि पार्टीका सचिव दामोदर अधिकारीलगायत अन्य पार्टी र विद्यार्थी संगठनका पदाधिकारीहरु ,म.ब.क्या.का क्याम्पस प्रमुख देवमणि गौतमलगायत क्याम्पसका अन्य प्राध्यापकहरु, विभिन्न विद्यार्थी संगठनहरुका जिम्मेवार नेताहरु—अखिल क्रान्तिकारीका तारा खनाल, नन्दकिशोर पुन (हाल उपराष्ट्रपति), कुलबहादुर के.सी.(हाल लुम्बिनी प्रदेश सांसद), सन्तोष पुन,अखिल छैटौँका कर्णध्वज बेलबासे, सुरेश थापा, चौम विद्यार्थी संगठनका जीवन गौतम, नेविसंघका राजु खनाललगायतका विद्यार्थीहरु, दाङ नेपाली कांग्रेसका नेता अर्जुन श्रेष्ठ (हाल लुम्बिनी प्रदेश सांसद) दाङका विभिन्न सञ्चारकर्मीहरु, मेरा शुभचिन्तक अन्य विद्यार्थी साथीहरु रुकुमका पञ्चबहादुर के.सी., हिरा शर्मा, हिरा शाह, दत्तबहादुर बस्नेत, रोल्पाका नरबहादुर सेन, द्रौपती आचार्य, अम्बिका आचार्य, कैलाश आचार्य, दाङका तीर्थराज न्यौपाने, सुन्दर गौतम, मीनराज गौतम, प्रतिराज रावत, हरिहर शर्मा, डा. लोकराज पराजुली, प्रताप रेग्मी, दामोदर न्यौपाने, दामोदर बस्नेत, निरा आचार्यलगायतका साथीहरुको साथ र सक्रियता थियो भने मेरा आफन्तको तर्फबाट घरका सहोदर दाजु शोभाकर पौडेल, भतिज तोयानाथ पौडेल, मावली तर्फका दाज्यु डा. दिपक गौतम र विवाहका लागि हामी दुबैका नातेदार भाउजु सुशीला गौतम र महेन्द्र अस्पतालकी नर्स पूर्ण रोका दिदीको उपस्थित थियो । करिब चारसयजना भन्दा बढी उपस्थित भई सञ्चालित प्रगतिशिल विवाहको कार्यक्रममा शुभकामना मन्तव्य, गीत, कविता वाचन, मुक्तक वाचनलगायतका विविध कार्यहरु गरिनुका साथै विभिन्न पुस्तकहरु उपहार स्वरुप प्रदान गरिएको थियो । उक्त विवाहमा हामी वरवधुले केही प्रतिबद्धताहरु पनि व्यक्त गरेका थियौँ । विवाह कार्यमा चिया र नमकिन खाइ जम्मा चारसय नगद खर्च भएको थियो ।
तीन दशकको हाम्रो जीवनको सहयात्राको उत्तराद्र्धमा जीवन जिउनका लागि गरिदै आएका विविध क्रियाकलापहरुका साथै विवाह गर्दा ताका गरेका प्रतिबद्धता र आस्थाबाट हामी दुबै जना विचलित भएका छैनौ । आ आफ्ना पेशा व्यवसायमा रही आ आफ्नै पेशागत हक हितका रक्षार्थ आबद्ध रहेका पेशागत संगठनहरुका जिम्मेवारीहरु लिँदै जिल्ला देखि केन्द्रसम्मको पनि जिम्मेवारी बहन गर्ने गरेका छौँ । इमानदारिता र नैतिकतालाई सधैँ आत्मसात गरेर अगाडि बढिरहेका छौँ । जीवन जिउनका लागि आवश्यक पर्ने आधारभूत आवश्यकताहरु गास, बास र कपासको व्यवस्था बलबुताले भ्याएसम्म गरेका छौँ । आफ्नै बलबुतामा उभिने प्रयत्न गरिरहेका छौँ । हाल म रुकुम पश्चिम जिल्ला सदरमुकाम मुसिकोट नगरपालिका–स्थित यमुनानन्द नमुना माध्यमिक विद्यालयको मा.वि. तहमा स्थायी शिक्षक पदमा कार्यरत रही प्रधानाध्यापकको जिम्मेवारी समेत निभाउँदै आएको छु । भने म्याडम रुकुम पश्चिमको जिल्ला अस्पताल सल्लेमा वरिष्ठ नर्सिङ अधिकृत (सातौँ) पदमा कार्यरत रही उक्त अस्पतालको इन्डोर इन्चार्जको भूमिका निभाउँदै आइरहेकी छिन् । जिल्ला लगायत अन्य ठाउँहरुमा हामी दुबै जना आ आफ्नै भूमिकाबाट परिचित छौँ । विवाह बन्धनमा बाँधिए पश्चात् आ आफ्नै अनुकूलतामा म्याडमले द्यबअजबयिच या ल्गचकष्लन तहको अध्ययन पूरा गरिन् भने मैले एम.ए. अध्ययन गर्ने अवसर मिलाई एक÷एक तह अध्ययन गर्ने समय निकाल्यौँ । अहिले हाम्रा दुई सन्तान छोराहरु छन् । जेठा छोरा अभिनवले Hotel management Bachelor अध्ययन गरी काठमाडौँ लैनचौरस्थित छ star Hotel aflot मा सर्भिस गर्दै र पढ्दै छन् । र कान्छो छोरा अविनले छात्रवृत्तिमा एम.वि.एस. कोर्ष पूरा गरी काठमाडौँ शिक्षण अस्पतालमा एक वर्षे इव्त् पूरा गर्दै छन् । यही सालको गत असार १७ गते जेठा छोराको विवाह कार्यलाई पनि सुसम्पन्न गरिदिएका छौँ । छोराहरुले आ आफ्नै क्षेत्रको लाइन क्लिएर गरी अगाडि बढ्ने क्रममा रहेकाले हामी खुसी छौँ । हालसम्मको जीवनको अन्तरालमा त्यस्ता ठूला समस्याहरु आइपरेका छैनन् । पछि पनि आइनपरुन भन्ने कामना गर्दछौँ । जीवनमा कुनै पनि कलङ्कका धब्बाहरु नलागुन भन्ने कुरामा हामी लगायत हाम्रा सन्ततिमा पनि नलागोस् भन्नेमा सचेत रहँदै त्यस्तै खालका सल्लाह सुझाबहरु पनि दिँदै आएका छौँ । खैर सानातिना त मानवीय कमी कमजोरीहरु त हुने नै भए सकभर सच्याउने प्रयासमा भने रही रहने कुरा भयो । आज सम्मको जीवन यापनका विविध पक्षहरुदेखि हामी सन्तुष्ट छौँ र बाँकी जीवनका पाटाहरु भविष्यमा नै भर पर्ला….. ।
