हरि जिज्ञासु
सकरात्मक चेतना भएको व्यक्ति जोकोहीले पनि देश र समाजमा विकास र सकारात्मक परिवर्तन चाहान्छ । विकास र आर्थिक उन्नती नेपाली समाजको लागि अति आवश्यक विषय हो । विकास भन्ने कुरा एकैचोटी हुने कुरा होइन तर एकै चोटी हुने कुरा होइन भन्दैमा विकासको सुरुवात नै नगर्नु ठूलो मुर्खता हो ।
पछिल्लो समय हामी नेपालीहरुको मनस्थितिमा विकास र परिवर्तनको चक्र घुमिरहेको त छ तर अझै पनि विभिन्न कारणहरुले रोकेको अबस्था छ । सदरमुकामबाट आफ्नो गाउँसम्म पुग्ने सडक पक्की भएको, आफ्नो गाउँठाउँमा कृर्षि क्रान्ती अघि बढेको, आफ्नो गाउँठाउँमा आन्तरिक तथा बाह्य पर्यटकहरुको आवातजावत भएको, आफ्नो गाउँठामा शिक्षा, स्वास्थ्य लगायतका अति महत्वपूर्ण कुराहरु भरिपूर्ण भएको देख्ने रहर सबै नागरिकलाई छ । सबै युवाहरुलाई छ ।
गत वर्ष पहिलेको कुरा होला सायद मेरो गाउँ आठविसकोट नगरपालिका वडा नं. ३ कि एक जना बुढी बजैसँग बसेर सुख दुःखको भलाकुसारी गर्ने मौका पाएँ । उहाँले त्यतिखेर भन्नुभयो ‘बुढेसकाल लाग्यो बाबु, अब त काल पनि नजिक आउँदै छ । गाडि देख्न नपाएर मर्ने बेला भयो । गाउँमा गाडि त कहिले आँउछ कहिले ?’ उहाँको त्यो गाडि हेर्ने चाहानाले मलाई केहि भाबुक बनायो । किनकि ती बुढी बजैको मनमा पनि विकास र परिवर्तन हेर्ने चाहाना लुकेको थियो । उहाँलाई पनि परिवर्तन र विकास चाहिएको थियो । तर विडम्बना ती हजुरआमा गाडि देख्न नपाएर वित्नुभयो । स्थानीय सरकार बनेदेखि केही नहुनुभन्दा दुई महिनालाई भए पनि स्थानीय सरकारले गाउँमा गाडि देखाएर छोड्यो । तर ती हजुर आमा जस्तै अरु धेरै जना गाँउमा गाडि देख्न नपाएर स्वर्गीय भए ।
विकास हरेकले देख्नुपर्छ । हरेकले अनुभव गर्न पाउनुपर्छ । अहिले हाम्रो गाउँमा जोडिएको सडक खण्डको हरिबिजोग हेर्दा लाग्छ हामी अन्य ठाउँका नागरिक भन्दा धेरै पछि छौं । हाम्रो गाउँमा गाडि देख्नेहरुले देखिसके । अब उनीहरुले गाउँमा बिजुली देख्ने आश गरेका छन् । गाउँमा सडक मात्रा हैन पक्की सडक पुगेको देख्न चाहान्छन् । गाउँमा मकै गुहँ मात्रै हैन आधुनीक कृर्षि प्रणालीबाट गाउँलले खेती गरेको देख्न चाहान्छन् । विकास देख्ने सपना सम्पूर्ण नागरिकको हुन्छ ।
अब विकास र परिवर्तन हाम्रै पालामा देख्नको लागि हामीले हाम्रो तर्फबाट के गर्नु पर्ला त ? विकास र परिवर्त हाम्रै पालामा भन्ने नारा लगाउने तर विकास र परिवर्तनको लागि फुट्टि काम नगर्ने हो भने हामीले देखेको विकास र परिवर्तनको सपना अधुरै रहन्छ । अन्य विकसित मुलुक भन्दा हाम्रो देश कयौँ गुणा विकास र सम्बृद्धिबाट पछाडी छ । अझै पनि हाम्रो समाजमा रुडीबादी परम्पराले बेस्सरी जरा गाडेको छ । हामीले हाम्रो गाउँ ठाउँको लागि सानो भन्दा साना समस्याको पनि न्यूनिकरण गर्न सकिरहेका छैनौं । यसरी हामीले यस्तै यी सानो भन्दा सानो समस्यालाई समेत न्यूनिकरण गर्न सकेनौँ भने हामीले चाहेको परिवर्तन र विकास हाम्रै पालामा भन्ने नारा पूरा हुन केही समय लाग्छ । त्यहि समय कुरुन्जेल हाम्रा अग्रज आफन्तहरु स्वर्गीय भैसक्छन् । यसले गर्दा उनीहरुले देखेको विकास र परिवर्तन हाम्रै पालामा भन्ने सपना पुरा नहुने पक्का हुन्छ ।
यी सपना पूरा गर्नको लागि मज्दुरले आफ्नो ठाउँबाट, कर्मचारीले आफ्नोबाट, पत्रकारले आफ्नो ठाउँबाट, वडाध्यक्षले आफ्नो ठाउँमाबाट अर्थात आफूमा जे कुराको अनुभव छ त्यहि क्षेत्रमा विकासको लागि हरेक पल लागि पर्नुपर्छ । यदि हामी सबै जना आआफ्नो ठाउँबाट लागि प¥यौँ भने विकास र परिवर्तन हाम्रै पालामा सम्भव छ । हामीले विकास देख्न पाउँछौँ हामीले परिवर्तन देख्न पाउछौँ । अब हाम्रो गाउँ विकास भएको छैन, हाम्रो देश विकास भएको छैन भनेर दिनहुँ चौतारीमा बसेर गफ ठोक्नु भन्दा परिवर्तनका लागि आ आफ्नो क्षत्रबाट काम सुरु गर्दा अत्यन्तै राम्रो होला । यदि हामीले अहिले परिवर्तनको लागि काम गर्न सकेनौँ भने परिवर्तन हाम्रो पालामा असंभव छ । हामी स्वर्गीय भइसक्दा पनि हाम्रो सपना पुरा हुदैनन् ।
त्यसैले विकास र परिवर्तन हाम्रै पालामा गर्नका लागि आफ्नो क्षेत्रबाट लागि परौं । सरकारको भरमा परेर विकास हुँदैन । सरकारले हाम्रो घर आँगन सफा गर्दिदैन । सरकारले हाम्रो घरसम्म पुग्ने बाटो बनाउँदैन । सरकारले हाम्रो टोलमा आएर नाली सफा गर्दैन । यी सबै कुराहरुबाट नै परिवर्तन र विकास सम्भव हुने हो । त्यसैले परिवर्तन र विकास हाम्रै पालामा गर्नको लागि हामी सबै आआफ्नो क्षेत्रबाट लागौं ।