उपेन्द्रलाल कामी
बिषय प्रवेशः
स्वाभिमान शब्द उच्चारण गर्दा र सुन्दा हामीलाई जति गौरव लाग्छ त्यो भन्दा कयौं गुणा आफैले जीवन ब्यवहारमा लागु गर्नुपर्दा कठिनाई भोग्नु परिरहेको हुन्छ । आफ्नो जीवन ब्यवहारमा लागु नगरी अरुलाई मात्र स्वाभिमानको उपदेश दिनु त्यो जत्तिको पाखण्डी अरु कोही हुन सक्दैन । स्वाभिमान कुनै नौलो शब्द तथा बिषय नभएर मानिसले जन्मजात गुणको रुपमा प्राप्त गरेको र त्यसलाई भाषा ब्याकरणमा सुसंगत रुपमा उल्लेख गरिएको बिषय मात्र हो ।
स्वाभिमानको पर्यायवाची सब्दार्थ आत्मसम्मान एवं आत्मगौरव हो । शायद यही स्वाभिमानको भावले मात्र मानिसलाई यस संसारका अरु प्राणीहरु भन्दा फरक र सर्वश्रेष्ठ प्राणीको रुपमा परिचित गराएको छ । सामान्यतया हरेक प्राणीको सूचक भनेको चाल, श्वास–प्रश्वास, भोजन, बृद्धि, आवाज, यौन, प्रजनन र निष्काशन नै हो । तर स्वाभिमान मात्र मानव प्राणीको यस्तो फरक बिशेषता हो जुन स्वाभिमान मानव जातीमा कतै सुषुप्त अवस्थामा रहयो भने दास मनोवृत्तिबाट स्वामीमानमा सिमित भइदिने या त बिकृत भएर गयो भने चरम महत्वाकांक्षाबाट अभिमानको रुपमा परिणत भइदिने गर्दछ । हो यहि मानव जातीमा मात्र पाइने स्वाभिमानको भावलाई जगाउन र जोगाउन हामीले के गर्नु पर्दछ ? स्वाभिमान जगाउनु र जोगाउनुको फाइदा के छ ? अनि स्वाभिमानका आयाम र आधारहरुलाई हामीले कसरी बुझेर जीवन ब्यवहारमा लागु गर्ने भन्ने बिषयमा सारभूत रुपमा चर्चा गर्न खोजिएको छ ।
(क) के हो स्वाभिमानको भाव ?
सामान्य चेतना भएका हरेक सजीव प्राणीहरुमा भावना प्रायः सबैमा हुन्छ भने बिचार मानव प्राणीमा मात्रै हुन्छ । भावना भनेको इच्छा, अनुभूति र संवेगको संयोजन हो । मानव जातीमा १० प्रकारका संवेगहरु हुन्छन् । ति संवेग भनेका प्रेम, घृणा, डर, रिस, इष्र्या, हाँसो, खुसी, दुःख, लोभ र रोदन हुन् । मानव जाती बाहेक अन्य पशु–प्राणीहरुमा हुने संवेगहरुमा डर, रिस, प्रेम, खुसी, दुःख, लोभ र रोदन रहेका हुन्छन् । यिनै संवेगहरुबाट उत्पन्न भावनात्मक संवेदनालाई विवेकले ब्यवस्थापन गर्ने प्रकृया नै स्वाभिमानको भाव होे । स्वाभिमानका खास गरि ८ वटा आयामहरु रहेका हुन्छन् । ति ८ वटा आयामहरु भनेका स्वविवेक, स्वावलम्वन, स्वतन्त्र, सहयोग, सहनशील, समालोचक, संघर्ष र साहस हुन । यि ८ आयामहरु मध्ये हरेकले २÷२ वटा आधारमा टेकेर आफुलाई अस्तित्वमा राखेका हुन्छन । ति आधारहरु भनेका बिचार, भावना, श्रम, पूँजी, अनुशासन, अधिकार, सहकार्य, सेवा, ज्ञान, धीरता, आलोचना, प्रशंसा, भौतिक वल, तर्कशक्ति, आशा र बिश्वास हुन् । यि आठवटा आयाम र १६ आधारहरुले स्वाभिमानलाई बचाएर निरन्तर उर्जा दिइरहेका हुन्छन । स्वाभिमानका यिनै ८ आयाम र १६ आधारहरुलाई निरन्तर क्रियाशील बनाइ कम्पासको भूमिकाबाट दिशानिर्देश गरेर परिचालन गर्ने इच्छाशक्ति नै स्वाभिमानको सारतत्व हो । इच्छा, अनुभूति र संवेगको भावनालाई विवेकले नेतृत्व गरेर गतिशील रुपमा ब्यवस्थापन गर्नु नै स्वाभिमानको मूल कार्यप्रणाली हो ।

(ख) कसरी जगाउने स्वाभिमान ?
भनिन्छ, सुनलाई तेजावमा राखेर धेरै पटक खारेपछि मात्रै असली धातु बन्छ अर्थात अबिरल बग्ने नदीभित्र पानीको बेगले बगाइरहेका ढुङ्गाहरु हजारौं चट्टानहरुसंग ठक्कर खाएपछि मात्रै बहुमूल्य शालीग्राम पत्थरको रुपमा परिणत हुन्छन । यसको मतलव यो हो कि स्वाभिमान जगाउन प्रतिकुल अवस्थाभित्र आफुलाई होम्ने मानसिकता तयार गर्नुपर्दछ । प्रतिकुल अवस्थाभित्र आफुलाई होम्नु भनेको आफैभित्र निदाएको स्वाभिमानलाई ब्यूँझाउनु हो । जव स्वाभिमान ब्यूँझिएर जाग्छ तव जस्तोसुकै प्रतिकुल परिस्थितिलाई पनि अनुकुलतामा बदलेर स्वाभिमानले आफ्नो वास्तविक पहिचान आफै स्थापित गर्दछ ।
जसरी हाम्रो भौतिक शरीर निदाएको बेला ब्यूँझाउनलाई कुनै चर्को आवाज, शारीरिक पिडा वा सचेतन मष्तिष्कको आवश्यकता पर्दछ, ठिक त्यसरी नै हाम्रो आफ्नो स्वाभिमान जगाउनलाई कसैको तिखो वचन, कष्टकर समस्या एवं चूनौतिहरु या आत्मिक ज्ञान तथा बिवेकको आवश्यकता पर्दछ । कसैको तीखो वचन, समस्या एवं चूनौतिहरु स्वाभिमान जगाउने बाहय उर्जाहरु हुन भने आत्मज्ञान एवं स्वविवेकको प्रयोग स्वाभिमान जगाउने आन्तरिक तथा महत्वपूर्ण उर्जा हो । बाहय कारणबाट जागेको स्वाभिमान भन्दा आत्मज्ञान एवं स्वविवेकबाट जागृत भएको स्वाभिमान बढी गुणस्तरीय हुन्छ । त्यसैले हामी अफ्नो स्वाभिमान जगाउनलाई बाहय कारणको प्रतिक्षा गर्नुभन्दा आत्मज्ञान आर्जन गरि स्वाभिमानी नागरिक बन्ने दिशातिर अग्रसर बन्नु नै अति उत्तम हुन्छ ।
(ग) के फाइदा छ स्वाभिमान जगाउनुमा ?
एउटा अन्धकार कोठामा बिजुलीको उज्यालोले काम गर्नमा जति सरल र आनन्दको फाइदा दिन्छ ठिक त्यसरी नै स्वाभिमानको भाव जागृत गर्दा वास्तविक मान्छेको रुपमा आफुलाई उभ्याएर चिनाउन स्वाभिमानले आलोकित र दिशानिर्देश गर्दछ । यो संसारमा जति पनि चामत्कारिक आविष्कार एवं परिवर्तनहरु भएका छन ति सबै स्वाभिमानी मान्छेहरुको अथक प्रयास एवं अथाह मेहनेतले मात्रै सम्भव भएका छन ।
हाम्रो जस्तो प्राकृतिक, सामाजिक–साँस्कृतिक र ऐतिहासिक सम्पदाहरुले सम्पन्न भएको देशमा हामीले साँघुरो सोंचका कारण आर्थिक रुपले बिपन्न हुनुपर्ने नियति भोगिरहेका छौं । अन्तराष्ट्रिय राजनीतिक मञ्चहरुमा हाम्रा देशका राष्ट्रप्रमुख तथा मन्त्रीहरु भिखारी देशका नाइकेहरु जस्तो देखिने गरि अनुदानको भिख मागेर नकारात्मक पहिचानका पात्रहरु बन्नुपर्ने अवस्था छ । संसारकै उच्च शिखर सगरमाथाको देश, शान्तिका अग्रदुत गौतम बुद्ध जन्मेको देश, आदर्श नारी सीता, भृकुटी र अरनिको जस्ता महान कालीगढ जन्मेको देश अनि वीर गोर्खाली बहादुरहरुको देश अब एकादेशको कहानी जस्तै बन्ने अवस्थामा छ । बिकसित मुलुकमा गएर सस्तोमा श्रम बेच्ने अनि आफ्नै श्रमले उत्पादन गरेका बस्तुहरु महंगोमा किनेर राष्ट्रिय पूँजी देश बाहिर पठाउनुपर्ने बाध्यात्मक अवस्था छ । नेपालका युवाहरुको श्रम, पसिना बिदेशी भूमिमा पानी सरह बगिरहेको छ भने दैनिक दर्जनौ नेपालीका लाशका बाकसहरु त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा आउने र बुढेसकालमा बृद्धभत्ता खान तथा मृत शरीर दाहसंस्कार गराउनका लागी मात्रै नेपाल आउनुपर्ने नियति हामीले भोग्नुपरेको तीतो यथार्त हो ।
राजनीतिलाई समाज सेवा होइन कि राज्यको ढुकुटीमाथि कब्जा जमाएर ब्रम्हलुट मच्चाउने बैधानिक लुटेराको रुपमा सत्तासिन राजनीतिक पार्टीको चारित्रीक बिशेषता रहेको छ भने केही हैकमवादी औंठाछापहरुले सत्ताको जुठोपुरो भत्ता खाँदै मैमत्ता बनेर आफुलाई सर्वेसर्वा शासक ठान्ने अनि पढे लेखेका बेरोजगार युवाहरु बिदेशी भूमिमा श्रम दासको रुपमा आफुलाई चिनाउनुपर्ने बाध्यता जस्तै बनेको छ । देश भित्रका केही युवाहरु आय आर्जनका कुनैपनि बिकल्प नपाएर त्यसै भौंतारिनुपर्ने या त संगठित अपराधमा जोडिएर आफ्नै दाजुभाई तथा दिदीबहिनीहरुको अपराधी बन्नुपर्ने बिडम्वनापूर्ण बिवसता छ । जताततै राजनीतिक संरक्षणमा रहेका दलाल, माफिया र गुण्डाहरुको बिगबिगी छ । सामाजिक बिकृति र बिसंगतिहरुले चरम सिमा नाघिरहेको छ । राजनीतिक परिवर्तनको आन्दोलनको अगुवाइ गरिसकेका महान नेताहरु अहिले कतै न कतै भ्रष्टाचारको दल दलमा फसेर जनताको नजरमा तुच्छ भइ गिरिरहेका छन् । जनतामा आशा भन्दा पनि निराशाको बादल मडारिरहेको स्थिति छ । यस्तो प्रतिकुल वातावरणलाई चिरेर अनुकुलतामा बदल्दै स्वाधीन राष्ट्रका वीर नेपाली र स्वाभिमानी नागरिकको रुपमा विश्वसामु चिनाउन अब आफैभित्र सुषुप्त अवस्थामा रहेको स्वाभिमानलाई जगाउन आवश्यक छ । स्वाभिमान जगाउनु भनेको सच्चा क्रान्तिकारी हुनु पनि हो । स्वाभिमानको भावले अरुलाई बदल्नतिर भन्दापनि आफैलाई बदल्नतिर बिशेष जोड दिन्छ । पहिला आफैलाई बदलेर मात्र अरुलाई बदल्न सकिन्छ । हाम्रो समाज र संसारलाई बुझ्न अनि बदल्नका लागी पनि स्वाभिमानलाई जगाउन आवश्यक छ ।

(घ) कसरी बचाउने स्वाभिमान ?
कुनैपनि चिजको जन्मपछि मृत्यु अवश्यंभावी छ । ठिक त्यसरी नै स्वाभिमानको जन्मसंगै मृत्यु पनि हुने गर्दछ । कठिन परिस्थितीसंग जुध्ने इच्छाशक्ति सहितको आत्मसंर्घषले स्वाभिमानलाई जगाउछ भने जागृत स्वाभिमानले जटिल समस्या एवं प्रतिकुल अवस्थालाई पनि अनुकुलतामा परिणत गरिदिन्छ । जस्तोसुकै प्रतिकुल अवस्थालाई अनुकुलतामा बदल्न सक्ने स्वाभिमान भौतिक तथा आत्मिक रुपमा सहज एवं सुबिधायुक्त वातावरण बन्न थाल्यो भने क्रमसः निष्क्रिय वा बिकृत हुदै अभिमानमा परिणत हुन थाल्छ । स्वाभिमान निष्क्रिय हुनु वा बिकृत हुनु भनेको स्वाभिमानलाई मृत्युशैयामा पु¥याउने भाइरसको संक्रमण हुनु हो । स्वाभिमानको मृत्यु भएर भौतिक शरीर मात्र जीवित हुनु भनेको जिउँदो लाश सरहको नारकीय जीवन जिउनु हो ।
तसर्थ स्वाभिमान जगाउने मात्रै ठुलो कुरा होइन कि स्वाभिमान जोगाउने कुरा असाध्यै महत्वपूर्ण बिषय हो । स्वाभिमानलाई जोगाउन धेरै पापड पेल्नु पर्दैन । मात्रै स्वाभिमानमाथि आन्तरिक तथा बाह्य रुपबाट आक्रमण हुने बैचारिक भाइरसलाई निष्क्रिय बनाउन स्वाभिमानका ८ स आयाम (उर्जा) हरुलाई सक्रिय एवं क्रियाशील बनाइरहे पुग्छ । स्वाभिमानमाथि आक्रमण हुने बाह्य भाइरसहरु पद, प्रतिष्ठा र पैसाको प्रलोभन अनि बिभिन्न सुबिधाका अवसरहरु प्रदान गर्ने योजनाबद्ध रुपले सिर्जना गरिएका वातावरण हुन भने आफैभित्र उत्पन्न हुने भाइरसहरु भनेको लोभ, मोह, काम, क्रोध, डर, चिन्ता र सुबिधाभोगी चिन्तनगत कार्यशैलीहरु हुन । यस खालका बाह्य तथा आन्तरिक भाइरसहरुले स्वाभिमानमाथि संक्रमण गरेर निष्क्रिय र बिकृत बनाइ अन्ततः स्वाभिमानलाई नै मृत्युको मुखमा पु¥याउछन् ।
हामीले जगाएको स्वाभिमानलाई जोगाउनु छ भने महान क्रान्तिकारी नायक चे–ग्वेभाराले भने झै श्रमशील हुने, सम्वेदनशील हुने, विवेकशील हुने र क्रान्तिकारी बन्ने कुरालाई जहिले पनि आफ्नो प्राथमिकतामा राख्नुपर्ने हुन्छ । सक्रियता हाम्रो जीवन हो भने निष्क्रियता भनेको मृत्यु हो । चाहे त्यो भौतिक रुपमा होस या आत्मिक रुपमा नै किन नहोस । महान दार्शनिक चाणक्यले भने झै असल र खरावको सवालमा कामवासना झै ठुलो अर्को रोग छैन । क्रोध झै भयंकर आगो अरु केही छैन । लोभ–मोह झै ठुलो शत्रु तथा दुःख अरु कुनै छैन र ज्ञान जत्तिको चरम सुख संसारमा अरु केहीपनि छैन भन्ने मान्यतालाई पनि मनन गरेर हाम्रो जीवन ब्यवहारमा लागु गर्न जरुरी छ । मानव जातीलाई सुख, शान्ति र सम्बृद्धिको बाटोमा अग्रसर गराउनका लागी शान्तिका अग्रदुत गौतमबुद्धले प्रतिपादन गरेको पञ्चशील र अष्ठमार्गको सिद्धान्तलाई पछ्याएर आफ्नै मौलिकतामा लागु गर्ने प्रयास ग¥यौं भनेपनि हाम्रो आफ्नो स्वाभिमानलाई जोगाउन सक्नेछौं । हाम्रो आफ्नै स्वाभिमानलाई जोगाउन सक्यौं भने मात्रै पनि असल नागरिकको पहिचानबाट स्वाधीन तथा सफल राष्ट्र निर्माण गर्ने महाअभियानमा महत्वपूर्ण भूमिका खेल्न सक्नेछौं । त्यतिमात्र होइन हाम्रो आफ्नै जीवनलाई पनि वास्तविक मान्छे भइ जिउनुको साँचो अर्थ पुष्टि गर्न सक्नेछौं । यो कुनै महावाणी वा कसैलाई दिन खोजेको उपदेश होइन । यो त आफ्नै जीवन ब्यवहारमा लागु गर्नका लागी सोधकर्ताको हैसियतले खोज गरेको बिषय हो । स्वाभिमानले कसैलाई पनि उपदेश दिदैन । न त कसैलाई अनावश्यक निन्दा गर्दछ न त आवश्यकता भन्दा बढि प्रसंशा गरेर आफ्नो अमूल्य समय खर्च गर्दछ । कसैको अन्धनक्कल अर्थात अन्धानुकरण गर्ने भन्दा पनि स्वाभिमानले राम्रा कुराहरुलाई अनुसरण गर्छ र आफ्नै मौलिकता एवं सृजनशीलतामा लागु गर्न बिशेष जोड दिन्छ । त्यसैले यहाँ स्वाभिमानी नागरिक निर्माण गर्दै स्वाधीन एवं सम्बृद्ध राष्ट्र निर्माण गर्ने महाअभियानको थालनी गर्ने हो भने अब हरेकले आफ्नो स्वाभिमान जगाउने र जोगाउने बिषयमा बिशेष ध्यान दिनै पर्दछ । अनिमात्र हामीले अबको नयाँ कार्यभार पुरा गर्न सक्नेछौं ।

   

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto