हरि जिज्ञासु
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ यस पटक रुकुम पूर्वबाट चुनावी मैदानमा छन् । यो सामान्य राजनीतिक घटना मात्र होइन, यो इतिहास, भावना र अपेक्षाले भरिएको क्षण हो । जनयुद्धको सुरुवाती दिनमा पूर्वी रुकुमका थुप्रै गाउँहरू प्रचण्डका लागि सुरक्षित आश्रय मात्र होइन, विचार र संघर्षका प्रयोगशाला थिए । ती गाउँहरूमा आज पनि युद्धका सम्झना जिउँदै छन् कुनै घरमा सहिदको तस्बिर छ, कुनै घरमा घाइते शरीर बोकेको जीवन, त कतै अझै पनि नफर्किएका बेपत्ताको पीडा ।
रुकुमले धेरै दिएको छ । जनयुद्धका दिनमा रुकुमले आफ्नो युवा सन्तान दियो, आफ्नो सपना दियो, र आफ्नो भविष्य दियो । परिवर्तनको नाममा रुकुमका आमा–बुबाले छोराछोरी गुमाए, श्रीमतीले श्रीमान् गुमाइन्, सन्तानले बाबुआमा गुमाए । त्यो बलिदान कुनै पार्टीको जितका लागि मात्र थिएन, त्यो त न्याय, समानता र सम्मानित जीवनका लागि थियो । तर आज जब पछाडि फर्केर हेर्दा प्रश्न उठ्छ, के रुकुमले सोचेको परिवर्तन आयो ?
आज पनि रुकुम पूर्व र पश्चिमका धेरै बस्तीहरू उज्यालो हेर्न पर्खिरहेका छन् । सडक पुगे पनि अवसर पुगेको छैन, सत्ता पुगे पनि सेवा पुगेको छैन । शिक्षा र स्वास्थ्य अझै पनि संघर्षकै विषय बनेका छन् । युवाहरू सपना बोकेर जिल्ला र देश छाड्न बाध्य छन् । जनयुद्धले जन्माएको आशा र शान्तिपछिको यथार्थबीच ठूलो दूरी देखिन्छ ।
यही पृष्ठभूमिमा प्रचण्डको उम्मेदवारी आएको छ । रुकुमेली जनताले प्रचण्डलाई चिन्छन् नेताका रूपमा मात्र होइन, इतिहासको पात्रका रूपमा । त्यसैले रुकुमेली जनताले प्रचण्डलाई जिताउने सम्भावना बलियो पनि छ । तर यहाँ सबैभन्दा महत्वपूर्ण प्रश्न उठ्छ, त्यसपछि रुकुम के हुन्छ ?
यदि यो जित केवल राजनीतिक गणितमा सीमित रह्यो भने, रुकुमले फेरि पनि निराशा मात्र पाउनेछ । तर यदि यो जितलाई प्रचण्डले आफ्नो जीवनकै सबैभन्दा ठूलो राजनीतिक र नैतिक जिम्मेवारीका रूपमा लिए भने, रुकुमले नयाँ अध्याय सुरु गर्न सक्छ । यो चुनाव जितेपछि प्रचण्ड प्रधानमन्त्री बन्छन् कि बन्दैनन् भन्ने कुरा रुकुमका लागि अर्को विषय होला । मुख्य कुरा के हो भने—रुकुमको आवाज केन्द्रीय सत्ता र नीतिमा कति गहिरो रूपमा पुग्छ ?
रुकुमलाई अब सहानुभूति होइन, प्राथमिकता चाहिएको छ । सहिद परिवार, घाइते र बेपत्ताका परिवारलाई सम्मानजनक जीवन चाहिएको छ । कृषि, जडीबुटी, पर्यटन र स्थानीय स्रोतमा आधारित दिगो विकास मोडेल चाहिएको छ । युवालाई रोजगारी चाहिएको छ, वृद्धलाई उपचार, र बालबालिकालाई गुणस्तरीय शिक्षा । यी सबै कुरा भाषणले होइन, निर्णय र कार्यान्वयनले पूरा हुन्छन् ।
रुकुमले प्रचण्डसँग बदला होइन, न्याय खोजेको छ । गौरव होइन, परिवर्तन खोजेको छ । यदि प्रचण्डले रुकुमलाई आफ्नो राजनीतिक करिअरको अन्तिम गन्तव्य होइन, जिम्मेवारीको केन्द्र बनाए भने, त्यो जनयुद्धका सहिदहरूप्रति साँचो श्रद्धाञ्जली हुनेछ ।
इतिहासले फेरि एकपटक प्रचण्डलाई रुकुमको ढोका खोलिदिएको छ । अब त्यो ढोकाबाट रुकुम उज्यालोतर्फ जान्छ कि फेरि प्रतीक्षामै अल्झिन्छ, त्यो निर्णय जितपछि सुरु हुन्छ । रुकुमले आज पनि हेरेर बसेको छ, आशा र पीडाको संगममा उभिएर ।
संयोगवस केही वर्ष यता बिचार र शिद्धान्तमा उतारचडाव देखिएपछि संगैका सहयात्री कमरेड जनार्दन प्रचण्डबाट छुटिनुप¥यो । अझ दुबै जना रुकुम पूर्व र पश्चिमबाट चुनावी मैदानमा होमिदा रुकुमेली जनताले अझ बढी अपेक्षा गरेका छन् । निराशाबाट माथी उठेर नैतिक संकटबाट दुबै नेतालाई माथि उठाउने रुकुमेली जनताको जिम्मेवारी थपिएको छ ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस...