हरि जिज्ञासु
सायद तत्कालिन माओवादीले जनयुद्ध सुरु नगरेको भए रुकुम र रोल्पा गुमनाम हुन्थे होला । अहिले पनि नेपालका कतिपय जिल्लाहरु गुमनाम अवस्थामा छन् । धेरै जिल्लाहरुसँग अत्याधिक सुन्दर हिमाल र सुन्दरतासहितको पहाड भएपनि ती जिल्लाहरु परिचित छैनन् । जस्तै विश्वसको सर्वोच्च शिखर सगरमाथा सोलुखुम्बु जिल्लामा अवस्थित भएकाले हाम्रो लागि सोलुखुम्बु जिल्ला परिचित हो । सर्बोच्च शिखर सगरमाथा रहेको जिल्ला सोलुखुम्बुमा विश्वभरका मान्छेहरुले पाइला टेक्ने भएकाले झनै परिचित छ । सगरमाथा देशको गौरव भएकाले देशलाई चिनाएको छ । त्यसैगरी रुकुम साहासिक पर्यटकको लागि एक सुन्दर गन्तब्य स्थान बन्न सक्छ ।
त्यसकारण नेपालका कतिपय जिल्लाहरु हिमाल, पहाड, संस्कृति र सम्पदाको कारण परिचित छन् । राराले मुगुलाई चिनाएको छ । मनास्लुले गोरखालाई चिनाएको छ त्यस्तै अन्य परिचित हिमालले अन्य जिल्लाहरुलाई चिनाएका छन् । नेपालको पर्यटन व्यवसयाले नेपालको आर्थिकस्तिरमाथि उठाउन मदत गर्छ भन्ने कुराको हेक्का राख्नुपर्छ । अब विस्तारै ट्रेकिङ सिजन सुरु हुदैछ । अब हजारौँ विदेशीहरु नेपाल घुम्न समय छुट्याएर नेपाल आउँछन् । कतिपयले एभरेष्ट बेसक्याम रोज्छन् भने कतिले मनास्लुको लार्केपास ट्रेक रोज्छन् । अन्नपूर्ण, धौलागिरी, मकालु, र डोल्पाको से–फोक्सण्डो लगायत अन्य धेरै ठाउँहरु ऋब भरिन्छ ।
अब हामीले रुकुमलाई कसरी चिनाउने त ? रुकुम र रोल्पालाई अहिलेसम्म जनयुद्धको उद्गम स्थलको रुपमा परिचित छ । तर हामीले देखेको रुकुम जनयुद्धले मात्र नभएर हिमाल र सुन्दर पहाडको सुन्दरताबाट परिचित हुन योग्य छ । हामीले रुकुमपूर्व र पश्चिमलाई अझै चिनाउन सकिरहेका छैनौँ । विदेशी पाहुनाहरुलाई हाम्रो हिमाल देखाउन सक्नुपर्छ । हाम्रो देशको गरिबी देखाएर डलर झार्ने काम गर्नु हुदैन । प्रकृतिले हामीलाई दिएको अजम्बरी उपहार भनेको हिमालहरु हुन् । विश्वलाई चिनाउन सक्नुपर्छ । अहिले धेरै नेपालीहरुले आफ्नै जिल्लाको संस्कार, संस्कृति र मनोरञ्जनात्मक दृष्य हेर्न पाएका छैनन् । मलाई त लाग्छ, विदेश घुम्नुभन्दा पहिला आफ्नै देशको सुन्दरता हेर्नुपर्छ र विदेशी पाहुनाहरुलाई हाम्रो हिमालको सुन्दरताबारे बताउनुपर्छ ।
गत वर्ष म गोरखाको मनास्लु बेसक्याम्प पुगेर मनाङ र लम्जुङ हुँदै काठमाण्डौँ फर्किएँ । करिब १२ दिनको पैदलयात्राले मलाई हिमाल यात्राको गजवको अनुभव संकलन गर्ने अवसर जुरायो । ट्रेकिङमा निस्कदा म एक्लै छु जस्तो लाग्थ्यो । जब बाटोमा विदेशी पाहुनाहरु भेटिए त्यसपछि मलाई लाग्यो, हामी नेपालीहरुले हाम्रै नेपालको हिमाल हेर्नसम्म फूर्षद पाएका रहेनछौँ ।
हाम्रो हिमाल हेर्नको लागि जर्मनका ७० वर्षका बृद्ध आएका छन् । उनका परिवार नै नेपाल हेर्न आएका छन् । हिमाल र हिमालको फेदमा रहेका सुन्दर गाउँहरुको दृष्य क्यामेरामा कैद गरेका छन् । क्या गजवले मज्जा लिएका छन् । हामी भने अनेक बहानमा घुम्न फूर्सद नै पाउँदैनौँ । वास्तवमा हामीले विदेश नघुमेपनि आफ्नो देशसम्म घुम्नु पर्दोरहेछ ।
अब हामीले रुकुमको संस्कृति र हिमाली क्षेत्रको अवलोकन गरी नयाँ ट्रेकिङरुट खोल्नुपर्छ । हामीले रुकुमको हिमालहरु र त्यहाँको सुन्दर दृष्यहरु आन्तरिक तथा बाह्य पर्यटकहरुको देखाउनसक्नुपर्छ । पूर्वी रुकुमको पूथा हिमाल, सुनदह, सिस्ने हिमाल, रुकुम पश्चिमको चित्रिपाटन, स्पार्पूताल, झारमारे लेक लगायत अन्य प्राकृतिक उपहारको गहिरो अध्ययन गरी पर्यटकहरुलाई चिनाउने जिम्मा रुकुमेली जनतासँगको सहकार्यमा प्रदेश सरकारले अभियान चलाउनुपर्छ । रुकुम पूर्व पर्यटककिय सम्भावनाले भरिएको जिल्ला हो । त्यसकारण समयमै प्रदेश सरकारले रुकुम चिनाउनको लागि ठूलो पहल गर्नु आवश्यक छ । अहिले पर्यटकहरु आन्तरिक बाह्य पर्यटक रुकुम पूर्वमा नपुग्नुको कारण के हो भन्ने विषयमा हामीले चासो दिएनौँ । जुन हिमाली जिल्लाहरुले हाम्रो जिल्लामा हिमाल छन् र ती हिमाललाई हामीले यसरी दृष्यावलोकन गर्नसक्छौँ भन्ने मापदण्ड बनाएका हिमाली जिल्लाहरु अहिले पर्यटन व्यवसायबाट आर्थिक आयआर्जन गरेका छन् । तर आफ्नै जिल्लाको हिमाल र टे«किङरुट चिनाउन नसकेका हिमाली जिल्लाहरु प्रकृतिको उपहार छातीमा टाँसेर थला परेका छन् ।
रुकुृमपूर्व आफैमा एक हिमाली जिल्ला हो । यहाँ अध्ययन गर्ने हो भने, पूथा हिमाल, सिस्ने हिमाल लगायत अन्य धेरै हिमालहरु छन् । हामीले ती हिमालहरुको विषयमा चासो दिएका छैनौँ । ती हिमाल र हिमालको सुन्दरता विदेशी पाहुनाहरुलाई उपहार दिएर आर्थक आयाआर्जन गर्न सक्छौँ भन्ने चेत हामीसँग छैन । प्रदेश सरकार स्थानीय सरकार मिलेर रुकुम पूर्वको हिमालहरुलाई अध्ययन गरी कम्तिमा पनि १० दिनको ट्रेकिङरुट निर्माण गरेमा हामीले रुकुमलाई पर्यटकीय दृष्टिकोणबाट चिनाउन सक्छौँ । प्रचारप्रसार पनि अत्यन्त आवश्यक छ । पछिल्लो समय मावजाति मज्जाले प्रकृतिसँग मज्जाले रमाउन चाहान्छ । केही वर्ष अघि विदेशी पाहुनाहरुले भरिने ट्रेकिङ रुटहरुमा रहेका होटलहरु अहिले आन्तरिक पर्यटकहरुले पनि भरिने गरेका छन् । विस्तारै नेपालीहरु वर्षभरी काम गरेर वर्षमा कम्तिमा पनि विदाको समयमा घुम्न जानुपर्छ भन्ने सोच बनाएको देखिन्छ । रुकुमलाई पर्यटकहरुको गन्तव्यस्थान बनाउन सकियो भने, रुकुम आर्थिक रुपमा केही सफल हुन सक्छ ।
यदि हामीले हाम्रो आयस्रोतको माध्यम एउटा पर्यटन क्षेत्र पनि हो भन्ने कुरा बुझ्न सकेनौँ भने पक्कै पछि पर्छौँ । प्रकृतिले दिएको असिमित उपहारको उपयोग गर्न सक्नुपर्छ । ऐतिहासिक सम्पदा र संस्कृतिको जगेर्ना गर्नु आवश्यक छ । रुकुम र रोल्पा भनेको जनयुद्धको इतिहास बोकेका जिल्ला हुन् । हालसम्म देशमा भएका परिवर्तनका दृष्यहरु रोल्पा र रुकुमबाट सु्रु भएको माओवादी जनक्रान्तिबाट प्रतिफल हो भन्ने कुरालाई हामीले विश्वसामु चिनाउन सक्नुपर्छ ।
रुकुममा सुन्दर हिमाल, ताल र पोखरीहरु विदेशी पर्यटकहरुलाई आकर्षण गर्ने लायकका छन् । पर्यटन संभावनाको खोजी गर्नु आवश्यक छ । पर्यटन व्यवसायमा कसैले चासो नदिएको कारण रुकुमका सुन्दर दृष्यहरु अझै देखिन र भेटिन सकिरहेका छैनन् । चासोको रुपमा यसको विकास गर्ने हो भने रुकुम आम्दानीको मुख्य स्रोत पर्यटन व्यवसाय बन्न सक्छ । यसको लागि रुकुम चिनाउन स्थानीयदेखि प्रदेश सरकारले निरन्तर साथ दिनुपर्छ । कुनै पनि व्यवसाय सुरु गर्दा सुरुमा संघर्ष हुन्छ पछि त विस्तारै ठाउँमा आइहाल्छ । त्यस्तैगरी रुकुम चिनाउनको लागि पहिले केही जटिलताहरु होलान् तर चासो दिने हो भने रुकुमलाई पयर्टन व्यवसायमा जोड्न त्यति गाह्रो विषय होइन र छैन ।