यु.के.लाल
मध्यम वर्गीय पारिवारिक पृष्ठभूमि
लक्ष्य निर्धारण गरेर योजनाबद्ध रुपमा गरिने कामप्रतिको लगानशीलता र इमान्दारीताले अरुको नजरमा समेत बिश्वास पैदा गरिदिन्छ । त्यही विश्वसनीयतालाई कायम राख्न सकियो भने कुनैपनि कामको जिम्मेवारी भूमिका र सम्मानले आफै पछ्याउदै आउछन् । उत्कृष्ट काम गर्नुपर्छ भन्ने मान्यता बोकेर आफ्नो कामप्रति ध्यान दिएमा नाम र दाम कमाउनलाई त्यति धेरै मरिहत्ते गरिरहनु पर्दैन । आफ्नो जिम्मेवारी कामप्रतिको लगनशीलता र इमान्दारिताले सामान्य मजदूरबाट मेहनत गर्दै आउने क्रममा अहिले ब्यवसायी बन्न सफल ब्यक्ति मध्ये एक हुन भारतको राजधानी नयाँ दिल्लीमा रहेका सृजना–अजय ट्रेडर्स कम्पनीका मालिक टेक खड्का मगर ।
स्याङजा जिल्ला हरिनाश गाउँपालिका ८ चित्रेभञ्ज्याङ जन्म घर भएका आमा धनीसरा थापाको कोखबाट २०२८ श्रावण १० गते जन्मिएका छवीलाल थापाको माइलो छोरा टेक खड्का मगरका १ दाजु र १ भाई रहेका छन् । श्रीमती खिमकुमारी थापासंग बैवाहिक सम्त्रन्धमा जोडिएका टेक खड्का मगरका १ छोरी सृजना र १ छोरा अजय रहेका छन् । छोरी सृजनाले नेपालमा एयर होस्टेजको पढाइ सकेर अहिले पोल्याण्डमै पढिरहेकी छिन भने छोरा अजयले बि.ए. दोश्रो बर्षमा अध्ययन गरिरहेका छन् । छोराछोरीकै नामबाट सृजना–अजय ट्रेडर्स कम्पनी खोलेर भारतको नयाँ दिल्लीबाट रुपैडिहासम्म यातायात बस सेवा सञ्चालन गरिरहेका छन भने सोही नामबाट नेपालको नवलपुरमा श्रीमतीले ब्यवसाय सम्हाल्ने गरि सप्लायर्स डिलर सञ्चालन गरिरहेका छन् । ब्यवसायको अतिरिक्त आफ्नो जाति÷समुदायसंग जोडिएको सामाजिक संस्था लाङ्घाली मगर समाज दिल्लीको सचीव तथा प्रचार बिभाग प्रमुख रहेका छन् भने ने.क.पा.(एमाले) निकट प्रवासी नेपाली संघ भारतको केन्द्रीय सदस्य समेत रहेका छन् । ब्यवसायिक र सामाजिक क्षेत्रमा क्रियाशील टेक खड्का मगर स्वभावले खरो ब्यक्ति जस्तो देखिएको भएता पनि कोमल मन भएका सहयोगी समाजसेवी ब्यवसायी हुन् ।
(क) सत्य बोल्दा इमान्दारीताले दिएको अवसर
नेपालमा दश कक्षा पास गरेर आफ्नो दाई एम बि थापासंग भारतको नयाँ दिल्ली स्थित फाचार विश्वबिद्यालयमा आएर दुबै दाजु–भाईले संगै एउटै बिद्यालयकौ कक्षागत श्रेणीमा भर्ना भएका रहेछन् । कतै जागिर वा अतिरिक्त समयमा काम गर्दै पढाइलाई अगाडी बढाउने योजनाले बिद्यालयमा भर्ना भएको भएता पनि उनका दाजु एम बि थापाले मात्र दश कक्षादेखि माथिको पढाइलाई अगाडी बढाउन सकेको र आफुले चाँही प्राइभेट कम्पनीमा जागिर र मजदूरी गर्ने काममा ब्यस्त भएको उनी बताउछन् । शुरुमा अमेरिकी कम्पनी डिजिटल इक्युपमेन्ट इन्डिया लिमिटेडको क्यान्टिनमा कम्पनीका कर्मचारीहरुलाई चिया–नास्ता बनाइदिने काममा जोडिएका रहेछन् । बिदेशी कम्पनी भएकोले त्यहाँ कामगर्ने कर्मचारी–मजदूरहरुलाई राम्रै तलबको ब्यवस्था गरिएको हुँदा त्यतिबेला इन्डियन आर्मीको मासिक तलब एकहजार तीनसय हुँदाका बेला उनको तलब तीनहजार छ सय भएको उनी बताउछन । उनले त्यस कम्पनीमा डेढबर्ष काम गर्दैगर्दा त्यो कम्पनी भारतबाट अमेरिकामै फिर्ता भएपछि दिल्लीकै ओखला सि.बि. औद्योगिक क्षेत्रमा रहेको बिक्रम सरिनको लिपी अपसेट प्रिन्टर छापाखानामा काम गर्न गएछन् । छापाखानामा काम गर्ने क्रममा एकदिन मेसिनको ग्रिपर तान्दा भाँचिएको र उनले मालिकलाई काम गर्ने क्रममा आफुबाट गल्ती भएको यथार्थ कुरा बताएपछि उनको इमान्दारिता देखेर मालिक खुसी भएर केही महिनापछि उनलाई छापाखानाको अपरेटरबाट ३० प्रतिशतको हिस्सेदारी पार्टनर बनाएर राखेको कुरा उनी बताउछन् । उनी त्यस छापाखाना कम्पनीको हिस्सेदारी भएपछि कामको गति र कम्पनीको प्रगति बढ्दै जान थालेपछि पञ्जावको अमृतसर गोल्डेन टेम्पल नजिकै छापाखानाको शाखा चलाएर ३ बर्षसम्म काम गरेको र अहिले त्यो अपसेट प्रिन्टरले विमान इन्टरनेश्नल लिमिटेड खोलेर प्रेस सम्बन्धी सम्पूर्ण पाटपुर्जाहरुको ब्यापार गर्ने गरेको उनी बताउछन् । बिक्रम सरिनसंगको साझेदारी ब्यवसायबाट अलग भएपछि सन २००८ बाट आफुले सृजना–अजय ट्रेडर्स दर्ता गरि नेपाल–भारतको टुर एण्ड ट्रावल र सप्लायर्स डिलरको काम शुरु गरेर बिगत १५ बर्षदेखि सेवा सञ्चालन गर्दै आएको उनी बताउछन ।
(ख) अन्यायको बिरुद्धमा प्रतिवाद, झण्डै दुर्घटनाको शिकार !
बिद्रोही र खरो स्वभावका टेक खड्का मगर आफुमाथि मात्र होइन अरु कसैमाथि पनि अन्याय भएको कुरा देख्न चाहदैनन भन्ने कुराको एउटा अविष्मरणीय घट्ना उनीसंग जोडिएको छ । २०५७ सालमा उनी नवलपरासीको कावासोतीबाट काठमाण्डौमा जाँदै गर्दा उक्त बसमा रजहर भन्ने ठाउँबाट दुई जना बुढाबुढीहरु नर ब.गुरुङ र शान्तिमाया गुरुङ पनि चढेपछि उनीहरुबाट बसको कण्डक्टरले लाग्ने भाडाभन्दा एकसय रुपैयाँ बढी भाडा लिएको देख्ने बित्तिकै तुरुन्त प्रतिवाद गरेर कण्डक्टरलाई बेस्सरी झपारेर माफी माग्न लगाइ भाडामा बढी लिएको पैसा फिर्ता गराइदिएपछि बसभित्रका सबै यात्रुहरुले उनलाई धन्यवाद दिएको र त्यो बस त्रिसुली नजिकै पुगेपछि दुर्घट्ना हुनबाट झण्डै बचेको घट्ना उनको लागी अविष्मरणीय क्षण बनेको रहेछ ।
(ग) सामाज सेवाको कामले दिएको खुसी र पाएको पुरस्कार
भारत प्रवासमा रहँदा बिशुद्ध ब्यवसाय गरेर मात्र हुदैन । गरिब, दुःखी र असाह्यहरुलाई पनि आफुले सकेको मद्दत तथा सेवा गर्नुपर्छ भन्ने सहयोगी सोंच सहितको सेवाभाव राखेर प्रवासी नेपाली संघको राजनीतिक संगठनबाट पनि जनसरोकार र उद्धारका काम गर्दै जाँदा हरेक बर्ष तीन–चार जना बिभिन्न कारणले बेखर्ची भइ बिचल्लीमा परेका नेपालीहरुलाई निःशुल्क आफ्नो गाडीमा राखेर नेपालसम्म पु¥याउदा अहिलेसम्म ५१ जनालाई उद्धार गरेको उनी बताउछन् । त्यतिमात्र होइन अस्पतालमा रगतको अभावका कारण बिरामीहरुको मृत्यु भइरहेको हुँदा सबै मानिसहरुले रक्तदान गर्न प्रेरणा मिलोस भन्ने उद्देश्यले रेडक्रसको आयोजनामा गरिने रक्तदान कार्यक्रममा अहिलेसम्म आफुले २१ पटक रक्तदान गरिसकेको उनी बताउछन् । उनको सामाजिक कामबाट प्रभावित भएर २१ जनवरी २०२४ मा डा. लाल ब. राणाले आयोजना गरेको कार्यक्रममा संसारका सवा तीन करोड डाक्टरहरुमध्ये पाँच जनालाई छनौट गरेर दिइने महात्मा गान्धी अन्तराष्ट्रिय शान्ति पुरस्कार एकजना समाजसेवी नेपाली टेक खड्का मगरलाई पनि छनौट गरेर प्रदान गरिएको रहेछ । यसरी महात्मा गान्धी शान्ति पुरस्कार पाउनेमा मलेसियाका– डा. मिवा सोरया, जुलिया नागेश्वरी, लण्डनकी– डा. प्रविण रानी, बंगलादेशकी– मेहरुन निरा मेहरिन, क्यानडाका– मोहम्मद विलाल केदार कुलकडी र नेपालका– टेक खड्का मगर रहेको उनी बताउछन् ।
(घ) अति बिश्वास नगर्नु , बिश्वासघातीको नाम होइन, शिक्षा लिनु
पहिलो कुरा बिश्वास र प्रेमले नै संसार चलेको छ तरपनि कसैलाई हदैसम्मको बिश्वास गरेर उसबाट पाउदाको धोकाको पिडा सहन निकै गा¥हो हुने जीवनका धेरै तिता अनुभूतिहरु पनि उनीसंग रहेका छन् तर ति धोकेवाजहरुको नाम लिने भन्दापनि उनीबाट शिक्षा लिनुपर्ने मान्यता राख्ने टेक खड्का मगरको आगामी दिनमा नेपालमै पनि बिशेष फोकस गरेर ब्यवसायिक तथा सामाजिक काम गर्न चाहेकोले नेपाल सरकारले ब्यवसायिहरुलाई प्रोत्साहन गर्ने खालको लगानीमैत्री नीति तथा कार्यक्रमहरु बनाएर ब्यवसाय सुरक्षाको भरपर्दो आधारशिला खडा गर्नुपर्ने उनको सुझाव रहेको छ ।
