अबको नेपाली छलाङ्गको अध्याय

Byआहा सञ्चार

२०७७ कार्तिक २६, बुधबार १४:२६

किरणचन्द्र पुन

सन् १७७५ तिर एसियाले कुल विश्वको अर्थतन्त्रको ८०% हिस्सा ओगटेको थियो। विश्वको कुल उत्पादनको दुई तिहाई उत्पादन चिन र भारत एक्लैले गर्थे भने त्यसबखत युरोपको अर्थतन्त्र निकै धरासायी थियो न त अमेरिकाको अर्थतन्त्र नै बलियो थियो। उक्त समयमा एसिया विश्वशक्तिको केन्द्रबिदुमा थियो। तर सन् १७५० देखि सन् १८५० को बिचमा युरोपेलिहरूले यति दुर्त गतिमा छलाङ्ग मारे कि त्यसपछि विश्व अर्थतन्त्रको साँचो एसियादेखी युरोपको हातमा परिसकेको थियो र युरोपको एकतर्फी राज चल्न थाल्यो । सन् १९५० तिर पुग्दा युरोप र अमेरिकाले विश्वको कुल उत्पादनको दुई तिहाइ हिस्सा ओगटेका थिए भने चिनको योगदान जम्मा ५ % थियो। सन् १७५० तिरको एसियाको अर्थतन्त्रलाई नियाल्ने हो भने त्यसबखतको नेपाल पनि बलियो नै भएको पाइन्छ। नेपालको अर्थतन्त्र राणाकालिन समयसम्म पनि बलियो रहेको र राणाकालका शासकहरूले विभिन्न देशहरूलाई आर्थिक, सैन्य अनि खाद्यान्न सहयोग गर्ने गरेको उल्लेखित ईतिहास पढन पाइन्छ।

तर कसरी सम्भव भयो त एसिया केन्द्रबिन्दु भएको अर्थतन्त्र युरोपतिर ढल्किन ? अनि वर्तमान अर्थतन्त्रको बलियो स्तम्भ त अमेरिका नै हो अनि युरोप अझै बलियो छ तर के अब फेरि चीन ले गरिरहेको द्रुतगतिको अर्थतन्त्रको प्रगती , त्यस्तै गतिमा लम्किन तम्सिरहेको भारत लगाएत एसियन टाइगर उपाधिले चिनिने सिङ्गापुर, दक्षिण कोरिया, मलेसिया र ताइवानले गरेको प्रगतिले फेरि विश्व अर्थतन्त्रको केन्द्र एसिया हुने निश्चित नै छैन र ? एसियाले छलाङ्ग मार्दै गर्दा हात्ती ( भारत) र ड्रयागन ( चिन) बिचको तरूल (नेपाल) ले भने किन आफ्नो गति लिन सकिरहेको छैन ? के नेपाल सधै अस्तव्यस्त नै भैइरहने हो ? अबको नेपालले समृद्धिको छलाङ्ग मार्न कुन अध्याय अवलम्बन गर्न जरुरी छ? यी यस्ता प्रश्नहरुमा घोत्लिएर विश्व परिस्थिति नियाल्दै नेपाल अघि बढन नितान्त आवश्यक छ।

अबको अध्याय
हामीले राणाशासन फाल्यौँ, पञ्चायत फाल्यौ, राजतन्त्र फाल्यौँ, लोकतन्त्रको पुनर्स्थापना गर्यौँ र संघिय लोकतान्त्रिक गणतन्त्रमा हामी हिडिरहेका छौ तर पनि हामीले सोचेजस्तो उपलब्धी प्राप्त गर्न सकेनौ यो नै वर्तमान अवस्थाको हाम्रो संघर्स हो, धेरै उपलब्धिहरू हामीले प्राप्त पनि गरेका छौँ तर के त्यतिकैमा सन्तुष्ट भएर बस्न सक्ने अवस्था छ त ? कि हामी त्यही नै पाउन योग्य छौ ? यत्रतत्र अझै नेतादेखी कर्मचारीतन्त्रमा भ्रष्टाचार ब्याप्त छ, न्यायालय अनि अख्तियार जस्ता स्वतन्त्र हुनुपर्ने धरोहरहरू दुईचार जनाको गोजिको पत्ता बनेका छन, प्रशासन पनि सोचेजस्तो विस्वासीलो हुन सकिरहेको छैन र केवल मालिकको रक्षक जस्तो बन्न पुगेको छ, शिक्षा अनि स्वास्थ्य क्षेत्र व्यापारिकरणले ध्वस्त हुन थालिसके, बिचौलियाको बिगबिगिले यत्रतत्र नियाल्ने हो भने एउटा कर्मशिल मानिस मनोबल गिराएर अब नेपालमा केही हुन्न विदेश नै ताक्नुपर्छ भन्ने निर्णयमा पुग्छ, हाम्रो आफ्नो कुनै भरपर्दो बलियो अर्थतन्त्र छैन, पर्यटन व्यवसाय नि फस्टाउन सकेको छैन, ६० लाख युवायुवतिको अरबको पसिनामा जवानी बेचेर कतिले आफ्नो ज्यान गुमाएर पठाएको रेमिटेन्सले देशको अर्थतन्त्र जसोतसो चलेको छ, भन्न त हामी कृषिप्रधान देशका नागरिक भन्छौँ तर हाम्रो लगभग ६०% किसानले उत्पादन गरेको खाद्यान्नले ४ महिना पनि खान पुग्दैन , ब्रेनड्रेनले देशको भोलिको भविष्यमाथी नै संका गर्ने अवस्था छ । एक किसिमले भन्नुपर्दा नेपालमा इमान्दार भएर बाँच्न निकै मुस्किल छ किनकी यहाँकाे वातावरण हामीले यस्तो निर्माण गर्यौ कि इमान्दार नागरिकलाई पनि कुनै दलदलमा मुछिहाल्न हामी संलग्न हुन्छौ, नत्र कि त्यो नागरिक कसैको दास अनि नोकर बन्नुपर्ने हुन्छ । सायद, यी येस्ता यावत कुराहरू हामीलाई स्वभाविक नै लाग्छन किनकी यी कुराहरू झेल्दा झेल्दा हाम्रो अब बानी नै लागीसके त्यसैले यस्ता हामीलाई असामान्य लाग्नुपर्ने कुराहरू पनी सामान्य लागीरहेका छन । हामी सबैलाई केवल आफ्नै चिन्ता छ , हामी बाहिर खुबै आदर्शका कुरा गर्छौँ तर परिआएको खण्डमा आफै देशप्रती गद्दारी गर्न पछि पर्दैनौ । हामी देश येस्तो भएन, तेस्तो भएन त भन्छौ तर आफ्नो कर्तव्य बिर्सन्छौँ, हामी देश राम्रो बनाईदिए हुन्थ्यो भन्ने त चाहान्छौँ तर आफै देश बनाउन लागी पर्दैनौ, हामी नेतृत्व राम्रो भैइदिओस त भन्ने चाहान्छौ तर भोट दिने बेलामा भने उनै कहिल्यै केही गर्न नसकेका अनुहारहरूलाई पुन आशा गर्दै उनिहरूलाई नै प्रतिनिधि चुन्छौँ । समस्या नेतृत्व, पद्धतिमा मात्र छैन समस्या त हामी आम नेपालीमा छ। एकपटक अब हामी सबै सुध्रिनु आवश्यक छ नत्र समृद्धि हाम्रो मीठो सपना मात्र रहनेछ।

 

बलियो अर्थतन्त्र

कुनैपनि देश समृद्ध बन्न पहिला आफू बलियो हुन नितान्त आवश्यक छ। हामीले आफ्नो कमजाेरिमा ध्यान दिएर होइन हाम्रो शक्ति के हो त्यसमा ध्यान दिएर आफू शक्तिशाली बन्नुपर्ने देखिन्छ । हामी जे जति राष्ट्रवादिका गफ छाडेपनी हामी पुर्णरुपमा भारतमाथी परनिर्भर छौँ । हाम्रो भुराजनितिक अवस्था त हामी बदल्न सक्दैनौँ तर फाइदा भने लिन सक्छौँ, जस्को निमित्त हामीले दृढताका साथ घोत्लिएर खटनुपर्ने देखिन्छ।

पहिलो कुरा हाम्रो सामर्थ्य वा शक्ति के के मा छ भनी पहिचान गर्नुपर्ने जरूरी देखिन्छ । त्यो जलविद्युत नि हुन सक्छ, त्यो पर्यटन नि हुनसक्छ, त्यो आधुनिक कृषिप्रणाली नि हुन सक्छ, त्यो औद्योगिक क्रान्ती नि हुन सक्छ वा अन्य कुनै, यी सबै हामीले पहिचान गरेर त्यसमा पुर्णरूपमा लगानी गरि हामीले आफ्नो सामर्थ्य प्राप्त गर्नुपर्छ। जस्तो कि हाम्रा ६० लाख युवा बाहिर छन ,के तिनिहरूलाई आधुनिक कृषितर्फ आकर्षण गर्न सकिँदैन, त्यसका निमित्त पहिला राज्यले तयारी गर्न जरूरी देखिन्छ। हामी क्युवाली क्रान्तिमा जब खाद्यसंकट हुन थाल्यो तब त्यहाँको कृषि मन्त्रालयले नै सम्पुर्ण नागरिकलाई आफुले मन्त्रालय अघिको जग्गामा नै कृषिकार्य सुरू गरि जनतालाई जहाँ जे सम्भव छ तेहि रोप्न र कुनै पनि जग्गा बाझो नराख्न आव्हान गर्यो र क्युवाले त्यसपछी पाठ सिक्यो र कृषिक्रान्तिमा छलाङ्ग मार्यो। त्यस्तै नेपालमा पनि आवश्यक नितिहरु ल्याई केही यदि बाधा अडचन छन भने तिन्लाई फुकाई आधुनिक कृषिलाई देशको मेरुदण्ड बनाउनुपर्ने देखिन्छ । हामी प्रविधिमा निकै पछि छौँ हामीले यस्को भर्पुर प्रयोग जतिसक्यो गर्न जरूरत छ । जस्तो कि नेदरल्यान्डमा १० हजार हेक्टरमा ग्रीनहाउस( ठूलो अपार्टमेन्ट मोडेलको) निर्माण गरि त्यहाँ कृषि खेती गरिदो रहेछ र आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरि कुन बिरुवालाई कति मात्रमा के के तत्व चाहिने हो, कति प्रकाश चाहिने हो, कति पानी चाहिने हो, फल राम्रो नराम्रो के कस्तो लाग्यो भनेर मनिटर गरिदो रहेछ । यसरी नेदरल्यान्ड कृषिजन्य उत्पादन निर्यातमा युरोपको दोस्रो हिस्सा ओगटेको रहेछ । यसरी के कसरी हुन्छ हामीले इच्छा शक्ति लिएर काम गर्नुपर्ने हुन्छ ।

अनि जलविद्युतको विकास तिब्ररूपमा गरि सम्पूर्ण नेपालमा वितरण गर्ने काम सबैभन्दा पहिला गर्नुपर्ने हुन्छ र उत्पादन धेरै गरि विद्युत बेच्नसक्नुपर्छ । जब जलविद्युतको विकास हुन्छ तब त्यस सँगसँगै प्रविधी पनि भित्र्याउन सजिलो हुन्छ र डिजिटल नेपाल रूपान्तरण गर्न सजिलो भएसँगै माथी उल्लेख गरेजस्तै कृषि, शिक्षा, स्वास्थ्य, यातायात, औद्योगिक क्षेत्रमा आमूल परिवर्तन आउछ र एक किसिमको विकासको चेन रियाक्सन हुन पुग्छ । तसर्थ: हामीले प्राथमिकतामा के राख्यो भने सजिलो हुन्छ भन्ने पहिचान गर्दै कार्य गर्नुपर्ने देखिन्छ।

पर्यटन को निमित्त त नेपाली एउटा प्रकृतिले प्रदान गरेको स्वर्ग नै हो त्यस्लाई कसरी अर्थतन्त्रको मेरुदण्ड बनाउने भन्ने खोजी गर्दै कार्यान्वयन गरिनुपर्छ । हामीले हिन्दुस्थानदेखी नै करोडौं हिन्दुहरूलाई धार्मिक पर्यटनको रूपमा भित्र्याएर अथाहा फाइदा कमाउन सक्छौँ। पर्यटनको सम्भावना केलाएर कहिल्यै सकिदैन बस आवश्यक छ त दृढ इच्छाशक्ती अनि त्यहि अनुसारको नीति र अवस्थाको निर्माण गरिदिनु आवश्यक छ।

बलिया संस्था अनि शून्य भ्रष्टाचार

कुनैपनी देश समृद्ध बन्न त्यस देशका संस्थाहरू निकै बलिया हुन आवश्यक छ । बलिया संस्था बिना विकसित देश कल्पणा गर्नु मुर्खता हुन जान्छ। संस्था बलियो बनाउन राज्य संचालनमा रहेका नेतृत्ववर्गले उदाहरण प्रस्तुत गर्न नितान्त आवश्यक छ। राज्यव्यवस्थामा इमान्दारिता,पार्दर्शिता, पद्धति र उत्कृष्टतालाई प्राथमिकता दिदै जनतालाई राज्यमा भर्ष्टाचार नभई सुशासनको कायम गरि जनतालाई विस्वासमा लिन जरूरी छ।

बलिया संस्था भित्र राजनितिक हस्तक्षेप मुक्त अदालत, अख्तियार, संवैधानिक निकाय, विश्वविद्यालय र शैक्षिक क्षेत्र, ठुला ठुला स्वास्थ्यसंस्था, प्रहरी प्रशासन ,आयोगहरू इत्यादि हुन जरुरी छ । यी संस्थाहरू बलिया र सम्पन्न नभई देश बलियो कदापी बन्न सक्दैन। मुख्यत समृद्धि मुलुकका आधार जनाउने भनेका उत्कृष्ट शिक्षा क्षेत्र र उत्कृष्ट स्वास्थ्य क्षेत्र हुन । तपाईहरू दुनियाँको जुनसुकै विकसित वा समृद्ध मुलुक नियाल्नुहोस कुनै पनि देशको शिक्षा र स्वास्थ्य क्षेत्र अब्बल नभईकन ती कुनैपनी मुलुक विकसित भएको पाउनु नै हुन्न । त्यस्ता विकसित मुलुकहरूमा भ्रष्टाचार निकै न्यून हुन्छ, राज्यसंचालकहरूमा इमान्दारीता र नैतिकता अटसमटस भएर भरिएको हुन्छ, पद्धति अनि पार्दर्शिता कायम भएको हुन्छ र त्यस्ता मुलुकहरूले कामदार अरूको देशमा पठाउदैनन् बरू विश्वका विभिन्न देशका दक्ष जनशक्ती आयात गर्छन । विश्वमा तेस्ता समृद्ध देशहरू बिरलै होलान जस्ले आफ्नो जनशक्ति बेचिकन देशमा समृद्धि हासिल गरेका होलान र विकसित मुलुकहरूमा देशलाई चिनाउने संस्थाहरू निकै नै बलिया हुन्छन । यी माथिका बिकसित देशका पहिचानहरू हुन अब एकपटक नेपाललाई नियालौ त हामी कुन धरातलमा छौ छर्लङ्ग नै हुन्छ। हामीले नेपालका राज्यलाई प्रतिनिधित्व गर्ने संघसंस्थाबाट राजनिती निकालेर एउटा असल पद्धतिको थालनी गरि मेरिटोक्रासिलाई प्राथमिकता दिइनु आजको अपरिहार्यता नै हो र जस्को अरु कुनै विकल्प छैन।

विश्वलाई कोरोनाले चुनौती दिइरहदा विकसित देशको काम गर्ने शैलि छुट्टै छ र नेपालजस्ता विकासोन्मुख देशको काम गर्ने शैली निकै फरक छ। उनिहरू सम्पन्न छन भने हामी केही ससानो कुराको निमित्त उनिहरूकै मुख ताकिरहनुपरेको छ। उनिहरू भ्याक्सिन बनाउन अनुसन्धान गर्दैछन भने हामी पिपिइमा समेत भ्रष्टाचार गर्न खोज्छौँ । कोरोनाले हामी जस्ता देशको औकात नि देखाइदिएको छ । भगवानको कृपा भन्नुपर्छ नेपालमा कोरोनाले थिलथिलो पारेको छैन जति अरु मुलुकलाई पारेको छ । नत्र तेस्तो अवस्था आईपरेको भए नेपालको के बिजोग हुन्थ्यो हामी कल्पणा सम्म गर्न सक्दैनौँ । यस्तो परिस्थितिमामा कोरोनासम्बन्धी कुनैपनी स्वास्थ्यसंस्थामा अध्ययन अनि अनुसन्धान भएनन अनि सरकारी अस्पताल कति कमजाेर रहेछन भन्ने हाम्रो अघि छर्लङ्ग भएको छ र निजि स्वास्थ्यक्षेत्रले केवल टुलुटुलु हेरिरहेको अवस्थामा डा. गोबिन्द केसीसरले राख्नुभएका मागहरूको सार्थकता निकै बढेको छ। यो अहिलेको परिस्थितिमा हाम्रा स्वास्थ्य संस्था बलिया भैइदिएको भए डराईहाल्नुपर्ने अवस्था हुने थिएन कि जस्तो अनुभुती भने सबैलाई भएको छ र स्वास्थ्य क्षेत्र कति संवेदनशील छ भन्ने कुरा पनि ज्ञान हुन पुगेजस्तो लाग्छ।

नेपालको स्वास्थ्य र शिक्षा क्षेत्रमा व्यापार भैइरहेको छ। राज्य र त्यसका मसियाहरू मुकदर्शक बनेर बसिरहेका छन । एउटा सामान्य परिवारका छोराछोरीले सरकारी स्कुलबाट गुणस्तरिय शिक्षा प्राप्त गर्न निकै मुस्किल छ यदि गरिहाले पनि निजि स्कुलका विद्यार्थीसंग प्रस्तिस्पर्धा गर्न सक्ने अवस्था छैन । साइन्स , म्यानेजमेन्ट , मानविकी अनि कानुन +२ मा सामान्य परिवारको छोराछोरीले पढ्न सक्ने अवस्था छैन । किनकी यी विषयहरू न्यून शुल्कमा सरकारी कलेजमा पढाइ नै हुदैनन वा त्यति सरकारी कलेज नै छैनन भनौँ । काठमाण्डौँमा यी विषय पढाइ हुने निजि कलेजहरू यत्रतत्र छन जस्को शुल्क छोईनसक्नु छ । दुई वर्षमा +२ पास गर्न ५-६ लाख रुपैयाँ खर्च गर्नुपर्छ जुन सामान्य परिवारका अधिकांश नेपालीको औकात बाहिरको कुरा हो । अनि कसरी अधिकांश मध्यम अनि न्यून वर्गका परिवारका छोराछोरी डाक्टर, इन्जिनियर, कृषिविज्ञ, वकिल लगाएत धेरै पेशाहरूमा कसरी पुग्छन ? यी कुराहरूमा राज्यले ध्यान दिनुपर्छ र यसरी विचौलियाहरूले गरेको व्यापार राज्यले नियन्त्रण गरि शिक्षा र स्वास्थ्यमा समान अवसर सबैलाई प्रदान गर्नु राज्यको कर्तव्य उस्ले बिर्सन हुदैन । यी यस्तै चुनौतीहरू सरकारी शिक्षा र स्वास्थ्य क्षेत्र कमजाेर हुनाले वा बिचौलियाले बनाईदिनाले सिर्जना भएका हुन। यी यावत कुराहरुमा घोत्लिएर नेपालले नयाँ उपर्युक्त मार्ग खोल्नु आजको आवश्यकता हो ।

अबको राजनितिक स्कुलिङ्ग
अब फेरि बन्दुक बोकेर देश समृद्ध बन्दैन र यो जति मुर्खता अब केही हुन पनि हुदैन। अब त दिमागको प्रयोग गरेर भिजनले देश बनाउने हो । हामीले धेरै राजनितिक व्यवस्था त परिवर्तन गर्यौ तर नेपालको अवस्था परिवर्तन गर्न भने कहिल्यै सकेनौँ । यसले व्यवस्था परिवर्तन गर्न आएकाहरूले अब अवस्था परिवर्तन गर्न सक्दैनन भन्ने प्रश्न गर्न बाध्य पारिदिएको छ । अब नयाँ सोच, नयाँ विचार अनि नयाँ जोशको आवश्यकता परेको हो कि भन्ने सबैमा पर्न थालिसकेको छ किनकी अहिले जोश जाँगरको युवाले सोच्ने सोचले मात्र देशले छलाङ्ग मार्न सक्छ नत्र कछुवा जस्तो घर्सिने मात्र गर्छ कि देशले भन्ने संका गर्न थालिएको छ। अहिलेको सरकारको काम गराईको शैली अनि अहिलेका नेताहरूको चरित्र र भिजनलाई हेर्दा यसरी अब हुदैन भन्ने सोच्न थालिएको छ ।

अहिलेको पाँच वर्षले अहिले राजनितिक नेतृत्वहरूको विम्वात्मक रुपमा भविष्यमा यिनिहरूले कस्तो काम गर्लान भन्ने संकेत दर्शाउने छ । नत्र देशलाई अहिलेको समयमा नयाँ उचाइ दिन नसक्ने हो भने अब फेरि एकपटक नयाँ उथलपुथल हुनेछ र जुन समयको माग सावित हुनेछ । अहिलेका पार्टीहरू पुरानै शैलिमा चलिरहेका छन अनि क्याम्पस र कलेजहरूमा खोलिएका विद्यार्थी संगठनहरूले फाइदा कम ज्यादा घाटा लगाईरहेको भन्ने बहस चल्न थालेको छ र जुन कुराको अध्ययन गर्दा थाहा पनि पाउन सकिन्छ । विद्यार्थी संगठनले पनि नेपाली शिक्षा क्षेत्रको विकासमा अंकुश लगाउने काम गरेको भान हुन्छ। हाम्रा धेरै विद्यार्थीहरू क्पाम्पस कलेज अध्ययन गर्न ,खोज अनुसन्धान गर्न होइन कि एक संगठनका र अर्को संगठनका कसरी भिडने भन्ने प्रशिक्षण लिन जान्छन, भ्रष्टाचार कसरी गर्ने , चन्दा आतंक कसरी गर्ने, ठेकापट्टा कसरी गर्ने भन्ने अदृश्य प्रशिक्षण लिन जान्छन अनि तस्करीमा कसरी पैसा कमाउने, गुण्डागर्दी, भाडभैलो कसरी गर्ने भन्ने प्रशिक्षण गरिरहेको भान पनि हुन्छ। उनिहरूको धेरै समय पुस्तकसंग र कक्षाकोठाभन्दा बाहिर बितिरहेको हुन्छ । यी कुराहरू मान्नुहोस नमान्नुहोस धेरै हदसम्म हामिले देखैकै हो र सुन्दै भोग्दै आएकै छौँ । के अबको विद्यार्थी राजनितिको मोड तेहि हो त ? यसरी त भिजन भएको नेता त कदापी बन्दैन। दिपक मनाङ्गे जस्तो, महराजस्तो, गोकुल बांस्कोटाजस्तो, राजेन्द्र महतो जस्तो, विजय गच्छदार जस्तो वा समग्रमा भन्नुपर्दा भ्रष्ट ,चरित्र अनि नैतिकताहिन नेता मात्र जन्मिन्छ जस्ले देशको निमित्त के गर्ने भन्दा पनि कहाँ मौका मिल्छ र कसरी खाने अनि कसरी उछार्ने अनि पछार्ने भन्ने मात्रै सिक्छ । अबको विकल्पको रूपमा यी विद्यार्थी संगठनहरु पुर्णरूपमा खारेज गर्दै एउटा मात्र स्वतन्त्र विद्यार्थी युनियन कायम गरिनुपर्छ र विद्यार्थीले समग्ररूपमा हरेकरूपमा यसमार्फत नै नेतृत्व विकास गर्न सिक्नेछन र नेता पनि यसबाट नै उत्पादन हुनेछन । फेरि नेता त कुनै परिस्थिति र आन्दोलनले पनि त निर्माण गर्ने होला ।

अबको समयमा हरेक क्षेत्रमा राजनितिकरण गरिनु आवश्यक छैन। पार्टीगत ट्रेड युनियनहरु, पत्रकारका संगठनहरु, पेशागत संगठनहरु र अन्य अनावश्यक जे जे छन तिनिहरु पुर्ण रुपमा बन्द गरि स्वतन्त्र छोडिनुपर्छ।

अब कि त काङ्ग्रेस कम्युनिस्ट ले देशलाई निकास दिन सक्नुपर्छ वा आफ्नो सबै संरचना भंग गरेर पुर्णरुपमा शुन्यदेखी नयाँ समयानुकूल पार्टिगत संरचनामा जानुपर्छ।होइन भने अबको १० देखि १५ वर्षमा यी पार्टिहरुले आफ्नो अस्तित्व गुमाउनु समयको माग हुनेछ। धेरै सक्षम अनि वौद्दिक युवाजमात जो अहिलेको राजनितिक अवस्था देखि आकुलव्याकुल छन र देश विदेशमा अध्ययन गरिरहेका छन तिनिहरु निकै असन्तुष्ट छन । तिनिहरुको हण्डरठक्कर अनि भोगाइले धेरै पाठ सिकिसकेका छन र देश नबनुन्जेल केही नहुनेरहेछ भन्ने बुझ्न थालेका छन । एकदिन तिनिहरुको असन्तुष्टि विस्फोट भएर नयाँ आयाम थपिने निश्चित नै छ र पोखिरहेको पनि छ किनकी तिनिहरुको क्षमतालाई देशको राजनितिक संयन्त्रले पचाएन र नातावाद ,कृपावाद अनि लम्पसारवादले प्रश्रय पाउदा उनिहरुलाई देशले अवमूल्यन गरिरह्यो। भनिन्छ नि नोकन जन्माउन ल्याएको शासनव्यवस्थाले कहिल्यै मालिक जन्माउदैन त्यस्तै संसदिय व्यवस्थापनि नोकर जन्माउने कारखाना भन्ने पुगेको छ र अब संसदिय व्यवस्थाले नेपाललाई अझै पार नलगाउने देखियो त्यसैले नेपाल जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको मोडेलमा जानुपर्ने देखिन्छ। साथै अबको चुनावी व्यवस्थालाई निकै कम खर्चिलो बनाउदै पैसावाला मात्र होइन कि जो कोहि चुनाव लडन सक्ने वातावरण निर्माण गर्नुपर्छ। अबको राजनितिक स्कुलिङ्ग ले राजनितिक कार्यकर्तालाई भेडापन होइन कि विनापुर्वाग्रह विचारको बहस गरि भिजनसहितको सहिलाई सहि अनि गलतलाई गलतभन्ने सामाजिक चेतसहितको व्यवहार सिकाउने हुनुपर्छ।नेपाली राजनितिमा इमानदारिता, नैतिकता, कर्तव्यपरायणता, पद्धति ,पारदर्शिता , दुरदर्शिता , उत्कृष्टता अनि जनताको मानमर्यादा कायम गर्दै जनतालाई नै प्राथमिकतामा राख्ने लोककल्याणकारी राज्यव्यवस्था अवलम्बन गरिनुपर्ने आजको आवश्यकता बनिसकेको छ, नत्र समृद्ध नेपाल मीठो स्वयर कल्पणा मात्र हुनेछ।

अन्त्यमा

जसरी लि क्वान युन ले सिङ्गापुरलाई सजाए त्यही दृढताका साथ नेपालले आयाम ग्रहण गर्नुपर्न देखिन्छ । जब ब्रीट्रीस साम्राज्यदेखी सिङ्गापुर मुक्त भयो र त्यसपछि मलेसियासंग गाभिने निर्णय सन् १९६३ मा गर्नपुगेका लि ले सन् १९६५ मा मलेसियादेखी छुट्टिएर एक्लो बन्नुपर्दा रुदै उन्ले आफ्नो सम्पुर्ण जीवन सिङ्गापुरका जनताको सुन्दर भविष्यको निमित्त देखेको सपना चकनाचुर भएको बताएका थिए । त्यतिबेला सिङ्गापुरसंग न आफ्नै सुरक्षा सेना थियो, न राम्रो अर्थतन्त्र नै, न त प्राकृतिक श्रोत र साधनले नै सम्पन्न थियो, न ९०% जनतासँग घर नै थिए तर पनि लिको नेतृत्वमा त्यस्तो दयनिय देशले त कायापलट फेर्दै विश्व अर्थतन्त्रलाई आकर्षण गर्न सक्यो भने नेपालले नसक्ने त कुरै छैन । अहिले सिङ्गापुर विश्वमा सजिलै अनि सुरक्षित तरिकाले लगानी गर्न सकिने देश बनेको छ, धेरै बहुराष्ट्रिय कम्पनीहरू त्यहाँ खुलेका छन, समुन्द्रलाई पुरेर आफ्नो जमिन बढाईएको छ, मुख्य व्यापारिक केन्द्रको रूपमा विश्वमा मा छाप पारेको छ र अहिले सिङ्गापुरमा जे छ त्यो विश्वकै सर्वोउत्कृष्टमा पर्दछ। उस्ले आफु जुन ठाउँमा अवस्थित त त्यसबाट निकै फाइदा उठायो र सम्पनता हासिल गर्यो।

तसर्थ नेपाली पनि दुई ठुला राष्ट्रहरू बिच अवस्थित छ र दुवैको जनसंख्या विश्वको कुल जनसंख्याको लगभग आधी हिस्सा हुन आउँछ । अब दक्षिणतिरका नाकामात्र होइन उत्तरतिरका नाकाहरू नि धमाधम खोलिनुपर्छ र सडकमार्ग ,रेलमार्गबाट तुरुन्त जोडिनुपर्छ जस्ले धेरै सम्भावनाहरूका निमित्त ढोकाहरू खोलिदिन सक्छ ।

नेपालमा पनि नितिगत जटिलताहरूलाई फुकाउदै सकेसम्म नेपालमा विदेशी लगानी सुरक्षित गर्ने प्रयास गर्दै बहुराष्ट्रिय कम्पनिलाई लगानी गर्न प्रोत्साहित गर्नुपर्छ जस्ले गर्दा उत्पादित वस्तुहरू चिन अनि भारतको ठूलो बजारमा फाइदा लिन सकुन । यसबाट नेपाललाई प्रत्यक्ष अनि अप्रत्यक्ष दुवै रुपमा फाईदा नै हुनेछ । नेपालमा हुन नसक्ने भनेको केही छैन तर जरुरत छ त असल नेतृत्वको, असल राजनितिक पद्धतिको, उपर्युक्त वातावरणको अनि चेतना, दक्षता, उत्कृष्टताले युक्त नागरिकको । आशा गरौँ सुनौला दिनहरू उषाका किरणहरू संगै उदाउनेछन।

जय युवा।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto