लालबहादुर केसी
ऐतिहासिक पृष्ठभुमि ः साँख गाउँ एक ऐतिहासिक र एक सुन्दर गाउँ हो । यस गाउँको ठिक बिचमा एउटा रमणिय र ऐतिहासिक दह अवस्थित छ । जसका चारैतिर ऐतिहासिक गाउँ र विभिन्न प्रकारका घरहरु रहेका छन् । यस गाउँको पूर्वपट्टि जुगेखोलो, पश्चिम पट्टि रामा खोलो, उत्तर पट्टि ठैली दह र दक्षिण पट्टि साँख खोलाले घेरिएर साँख गाउँ बनेको छ । यो गाउँ झट्ट हेर्दा अति रमणीय र मनमोहक देखिन्छ ।
साँख गाउँ कसरी पत्ता लागेको ः—
अहिलेको साँख गाउँको बस्ती भएको ठाउँमा प्राचिन कालमा घना जंगल थियो । साँख गाउँ पहिले झारीगाउँ र डारीगाउँमा सिमित थियो । शुरुमा यहाँ पजङ्गि घर्ती मगर हरुको बसोबास रहेको पाईन्छ ।
ती झारीगाउँमा बस्ने घर्तीहरुले सुङ्गुर पालेका थिए । झारीगाउँ भन्दा माथि अहिलेको साँख गाउँ रहेका ठाउँमा घनघोर जंगल थियो । ती झारीगाउँमा पालेका सुँगुरहरुले चर्नेक्रममा बाटो बनाउँदै त्यो जंगलको बिचमा अहिलेको साँख दहमा पुगी त्यो दहमा पसी पानी खेली हिलो घसेर साँझ घर फर्किन्थे ।
ती झारीगाउँका मानिसहरुले यी सुङ्गुरहरुले कहाँ गएर हिलो घसेर आउँछन् भनेर खोजतलास गर्दा जंगलको बिचमा दह र वरिपरि मलिलो ठाउँ देखेपछि ती मानिसहरु कोटनेटाको डाँडोमा बस्ती सरी पछि त्यहाँ नै बसोबास गर्न थालेको बताईन्छ । त्यसपछि साँखको बस्ती जमिनमै गाउँ बन्यो ।
त्यसपछि साँखमा ठूलो गाउँ बनी ठूलो बस्ती भई जनसंख्या बढ्दै गएपछि त्यस ठाउँमा बसोबास गर्ने मानिसहरु दिनानुदिन मर्न थाले र त्यहाँका मानिसहरु दुखि बन्न थाले । एक दिन कतैैै बाट एकजना सिमल नाथ नाम गरेका तान्त्रिक गुभाजु योगी त्यस ठाउँमा टेप्लुक्क आईपुगे ।
उनी त्यहाँ आईपुगे पछि त्यस गाउँका मानिसहरु अति खुशि भए र उनी सँग सबै कुरा गरे । ती योगीले यो गाउँ त असाध्यै राम्रो रहेछ भनेर उनले गाउँलेलाई भने । ती गाउँलेहरुले ती योगीलाई भने ः ठाउँ मात्र राम्रो भएर के गर्ने यहाँ त दिनकै मान्छेहरु मरेका छन् , हामी त यहाँबाट बस्ती नै सर्न लागेका छौं भनेर सुनाए ।
ती जोगीले यी गाउँलेहरुका कुरा सुनेपछि उनले भने तपाईंहरुले थाहा पाउनुभयको छैन । यस गाउँको बिचमा रहेको दहमा काङ्ले नामको भुत छ । उसले तपाईंहरुबाट रोसरङ्ग र मनोरञ्जन खोजेको छ । यो कुरा तपाईंहरुले राम्रोसँग बुझ्नुहोस् भनी ती जोगीले ती गाउँलेहरुलाई भने । ती गाउँलेहरुले जोगीसँग हामीहरुले कसरी त्यो भुतलाई रोसरङ्ग र मनोरञ्जनको बारेमा बताई दिए । यस गाउँलाई २ गाउँको रुपमा विभाजन गर्ने, दहदेखि पूवैतिरको गाउँलाई तली गाउँ भन्ने र दहदेखि पश्चिम तिरको गाउँलाई माथिगाउँ भनि नामाकरण गरी छुट्ट्याउने र दुवै गाउँका मानिसहरु जम्मा भई मेलमिलाप र सहकार्य गरी माघ महिनाको १ गते माघे संक्रान्तिको दिनमा दुवैगाउँका मानिसहरु जम्मा भई कपडाका बेहुली बनाई बेहुली पोल्ने, यो दहको वारि बाट पारी तारो हानी मनोरञ्जन गर्ने, त्यही १ गतेका साँझ देखि दुबै गाउँका युवा युवती, केटाकेटी हरु जम्मा भई माघ १ गतेदेखि १४ गतेका रातसम्म थला बस्ने र मनोरञ्जन गर्ने र माघ १५ गतेका दिनमा एक गाउँकी केटीलाई दुलाहा र अर्को गाउँकी केटीलाई दुलही बनाईै परम्परा र चलनचल्ती चलाई विधिवत तरिकाले विवाह गर्ने चलन चलाई नाचगान र रमाईलो गर्ने गरेमा यस दहमा रहेको प्रेत शान्त भई खुशि रही यहाँका बासिन्दालाई अनाहकमा मर्नु पर्दैन र उहाँको बाली नाली सप्रने छ भनी बताएपछि त्यहाँका मानिसहरुले उनको भनाई अनुसार गरेपछि मानिसहरुको अकाल मृत्यु रोकियो र बिस्तारै बस्ती बाक्लो हुँदै गयो । र रितपूवैक तरकिावाट मेला लगाउँदै आईयो र यसको नाम पापीनी मेला दिईयो र यो पापीनी मेला माघ १५ गते साँझ बाट शुरु गरी १६ गते साँझ सम्म रमाईलोका साथ लगाउने चलन चल्दू आएको पाईन्छ र त्यही साँझ मेला विसर्जन गर्ने गरिएका पाईन्छ ।
यस मेला कुनै केही कारणले अफ्ठेरो परेर लगाउन नसकिएको खण्डमा दहको वरिपरि भुत कराउने गरेको सुनिने गरेको कुरा पनि बुढापाकाहरुबाट सुन्नमा आउँछ । यहाँका सबैभन्दा पुराना र आदिवासी बासिन्दामध्येका पजंगी घर्ती मगरहरुले सिमल नाथ योगीको मन्दिर बनाई उनलाई आफ्नो कुल मानी अहिलेसम्म पनि कुलका रुपमा पूजा गर्दै आएको कुरा पनि यथार्थ सावित छ ।
यो जानकारी को साभार तत्काल साँख गा वि स पडा नं ३ र हाल मु न पा ७ साँख रुकुम पश्चिम निवासी श्री लाल बहादुर महत बाट प्राप्त भएको हो । उहाँप्रति धेरै आभारी छु । यस पापीनी मेलाका बारेमा अन्य केही भनाईहरु भएतापनि यो भनाई बुढापाकाहरु बाट प्राप्त भएकोले तथ्यपरक मान्न सकिन्छ ।