मेगराज खड्का
रुकुम

हिन्दु नेपालीहरुको महान चाड दशैतिहार नजिकिएसगै बैंक तथा बित्तिय संस्थाहरुमा रेमिट्यान्सको दर पनि बढेको छ । आन्तरिक तथा बाह्य दुबै प्रकारका रेमिट्यान्सहरु मार्फत ठुलो मात्रमा रकम जिल्लामा भित्रिएको छ । जिल्लामा सबै बैंक तथा बित्तिय संस्था मार्फत मासिक दरदर १० करोड बढीको रेमिट्यान्स रकम भित्रिने आकलन गरिएको छ ।
सहकारी संस्थाहरुमा जिल्लाकै सबैभन्दा बढी रेमिट्यान्स कारोबार गर्दै आईरहेको डिग्रे शाईकुमारी बचत तथा ऋण सहकारी संस्था मार्फत नै मासिक १ करोड बढीको रेमिट्यान्स भित्रिने गरेको छ । सहकारी संस्थाका प्रवन्धक यज्ञ बिष्टका अनुसार उक्त रकममा चाडपर्बको समयमा २५ प्रतिशत सम्म बृद्धि हुने गरेको छ ।

‘अन्य समयमा भन्दा स्वभाबिक रुपमा चाडपर्वको समयमा बढी रेमिट्यान्स भित्रिने गरेको छ, यसको कारण बिदेशमा रोजगारीको सिलसिलामा रहेकाहरुले दशैतिहार खर्च अनिबार्य जस्तो पठाउने भएकाले हुनुसक्छ’ उनले भने । सहकारीमा आधा दर्जन बढी देशहरुबाट रकम आउने गरेको छ । जसमा कतार, मलेसिया, दुबई, ईरान, ओमन, जापान, कुवेत, अमेरिका र भारत लगायतका देशहरु रहेका छन । त्यस्तै एनआईसी एसिया बैंक रुकुम शाखाबाट पनि मासिक सरदर ३५÷४० लाख बराबरको रेमिट्यान्स भित्रिने गरेको छ । बैंकमा आउने रेमिट्यान्समा बाह्य भन्दा आन्तरिक रेमिट्यान्सको दर बढी रहेको बैंकका प्रवन्धक सुनिरजंग शाहले जानकारी दिए । रेमिट्यान्स गर्दा एक पटकमा ६० हजार भन्दा कम मात्र गर्न पाईने कानुनी व्यवस्था शुरु भएपछि रेमिट्यान्स भन्दा बैंकमा जम्मा गर्ने संख्या बढेको उनको भनाई छ ।
त्यसैगरी महालक्ष्मी विकास बैंक रुकुम शाखामा पनि मासिक सरदर १ सय वटा रेमिट्यान्स जिल्लामा आउने गरेका छन । चाडपर्व शुरु भएसगै त्यसको दर पनि बढेको छ । अघिल्लो महिना १ सय वटा मात्र भएको रेमिट्यान्स यस महिना डेढ सय वटा बढी भएको बैंकका प्रवन्धक हरि शर्माले जानकारी दिए । ‘हाम्रो बैंक मार्फत महिनामा करिब ५० लाखको हाराहारीमा रेमिट्यान्स भित्रिने गरेको छ, अघिल्लो महिना ४२ लाख भित्रिएको छ’ प्रवन्धक शर्माले भने, ‘चाडपर्वको समयमा रेमिट्यान्स दर बढ्ने गरेको छ, यो महिना करिब ६३ लाख रकम भित्रिसकेको छ, अझै केहि रकम बढ्न सक्छ ।’

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto