बेरुजुमा सुधार गर्दै रुकुमका स्थानीय तह, ५६ औं प्रतिबेदनमा ७५ करोड, ५७ औं प्रतिबेदनमा १८ करोड बेरुजु
मेगराज खड्का
रुकुम
महालेखा परीक्षकको ५७ औैं प्रतिवेदन अनुसार रुकुम पश्चिमका ६ स्थानीय आर्थिक वर्ष २०७५/७६ मा १३ करोडभन्दा बढी बेरुजु देखाएको छ । त्यस्तै रुकुम पूर्वमा ५ करोड बढी बेरुजु देखिएको छ । केहि दिन अघि सार्वजनिक उक्त प्रतिबेदन अनुसार बजेट अनियमित तवरले खर्च गरेर बेरुजु देखाएको हो । समग्र रुपमा स्थानीय तहहरुमा रकमान्तर नगरी विनियोजित भन्दा फरक शिर्षकमा बजेट खर्च गरेको र जनप्रतिनिधिले बैठक, भ्रमण भत्ताको नाममा दोहोरो सुविधा लिएको बिषय उठाईएको छ । त्यस्तै सार्वजनिक खरीद ऐनको प्रतिकूल हुने गरी निर्माणमा उपकरण प्रयोग गरेको, प्रतिष्पर्धा विना सामग्री खरीद र योजनाको काम गरेको जस्ता कमजोरी स्थानीय सरकारको बेरुजु रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । तर रुकुम पश्चिम तथा पूर्वका स्थानीय तहहरुले भने अघिल्लो प्रतिबेदन भन्दा यस बर्षको प्रतिबेदनमा बेरुजुमा सुधार देखिएको छ । अघिल्लो प्रतिबेदन अनुसार रुकुम पूर्व र पश्चिममा गरि ७५ करोड बढी बेरुजु देखिएपनि यसबर्ष त्यसमा सुधार भएर १८ करोड बेरुजु देखिएको हो ।
रुकुम पूर्व र पश्चिमका कुन स्थानीय तहमा कति बेरुजु ?
रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा सबैभन्दा बढी बेरुजु रकम देखिएको छ । आठबिसकोट नगरपालिकामा ४ करोड ५२ लाख ७६ हजार रकम बेरुजु देखाएको हो । त्यस्तै चौरजहारी नगरपालिकामा ३ करोड ७० लाख ९ हजार, सानीभेरी गाउँपालिकामा २ करोड १५ लाख ६८ हजार र त्रिबेणी गाउँपालिकामा १ करोड ३८ लाख ८१ हजार रुपैयाँ बेरुजु देखिएको छ । त्यस्तै मुसिकोट नगरपालिकामा ९७ लाख ९२ हजार र बाँफिकोट गाउँपालिकामा ५८ लाख ७६ हजार रुपैयाँ बेरुजु देखिएको हो । रुकुम पश्चिममा ६ स्थानीय तहमा सबैभन्दा कम बेरुजु रकम बाँफिकोटमा देखिएको छ । नयाँ जिल्ला बनेको रुकुम पूर्वमा पनि ५ करोड बढी रमक बेरुजु देखिएको छ । जहाँ ३ वटा मात्र स्थानीय सरकार रहेका छन । जसमा सबैभन्दा पुथा उत्तरगंगा गाउँपालिकमा ३ करोड ४२ लाख ६ हजार रुपैयाँ बेरुजु देखिएको थियो । त्यस्तै भूमे गाउँपालिकामा १ करोड १९ लाख २२ हजार र सिस्ने गाउँपालिकामा १ करोड ६ लाख बढी रकम बेरुजु देखिएको हो ।
जिल्ला समन्वय समितिमा कति ?
जिल्ला समन्वय समितिहरुमा पनि बेरुजु देखिएको छ । तर जसरी स्थानीय तहहरुमा करोडौं रकम बेरुजु देखिएको भएपनि जिल्ला समन्वय समिति रुकुममा भने खासै ठुलो रकम भने छैन । कर्मचारीहरुको तलव र सामान्य खर्च रकम मात्र जिल्ला समन्वयमा आउने भएका कारण बेरुजु रकम पनि कमै देखिएको छ । महालेखापरिक्षकको रिपोर्ट अनुसार जिल्ला समन्वय समिति रुकुम पश्चिममा १ लाख र जिल्ला समन्वय समिति रुकुम पूर्वमा ३ लाख १९ हजार रुपैयाँ बेरुजु देखिएको छ । जस अनुसार रुकुम पश्चिमको भन्दा रुकुम पूर्व समन्वय समितिमा बेरुजु रकम बढी देखिन्छ ।
अघिल्लो बर्षको भन्दा बेरुजुमा सुधार गर्दै स्थानीय तह
महालेखापरिक्षकको ५६ औं रिपोर्ट अनुसार रुकुम पूर्व र पश्चिमका ९ स्थानीय तहमा गरेर ७५ करोड बढी रकम बेरुजु देखिएको थियो । जबकी ५७ औं प्रतिबेदन अनुसार रुकुम पूर्व र पश्चिममा ९ स्थानीय तहमा करिब १८ करोड रुपैयाँ मात्र बेरुजु देखिएको छ । यसको बिश्लेषण गर्दा बेरुजुलाई शुन्यूमा झार्न अफसल भएपछि अघिल्लो बर्षको सिकाईपछि धेरै बेरुजु घटाएको देखिन्छ । रुकुम पश्चिमको मुसिकोट नगरपालिका अघिल्लो बर्षको रिपोर्टमा ९ करोड बेरुजु देखिएको थियो भने यसबर्ष ५७ लाखमा झारेको छ । जिल्ला सदरमुकामको नगरपालिका पनि रहेको र बजेट पनि अन्य स्थानीय तहको भन्दा बढी भएपनि यसपटक मुसिकोट नगरपालिकाले बेरुजु घटाउनमा निकै मेहनत गरेको देखिन्छ । त्यस्तै चौरजहारी नगरपालिकामा अघिल्लो बर्ष ८ करोड बेरुजु देखिएकोमा यस बर्ष ३ करोडमा झारेको छ । आठबिसकोट नगरपालिकामा अघिल्लो रिपोर्टमा १४ करोड बेरुजु देखिएकोमा यस बर्ष ४ करोडमा झारेको छ । त्यस्तै बाँफिकोट गाउँपालिकामा अघिल्लो बर्ष ६ करोड बेरुजु देखिएकोमा यस बर्ष ५८ लाख मात्र देखिएको छ । त्यसैगरी त्रिबेणी गाउँपालिकामा अघिल्लो बर्ष ८ करोड बेरुजु देखिएकोमा यस बर्ष १ करोडमा झारेको छ भने सानीभेरी गाउँपालिकामा अघिल्लो बर्ष ७ करोड बेरुजु रहेकोमा यस बर्षको रिपोर्टमा २ करोडमा झारेको छ । रुकुम पूर्वका ३ स्थानीय तहरुहले पनि महालेखाका ५६ औं प्रतिबेदन भन्दा ५७ औं प्रतिबेदनमा बेरुजु रकममा सुधार गरेका छन । रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकामा अघिल्लो रिपोर्टमा १२ करोड बेरुजु देखिएकोमा यस बर्ष ३ करोड, भूमे गाउँपालिकाको अघिल्लो बर्ष ५ करोड बेरुजु देखिएकोमा यस बर्ष १ करोड र सिस्ने गाउँपालिकामा पनि अघिल्लो बर्षको रिपोर्टमा ६ करोड बेरुजु देखिएकोमा यस बर्ष १ करोड मात्र बेरुजु देखिएको छ ।
के हो बेरुजु र यो कसरी हुन्छ ?
बेरुजुको अर्थ भनेकै रुजु नहुनु हो । सार्वजनिक आय र व्ययको कार्य प्रचलित कानुनी विधि प्रक्रिया पूरा नगरी गर्दा देखा पर्ने अनियमित रकमलाई बेरुजु भनिन्छ । यो आर्थिक कारोबारको हिनामिना हो, जसलाई आर्थिक अनुशासनहीनताको उपजका रूपमा लिइन्छ । यो प्रचलित कानुन बमोजिम पु¥याउनु पर्ने रीत नपुु¥याई कारोबार गरेको, राख्नु पर्ने लेखा नराखेको, बेमनासिब तरिकाले आर्थिक कारोबार गरेको रकमकलम हो, जुन लेखापरीक्षकले लेखापरीक्षण गर्दा औँल्याएको हुन्छ ।
रुकुम पश्चिममा बेरुजु रकमको बिस्तृत विवरण
मुसिकोट नगरपालिका ः ९७ लाख ९२ हजार
चौरजहारी नगरपालिका ः ३ करोड ७०
आठबिसकोट नगरपालिका ः ४ करोड, ५२ लाख
बाँफिकोट गाउँपालिका ः ५८ लाख ७६ हजार
त्रिबेणी गाउँपालिका ः १ करोड ३८
सानीभेरी गाउँपालिका ः २ करोड १५ लाख
रुकुम पूर्वका कति बेरुजु
पुथाउत्तरगंगा गाउँपालिका ः ३ करोड ४२
भूमे गाउँपालिका ः १ करोड १९ लाख
सिस्ने गाउँपालिका ः १ करोड ६ लाख