नीममबहादुर थापा
१–लमहीदेखि रुकुमको मुसीकोटसम्म
रुकुमको अवलोकन गरेर फर्केको पनि १० वर्षमा लागेछ । परिस्थितिले मन नअघाउँदै फर्किनु परेको पीडा आज पनि ताजै छ । सम्भव भए त एक महिना, नभए पनि कम्तिमा १५ दिन नघुमि रुकुमको अवलोकन हुने रहेनछ भन्ने व्यक्तिगत निष्कर्श लिएर फर्केको थिएं । उता मुसीकोट आएर रुकुमकोट नआई फर्केको भनेर पुवार थापा गोत्यार वन्धुहरुको कचकच अझै सकिएको छैन । आदरणीय साहित्यकार द्वय प्रशासकहरु कमलमणि देवकोटा र नीलमकुमार न्यौपाने मुसीकोटमा कार्यरत रहँदा आमन्त्रण गर्नु भो समय मिलाउन सकिएन । साहित्यिक कार्यक्रम समपन्न भो त्यसमा पनि सकिएन, कहिले सकिन्छ त ? समग्र रुकुमको अवलोकन गर्ने वातावरण मिलाउन यो प्रश्न आफैमाथी तेर्सिएको दश वर्श लाग्दै छ ।
तपाईको घर कहाँ हो ? कुनै अपरिचित मित्रले सोध्नु भो भने, देश भित्रै भए जवाफ दिइन्छ, राप्ती अञ्चल ! राप्ती अञ्चल घर भन्ने बित्तिकै प्यूठान, दाङ, रोल्पा, रुकुम र सल्यान पांच जिल्ला भित्रको मानिस रहेछ भन्ने बुझ्नु पर्दछ । म आफै राप्ती अञ्चल घर भनेर कैयांै स्थानमा आपूmलाई चिनाएको छु । प्यूठानमा जन्मेर दाङलाई कर्मथलो बनाइयो । रोल्पामा ०३० सालतिर करिब दुई महिना जति प्रा.वि.जवाङमा मास्टरी गरियो र ०५२ साल फगुन २२–२५ गते चारदिनसम्म सुलिचौर, गुम्चाल, सानो गाम हुदै ठूलो गामसम्म घरायसी कामले घुम्ने अवसर पाइएको थियो । ठूलो गामको उत्तरीभाग रुकुम र बाग्लुङको सीमासंग सटेको छ । यसरी तीनवटा जिल्लाबारे जानकार नै रहियो । सल्यानको कपुरकोटसम्म एकपटक पुगेको थिएँ । रुकुम टेक्न पनि पाइएको थिएन । ०६८ माघ महिनामा सम्पन्न स्यार्पु महोत्सवमा पत्रकार मित्र मेगराज खड्काले निम्तो गरेका थिए, जाने तीब्र इच्छा हुँदा हँुदै पनि आफ्नो गृह क्षेत्रमा रिहार धार्मिक महोत्सव र जंगलकुटी प्राकृतिक महोत्सवमा भूमिका रहेकोले संभव भएन । संयोगले वि.सं २०६८ साल चैत्र १५–१७ छोटो यात्रा गरिएको थियो । राप्ती आंखा अस्पताल एवं नेपाल नेत्रज्योती संघ दाङको सक्रियतामा रुकुममा आंखा उपचार केन्द्र स्थापना गर्ने पुनित कार्यक्रमकासाथ रुकुमको सदरमुकाम मुसीकोट खलङगासम्म निस्कने सु–अवसर मिलेको थियो ।
अघिल्लै दिनदेखि मन कल्पिएको थियो । आंखाभरि शारदा र सानी ÷ठूली भेरी नदीको नागेबेली, वसन्तको बहारसंगै भीरपाखाभरी राताम्य भएका लालीगुराँस, खोल्सा खाल्सीमा टुसाएको निउरो र डौंडेका ठोंसाहरु, बारीका कान्ले सुर्काहरुमा तारे माले छेउ–छेउ र कुना–कुना आ..इज घुम गरिरहेका दाजु भाइ, बांज र कटुसका डाला काट्दै वनै ¥यांउ–¥यांउ रन्किने गरी गीत गाइरहेका दिदी बहिनीहरु, यस्तै यस्तै र अन्य थुप्रै लहरहरु मनमा खेलीरहेका थिए । चैत्र १५गते विहान ८ बजे तुल्सीपुर पुग्ने सल्लाह अनुसार बिहानै हतारो गर्दै लमहीतिर लम्कन थालें । बिहानको शीतल मौसम लामो–लामो पाइला चाल्दै लमही पुग्दा तरतरी पसिना छुटेका थिए । बिहानै चिसो पानीले नुहाई मन खुशी बनायर हिंडेको म पसिना काडेपछि ज्यान झन हलुङगो भएको थियो । बस तुल्सीपुरका लागि गुड्न शुरु ग¥यो । भित्री मनमा नयां अनुभूति संगाल्ने इच्छाका आंकुराहरु टुसाई रहेका थिए । बाहिरि मन एक आपसका भलाकुशारिमा ब्यस्त रहंदै ठिक ७ बजेर ५० मिनेटमा तुल्सीपुर चौराहामा पुग्यौं ।
बसबाट झरेर यताउता आंखा डुलाउँदा राप्ती आंखा अस्पतालको गाडी तेल हाल्न पम्पतिर गुडेको देख्यौं । पश्चिमतिरबाट नेत्रज्योती संघका सदस्य यमप्रसाद पाण्डे हाम्रा अगाडि आइपुग्नु भो । चौकको उत्तर–पश्चिमतिरको कफि पसलमा कफि र ब्रेड खायांै । पसलमा कार्यरत किशोरी र परिचित ग्राहक किशोरबीच मिठो सम्वाद चल्यो । किशोरले भन्यो यी केक तथा ब्रेड बासी त छैनन् तनुजा ? युवकले मागेको सामग्री प्याक गर्दै, नानीले जवाफ दिइन् बिहान हुन्छ, दिउसो हुन्छ, साँझ हुन्छ, मध्यरात हुन्छ अनि आउँछ अर्को बिहानी, हामी त्यही बिहानीलाई बासी भन्ने गरेका छौं । तर्पण, जीवनचक्रलाई बुझ्ने कोशिस गर त, त्यति पनि सक्दैनौ भने मलाई विश्वास गर प्लिज । त्यत्तिकैमा आंखा अस्पतालका प्रसाशकीय अधिकृत किरण पौडेललाई लिएर गाडी चालक मानबहादुर वली (रुकुमको खारा घर) सहित गाडी हाम्रा अगाडि आएर उभियो । जीप रक्षाचौरतिर हँुइकियो । रक्षाचौर नजिकै आफ्नो घरबाट कृष्णकुमार गिरी चढ्नु भो, त्यसपछि थोरै अगाडि रुकुमका पञ्चायतकालीन अन्तिम उपसभापति डिल्लीरमण खड्कालाई उठाए पछि बल्ल हाम्रो यात्रादलले पुर्णता पायो ।
पदीय औपचारिकताको आधारमा नेपाल नेत्रज्योती संघ एवं राप्ती आंखा अस्पताल व्यबस्थापन समितिका सचिव कृष्णकुमार गिरीको नेत्रृत्वमा ७ सदस्यीय हाम्रो यात्रादल उकालो चढ्यो । कताकति बाहेक सल्यानको श्रीनगर (शितलपाटी) सम्म बाटो कालोपत्रे रहेछ । रक्षाचौर–कपुरकोट खण्डमा पर्ने राम्री भन्ने स्थानबाट लालीगुराँसले हामीलाई स्वागत गर्न थालेका थिए । बिहानको ९बजे कपुरकोट पुगेर चिया पियौं । केहीबेर कपुरकोटलाई कोट्याएर चियायांै । मेरो पहिलेको अवलोकन भन्दा कपुरकोटले भौतिक निर्माणमा धेरै फड्को मारेको रहेछ । कृषि अनुसन्धान केन्द्र भने केही खस्के जस्तो लाग्यो र दक्षिणतर्फको पहिरो रोकथामका लागि भने कुनै प्रयास भएजस्तो लागेन मलाई ।
डिल्लीरमण जीका पुराना अनुभूतिहरु र स्थान विशेषको जानकारी लिंदै अरिङ्गाले खोलाको दाहिने किनारा हँुदै सल्लेखोलाको दोभानसम्म ओरालोमा गाडी सुतु…तु…झ¥यो । अब हामीहरु मरिचमान सिंहको बिसौनी मानिने शहर उन्मुख सानो र चिटिक्क परेको लुहाम बजारमा पुग्यांै । त्यहां पहिले हुलाक र चौकि थियो रे ! म आफ्ना आंखा वारिपारि पखेरा र रसिला फांटहरुमा दौडाई रहेको थिए । बांयातर्फ पर्दो रहेछ फलावाङ दरबार । खोलाको छेवै देखि माथि टाकुरासम्म साल र सल्लो बराबरीमा मिश्रित वन देखेर असाध्यै आनन्दित थिएँ म । उँचो भागमा हुने सल्लो र हाेंचो भागमा हुने साल दुबैलाई सुहाउने जलवायु स्वच्छ र स्वस्थताको चिनारी हो भन्ने मलाई अहिले पनि लागिरहेको छ । गरिज्यूला फांटको सुन्दरता, छांयाछेत्र जांदा नुहाउने शंखमुल, तीब्र गतिमा भौतिक निर्माण हुन लागेको श्रीनगर जस्ता रमण्ीाय र मनोरम दृष्यहरुलाई अटाई नअटाई आंखामा राख्दै बरला पुगेर गाडी रोकियो । किरणजीले खाना तयार गर्न फोन मार्फत खबर गरि सक्नु भएको रहेछ ।
हातमुख धोएर बाहिर रहेको छाते स्टलमा वरिपरी बस्यौ । खसि, लोकल कुखुरा र माछा के ल्याऊँ ? एलिसा होटेलकी बहिनीले सोधिन, उनी नेपाली सेनाबाट स्वेच्छिक अवकाश लिएका पेन्सनर मित्र शशीराम भण्डारी कि जीवन संगिनी रहिछन् । शशिजीसंग पनि परिचय भयो । मैले शुरुमै भनिहालें, शारदा नदीका माछा खाने सु–अवसर मैले त छोड्ने वाला छैन । इच्छानुसार असाध्यै स्वादिलो खाना खायांै । बिहान १० बजेर ४३ मिनेट जांदा हामी त्यहां पुगेका थियौ । आधा घण्टा पछि हाम्रो गाडी शारदा नदीको बांया किनारा हुदै खरिबोटतिर गुड्न शुरु ग¥यो । म मेरा आंखा डुलाउँदैमा हराउँदो रहेछु क्यारे, बेला बेलामा साथीहरु कुनै न कुनै प्रसंगले कोट्याउनु हुन्थ्यो । उहाँहरु संग रुकुमसित गांसिएको अतित पनि थियो । अतितका रोमाञ्चित गफसफ गरेर मेरो मन तान्ने प्रयास प्रायः असफल भैरहेको थियो, उहाँहरुको । मेरो रुकुम यात्रा अंध्यारोलाई चिर्दै जीवनलाई उज्यालो बनाउने आंखा उपचार केन्द्रको स्थापना गर्ने पवित्र उद्देश्यका साथ थियो । यो सु–अवसरलाई मैले पहिलो र दोश्रो दुबै सफल्ता हात लगाउन चाहन्थें ।
अघाएको पेट कच्ची बाटोमा हल्लाउँदै हाम्रो यात्रा मोखला, कालाखेत, थारमारे, बाघचौर, खरिबोट, लौराबाङ, बाङगेलांकुरी, शिउरत, स्थलहरुमा आंखा दौडाउँदै रुकुम र सल्यानको सिमानामा पर्ने खौलाछेणा पुग्यौ । त्यहींबाट शारदा नदी उत्पत्ति हुँदो रहेछ । सानो नदी भएर पनि दुबैतिर रसिला फाँटहरु निर्माण गर्दै सल्लेखोलामा मिसिएर पश्चिम दक्षिण छिरेर बबैलाई भेटाउन दगुर्दो रहेछ । अब हामीहरु रुकुमका श्रृङखलाहरु तिर नजर घुमाउँदै झुलनेटातिर सुइकिरहेका छौं । झुलनेटामा केहिबेर बिसायौ । बिस्तारित सानो बजार झुलनेटा बाटोको वारी सल्यान र पारी रुकुम पर्दो रहेछ । दुबै जिल्लाको नोमेन्सलाइन (मध्य रेखा)को काम गर्ने यो ठाउँबाट रुकुमका धेरै भूभागहरु अवलोकन गर्न सकिंदोरहेछ । सिस्ने हिमाललाई अंगालोमा बाँध्न मन लाग्यो मलाई । पहाडी पाखाहरुमा छाना टल्कने गाउँहरु नियाल्यौं ।
चिया पिएर चर्चित खारा (सतिपोल) क्याम्पतिर ओरालो झ¥यौ । जनयुद्धको चर्चित खारा क्याम्पलाई आंखामा कैद गर्दै पुरानो बजार सिम्रतुतिर ओरालो लाग्यौं । सिम्रतु पुगेपछि बाटो तेर्पाए तेर्पाए हँुदै बैरा ठांटीतिर लाग्दो रहेछ । सिम्रतुमा रहेको शहिद विशेश्वर पोख्रेलको घर बाटोमै रहेछ । त्यहीबाट उहाँको चर्चा शुरु भयो । स्थानीय युवा बलबहादुर वली मृगौला पिडित बिरामी रहेछन् तर उनले हाम्रो गाडीमा चड्न मागेनन् । डिल्लीरमण जीले रोकाएर गाडीमा हालेपछि बल्ल थाहा भयो उनी बिरामी रहेछन् । मन भित्रभित्रै खुशी लाग्यो । अस्पतालको गाडीले थोरै भए पनि उनलाई सहयोग पु¥याउन सक्यो अनजान मै । उनी विशेश्वरलाई राम्ररी अध्ययन गरेका युवा रहेछन् । उनले भने, ‘पौडेल बिचारमा दृढ, व्यबहारमा सामाजिक रुपले लोकप्रिय व्यक्तित्व थिए । सुरक्षा निकायले घरबाटै समातेर लगी हत्या गरेको थियो रे’ । यस्तै गफगाफ हुँदाहँुदै मलाई लाग्यो, विशेश्वर पोख्रेल, यदु गौतम, बिष्णु पौडेल र कृष्ण सेनहरु अहिले भौतिक रुपमा छैनन् । रहेको भए कस्को भाग खोसिंदो हो र ? जीवितहरु सबै अटाएकै छन् क्यार ! भाग पूरो सबैलाई पुगेकै छ !!
देउखुरीमा राजमार्गले कोइलावासलाई रुवाए जस्तै मध्य पहाडी राजमार्गले बैराठांटीलाई सुकाइदिएछ । त्यहाँको बजार उठेर सोलावाङमा प्रमोशन भएछ । चांपखोलाको उत्तरी किनारामा अवस्थित सुन्दर फाँटको ढिकढिकै एकलाइनमा निर्मित पक्कि घरहरु, त्यसपछि फराकिलो राजमार्ग अनि उत्तरी भागमा भने अझै निर्माण शुरु भएको थिएन, अहिले त भरिएहोला पक्ककै । मलाई पनि सोलावाङमा सानो झुप्रो बनाएर बसांै–बसांै नलागेको होइन । उसो त म जहां पुग्यो त्यहीं लोभिन्छु त्यसैमा झन आंखै अगाडि सिस्ने र उसका शाखा सन्तान मुस्कुराउने रुकुम । त्यहीबाट चौंरजहारी हुदै रुकुमकोटतिर गाडी जांदोरहेछ ।
अब बाटो उकालो भए पनि हामीलाई रुकुमको सदरमुकाम मुसिकोट खलङ्गाले माथीतिर तानी रहेको थियो । मेरा सहयोगी पत्रकार देउखुरी दैनिक र तराई टिभि च्यानलका रुकुम प्रतिनिधि, हाल आहा साप्ताहिकका प्रकाशक सम्पादक मेघराज खड्काले फोन गरेर हामिहरु आइपुगेको लोकेशन माग गरे । सोलावाङबाट उकालो लागेको जानकारी गराएँ मैले । गाडी ऐतिहासिक मुसिकोट थुम्को हुदै कृषि अनुसन्धान केन्द्र चापलाई नियाल्दै नेता प्रभाकर शर्मा, बरिष्ठ साहित्यकार प्रेमप्रकाश मल्ल, युवा साहित्यकार रामप्रकाश पुरी र अन्य अगुवा ब्यक्तित्वहरुको गृह थलो शेरिगाउँलाई छिचोल्दै, बागबजारलाई सुमसुम्याउदै, सदरमुकाम खलङ्गाको मध्यभागमा अवस्थित भुटानी होटल अगाडि पुगेर हाम्रो गाडी रोकियो । त्यहाँ सर्वप्रथम ज्योति मेडिकलका सञ्चालक एवं नेपाल रेडक्रस सोसाइटी रुकुमका अध्यक्ष मित्र नरबहादुर नेपाली र पत्रकार मेगराज खड्काले हामीलाई स्वागत गर्नु भयो ।
गन्तव्यमा पुगिसकेका थियौं । झोला बिसायौं । चिया पियौं । देउखुरी गंगापरस्पुर घर भई रुकुममा जनज्योति पुस्तक पसल सञ्चालन गरी बसेका मित्र वेदराज शर्मा र उहाँका परिवारसँग भलाकुशारी ग¥यौ । विद्यालय निरीक्षक प्रेमकुमार खड्का र एमाले नेता ठगेन्द्रप्रकाश पुरीसँग परिचय ग¥यौं । त्यसपछि ३ किलोमिटर उत्तर सल्यमा रहेको जिल्ला अस्पतालको अवलोकन गर्नतिर हिड्यौ । अस्पतालको नजिक बसपार्क रहेछ, १२ वटा जति बसहरु पार्किङ्गमा थिए । त्यहाँबाट पश्चिम फर्केर हेर्दा उत्तरतिरबाट आएर अंग्रेजी एल आकारमा फनक्क घुमेर नागेवेली खेल्दै सानीभेरी पश्चिम चौरजहारीतिर कुदेकी रहिछिन् । वारिपारी वन किनारामा गहुँ वाली लहराइराखेको फाँट, त्यसपछि खेत, वगर अनि निल गगन सानी भेरीको पानी, यो दृश्य सल्लेडाँडाबाट हेर्दा कसको पो मन नलोभिएला र ? मेरो पनि लोभियो । अस्पतालको गेटसम्म गाडी जाँदोरहेछ । नजिकै हवाई मदान रहेछ । पेउला लेकतिरबाट सुइँय… आको चिलगाडि नपत्याउँदो किसिमले बस्यो, फताफत मान्छेहरु बिस्टायो र त्यतैबाट चाह्रो खायो अनि उड्यो ।
अस्पतालबाट फर्केपछि जिल्ला प्रहरी कार्यलयको गेटबाट सिढि चढेर प्रशासन, जिविस हुँदै कुनै कालखण्डमा ऐतिहासिक दैलेखी दरबार रहेको खलंगा टाकुरामा पुग्यौ । अवशेषको रुपमा ठूलो निराल मात्र रहेछ र त्यहाँ भारतीय दूतावासको सहयोगमा त्रिभूवन उच्च माविको भवन बनाउन खाल्डा खनिएको रहेछ । यो देखेपछि मलाई लाग्यो, स्थान अभावका कारण पुरातात्विक महत्वको दरवार नस्ट गरिएको होला, यद्यपि दरबारमा पहिले नै आगो लागेको थियो रे । यही घुमफिरको सन्दर्भमा मैले साहित्यकार मित्रहरु रामप्रकाश पुरी, नदीराम केसी, गण्ोश चिन्तन र मेरा गोत्यार भाइ रामबहादुर पुवार थापालाई फोन सम्पर्क गरेँ । यस्तै यस्तैमा पंहेली घामको मधुरो किरण पश्चिमी क्षितिजतिर ढल्क्यो । अँधेरीले पछ्यायो । तालिका अनुसार बिजुली बत्ती पनि गयो । टुकीबत्तिको मिरमिरेमा खाना खायौँ । आफ्नै मोबाइलमा सानीभेरी र सिस्ने एफ एमको गुञ्जनसँगै दिनभरी हल्लिएको ज्यानलाई तनक्क तन्काइयो । निष्पट्ट रातभर सुतियो ।
भोलिपल्ट चैत्र १६ गते बिहानको नित्यक्रम सकेर फनक्क खलंगा बजार एकफेरी लगाएर म आफ्नो कोठामा नानीकी आमासँग रमाउन थालेँ । साथीहरु कता कता घुम्नु भयो । मलाई थाहा भएन, तर मलाई भने नानीकी आमाले मोहनीनै लागाइछन् क्यारे १० बजेको पत्तै पाएन । नानीकी आमा उपन्यास युवा साहित्यकार रामप्रकाश पुरीको लेखनको हिसावले तेस्रो २०५८, र प्रकाशनको हिसावले पहिलो २०६३ रहेछ । नानीकी आमालाई मैले जनज्योति पुस्तक पसलबाट लिएर पढेको थिए । म नानीकी आमासँगै लुटमुटिदा साथीहरुले खाना खाने कुरा गर्नुभो । खानापछि हामी अस्पतालमा मेडिकलका अधिकृतलाई भेट्न पुग्यौं । निमित्त मेडिकल अधिकृत काभ्रे घर भएकी डा.दीपा भेटुवाल र जनस्वास्थ्य निरीक्षक शिवनारायण रजकसँग परिचय र भलाकुशारी भयो । छोटो बसाइँ सौहार्दपूर्ण रह्यो । फर्कदै गर्दा रामप्रकाश पुरीजीको फोन आयो, उहाँले भन्नु भो म पुस्तक पसलमा तपाइँसँग भेटघाट गर्न आतुर छु । हतारो गर्दै म त्यहाँ पुगेँ, हात मिलायौं, एकअर्काको हालखबर सोध्यौं । मैले देउखुरी दैनिकको स्मारिका दिएँ । मित्र पुरीजीले नानीकी आमा, सच्चाइका गीत र वनमाराका बुटाहरु ३ वटा उपन्यास र ४४१ पेज ठूलो विचरण महाकाव्य तथा ग्रहण नलागोस् खण्डकाव्य गरी पाँचवटा कितावको झोला मेरो हातमा थमाइदिनु भो । उहाँसँगको छोटो भलाकुशारी, उहाँले प्रदान गरेको आतिथ्य र पाहुरले मलाई गम्भीर बनायो । त्यो गाम्भीर्यता खुशीको थियो । …बाँकी !
२–औपचारिक कार्यक्रम र ०६८ पहिलेको रुकुम
जिल्ला प्रशासन कार्यालयमा दिउसो १ बजे सर्वदलीय सर्वपक्षीय अन्तरक्रिया कार्यक्रम मित्र नरबहादुरजीले मिलाउनु भएको थियो । पुरीजी र म त्यतैतिर निस्किदै थियौं, बाटोमा नेपाल पत्रकार महासंघ रुकुमका अध्यक्ष कमल थापासँग परिचय भयो । हामी तीनजना प्रमुख जिल्ला अधिकारी बेनीमाधव ज्ञवालीजीको कार्यकक्ष छि¥यौं । ज्ञवालीले विवेक शाहको मैले देखेको दरवार अवलोकन गर्दै हुनुहुँदो रहेछ । उहाँसँग मैले परिचय गरेँ । थापा र ज्ञवाली दुबैलाई एक एकवटा देउखुरी दैनिकको स्मारिका दिएँ । क्रमशःअन्य साथीहरु भित्रिन शुरु भयो । हाम्रा कमाण्डर गिरीजीले विषय प्रवेश गराएपछि छलफल सुरु भयो । प्रशासनको छाना टिनको रहेछ । छलफल मध्यभागमा पुगिरहेको वेला गजबले पानी प¥यो जसका कारण एकआपसमा कुराकानी नै नसुन्ने भएपछि अन्तरक्रियामा केहीबेर सुस्तता आयो । पानी होलो भएपछि छलफल अत्यन्त सौहार्दपवूर्ण र सकारात्मकतातिर गइरहेको बेला कुन्नी कस्तो चिन्तनले बोल्नुभो नेपाल पत्रकार महासंघ रुकुमका पूर्व अध्यक्ष एवं सिस्ने एफएमका सञ्चालक नारायणकुमार शाहजीले जिल्ला अस्पतालले जग्गा दिने, जिबिसले भवन बनाइदिने, सञ्चालन व्यवस्थापन आँखा अस्पताल आफैले गर्ने र आँखा उपचार गरेर पैसा नेत्रज्योति संघले कुम्ल्याउने त हुँदैन ? सोच्नुपर्छ भन्दै आशंका व्यक्त गर्नुभयो । उहाँ आफै एनजीओ चलाउनु हुँदोरहेछ । एनजीओ चलाउँदा विभिन्न जिल्लाहरुमा पारदर्शिताको प्रश्न उठेको रेडियोबाट समाचार पनि बजाउनु हुन्छ होला ।
त्यसो त यसमा स्पष्ट पार्न आवश्यकता नै थिएन तर नेत्रज्योतिसंघले प्रविधि र आँखासम्बन्धी जनशक्ति मात्र दिने हो, व्यवस्थापन, सञ्चालन रुकुमकै मित्रहरुले गर्ने हुँदा उपचारबाट कति पैसा आउँछ र त्यो कहाँ खर्च भयो भनेर हेर्ने पनि उहाँहरुले नै हो । नेत्रज्योति संघ एनजीओ भएपनि अरुहरु जस्तो मासिक लाखौं तलब कुम्ल्याउने होइन । देशभरीका लोककल्याणकारी व्यक्तिहरुबाट आजीवन सदस्यता वापत प्रतिव्यक्ति करिब १५ सय रुपैयाँ तिरेर नेत्रज्योतिसँघमा संगठित भएको रकमले प्रशासनमा थोरै सहयोग हुन्छ । प्रविधि, दक्ष जनशक्ति र वेलामौकामा निर्माण सहयोग नर्वेजीयन संस्थाले गर्दछ भनी त्यस कार्यक्रमका संयोजक कृष्ण गिरीजीले स्पष्ट पारेपछि छलफलबाट सकारात्मक निष्कर्षमा पुग्यौं । शाहजीलाई साथ दिदै हुनुहुन्थ्यो नेविसंघका मित्र खड्गबहादुर डाँगी । त्यसो नहुँदा पनि नेपाल रेडक्रस सोसाइटी रुकुमले निःशुल्क भवन दिने वचन दिइसकेको थियो । अस्पतालमै आँखा उपचार केन्द्र स्थापना गर्दा विरामीहरुलाई झनै सुविधा हुने भएकोले सबैको चाहना सल्लेमै केन्द्रित थियो ।
फलतः हाललाई अस्पतालले कोठा उपलब्ध गराउने र जिविसको अगुवाइमा कम्तिमा तीनकोठे भवन निर्माण गर्ने सहमति भयो । यसका निमित्त छलफलमा सहभागी मित्रहरु सबैलाई धन्यवाद । विविध प्रसंगमा माथि उल्लेखित महानुभावहरु समेत अस्पताल व्यवस्थापन समितिका अध्यक्ष धनवीर वली, नेपाली कांग्रेसका कृष्णबहादुर रोकाय, एमालेका ठगेन्द्रप्रकाश पुरी, निमित्त स्थानीय विकास अधिकारी शिवकुमार कार्की, राप्रपाका मुकुन्द शाह, उद्योग वाणिज्य संघका प्रवीर डाँगी, दलितवर्ग उत्थान समितिका नैनसिंह दमाई, रेडियो सानीभेरीका बीरबहादुर मल्ल, समाजसेवी शशिराम भण्डारी र नारायणप्रसाद उपाध्याय, डा.दीपा भेटुवाल, नेपाल रेडक्रस सोसाइटी रुकुमका उपाध्यक्ष प्रेमजंग मल्ल र मन्त्री शिवराम खत्री, एनेकपा माओवादीका रामशुर बुढा लगायतका तीन दर्जन जति व्यक्तित्वहरुको सक्रिय सहभागिता रह्यो । रुकुमका लागि एउटा सकारात्मक निर्णय गरेर कार्यक्रम स्थलबाट हामीहरु बाहिरियौं ।
सम्भाव्यता कार्यको पूरा अध्ययन भएको थियो । आँखाका विरामीहरुको चाप, पायक पर्ने स्थान, भौतिक (घर) अवस्था र सर्वदलीय, सर्वपक्षीय सहमति यिनै थिए हाम्रो अध्ययनका विषयहरु । साथीहरु चिरपरिचित रहेर होला यताउता घुम्न थाल्नुभो तर मलाई भने समग्र रुकुमलाई चिनाउने पुस्तकहरुको खोजी थियो । जिल्ला विकास समितिको स्मारिका एउटै मात्र प्राप्त भएको र त्यो किरणजीले अफिसमा चाहिने भनेपछि रुकुम छँदै त्यो पुस्तक नियालेर सक्नुपर्ने भयो र त्यसैमा व्यस्त हुनथाँले । आँखाले भौतिक अवस्था हेर्दा खलंगामा एउटा मात्र खरको छाना भएको घरको बनावट अहिले पनि मेरो मानसपटलमा ताजै छ, तर त्यस स्थानमा यो नौ वर्षमा नौ तला त पक्कै ठडिए होला !। एउटै घरको पहाडी राजमार्गमा दर्जनौं सटर र ६ तलेसम्मका निर्मित थिए । डोजरले भित्ताको पहरो खोपेर तीव्र गतिमा भौतिक विकास हुँदै थियो, आज त त्यही खलङ्गा बजार हो र ? भन्ने किसिमले बिकास भएको होला ।
अर्धउष्ण, समशीतोष्ण र शीतोष्ण तीन प्रकारको मिश्रित हावापानी रुकुमको सबैभन्दा स्वच्छ वातावरण लाग्यो । त्यूनतम ४ डिग्री र अधिकतम ३४ डिग्री तापक्रम, १६ सयदेखि २४ सय मि.लि सम्म वर्षा रहने रुकुमका मुसीकोट, बाफिकोट, रुकुमकोट, आठविसकोट, राडिज्यूला, नायगाड, चौरजहारी, सिम्रतु, झुलखेत, चुनवाङ्ग, सिम्ली, सोलावाङ्ग, राउखेत, गोतामकोट, झुलनेटा, पोखरा र महतदोमई खास गरी मुख्य व्यापारीक केन्द्र रहेछन् । २ निर्वाचन क्षेत्र, ४३ गाविस, ११ इलाका रहेको जिल्लाको पूर्व वाग्लुङ्ग र म्याग्दी, पश्चिम जाजरकोट, उत्तर डोल्पा र दक्षिणमा सल्यान र रोल्पा पर्दछ । अहिले त राजनीतिक परिवर्तनले स्थानीय तहमा फेरबदल भएको छ । २८ डिग्री २९ सेकेण्ड देखि २९ डिग्री उत्तरी आक्षाशं र ८२ डिग्री १२ सेकेण्ड पूर्वी देशान्तर तथा ७५४ मिटर सबैभन्दा होचो भाग रिम्ना जहाँ सानी र ठूली भेरी मिसिन्छन् भने उच्च भाग पुथा हिमाल ६००० मिटर उचाइमा रहेको छ । रुकुम पर्यटकीय स्थलहरुले भरी भराउ रहेको जिल्ला रहेछ । सिस्ने र पुथा हिमाल, स्यार्पुताल, कमलताल, सुनदह, सम्पेताल, देउराली गुफा, कानखाने लेख, मोराखारालेक सिमैछरि झरना, चित्रीपाटन, लालपाटन र ढोरपाटन बन्यजन्तु आरक्ष तथा थुपैं धार्मिक स्थल लगायतका स्थलहरु अवलोकन क्षेत्र रहेका छन् ।
कूल क्षेत्रफल २ लाख ९३ हजार १ सय ८२ हेक्टर मध्ये खेतीयोग्य जमीन ३५ हजार ३ सय ६० हेक्टर बाट ४६ हजार २ सय ७३ मे.ट. खाद्यान्न उत्पादन हुन्छ । जिल्ला कृषि विकास कार्यालय रुकुमका अनुसार १ हजार ९ सय २४ मे.ट. खाद्यान्न बाहिरबाट आपूर्ति गर्नुपर्ने देखिन्छ तर बाहिरी अध्ययनका आधारमा त्यो भन्दा धेरै खाद्यान्न बाहिरबाट आएको रुकुमवासीहरु बताउँदा रहेछन् । तर पछिल्लो समयमा फलफुल, तरकारी र दुधमा भने धेरै प्रगति भएको रहेछ । बन्यजन्तु तथा चराचुरुङ्गीमा कस्तुरी, मृग, नावर, रेडपाण्डा, रातोबाँदर, ढेडु, झारल, थार, बाघ, भालु, खरायो, स्याल, दुम्सी, लोखर्के, गोहोरो, डाँफे, मुनाल, च्याँखुरा, तित्रो, कालिज, ढुकुर, पिउरो, जुरेली, भद्रे, सारौ, आदी पाइन्छ भने यार्चागुम्बा, पाँचऔले, कुरिलो, टिमुर, दाल्चीनी, गुर्जाे, बादलपाते, चिराइतो लगायत डेढदर्जनभन्दा बढी प्रजातीका जडिबुटी पाइन्छ । जनगणना २०६८को परिणाम सार्वजनिक भयसकेको थिएन । २ लाख १५ हजार २ सय ७० कूल जनसंख्या (जिविसको स्मारिका बमोजिम) रहेको रुकुममा ४५ प्रतिशत मात्र साक्षरता रहेछ । ४ क्याम्पस, २१ उमावि, ६४ मावि गरी झण्डै १ हजारभन्दा बढी विद्यालयहरु सञ्चालित रहेछन् ।
प्रसुति केन्द्रदेखि जिल्ला अस्पताल गरी ५२ वटा स्वास्थकेन्द्र स्वास्थ्य क्षेत्रमा क्रियाशिल रहेछ भने ओ.आर.सी १७१ वटा र निजी औषधी पसलहरु ५७ वटा रहेका छन् । जिल्ला हुलाक–१, इलाका हुलाक–८, आन्तरिक हुलाक–३४, सानी भेरी र सिस्ने एफएम तथा आहा साप्ताहिक लगायत समाचार पत्रहरु र विभिन्न प्रकारका सञ्चारमाध्यमहरु रहेकाले सूचना तथा सञ्चारमा राम्रै लाग्यो । यातायातको दृष्टिले दुइवटा विमानस्थल, ६० वटा झोलङ्गे पुल, काठेपुल–२ र १७० किलोमिटर कच्ची मोटरेवल वाटो निर्माण भएको छ । ४३६ किलोवाट विद्युत् उत्पादन गर्न सफल रुकुममा साना जलविद्युत्–२, माइक्रोहाइडो ३, पेल्टिक सेट १२ रहेका छन् । पिसानका लागि २ हजार ४ सय ९९ घट्ट र ३ वटा सुधारिएका घट्टहरु सञ्चालित छन् । आर्थिक कारोवारका लागि नेपाल बैंक १, कृषि विकास बैंक ३ र मनी ट्रान्सफर ४ रहेका छन् । सरकारी र गैरसरकारी गरी जिविसले करिब ४० वटा कार्यक्रम सञ्चालन गरेको छ भने जिल्लामा २३ वटा एनजीओ आइएनजिओहरु क्रियाशिल छन् । आँखा उपचार केन्द्रको स्थापनापछि रुकुममा नेपाल नेत्रज्योति संघ उपस्थित हुने प्रायः निश्चित छ ।
यसरी रुकुमलाई नियाल्दा नियाल्दै छोटो समय झन् छोटो भइसकेको थियो । कंगाली ज्यू र म एउटै कोठामा सुतेका थियौं । १७ गते बिहानै ४ बजे उहाँ उठेर नित्यक्रमका लागि खसरखुसुर गर्न थाल्नु भो । बिहानको चिया पिएर फिर्ताका लागि बाटोमा निस्कियौं । सबै संघ संस्थाका गाडीहरु जिल्ला प्रहरी कार्यालयको ग्यारेजमा राख्ने चलन रहेछ । राती आएका एम्बुलेन्सका कारण हाम्रो गाडी निकाल्न मिलेन । मेरा लागि केहीबेर समय थपिएको थियो । दुध, तरकारी, माछा, कुखुरा, दाउरा, फलफुल गाउँबाट ल्याएर व्यापार गर्न आउनेहरुको लर्काेसँगै म पनि लर्किएको थिएँ त्यतैतिर । गजब रमाइलो त के थियो भने प्लाष्टिक जर्किन र मिनरल वाटरका बोतलहरु ठूलो जाबोमा टनक्क बोकेर पसल पसलमा टक टक दुध राखिदिदै जाँदा रहेछन् । काँचै खाउँजस्ता सानी भेरीका सलक्क परेका असला ताजा माछा र कोर्कोमा सुकाएका माछा पनि बेच्न ल्याउँदा रहेछन् । माछा खोसाखोस हुँदोरहेछ । मैले एउटी पितपिताउदी छोरीलाई सोधें । नानी तिमीले कतिमा पढ्छ्यौ, घरमा को को छौ र भैंसी कतिवटा छन् ? जाबो बोकेको दाजुतिर संकेत गर्दै तिनले भनिन् दाजु यिनै हुन, बहिनी सानी छ, दुइवटा भैसीं एउटा गाई छ र म १२कक्षामा पढ्छु । उनको दाजुतिर हेरेर अनि बाबु नि ? मैले सोधें । विएमा दोश्रो वर्ष । बा आमा घरैमा किसानी गर्नुहुन्छ । यो छोटोे सम्वादले म प्रफुल्ल भएँ । त्यो परिवार हो आत्मनिर्भर र स्वाभिमानी । दाजुबहिनी दुबै दुध माछा र तरकारी बोकेर बेच्न आएका थिए खलङ्गा बजारमा । कहिले काँही त बा आमा पनि सँगै दउरा बेच्न आउँछन् अरे । आफ्नो जमीन थोरै छ त के भो, जाँगर त टन्न छ नि उनीहरुसँग ।
तरकारी र दुधमा रुकुम आत्मनिर्भर हुदैरहेछ भन्ने बुझेर हामी दाङ्गका लागि गाडीमा बस्यौं । फर्किदा नेपाली काँग्रेस महासमिति सदस्य मित्र कृष्णबहादुर रोकाय र मित्र बेदराज शर्माकी छोरी सविना शर्मा थपिनु भयो । औपचारिक तथा अनौपचारिक दुवै हिसावले असाध्यै रमाइलोसँग फर्किदै गर्दा रुकुममा अघाउजी बस्न नपाएको भोकभोकै फर्केजस्तो लागिरहेको थियो मलाई । उनको खास्टो ल्याउने रहर पनि मेरो पूरा भएको थिएन । झुलनेटामा चिया पिएर डिल्लीरमणजी आफ्नो घर पेउघातिर लाग्नु भो । बोको काटेर हाम्रो स्वागत गर्ने उहाँको प्रस्ताव समयाभावका कारण स्विकार्न सकेनौं । खौलाछेणा प्रभूनी दिदीको पसलबाट रुकुमेली सिमि सबैले र मैले च्यूरिको घिऊ समेत हालें । गाडी थारमारेतिर ओरालो कुद्यो । हिजोको एक झर्काे पानीले बाटो घुलोरहित बनाएको थियो । बारीका सुर्काहरुमा गोरु नारिएका थिए । टाहारी खेतमा गहरी थुनथान हुँदै गर्नुले अब खेतीपातीका लागि किसानहरु तयार रहेको संकेत गर्दथ्यो । थारमारे खरिबोटमा आर्मीको ब्यारेक रहेछ । काफल र गुराँस पनि अलिबेसी झप्केको देखिन्थे । रुकुमलाई टाटा गर्दै बरलामा पुगेर फेरि सल्यानको स्वादिलो शारदा नदीका माछासंग खाना खायौं । शिवरत, लौरावाङ, बाँझकाँडा, शिद्धेशवरी, कजेरी, छायाँक्षेत्र, धनवाङ, ढाकावाङ लगायतका सल्यानी गाविसहरुको यात्रा सक्दै कपुरकोटको कागती झोलामा हालेर दाङतिर झ¥यौं । …अस्तु । (अप्रकाशीत यात्रा संस्मरण संग्रहबाट …)
