गंगाराम चनारा
शान्ति प्रक्रियाको सुरुवाती संगै रुकुममा गरिएका उत्पादनका महत्वाकांक्षी योजनाहरु केही अगुवा नेताहरुको अबस्था कायपलट गर्ने बाहेक असफल भइसकेको यस सन्दर्भमा अर्को कुनै जादुको छडी छैन कि आम उर्जासिल कार्यकर्तालाई फेरि पनि उत्साहित बनाइराखोस ।
रुकुम जिल्ला विद्रोही चेतनाले भरिपुर्ण मानिसहरु बसोबास गर्ने एक संघर्षरत जिल्ला हो । हिजो बाइसे, चौविसे राजा महाराजाहरु देखि इतिहासका हरेक शासकहरुले त्ता प्राप्ति र बचावटका लागि गरेका कुटिल संघर्ष र ऐतिहासिक सफलताका इतिहासहरु खोतल्दा रगत र पसिनाकै संघर्षरत डोबहरु रुचिले पढ्न सकिन्छ ।
२००६ सालमा देशमा कम्युनिस्ट स्थापना पछि रुकुमेली क्रान्तिकारी छोरा कामी बुढाले २००९÷०११ साल सम्म आफ्नै जन्मभुमि रुकुमबाट संचालन गरेको अभियान “आज देखि तपाई कम्युनिस्ट“भन्दै भेटिएका हरेक मानिसलाई रातो टीका लगाइदिएर पश्चिम नेपाल भरी फैलाएको अभियान अनि २०५२ साल फागुन १ देखी संचालित १० बर्षे जनयुद्धको उद्गम जिल्ला र यहाँका वीर रुकमेली हर झुपडीबाट निस्केको विद्रोहको ज्वालाले पनि यहाँका मानिसहरु कम्युनिस्ट सिद्धान्तद्वारा निर्देशित बिद्रोही चेतनाले भरिपुर्ण छन भन्न मिल्ने निकै बलिया आधारहरु छन । यसो भनिरहदा रुकमेली जनता बदलिँदो परिस्थिति संगै बिद्रोहका इसु र एजेन्डा बदलेर आत्मनिर्णयको अधिकार प्रयोग गर्न पनि उत्तिकै सचेत र सिपालु छन् भन्ने कुरा पनि भुल्नु हुँदैन ।
रुकुमेली जनताको ३ दशक लामो (खासगरी बहुदलीय व्यवस्था यता) राजनैतिक चेतना र स्थापित विद्रोहका झलकहरुको सोझो मुल्यांकन गर्दा बुलेट होस् वा ब्यालेट दुबै क्षेत्रमा मुलतः कम्युनिस्ट विचार निर्देशित पार्टीहरुकै हालीमुहाली भएको पाइन्छ ।
बहुदलीय व्यवस्थाको आगमनसंगै रुकुमेली भुमिमा क्रियाशिल कम्युनिस्ट पार्टीहरु मध्ये खासगरी ५० को दशक नेकपा एमालेद्वारा जनताको मन जितेरै पुरै जिल्ला कब्जा गरि नेकपा एमालेमय बनाएको अवस्था हो । संगठन निर्माण र विस्तारका हिसाबले तत्कालीन रुकुमका ४३ वटै गा.वि.स.मा जरा गाडिसकेको नेकपा एमाले त्यतिबेलाका सबै स्थानीय तथा केन्द्रिय चुनावमा जनताको लोकप्रिय मतबाटै करिब एकलौटी जितिरहेको इतिहास छ । राणा, पञ्चायत काल देखि एकलौटी रजाइँ गरेका रुकुमका छोटे राजाहरुको निरंकुश शासनको मारले हैरानी व्यहोरीरहेका रुकमेली जनता खुलेआम सर्वहारा वर्गीय कम्युनिस्ट विचार बाट प्रशिक्षित हुन पाउदा पुरै जिल्ला कम्युनिष्ट अखडा बन्न बेर लागेन र त ५० को दशक रुकमेली जनताको चेतनाको ढोका खुल्ने दशककै रुपमा इतिहासमा दर्ज हुदैछ ।
२०५२ साल फागुन १ गते रुकुमको राडिज्युला,रोल्पाको होलेरी अनि सिन्धुलीको सिन्दुलीगढी प्रहरी चौकीमा फौजी हमला गर्दै उद्घोष भएको जनयुद्ध र युग बदल्न निर्मित क्रान्तिकारी विचार जसरी हर झुपडीमा घुस्यो त्यसपछि कम्युनिस्ट वर्गीय पक्षधरहरु युग बदलेर कम्युनिस्ट सत्ता निर्माण गर्ने महान सपना सहित मुक्ति या मृत्युको कसम खाई टाउकोमा कफन बाँधेर हर झुपडी–झुपडी, गाउँ–गाउँबाट स्वतस्फूर्त जनयुद्धमा हाम फाले । यो ऐतिहासिक अभियान कम्युनिष्ट चेतनाको उच्चतम रुप थियो,उत्पीडित बर्ग समुदायको मुक्तिको नजिकको सपना थियो र त सयौं वर्ष देखि अधिकार लुटिएका बर्ग, जाती, लिङ्ग, समुदायहरु विद्रोहको ज्वालासंगै कुसंस्कारका जंझिरहरु जबर्जस्त चुटाल्दै महान विद्रोहको माध्यमबाट एकाएक नेतृत्वमा आएका थिए,त्यो नै कम्युनिष्ट विचारद्वारा निर्देशित क्रान्तिकारी छलाङ थियो ।
बन्दुकको नालमा अडिएको राज्यसत्ता बन्दुककै नालको आडले खोसेर गरिखाने वर्ग, समुदायको नियन्त्रण र निगरानीमा राख्ने महान सपना बाँडिएको जनयुद्ध ०६२÷०६३ को ऐतिहासिक जनआन्दोलन पश्चात् समानुपातिक, समावेशी, धर्मनिरपेक्षता लगायतका केही महत्वपूर्ण उपलब्धिहरु हामी माझ छोड्दै वृहत् शान्ती सम्झौतामा हस्ताक्षर गरी नेपाली क्रान्तिमा ब्रेक लागे संगै एउटा पंक्ति क्रान्तिको मुख्य अध्याय समाप्त भएको आन्तरिक निष्कर्ष सहित त्यही नीति, बिचार आफुखुसी जनता, कार्यकर्तामा लादेर गैरक्रान्तिका कुनै हत्कन्डा बाँकी नराखी “महिनौं गोठमा बाँधेर छोडेको गोरु मात्तिए झैं “मात्तिएर कमाउ धन्दामा लागे भने अर्को थरी इमान्दार नेता कार्यकर्ता उहीँ पुरानै डेट एक्सपायर विचारको फेर मारेर बेमौसमी क्रान्तिको रटान रटिरहदा घर न घाटका हुँदै गए । सदियौं देखि जनतालाई जुका झैं चुस्दै आएको निरंकुश सत्ता हतियारकै बलबाट पल्टाएर लोकतान्त्रिक गणतन्त्र, जनवादी गणतन्त्र, समाजवाद हुँदै साम्यवाद सम्म पुग्ने महान लक्ष बोकेको क्रान्तिकारी पार्टी लोकतान्त्रिक गणतन्त्रको पहिलो खुट्किलामै तहसनहसमा पुग्नु मुल नेतृत्वकै समस्या हो भने क्रान्तिका सहायक लिडरहरु बदलिँदो परिस्थितिसैगै मुल नेतृत्वलाई बदलिन सघाउनु भन्दा एकाएक क्रान्तिकारी भस्म रेखा तोडेर आफ्नो धन युद्ध सफल बनाउन भित्री रूपमा लाग्नु नै नेपाली क्रान्तिको दुर्भाग्य थियो ।
राजनैतिक कार्यदिशा सहि वा गलत हुनुले सबै कुराको निधो गर्छ भने झैं युग बदल्न तम्सिएका क्रान्तिकारी नेताहरू एक संक्रमनकालिन कार्यदिशा निर्माण गरि नयाँ सांगठनिक फर्मेशन सहित प्राप्त क्रान्तिका उपलब्धिहरुको रक्षा गर्दै तिब्र उत्पादनको एजेन्डा सहित जनताको बिचमै हातेमालो गरेर समाजवादमा पुग्ने फराकिलो कार्यनीति नबनाउनु नै पतनको मुल कारण थियो । २०६४ को पहिलो निर्वाचनमा प्राप्त १२० सिट क्रान्तिका उपलब्धिहरुको रक्षा गर्दै युद्धकालमा भने झै जन नियंत्रित पार्टी पार्टी नियंत्रित सरकारको माक्र्सवादी मान्यता अपनाई पाँच बर्षे कार्यकाललाई क्रान्तिकारी शासक चिनाउने केसीको रुपमा बुझी व्यवहारिक हिसाबले कम्युनिस्ट लोकप्रियताका माध्यमबाट सारा नेपालीहरुको मन जित्नुको सट्टा संसदीय राजनीतिका पक्का खेलाडी गैर कम्युनिस्ट संसदहरुको पुरानै अभ्यासको सिको गरि युद्धमा आफुहरुले बोल्दै आएको भाष्य खसीको टाउको झुन्ड्याएर कुकुरको मासु ….मै प्रतिस्पर्धा गर्नु नेपाली क्रान्तिका निम्ति ठूलो दुर्भाग्यको सुरुवाती थियो । यसरी नेपाली क्रान्तिमा लागेको ब्रेकबाट रुकुमेली क्रान्तिकारी जनता, कार्यकर्ता पनि अछुतो रहनु संभव थिएन नै र त आज रुकुमेली जनता पनि नेकपा माओवादीको विकल्प खोज्ने अबस्थामा पुगेको छ ।
त
सर्थ अब देशभरका इमान्दार क्रान्तिकारी नेता, कार्यकर्ताहरु मौज्दात कम्युनिस्ट आस्था बचाउन नेकपा एमालेमा फर्किनुको विकल्प म देख्दिन भने रुकुममा त झनै अर्को विकल्प छदै छैन ! म ठोकेर भन्छु कि खासमा कम्युनिस्ट सिद्धान्त बोकेर एक अध्याय पार गरिसकेको योद्धा कुनै हालतमा गैरकम्युनिष्ट बन्न सक्दैन । उसको नसा–नसामा कम्युनिष्ट रगत बगिरहेको हुन्छ । रुकुमका क्रान्ति नायकहरु खस्किदो माओवादी आन्दोलनको फाइदा उठाउदै क्रान्तिकारी लिग छोडेर छोटै समयमा सात पुस्ता पुग्ने पैसा कमाउदै नवधनाढ्यको सुचिमा दर्ज भएका छन ।
हिजो सामान्य कार्यकर्तालाई मन्दिर भत्काउन ठाडो निर्देशन गर्नेहरू आज गेरु पहिरनमा घन्टा हल्लाएको देखिएपछि, हिजो अमेरिकी साम्राज्यवाद मुर्दावाद भन्दै उफ्रिन निर्देशन गर्नेहरु आज छोराछोरीको ग्रीनकार्डमा अमेरिका–नेपाल दोघरे भएपछि, हिजो छिमेकी छोराले विवाह गर्दा ७ जना जन्ती बोलायो भनी दुलाह दुलही कब्जा गर्न आदेश गर्नेहरु आज आफ्नै छोराछोरीको विवाहमा ८६ बेन्जन जुटाउन ५ करोड खर्चिने अबस्थामा पुगेपछि, हिजो सामान्य जनताका छोराछोरीलाई अन्तरजातीय विवाह गर्न उक्साउनेहरु नै आज नवराज बि.क.को सच्चा प्रेम पछिको सामुहिक हत्यालाई महिला प्रतिको हुलहुज्जत र आत्महत्याको कथित आधिकारिक भाष्य निर्माण गर्नेहरुले अब रुकमेली विद्रोही जनतालाई समाजवादी गुलियो नाराले उल्लु बनाइरहन्छौं भन्नु मुर्खता भन्दा अरु हुन सक्दैन ।
हिजो सत्ता प्राप्ति पछि सुनका घडी लगाउने हैसियतमा पु¥याउछौं भनिएका जनमुक्ति सेनाहरु लड्दालड्दै छातीमा गोली लागेर ढलेका सहिद परिवारको अवस्था के छ,युद्ध मैदानमा अगाडिको कमरेडको छातीमा गोली लागि ढल्दा उसको स्वर्णिम सपना बोकेको रक्ताम्य झोला र संसार बदल्न उसले उचालेको हतियार सम्हाल्दै “युद्धको नियम नै हो,तिमि त ढल्यौं तर तिम्रो सपना ढल्न दिदैनौं कमरेड“भन्दै थप आक्रमक भएर व्याटल जितेका जिवित जनमुक्ति सेनाहरु मुल नेतृत्व नै पटकपटक सरकारमा जाँदा कुन अवसरमा छन ।
शान्ति प्रक्रियाको सुरुवाती संगै रुकुममा गरिएका उत्पादनका महत्वाकांक्षी योजनाहरु केही अगुवा नेताहरुको अबस्था कायपलट संगै असफल भइसकेको सन्दर्भमा अर्को कुनै जादुको छडी छैन कि आम उर्जासिल कार्यकर्तालाई फेरि पनि उत्साहित बनाइराखोस । सहि विचार बिना विभिन्न गुलिया नाराको भुलभुलैयामा परेका जनता, कार्यकर्ता रानु हराएको माहुरी झै अझै पनि केहिदिन आशाले अढिएता पनि छिटो बुझ्ने छिटै निस्किएर रानु भेट्ने छन, ढिलो बुझ्ने घर न घाटका हुनेछन् र बुझ्दै नबुझ्ने त्यही पुरानो घारमै प्राण त्याग गरेझैं हुन्छन नै । त्यसैले यो भन्दा बढ्ता इमान्दार बन्नु रुकुमेली सच्चा माओवादी आन्दोलनकारी कार्यकर्ताहरुका लागी राजनैतिक रुपमा मात्र होइन समग्र हिसाबले पिढि नै सकिनु बाहेक अरु केही होइन ।
सगरमाथा चढ्ने आरोही खराब मौसमका कारण ओर्लिनु परे फेदिको बेसक्याम्प मै झर्छ,किन कि फेरि अनकुल मौसम पछि सगरमाथा चढ्न सकियोस् । तसर्थ रुकुमका माओवादी जनयुद्धमा संलग्न सबै इमान्दार नेता कार्यकर्ता वैचारिक, राजनैतिक खराब मौसममा पनि एक दशक भन्दा बढी नेताकै इसारामा खरो क्रान्तिकारी बन्न खोज्दा खोज्दै आधारभूत खर्च कै ऋणले टुपि नाघेर खाडीको ४५ डिग्री गर्मी खेप्न बाध्य छन भने कति परिवार सहित कालापहाड विस्तारवादीहरुको भाँडा माँझ्दैछन।
यो अवस्थाको सामाना गर्न अब उप्रान्त रुकमेली जनता बाध्य छैन । गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारको पुर्ण ग्यारेन्टी सहितको कम्युनिस्ट सत्ताको परिकल्पना सहित हर झुपडीबाट युद्ध मैदानमा हुमिएको रुकमेली कम्युनिस्ट जनता दाँत झरिसकेको सिंह झै भएको माओवादी विचार र नेतृत्वदायी भुमिकामा रहेका अगुवा व्यक्तिहरुका माथी उल्लेखित कम्युनिस्ट नैतिकता विरोधी व्यवहारका कारण पनि बैचारिक, सांगीतिक रुपमा उपयुक्त निकास खोजिरहेका रुकमेली नेता कार्यकर्ताहरुलाई आजको समयमा उपयुक्त कम्युनिस्ट विचार र संगठन नेकपा एमालेले अंगाल्दै आएको जनताको बहुदलीय जनवाद नै हुन सक्छ र त्यही हिसाबले सचेत कम्युनिस्ट योद्धाहरु सचेत तरिकाले नै हर झुपडीमा पुगेर हामीले खुन, पसिना बगाएको माओवादको असफलता र मुलुकमा स्थापित हुदै गएको जबजको उचाइको विषयमा परस्ट्याउन जरुरी छ ।
तसर्थ रुकुम जिल्ला बहुदलीय व्यवस्था स्थापना पछि नेकपा एमालेबाटै सांगठनिक जग बसालिएको कम्युनिष्ट विचारले परिपक्व जिल्ला हो र ५० को दशकको सुरुवातीमा सांगठनिक हिसाबले पुरै जिल्ला कब्जा गरिसकेको नेकपा एमाले त्यतिबेलाका सबै चुनावहरुमा जनताको लोकप्रिय मतले एकछत्र विजय हासिल गरिरहदा पेचिलो जनयुद्धको रापसंगै तत्कालीन नेकपा एमालेका तमाम नेता, कार्यकर्ताहरु सगर्व जनयुद्धमै सहभागी भएको अवस्था अनि सरकार र बिद्रोही पक्षको सोझो–सोझो लडाइका कारण अन्य दलहरूको राजनैतिक गतिविधि ठप्प भएकाले पनि ओझेलमा परेको नेकपा एमालेको संगठनहरुका पात खसेता पनि जरा सुकेका छैनन् र नेकपा एमाले रुकुमद्वारा आन्तरिक विवादका सामान्य विषयहरू मिलान गरी एकजुट भएर विशेष पहलकदमीका साथ जनता माझ पुगि पुरानै सांगठनिक जराहरुलाई जबजको बैचारिक सृजनशीलतामा “जरा सिचाइ“ गरियो भने नेकपा एमालेका सबै संगठनहरुलाई पुनः ५० को दशकको सुरुवातीकै अवस्था पु¥याउन सकिने प्रशस्त आधारहरु छन ।
एकचोटी नेकपा एमाले पार्टी रुकुमलाई जुरुक्क उठाएर अत्यधिक बहुमतका साथ बिजय बनाई निरन्तर जनताको सेवा गर्ने हैसियतमा पु¥याउने जिम्मा अब इतिहासले जबर्जस्त हाम्रो काँधमा सुम्पेको छ । त्यसको लागि नेकपा एमालेका केन्द्र,प्रदेश र जिल्ला हुँदै स्थानीय तह सम्मका सबै मौज्दात नेता कमरेडहरु एक मनले आ–आफ्नो कार्यफिल्डमा खटी जनताको भरोसा योग्य नेतृत्वको रुपमा स्थापित हुन जरुरी छ । क्रान्ति भनेको आन्दोलन हो,आन्दोलन एक उदेश्य प्राप्तिका लागि सशस्त्र वा निःसशस्त्र तरिकाले दिइने झटका हो,झटका सधै रहदैन । तसर्थ नेपाली क्रान्ति एक हदको तार्किक निष्कर्षमा टुङ्गिसकेपछी बैचारिक रणनीतिमा फेरबदल नहुने गरि समय सुहाउँदो कार्यनीति बनाएर नितिगत हिसाबले क्रान्तिकारी योद्धाहरुको मन जित्न नसकिरहेको अबस्थामा “नबजे बासुरी,नरहे बाँस“ यहि होईन र बिश्वमा क्रान्ति गरेका देशहरुको इतिहास ।
लेखक चनारा नेकपा एमाले कर्णाली प्रदेश समितिका सदस्य हुन ।