दामोदर पौडेल
विश्व यतिखेर मानव सभ्यताको अस्तित्वमै समाप्त पार्न सक्ने कोरोना भाइरस (कोभिड १९) को कहरको जहरले आक्रान्त बनेको छ । यसको कम्पनले विश्व नै हल्लिएको छ । अस्त्र विनाको युद्धमा विश्वका करिब ७५० करोड मानिसहरु सामेल भएका छन् । महिनौँदेखि अघोषित जेलमा विश्ववासीहरु थुन्निरहेका छन् । यसले धनी गरिव, जात धर्म, क्षेत्र सम्पन्न विपन्न कुनै भेद गरेको छैन ।
न्युक्लियर वारका हतियारहरु यस युद्धमा आज निष्प्रभावी बनेका छन् । यो लेख तयार पारुन्जेलसम्म विश्वका दुई लाख पैँसठ्ठी हजार तीन सय चौसठ्ठी जना मानिसहरु यस युद्धका गोलीबाट शिकार बनीसकेका छन् भने २२ लाख ६३ हजार २ सय ११ जना मानिसहरु घाइते भइ उपचाररत छन् । कोरोना संक्रमणको युद्धले आजसम्मको मानव सभ्यताको उत्कृष्टतामा प्रश्न चिह्न खडा गरिदिएको छ । विज्ञान प्रविधिमा भएका विकासका नयाँ आयामहरुले आजसम्म यसलाई मात गर्न सकिरहेका छैनन् । कोरोना भाइरस निर्जिव छ तर मानव शरीरमा प्रवेश गरिसकेपछि सजीव भई मानवलाई नै क्षति पुर्याइरहेको छ । यसको उत्पत्ति र विकास कसरी भयो ? र यसको त्रासदीपूर्ण संक्रमित युद्धलाई कसरी निष्तेज पार्न सकिन्छ भन्ने हतियारहरु आजसम्म पत्ता लाग्न सकिरहेको छैन । कोरोनाले युद्धका रणनीतिहरु पनि ठाउँ परिवेश अनुसार परिवर्तन गर्दै गइरहेको छ । युद्ध मैदानमा अन्वेषक तथा चिकित्सकहरु लागि परिरहेका छन् । अस्त्र (भ्याक्सिन) पत्ता लगाउनमा प्रयास जारी राखेका पनि छन् । आशा गरौँ छिट्टै अस्त्र ( भ्याक्सिन )पत्ता लागेर कोरोना युद्धबाट परास्त हुनेछ । तर कोरोनाको युद्ध समाप्त भए पनि यसले केही सवालहरुलाई भने अवस्य उब्जाउने गरेको छ ।
१. अर्थ र अर्थ प्रणालीमा देखिने प्रभावः
अर्थ तथा अर्थवित्त प्रणालीमा जानकार राख्ने जानकारहरुका अनुसार महिनौँसम्म बन्दाबन्दीको कारणले गर्दा उत्पादन प्रणालीमा परेको नराम्रो प्रभावले आर्थिक प्रणालीमा नराम्रा असरहरु पार्ने प्रक्षेपण गरेका छन् । अर्थव्यवस्थामा आउन सक्ने संकुचनले एउटा राष्ट्रमा मात्र प्रभाव नपरी विश्वमा नै यसको असर पर्ने सम्भावना देखिन्छ । कोरोना भाइरसले अर्थतन्त्र सर्वशक्तिमान भएका देश अमेरिका लगायत युरोपियनका राष्ट्रहरुलाई झन् बढी प्रभाव पारेको छ । उनीहरुको उत्पादन प्रणालीमा देखिएको ह्रासले विश्व अर्थतन्त्रमा उथलपुथल ल्याउने संभावना देखिन्छ । वस्तु आयात गर्ने देशहरुलाई भन्दा निर्यात गर्ने देशहरुमा ठूलो बेरोजगारले श्रमबजारमा समस्या ल्याउने देखिन्छ । अमेरिका, युरोपियन युनियन जस्ता दातृ देशहरु तथा परनिर्भरमा रहने देशहरुलाई पनि ठूलो असर पर्ने देखिन्छ ।अहिले कोरोनाको प्रभावले अमेरिका बढी मारमा परेको छ । त्यहाँका दशौँ करोड अमेरिकनहरु बेरोजगारी रहन सक्ने अवस्था सृजना भएको देखिन्छ । इटाली, जर्मन, फ्रान्स, बेल्जियम, ब्राजिल, बेलायत लगायतका देशहरु पनि यस्तो समस्याबाट उम्कन पाइरहेका छैनन् ।
२. राजनीतिक द्वन्द्व निम्तन सक्ने ः
सन् २०१९ डिसेम्बर महिनाको अन्त्यतिर चीनको वुहान सहरबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वभरि बढिरहेको छ । यो कसरी र केबाट उत्पत्ति भई मानवमा सर्यो भन्ने कुरा बहसको विषय बनेको छ । वुहानमा बस्ने एकजातको चिनिँयाले जंगली चमेरो खाएर मानिसमा फैलिएको वा समुद्रबाट निकालिएको सर्पबाट मानिसमा फैलिएको कुरामा धेरैको विश्वास गरेको देखिँदैन । किनभने धेरैका रिपोर्टहरुले देखाए अनुसार भाइरसका केही अंशहरु एचआइभि एडससँग सम्बन्धित छन् । जुन प्राकृतिक रुपमा उत्पादन हुन सक्दैनन् भन्ने तर्क अगाडि सारिएको छ । कोरोना भाइरस स्वाभाविक रुपमा उत्पादन भएको भन्दापनि यसलाई उत्पादन (परिवर्तनको माध्यमबाट सम्भावित जैविक युद्ध एजेन्टका रुपमा प्रयोगशालामा उत्पादन गरिएको) गराइएको भन्ने कुरामा धेरैको विश्वास बढेको देखिन्छ । धेरै टेक्निसियनहरुले यो कुरा स्वीकार गर्दछन् कि प्रयोगशालाबाट यस्ता ‘लिग’ प्रायः हुन सक्छन् । जसको उदाहरण सन् २००५ देखि २००९ सम्म अमेरिकी र इजरायली सरकारले गुप्त रुपमा ‘इस्टक्सनेट’ कम्प्युटर भाइरसको विकास गरी इरानी कम्प्युटरहरुको नियन्त्रण र अपरेटिङ प्रणालीलाई बिगार्ने उद्देश्य राखी निर्माण गरेका थिए तर त्यो भाइरसले इरान मात्र नभएर चीन, जर्मन, इन्डोनेसिया र काजकिस्तानका कम्प्युटरहरुमा समेत समस्या पारेको थियो । त्यसैले धेरैको तर्क कोरोना भाइरस स्वाभाविक रुपमा उत्पत्ति नभई प्रयोगशालाबाट नै उत्पादन गरिएको भन्ने कुरामा बलियो विश्वास राखेको देखिन्छ ।तर कसले कुन प्रयोजनका लागि उत्पादन ग¥यो भन्ने कुरा भने बाहिर आएको छैन । विश्वका शक्तिशाली गुप्तचर संस्थाहरु बेलायतको एमफाइव, अमेरिकाको सिआइए, भारतको रअ र चीनको एमएसएस लगायतका संस्थाहरुले समेत पत्ता लगाउन सकिरहेका छैनन् । यतिबेला विश्वका दुई शक्तिशाली राष्ट्र अमेरिका र चीनको वाकयुद्ध चलिरहेको छ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनिँया भाइरस भन्न समेत भ्याएका छन् । चीन वुहान राज्यका गभर्नरले अमेरिकी सैनिकले वुहानमा ल्याई सारेको भनेका छन् ।तर आज सम्म प्रमाणका आधारहरु फेला परिरहेका छैनन् । चिकित्सा विज्ञानका वैज्ञानिकहरु पनि गहन अन्वेषणमा लागि रहेका छन् । यदि उत्पादन गरिएकै हो भने विश्व राजनीतिमा ठूलो द्वन्द्व निम्तिने सम्भावना देखिन्छ र जानीजानी उत्पादन गर्नेलाई विश्वले के सजाय दिनसक्छ ?समयले वताउला।
३. शक्ति राष्ट्रमा परिवर्तन हुन सक्ने ः
विश्वमा विध्वंसकारी युद्व तथा महामारीका कारणले शक्ति राष्ट्र कमजोर बन्ने र कमजोर राष्ट्र शक्तिशाली बन्ने इतिहासहरु पनि छन् । प्रथम विश्व युद्वका कारण सोभियत संघ रुसमा कम्युनिस्ट क्रान्ति सम्पन्न भै जर्मनीको हिटलरी शासन र रूसको जारशाह शासन सदाका लागि अन्त्य भएको थियोे भने दोस्रो विश्व युद्धमा जापान तहसनहस भए पछि चीनमाथीको उसको साम्राज्य समाप्त भएको थियोे र विश्व युद्वकै जगमा चीनमा साँस्कृतिक क्रान्ति सम्पन्न भएको इतिहास छ ।यतिखेर कोरोना भाइरसको संक्रमण र प्रभाव विश्वका २१२ राष्ट्रहरुमा परिरहेको छ । अहिलेसम्मकै प्रभाव र क्षतिलाई हेर्दा अमेरिका पहिलो नम्बरमा परिरहेको छ भने दोस्रोमा युरोपियन देशका स्पेन, इटाली, फ्रान्स, जर्मन, ब्राजिल लगायतका देशहरु परेका छन् । तर महाशक्तिमा दोस्रो तथा आर्थिक वृद्धिदरमा पहिलो स्थान ओगड्न सफल देशको रुपमा चिनिने चीनले भने चालिसौँ दिनमै कोरोना भाइरसको नियन्त्रण गरी आफ्नो यथास्थिति कायम गरी आर्थिक उत्पादनका कार्य अगाडि बढाइसकेको छ । चीन विश्वमा कोरोना संक्रमण नियन्त्रण गर्ने पद्धतिको अनुकरणीय बन्दै गइरहेको छ र ८० प्रतिशत कोरोना सम्बन्धि सामाग्रीहरु उत्पादन गरि विश्व बजारमा पठाउन सफल बनिरहेको छ । यस परिस्थितिले चीन अव एक नम्बर महाशक्ति राष्ट्रमा आउने सम्भावना बलियो देखिन्छ ।
४. अन्धविश्वासबाट मुक्त हुनुपर्ने ः
आफूले मान्दै आएको धर्म र धार्मिक गतिविधिलाई दुहाई दिई धार्मिक प्रचारमा लाग्ने कट्टरपन्थीहरुलाई पनि यस संक्रमणले ठूलै झटारो हानेको छ । धार्मिक नियमलाई आफ्नो अन्धविश्वासको हतियार बनाएर लाग्ने कामले संक्रमण फैलिने सम्भावना झन् बढिरहेको छ । नेपालमा मुस्लिम समुदायका मानिसहरुलाई बढी संक्रमण भएको देखिन्छ । सरकारले गरेको निर्णय मठमन्दिर,चर्च , गुम्बा र मस्जिदहरुमा पूजा,जब,प्रार्थना गर्ने सबैले मान्नु पर्नेमा यसको पालना नहुनु दुर्भाग्यता भइरहेको छ ।धर्ममा मात्र विस्वास नगरी कर्ममा गर्ने ,भाग्यवादमा विस्वास नगर्ने , घरमैबस्ने ,एकअर्कामा भेटघाट नगर्ने, योगाभ्यासमा लाग्ने, शुद्ध आहार गर्ने, साबुनपानीले हात मिचिमिचि धुने, गुणस्तरीय स्यानीटाइजरको नियमित प्रयोग गर्ने, मास्क लगाउने गरेर जीवन रक्षा गर्न सकिन्छ भन्नेतिर लाग्ने र यस कुरालाई सबै धर्मावलम्बीहरुले पालना गर्नु पर्दछ।। अव धर्मलाई अन्धभक्ततामा हैन रक्षासँग जोड्नु पर्दछ । यतिखेर प्राण रक्षाको लागि लाग्ने चिकित्सक तथा नर्सहरु,ल्यावटेक्नेसियनहरु, सुरक्षाकर्मीहरु, एम्बुलेन्स चालकहरु तथा आवश्यक सुरक्षाका उपायहरु वताएर सहयोग गर्नेहरु सबैका साक्षात् भगवान भएका छन् ।
५. संस्कृति, रीतिरिवाज र परम्परामा परिवर्तन गरिनुपर्नेः
आज हामीहरुले देख्ने र सुन्ने गरेका छौँ । कोरोनाको संक्रमणबाट मृत्यवरण गर्नेहरुका घरपरिवार तथा आफन्तजनले आफ्नो धर्म परम्परा र संस्कृति अनुसार मृत्यु संस्कार गर्न पाएका छैनन् । त्यसैले हाम्रा संस्कृति रीतिरिवाज परम्परामा पनि परिवर्तन गर्नुपर्ने आवश्यकता यतिखेर देखिएको छ । मुस्लिमहरुले प्रत्येक शुक्रवार मस्जिदमा नवाव पढ्दा गला लगाउने, क्रिस्चियनहरुले चर्चमा प्रार्थना गर्दा उइस् गर्ने, हिन्दुहरुले मठमन्दिर पूजा आराधाना गर्ने चालचलनलाई अवदेखि परिवर्तन गर्नुपर्ने देखिन्छ । अंग्रेजहरुबाट चलनमा आएको हात मिलाउने, खाडी मुलुकका मुगलहरुबाट आएको अंकमाल गर्ने, पिठ थपथपाउने चलनमा पनि सुधार गर्नुपर्ने देखिन्छ । बरु हाम्रै नेपालीबाट सुरु भएको नमस्कारको प्रथाले यसबेला प्राथमिकता पाएको छ । नमस्कारको चलन नेपाली संस्कृति शब्दकोषको पृष्ठ ६२७ मा सात प्रकारबाट विभेद गरेको देखिन्छ । ती नमस्कारहरु( त्रिकोण नमस्कार , षड्कोण नमस्कार , अर्धचन्द्र नमस्कार , प्रदक्षिण नमस्कार , दण्डवत नमस्कार , अष्टांग नमस्कार र उग्र नमस्कार छन् । ती नमस्काहरुलाई कुन आदरार्थीको रुपमा प्रयोग गर्ने हो? औँल्याइदिनु पर्ने देखिन्छ ।
६ प्राकृतिक वातावरणमा सन्तुलनः
यति लामो समयसम्म विश्व एकै समयमा बन्दाबन्दीमा रहनु पृथ्वीको पहिलो इतिहास हो ।आज विश्वका लाखौँ करोडौँ उद्योगधन्दा ,सवारी साधन तथा आणविक भट्टिहरु बन्द भएका छन् । तीहरुबाट निस्कने प्रदुषणले वातावरणलाई कति असर पार्दो रहेछ भन्ने कुरा यस समयको वातावरणलाई मापन गर्न सकिन्छ । प्रकृतिलाई प्रत्यक्ष असर पार्ने मानव उत्सर्जित विभिन्न ग्याँसहरुले पृथ्वीको ओजोन तहलाई पातलो बनाएकोमा हाल त्यो अवस्थामा क्रमिक सुधार भएको कुरा वातावरणविद्हरु बताउँछन् । विश्वभरि लागु हुने तथा मानवीय अर्थतन्त्रमा क्षति नहुने गरी यस्ता प्रकारका बन्दाबन्दी पनि पर्यावरणीय हिसाबले उपयुक्त हुने देखिएको छ । यतिखेर वनजंगलहरु हराभरा भएका छन् । प्रदुषण रहित वातावरण कायम भएको छ । ध्वनिप्रदुषण, माटो प्रदुषण, वायुप्रदुषण, जलप्रदुषण कुनै समस्याहरुबाट यतिखेर मानव जीवन कष्टकर बनेको छैन ।
७ मानव अधिकार र मानव स्वतन्त्रताको परिभाषामा स्पष्टताः
मानव अधिकार र स्वतन्त्रता मानवका नै सर्गिक अधिकार हुन् । यसको विकल्प छैन । तर पनि अधिकार र स्वतन्त्रता कुन .हदसम्म लागु गर्ने भन्ने कुरामा भने सोच्नु पर्ने देखिएको छ । कोभिड १९ चीनको वुहान राज्यमा पहिलोपटक देखिँदा चीनले सुरुमै लकडाउन गर्न खोजेको थियो । त्यस कदमलाई विश्व मानवाधिकारवादीहरुले शुरुमा घोर विरोध गरे । आखिरी लकडाउन नै यस रोग नियन्त्रणको एक मात्र मुख्य अस्त्र बन्यो । चीनले लिएको नीतिको परिपालना समयमै संसारले गरेको भए सो रोग मानव नियन्त्रणमा समयमै आउने निश्चित थियो । तर चीनलाई मानवाधिकार विरोधी राष्ट्र भनेर आरोप लगाउने राष्ट्रहरु यस रोगको वढी सिकार भइरहेका छन् । जवकि चीनले समयमै यसलाई नियन्त्रणमा लिई जनजीवनलाई सामान्य बनाइसकेको छ । लाचार भएर अहिले विरोधी राष्ट्रहरुले विभिन्न नाम दिएर घुमाउरो पाराले चिनिँया मोडेलको उपयोग गर्न भ्याइरहेका छन् । निरङ्कुश राष्ट्र मानिने उत्तर कोरियाले पनि यस सङ्क्रामक रोगबाट आफ्ना जनताहरुलाई पूर्ण सुरक्षित बनाउन सफल भएको छ । संसारको नतिजालाई हेर्ने हो भने लोकतन्त्र, मानवाधिकार र स्वतन्त्रतालाई महत्व दिने राष्ट्रहरु यसको चपेटामा बढी परेको देखिन्छ ।
८. शिक्षा र शिक्षण प्रविधिमा नयाँपन ल्याउनु पर्ने अवस्था ः
आज कोभिड १९ को कारण शिक्षण संस्थाहरु लामो समयदेखि बन्द भएका छन् । आफ्नो निश्चित उमेरभित्र पूरा गर्नुपर्ने शैक्षिक योग्यता बालबालिकाले हासिल गर्न पाइरहेका छैनन् । सामाजिक दुरी कायम गरेर शिक्षा आर्जन गर्नुपर्ने परिस्थितिको सिर्जना गर्न आवश्यक भएको छ । अव शिक्षा पेपरलेस तरिकाबाट प्राप्त गर्ने वातावरणको सुरुवात गर्नुपर्दछ । परीक्षा प्रणालीमा सुधार ल्याई अनलाइन परीक्षा दिन सक्ने वातावरण मिलाउनु पर्दछ । खुला उत्तर दिने खालका प्रश्नहरु सोधेर विद्यार्थीहरुको अन्वेषणात्मक क्षमता तथा चिन्तनशीलताको परीक्षण गर्नु पर्दछ । सबै विद्यार्थीहरुलाई सोधिने प्रश्नहरु एकै प्रकारका नहुन पनि सक्छन् । विकसित राष्ट्रहरुले यसलाई केही हदसम्म परिपालन गरेको भए पनि सबै जसो राष्ट्रहरुले यसमा ध्यान दिनु आवश्यक छ ।
९. पैँसा र हतियारले मात्र युद्ध जित्न नसकिने ः
अहिले कोरोना नियन्त्रणका सन्दर्भमा विश्व महाशक्ति राष्ट्रहरु लागिपरेका छन् । तर यसलाई नियन्त्रण गर्ने कार्यमा कुनै प्रगति भएको पाइदैन । हाल पैँसा र हतियारको बलमा विश्वलाई कब्जा गर्ने क्षमता बोकेका शक्तिशाली राष्ट्रहरु पनि यसबाट बढी आक्रान्त भइरहेका छन् । बरु शक्तिहीन राष्ट्रहरु भने यसको चपेटाबाट अलिक टाढा रहेका छन् ।
१० खानपान, आहार विहारमा सजगता अपनाउने ः
मानिसहरुलाई हरेक खाले रोगहरु मानवीय खानपान, आहार विहारले गर्दा लाग्ने गरेको पाइन्छ । मानवीय क्रियाकलापहरुले गर्दा विभिन्न प्रकारका रोगहरुको विकास भएको पाइन्छ । मानिसहरुका आफ्नै खानपान आहार विहारको शुद्धताले रोग लाग्ने वा नलाग्ने कुरामा भर पर्दछ । खानपान, आहार विहारमा कन्ट्रोल गर्ने मानिसहरुमा स्वस्थता कायम हुने सक्ने कुरा चिकित्सकहरु वताउने गर्दछन् । हाम्रा जस्ता परम्परागत घरेलु खानाहरुलाई मानिसहरुले निम्न कोटिले हेर्ने गर्दछन् । बजारिया खानालाई प्राथमिकतामा राख्दै सम्पन्नताको ढ्वाङ फुकेको देखाउँछन् । बेकार बर्बाद भएका फ्याँक्न तयार पारिएका पुनः खान नमिल्ने जङ्कफुडहरु जसलाई प्रशोधित गरेर अनेकौँ स्वाद, रङ्ग र रासायनिक पदार्थहरु मिसाएर स्वादयुक्त बनाएको तर पौष्टिकताको हैसियतले मृत प्रायः भएका खाना वा पेय पदार्थहरु ( बजारे चिप्स, आइसक्रिम, पिज्जा, हट्ड्रङस, मैदा निर्मित सेतो केक, सेतो पाउरोटी, क्यान्डी, चक्लेट, कार्वोनेट सोडा, कोल्ड ड्रिङ्स, रेडिमेट मिल्क प्रोइक्सहरु, फ्राइ र फ्रेन्च फ्राई, चाउचाउ, पास्ता, पाउँ, माडा, आयोडिन नुडल्स, साल्टी सी फ्रुटुस, ड्राइमिट, तारेको आलु, तितौरा लगायतका खाना तथा पेय वस्तुहरु जङ्कफुट अन्तर्गत पर्दछ । यी र यस्ता खाना तथा पेय वस्तुहरुले शरीरमा पोषण ह्रास भई यस्ता सङ्क्रमणकारी भाइरसहरुको छिट्टै सिकार हुन सकिन्छ भन्ने कुरा प्रमाणित भएको छ । लामो समयको अध्ययनहरुले मांसहारी भन्दा शाकाहारीको आयु लामो भएको प्रमाणित पनि गरेका छन् । त्यसैले सिजन अनुसारका फलफूल हरिया सागपात हाम्रो गाउँघरमा उत्पादित ढिँडो रोटी, दाल खाजा, भट्ट सिस्नु कुरिल्लो खाने बानी बसालौँ, कोरोनाको संक्रमण र अन्य रोगका संक्रमणबाट बचौँ भन्ने शिक्षा दिएको छ।
घटनाक्रमहरुबाट नेपालले लिन पर्ने शिक्षा ः
विश्वका कतिपय देशहरूले ठाउँ क्षेत्रलाई प्रभावित गरी आउने हावाहुरी, सुनामी, ज्वालामुखी, भूकम्प र यस्ता संक्रमणकारी महाविपत्तिबाट पाठ सिकेर नयाँ योजना र तर्जुमा गरी आफूलाई सुरक्षित राख्ने गरेका हुन्छन् । गत २०७२ सालमा आएको महाभूकम्पले नेपालीलाई ठूलो पाठ सिकाएको हुनु पर्दछ । स्वास्थ्य र शिक्षा क्षेत्रमा देखिएको अस्तव्यस्तताले पक्कै पनि नयाँ पाठ सिकाएको हुनुपर्दछ । यो अवस्थासम्म टेकु महाशाखा काठमाडौँ बाहेक अन्य क्षेत्रमा परिक्षण गर्ने, किटहरु नभएको, प्रयोगशालाविज्ञहरु न्यून भएको अवस्था देखियो । स्यानीट्राइजेशन उत्पादन गर्ने उद्योगहरु पनि न्यून रहेछन् ।अहिलेको कोरोना संक्रमणको समस्याले सातै प्रदेश लगायत अन्य ठाउँहरुमा प्रयोगशाला, भ्यान्टिलेटरयुक्त आइसोलेसन बेडहरु तयार भएको र तयार हुने क्रममा रहेको देखिन्छन् ।
विश्व विद्यालयहरुमा चलिरहेको वार्षिक परीक्षा,एसइइ परीक्षाको अन्तिम तयारीको अवस्थामा रहेका कक्षा १०का चार लाख बयासी हजार सात सय सात जना परीक्षार्थीहरु, शिशु कक्षादेखि कक्षा ९ सम्मका साठी लाख बालबालिकाहरुको पठनपाठन र दस हजार हाराहारी संख्यामा रहेका कक्षा ११ र १२का विद्यार्थीहरुको निकट भविष्यमै हुन गइरहेको वार्षिक परीक्षा पनि अन्योल ग्रस्त हुनगएको छ । कोरोनाको संक्रमण अहिले तेस्रो स्टेजमा प्रवेश गरेको छ । उदयपुर, नेपालगञ्ज, वीरगञ्जमा फैलदो अवस्थामा रहेको छ । अवका दिनहरुमा नेपालका संघीय गणतन्त्रका तीनवटै तहका सरकारहरुले अल्पकालीन तथा दीर्घकालीन रुपमा योजनाहरु बनाउँदा परिवर्तित अवस्थामा परी आउने
विपत्तिहरुलाई हृदयंगम गरी निम्न कार्यमा सुधार ल्याउन पर्ने देखिन्छ ः
(क) सबै खालका विकासका बजेट तर्जुमा गर्दा प्राकृतिक विपत्तिका लागि कोष खडा गरिराख्ने,
(ख) शिक्षा, स्वास्थ्य र कृषिलाई पहिलो प्राथमिकता राखी बजेट तर्जुमा गर्ने,वितरण मुखि वजेटको अन्त्य गर्ने ,
(ग) सरकारका मन्त्रीहरुको संख्या कटौती गर्ने अनावश्यक , रााखिएका पिय र सल्लाहकारहरुको संख्या कटौतीगर्ने , सांसद, मन्त्री,सभामुख ,प्रधानमन्त्री राष्ट्रपतिहरुको पारिश्रमिक कटौती गर्ने , ((घ) नेपाली जनतालाई उत्पादनमुखी तालिम दिने, विदेशबाट फर्की आएका र विदेश जान लागि तयारी भएका उत्पादनशील जनशक्तिलाई नेपालमै रोजगार गर्ने अवसर मिलाउने, सहुलियत दरमा ऋण तथा अनुदानको व्यवस्था मिलाई दिने ,
(ङ) भूपु भिआइपि तथा उच्च पदस्थ व्यक्तिमा जाने अनावश्यक सुविधाहरुमा कटौती गर्ने,
(च) नेपाल कृषि प्रदान देश भएकाले कृषकका उत्पादनको जिम्मा पूर्ण रूपमा सरकारहरुले लिने,
(छ) खुला सिमानालाई पूर्ण रुपमा बार बन्देज गर्ने,
(ज) आफू आफनो परिवार,आफ्ना नातेदार आफ्नो गुट र पार्टीको स्वार्थमा सिमित रही गुटबन्दीको राजनीति नगर्ने , शासन सत्तामा बस्ने, प्रतिपक्षीमा बस्ने तथा पार्टीका राजनीति गर्नेहरुले राष्ट्र र जनताको हित हुने कामलाई सर्वा्ेपरि राखेर राजनीति गर्ने , राजनीतिलाई व्यावसायिक नबनाएर सेवादायी बनाउने,
(झ) भौतिक संरचनाका कार्यहरु केही समयका लागि स्थगित राखेर भावी सङ्क्रमणको रोकथामका लागि रकम सञ्चित गरेर राख्नुपर्ने,(ञ)भ्रष्टाचारलाई नितिगत र संस्थागत रुपले निर्मूल पार्ने र कडा कानुनको दायरामा राख्ने आदि। (आवश्यक सल्लाह र सुझावहरुको लागि आदरणीय पाठक वर्गमा हार्दिक अनुरोध पनि गर्दछु धन्यवाद ।)