मुकुन्दप्रसाद शर्मा, क्याम्पस प्रमुख
मुसिकोट खलंगा बहुमुखी क्याम्पस
रुकुम पश्चिम
खण्डखण्डकाव्यकार गिरीप्रसाद बुढाको परिचय
गिरीप्रसाद बुढाको जन्म वि.स. २०३४ साल असार ४ मा भूमे गाउँपालिका वडा नं. ७ गुनाम रुकुम पुर्व मा भएको हो । हाल बुढा रुकुम (पश्मि)को मुसिकोट नगरपालिका वडा नं. ५ को बागवजारमा बस्दछन् । बुवा हस्तबहादुर बुढा र आमा हरिकला बुढाको कोखवाट जन्मिएका वुढाकी एक जीवन साथी आशा बुढा हुन । उपमा बुढा, समष्टी बुढा र सहिसलामत बुढा उनका सन्तान तथा छोरा छोरीहरु हुन । सानै उमेरदेखि राजनीतिमा चासो राख्ने बुढा सामाजिक सेवामा पनि निरन्तर समर्पित छन् । साहित्यमार्फत सर्वहारा वर्गको पक्षमा कलम चलाउने बुढा वर्गसंघर्षको एक जनाकारको रुपमा परिचित हुन् । संघीयताको सवालमा थुप्रै आलेखहरू लेखिसकेका बुढा शार्दूल विक्रिडित लगाएतको छन्दमा मिठो कविता लेख्ने गर्दछन् । साहित्यिक बाटोमार्फत समाजलाई चेतना दिन सकिन्छ भन्ने प्रगतिवादी सोचाइ रहेको देखिन्छ ।
बिग्रेको हर्के खण्डकाव्य (२०७२) सालमा लेखिएको एक द्वन्दात्मक भौतिकवादी दर्शनमा आधारित खण्डकाव्य हो । त्यस्तै उनले आस्थाका फूलहरु खण्डकाव्य २०७० सालमा लेखेको देखिन्छ । यी खण्डकाव्यहरूलाई दुई खण्डकाव्य नाम दिएर २०७४ सालमा प्रकाशन गरेको देखिन्छ । लहरे मगर (कथा सँग्रह), हर्केको कहानी (गजल सँग्रह), लाल चन्द्रे (खण्डकाव्य), युगको खवर (कविता सँग्रह) र मैले बोकेको झण्डा (कविता सँग्रह) प्रकाशोन्मुख अवस्थामा रहेका छन् । राप्ती साहित्य परिषद्को आजीवन सदस्य, प्रगतिशिल लेखक संघ रुकुम शाखाका सचिव, अखिल नेपाल प्रगतिशील लेखक संघका केन्द्रीय सचिव भएर काम गरिसकेका छन् । जि.वि.स.रुकुमबाट सम्मान पत्र(२०७१) राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुमबाट सम्मान पत्र (२०७४), डोमा देवी साहित्य पुरस्कार (२०७४)बाट वुढालाई सम्मान तथा पुरस्कृत समेत गरिएको छ ।
बिग्रेको हर्के खण्डकाव्यको विषयवस्तु
यो एक वैचारिक, सामाजिक र चरित्र प्रधान विषयवस्तुमा आधारीत खण्डकाव्य हो । यस खण्डकाव्यमा द्वन्दात्मक भौतिकवादलाई सशक्त रुपमा उठाएको छ । एक दशक लामो जनयुद्घलाई सांकेतिक रुपमा प्रस्तुत गर्न खोजिएको छ । यस खण्डकाव्यको विषयवस्तुलाई सारमा यसरी हेर्न सकिन्छ । हर्के नौ डाँडा पारीबाट स्वदेश फर्केको छ । उ विदेशमा बस्दा बिग्रिएको छ । उ असल हुन्छ हुँदैन भन्न गाह्रो छ । उ हिउँ जस्तै गोरो छ । साहासी छ । सिस्नो र आटो खाएर बाँचेको छ । उसको जीवन वेदनाले भरिएको छ । सुदिन आउँछ या आउँदैन भनेर मृत्युसँग मुकाविला गर्दै हर्के दोसाँधमै वाँचेको छ । मनमा पिर भए पनि उच्च विचारका साथ नेपाललाई हासाउनुपर्छ भन्छ । अभावबट संघर्ष सुरु हुन्छ । अभावबाटै सम्पन्नता र समानताको सिर्जना हुन्छ । दुःख भोगेकाले नै मुक्तिको स्वर्णीम रेखा कोर्दछ । हर्केको जीवन कहाँनी पनि अभावबाट नै प्रारम्भ हुन्छ ।
(१)
हर्केको पारिवारिक परिवेश पनि अभावबाटै सुरु भएको देखिन्छ । उसको शरीर मैलो छ । दाँत गन्हाउने छन्, फोरी छ । जाँड र रक्सि खाएर रुँदै हिड्छ । पसिना झारेर उकाली ओराली गर्छ । हर्केको बुवा सरल छ । मजदुरी गर्छ । हलो जोतेर जिन्दगी गुजारेको छ । हर्केले ११ कक्षासम्म पढेको छ । तर जागिर पाएको छैन । बैशाकको घामले विरामी भएर हर्केको बुवाको मृत्यु भएको छ । हर्के चिन्तित छ । हर्केको ठूलो सहारा गुमेको छ । उ टुहुरो भएको छ । पढ्ने कुरा पनि अपुरो भएको छ । आमाले हर्केलाई बुहारी भित्रयाउन भनेकी छिन । आमाको कुरालाई स्वीकार गरी चमेली नामको मगर्नी केटीलाई हर्केले विवाह गर्छ । उसको परिवार आर्थिक समस्याले जगटिन्छ । सबै धोकाहरू पूरा त हुँदैनन् असहायका लागि सुखको सानो कल्पना पनि पानीको फोका जस्तै हुन्छ । गरीवीबाट टाढा रहन हर्केले लाहुरे बन्ने योजना बनाएको छ । लाहुरे बन्न जान्छु भनेर चमेली र आमालाई सोधेको छ । जीवनको चोला फेर्न आशाको बत्ति दियालो झै वाल्न लाहुरे बन्न आमा र चमेलीले सल्लाह दिएका छन् । घरको राम्रो इज्यत राख्न र जहान पाल्ने बेलामा छोराको पेन्सन समेत पाक्ने आशामा हर्केको आमा ढुक्क भएकी छिन् । लाहुरे हुन तौल नपुगेको, ८८ हजार भए मात्रै लाहुरे हुने इशारा गल्लाले गरेपछि हर्केको मुटु नौचिरा भएको छ । निराश भएर घर फर्केको छ । रक्सी, भाले र पैसा दिन नसक्दा लाहुरे बन्न नसकेको उसको बुझाई छ । त्यसपछि एघार कक्षा पास गरेको प्रमाण पत्र बोक्दै धेरैलाई जागिर लगाइदिन अनुरोध गर्छ । जागिर खाने थुप्रै युवाहरू लाइनमा हुन्छन् । आफुले पढेकै स्कुलमा शिक्षक पदमा दरखास्त दिएर शिक्षक बनि साना साना नानी बावुहरूलाई पढाएर शिक्षाको ज्योति छर्ने हर्केले योजना बनाएको छ । सम्पूर्ण अध्याराहरू भगाउने निश्चित गरेको छ । अध्यक्ष अनि हेडसरलाई यो योजना सुनाएको छ । अध्यक्षले मौखिक र लिखित परीक्षामा पास भए मात्रै नियुक्ति दिने कुरा गर्छन । जागिर खाने हर्केको बाटो सिधा छ । उसको योग्यता नपुगेको, योग्यता मिचि, रकम पेली, भ्रष्टाचार गरी शिक्षकमा हर्केको नाम निकालिएन । त्यसपछि हर्केको लागि दिउँसै रात परे जस्तै भएको छ । जे गर्दा पनि आफु माथि अन्याय भएको उसले सम्झन्छ । घरमा बालवच्चा थपिएपछि उसलाई आर्थिक समस्याले पिरोलेको छ । आँसु लुकाएर एकान्तमा वस्ने, तास खेलेर बस्ने, चुरोट, रक्सी पिउने, स्वास्नी तथा वालवच्चालाई कुट्ने काम हर्केले गर्न थाल्यो । गाउँ घरतिर गएर निराश हुँदै म त अव विग्रिसके भन्छ । यी सवै कुरा चमेलीले नजिकबाट हेरिरहेकी थिइन । हर्केलाई तास नखेल्न, रक्सी चुरोट नपिउन, जागिर नपाए पनि हरेश नखान, सन्तानलाई संस्कार सिकाउन चमेलीले आग्रह गर्दछिन् । तास खेलेमा ममता टुट्ने,जाँड रक्सी खाएमा सभ्यता हराउने, हाम्रो परिवारको मर्यादा ढल्ने र तिम्रो र मेरो संसार सिसा झै फुट्ने विचार चमेलीले व्यक्त गर्छे । चमेलीको कुरा सुनेपछि राम्रो दर्शन सिकायौ चमेली मलाई भन्छ । तर सवै सन्दर्भमा पैसा नै चाहिने कुराले हर्के चिन्तित हुन्छ । पैसाको राज्य ढले मात्रै समता आउने र विकासको गति अगाडि बढ्न सक्छ । पैशा नै ठूलो कुरा भएकोले विदेश गएर कमाई गरी आउने विकल्प रोज्छ । बेसीको खेत बेचेर भए पनि भिसा लगाउने निधो गर्छ । चमेलीलाई गहना बेची घर सम्हाल्न आग्रह गर्छ । हर्केको यो कुरा सुनेपछि चमेलीले वेदना व्यक्त गर्दै पुर्खाले बनाएको खेत बेच्नु हुन्न । मायाको चिनो गहना पनि बेच्नु हुन्न । आफ्नो अस्तित्व धान्न हजार चोट सहने, पसिना बगाइरहने कुरा व्यक्त गर्छे । बालबच्चा विरामी भए म कसरी उपचार गर्ने, सासुको बुढेसकाल छ तसर्थ विदेश जानु हुँदैन । आमाले पनि यो कुरा सुनेपछि विदेशी जाल नवुन्न, आमाको माया नभुल्न,आमाको माया मुटुमा राख्न आग्रह गर्दछिन् । विदेशमा शक्ति खेर नफाल्न, हरेश नखान र देशमै काम गरी राख्न आमाले हर्केलाई भन्छिन् । म डाँडाको जुन भएको छु । बुहारीलाई पनि टाढा र दुःखमा नराख्न, श्रीमती भनेर हेला नगर्न, हिंसामा नपार्न, पुरुष र नारी दुवै जना मिलेर जीवन चलाउन आमाले आग्रह गर्दछिन् । त्यस्तै चमेलीले पनि सासु असल गुणले भरिएकी छोरी जस्तै बुहारीलाई माया गर्नुहुन्छ । सासुआमा अमर रहुन भन्छे । बुहारी र सासु बीच बैमनस्य हुँदा धेरैका घर विग्रेका छन् । तर आमा र चमेली बीच समधुर सम्बन्ध छ । चमेली र आमाको कुरा सुनेपछि अन्यौल र दोधारमा हर्के देखिन्छ ।
(२)
हर्केको गाउँमा जागृती गीत गाएर बस्ने निधो मैले गरे । हर्केको गाउँमा क्रान्तिको वीज रोप्ने उद्देश्यका साथ म त्यतातिर लागेको छु । हर्केले मलाई सबै कथा र व्याथा सुनायो । हर्केसँगै जागृती गीत गाएर म गाउँ गाउँमा डुल्न थाले । जागृती गीतले सबै गाउँलेहरू प्रभावित भए । महान उद्देश्य लिएर हर्के क्रान्तिको बाटोमा हिड्ने उद्घोष गरेको छ । हर्के क्रान्ति मार्गमा हिडेपछि समाज नै जुरुक्क उठ्यो । तर केही मान्छेहरूले हर्के पुरै बिग्रिएको, कुमार्गमा लागेको, भ्रम समेत छर्न भ्याए । हर्केलाई जसले जे भने पनि आस्थाको झण्डा समाजमा गाडेरै छाड्यो । घरमा पनि आफ्नो क्रान्तिपथको जानकारी गराउँदै क्रान्तिको बाटोमा हिडेर अगाडि बढ्ने उद्घोष गर्दछ । आँफु विग्रेको नभई क्रान्तिको बाटोमा लागेको गाउलेहरूलाई बताउँछ । सबैलाई क्रान्तिको बाटोमा हिड्न आग्रह गर्दछ । दोधारमा रहेको उ अब उच्च विचार बोकी समाज भन्दा आँफुलाई माथि राख्छ । क्रान्तिको योजना बनाउने बिसौनीको रुपमा हर्केको घरलाई बनाइयो । चमेली र आमा पनि खुशी हुन्छन् । बालबच्चालाई स्याहार गर्ने मेलापात भ्याउने चुलोचौको गर्ने र सबै चुनौतीहरूको सामना चमेलीले गर्न थालिन । अत्यन्त सुशिल दुःख पाएकी छोरी भएकै कारण हर्केले बोलाउने बित्तिकै सिस्नो र आटो खुशीले खुवाउँथिन । जागृती गीत सुन्ने, दुःखका कथाहरू भन्ने, पार्टीका मानछेहरूलाई सत्कार गर्ने काम चमेली गर्दथिन् । जीवनभर अभावै अभाव भए पनि संघर्षमा चमेली रमाएकी थिइन । उनले सासुलाई आमा जस्तै व्यवहार गर्दथिन । आफ्नो र अर्काे नभन्ने आमा साँच्चिकै महान हुनुहुन्छ भनेर चमेली सनतुष्ट थिइन । छोराले लिएको बाटोमा हिड्ने , यात्रामा माया र ममता व्यक्त गर्नै भएकै कारण हर्केले सुमार्ग समातेको चमेलीलाई थाहा थियो । सिर्जनात्मक समाजसेवा गर्दै हर्के झण्डा बोकेर हिड्दा सहरबासी एकीकृत हुनथालेका हुन । न्यायको तराजु उठाउने, क्रान्तिको नारा घन्काउने, सुतेकालाई ब्युझाउँने हर्केको दैनिकी थियो । सबै वर्ग, क्षेत्र र लिंगलाई जुटाएर आस्था र निष्ठाको हतियार उठाएर जोश र जाँगरका साथ क्रान्ति पथमा हिडेको छ । विकृतीहरूसँग लड्ने, गरीब तथा दुःखीहरूको साथी बन्ने, हरेक चोट खपेर भए पनि राष्टूको भूमिमा पसिना बगाउने निधो गर्छ । न्यायको खोजी गर्दै सभ्यता कोर्ने उसको महान योजना छ । न्यायको लागि रगत दिने हर्केको नाम सर्वत्र फैलिएको छ । सुतेकालाई उठाएरै छाड्ने, न्यायको संस्कार सिकाउने, कुरामा उसले एकदशक विताएको छ । क्रान्ति मार्गको एकदशक विताएपछि अब क्रान्तिमा लाग्दिन भन्दै हर्केले झण्डा च्यातेर फाल्छ । क्रान्तिकारी दस्तावाट राजीनामा लेख्छ । आस्थाको झण्डा नतोड्न, आस्थाको यात्रा बीचमै नछोड्न मैले उसलाई धेरै भने तर उसले मानेन । क्रान्ति मार्गको जीवनरुपी हर्केको यात्रा बीच घुम्तिमै रोकिएको छ । क्रान्तिको बाटोमा ज्यानै फालेको आदर्श समाजको स्थापना गर्ने अठोट लिएको हर्केको बिचारमा नयाँपन देखा परेकाले आदर्श समाजको स्थापना गर्ने सवालमा, क्रान्ति सफल हुने कुरामा शंका व्यक्त गरिएको छ ।
(३)
एघार वर्ष बोकेको झोला मिल्काएर यता न उताको भीरमा हर्के फसेको छ । क्रान्तिको बाटो कठिन भएकाले छाडेको उ बताउँछ । यतिका वर्ष गरेको त्याग त्यसै खेर गएको, अरुले सुखी जीवन बिताउँदा आफ्नो जीवन रित्तै भएको भान हुन्छ । कोही लाहुरे भए कोही पढेर महलको सुखमा बास बसे । कोही जहाजमा सरर उडेको देख्छ । कोही कुर्चीमा बसेको देख्छ । समानता नभएको, कसैले रातदिन झुपडीमा पसिना बगाउनु परेको त कसैले महलमा आरामको जिन्दगी विताएकोमा हर्के दुःखी हुन्छ । राजनीतिमा कार्यकर्ताको स्थिती दास जस्तै भएकाले हर्केले राजीनामा दिन्छ । विभेद देख्दा चिन्तित हुन्छ । जाल र झेल नै राजनैतिक मान्यता भएको देख्छ । मूल उद्देश्य छाडेर फरक यात्रामा सहभागी हुने निधो गर्छ । भिसा लगाएर विदेश जाने बाटो रोज्छ । तर विदेशिएका मान्छेहरूले भोगेको व्यथा र हन्डरलाई ख्याल गर्दैन । भिसा आएको सुनेर सहर पस्छ । तर दलालको फन्दामा पर्छ । ८५ हजार लाग्ने ठाउँमा दुईलाख तिर्छ । जानु पर्ने ठाउँमा सोझै नगएर भारत छिर्छ । भारत हिडेपछि बल्ल हर्केले कुरा बुझ्छ दलालले हर्केको पैशा खाएर अन्तै भागेछ । शोकमा परेकाले घरमा फोन पनि गरेन । बिरानो ठाउँमा एक्लो बन्यो । पानी जहाज चढेर चोरीको भिसामा विदेशतिर लाग्यो कयौ समुह पार गरी विदेशमा जान्छ । विदेशमा भन्दा नेपाल नै उनलाई मनपर्छ । गर्मीमा पसिना बगाएर काम त गर्छ तर मन घरतिर नै गएको हुन्छ । पसिना बगाएर पनि सेलरी साह्रै कम छ । उसलाई अत्यन्तै बोर लाग्छ । कठिन मानेर दिन विताउँछ । आँसु बगाएर घरमा चिठी लेख्छ । फलाम काट्ने मेसिनमा उसले काम गर्छ । जसले शरीरलाई नै गलाउँथ्यो । बिरानो ठाउँमा पसिना बगाउँने बाहेक कुनै विकल्प थिएन । स्वाभिमान कत्ति पनि थिएन । उक्त कारखानामा झापाको एक केटासँग उसको परिचय हुन्छ । उनीहरूसँगै बस्ने निधो गर्छन । हाँसेर बोल्ने, मनका कुरा सबै हर्केलाई भन्ने गथ्र्याे । फेसबुक चलाएर मनको केटी यही हो भनेर हर्केलाई चिनाउँथ्यो । घरबाट फोन आउँदा दशैमा मात्रै फर्कन्छु भन्थ्यो । घर फर्केपछि तिमीलाई विहे गर्छु भन्थ्यो । दशैको समयमा सेलरी नआउने भएपछि अर्काे तिहारमा आउँछु भन्यो । एकदिन दुवै जना राती अबेरसम्म बसे । बिहान उठ्दा त झापाली ठिटो ठाउँमै मरेको देख्छ । हर्के डराउँछ । मालिकले पुलिस पठाउँछ । बाकसमा लाश राखेर ठिटोको लाश नेपाल पठाईन्छ । धनले गर्दा बिचराको ज्यान गएको हर्केले महशुस गर्छ । हर्के साह्रै व्याकुल हुन्छ । हर्केलाई पुलिसले केरकार गर्छ । यथार्थ बुझेर पुलिसले हत्कडी लगाएर चोरी भिसामा आएको भनेर हर्केलाई पुलिसले जेल हाल्दा हर्के दुःखी हुन्छ । जहाँ जाँदा पनि जे गर्दा पनि हर्केले दुःख मात्र व्यहोर्छ । पिजडाको सुगा जस्तै बन्दी जीवन बाँच्न विबश छ हर्के । स्वास्नी अन्तै पोइल गएको, आमा पनि मरिसकेको सपना देख्छ जेलमा । ब्युझेर फोन गर्दा त्यसो नभएको उसले थाह पाउँछ । गाउँको समाचार सुन्दा हाँस्छ । नर्कमा जति बसे पनि साहुको ऋण तिर्न गाह्रो ठान्छ । म छिट्टै घर आउन पाए हुन्थ्यो भनेर चमेलीलाई फोनमा भन्छ । फोनबाटै स्वास्नीलाई सम्झाउँछ । सिस्नो र आटो नै जीवन हो भन्छ । बेकारमा विदेश आएकोमा पछुतो मान्छ । जति गुहार गरे पनि विदेशमा गाह्रो देख्छ । जेल जीवन कष्टकर ठान्छ । विदेशमा रहेको नेपालीहरूको संगठन एकता समाजको पहलमा अर्थात पार्टीको सहयोगमा हर्केलाई जेलबाट छुट्टाइन्छ । हर्केले झण्डा च्याते पनि, क्रान्तिको बाटो त्यागे पनि बिगतको मुल्याङ्कन भएको उसले ठान्छ । जेलबाट छुटेपछि हर्के नेपाल फर्कन्छ । स्वदेश फर्किए पनि, जेलबाट छुटे पनि साहुको ऋण तिर्न बाँकी थियो । बारी साहुले लगिसकेको थियो । आमाको मृत्यु भइसकेको थियो । चमेलीले सबैकुरा वताएपछि हर्केको मन हलुका हुन्छ । अब परिश्रम मै विश्वास गरौ । बाँझो रहेको बारी जोताँै । बालबच्चालाई स्याहार सुसार गराँै । तिमी जोत । म खनुला । तिमी आगो बने म पानी बनुला । तिमीले बोक्ने पीरको भारी म पनि बोकुला । यस्तो सुशिल श्रीमतीका कुरा सुनेर हर्के खुशी हुँदै विदेशबाट ल्याएको सानो बाकस खोल्छ । बाकसमा विदेशी कथा र व्यथा मात्रै थियो । मायाको तृष्णा मिलेर मेटाउने उनिहरूको योजना छ ।
(४)
हर्के अबदेखि चमेलीसँगै पसिना बगाउने निधो गर्छ । दुःखको भारी भञ्ज्याङमा बिसाउँनेगर्छ । दुःखको भारी पिठ्युमा जीवनभर बोकेर पनि रगत र पसिना धर्तिमा नै बगाउँने निधोगर्छ । हर्केको जीवनमा कहिल्यै पनि सुखको दिन आएन । सँधै साहुको ऋणले सताइरह्यो । उसका पुर्खाहरूले पनि वेदनायुक्त जीवन नै व्यतित गरे । हर्केलाई पनि उही दुःखको नै पुनरावृत्ति भयो । अझै पनि उसले न्यायको तराजु भेट्न सकिरहेको छैन । हर्केको जीवन ओरालोतिर बगेको खोला जस्तै भएको छ । दुःखै दुःखले घेरिएको छ । उसको त्यो सानो झुप्रोमा दुःखले नै बास गरिरहन्छ । बुवाको जस्तै दुःख हर्केले पनि भोगिरहन्छ । पसिना बगाईरहे पनि सोचे जस्तो परिणाम आउन सक्दैन । पेट भर्ने समस्या दिनानुदिन आइरहन्छ । पसिना पुछ्दै खोरिया खन्छ । साहुको ऋण सम्झेर रातीमा निद्रा नै आउँदैन । श्रीखण्डको जस्तो जीवन खुर्पाको बींड जस्तो भएको छ । हर्केका बालवच्चाहरू ठूला भएका छन् । उनिहरूको चाहना कलेज पढ्ने छ । आफु जस्तै साथिहरू कलेज पढ्न गएको उनीहरू बताउँछन् । भान्साको ढिडो र साग रिसले फाल्दछन् । छोराछोरीलाई कसरी कलेज पढाउने, शिक्षित कसरी तुल्याउने भन्ने चिन्ता हर्केलाई परेको छ । आँटेको कहिल्यै पुग्दैन । गरीबहरू पढ्ने कलेज नै नभएको हर्केले बताउँछ । हर्केको जवानी पनि ढल्केको छ । गाउँमा मसाल बलेको देख्छ । हरेक साँझ साहुको ऋण सम्झेर बस्छ । रातदिन काममै खट्छ । पार्टीले जागृति गीत गाउँदा उसले गाउँदैन । घरमा पार्टीका मान्छेहरु आउँदा मायाले त बोलाउँछ पिढीमा बसेर क्रान्तिको बाटो हेर्दै टोलाउँछ । थुप्रै पार्टीहरू भए पनि कुर्सीमा बढी ध्यान दिएका, दलाली गरेर चुनाव जितेका, कसैले नदी, कसैले माटो बेचेका देखेर वाक्क हुन्छ । गणतन्त्र फोहोरी भएको कम्युनिष्टको नाम निशाना हराएको, कार्यकर्ता पसिना बगाउनमै सिमित भएका, नेताहरू चिल्ला गाडीमा हिडेका, हर्के जस्ताहरूको सुदिन आउन नसकेको मा हर्के चिन्तित छ । काम नगरी लाखौ कमाउने कुर्चीलाई सर्वस्व ठान्ने, केही मान्छेलाई संसद र मन्त्री बनाएकोमा हर्के दुःखी छ । बिभेद र संस्कार उस्तै रहनु, विकृती र विसंगति बढ्दै जानुले पनि हर्के राजनीतिबाट टाढिएको देखिन्छ । पार्टीबाट टाढा भएको देखिन्छ । फेरी बाँसुरी बजाएर भञ्ज्याङमा पुगी मुक्तिको बाटो देखाउँदै, पिरहरूमा साग र सिस्नो खाएर खुशी हुन्छ । जागृती गीत गाएर घरघरमा गएर मान्छेहरूलाई भेट्न थाल्छ । सुन्दर, शान्त र समानताको पक्षमा उभिन सबैलाई आग्रह गर्छ । जागृती गीत हरेक पल गाउँदा पार्टीको आस्था मनमा सजाएर विकृती र विसंगतिको अन्त्य गर्ने उद्घोष गर्छ । तर पार्टीमा खप्न नसक्दा दुःखी भएर लजाउँछ । जागृती गीत गुञ्जदा अटल भएर सुन्छ । फेरी गीत गाएर घुम्ने कि भनेर सोच्न थाल्दछ । आस्थाको नाममा पार्टीले ठूलो गुण लगाएको छ । पार्टीले लगाएको ठूलो गुण हर्केले बिर्सन सक्दैन किन हो हर्के आस्थामा त्यति फुल्न सक्दैन ।
(५)
हर्केले आस्था कुल्चेर गएपनि सत्यको बाटो घुमेर हिड्न एक्लै हुँदा पनि दुःखमा साथ दिने हर्के भागे पनि भोकै र प्यासै जीवन धान्ने वातावरण जटिल भएपनि म हर्केलाई सम्झिरहन्छु । हर्केले झण्डा च्याते पनि, हर्केले मिलाई राखेको गाउँलाई मैले मिलाई राखे, हर्केले गाएको जागृती गीत मैले गाइराखे, हर्केले बोकेको आस्थालाई मैले बचाई राखे । हर्केले गाउँ छाडे पनि मैले छोडिन । साहुले हर्केको बारी कब्जा गर्दा म त्यही लडिरहे । हर्केको आमा मर्दा म नै मलामी भए । पार्टीले सँधै मलाई हर्केको गाउँमा खटाईरह्यो । चमेलीलाई दुःख पर्दा मैले नै साथ दिएको थिएँ । हर्केको वर्ग चरित्र बुझ्ने अवसर प्राप्त भयो । वर्गीय युद्घ हर्केकै निम्ति आवश्यकता पर्ने भएकोले यसैमा सामेल भएर उ अघि बढ्ने कु्रामा म विश्वस्त छु । आवेगमा हर्केले झण्डा च्याते पनि रक्तिम युद्घ रोकिने छैन । अज्ञानमा हर्केले पार्टी छोडे पनि राजीनामा लेखे पनि जागृती गीत गुञ्जी नै रहने छ । वर्गीय नाता महान हुनेछ । संघर्षवाट कोही पनि भाग्न सक्ने छैन । सुमार्ग भूलेमा जीवनभर पछुतो हुनेछ । अध्यक्ष र हेडसर समसँगै फेरीने छन् । जाली र फटाहाहरूले सजाय भोग्ने दिनहरू आउने छन् । जागृती गीत मेची र कालीसम्म बिस्तार हुनेछ । फटाहा र जालीहरूको हिसाब किताब अवश्य हुनेछ । न्यायको बत्ति मधुरो हुने छैन । मसाल बालेर हर्के पनि फेरी मुक्ति युद्घमा नै सामेल हुनेछ । देशमा अझै शोषण र अस्थिर शासन छ । नेपालको अवस्थामा परिवर्तन आएको छैन । हर्के साहसका साथ क्रान्तिको बाटोमा पुनः फर्कने छ । पार्टीले नयाँ क्रान्तिको उद्घोष गर्नेछ । खराब झारहरूलाई उखेल्दै फालिने छ । पसिना माटोमा नै बगाइने छ । न्याय र मुक्तिको गीत गाउँदा मेरो पनि आधा उमेर हर्केकै गाउँमा बितेको छ । हर्केको नाउँमा गाउँ सम्झेर जाँदै छु । जागृती गीत लिएर नयाँ वर्षमा जाने योजना बनाएको छु । हर्केको जस्तै शक्ति चाहिएको छ । हर्के आस्थाको झण्डा बोकेर क्रान्तिमा सामेल हुनेछ । दुष्टको सामु हिरो बनेर सबै चुनौतीहरूलाई सामना गर्नेछ । हर्केले जसरी पनि वर्गीय युद्घ जीतेर बाँचोस् मेरो यही कामना छ ।