वसन्त ऋतुमा रित्तो छन् गाउँ

Byआहा सञ्चार

२०८१ बैशाख १३, बिहीबार १३:३८

हरि जिज्ञासु
मलाई वसन्त ऋतु मन पर्छ । हजुरलाई पनि मन पर्छ होला । वसन्त ऋतुमा नयाँ पालुवा पलाउँछन् । फूल फूल्छ अनी फल फल्छ । प्रकृति पनि बढो गजवले सजिन थाल्छ । प्रकृतिको नयाँ पहिरणको दृष्य हेर्न लायक हुन्छ अर्थात हेरिरहन मन लाग्छ । वास्तवमा मान्छेहरु प्रकृतिको समिपमा बसेर प्रकृतिसँगै रमाउनुपर्ने हो । मान्छेहरुले आफ्नो सपना पूरा गर्नको लागि गाउँ छोडेर सहर अनी सहर छोडेर आकाश छिचोल्दै विदेश पुग्छन् । प्रकृति मानिसदेखि टाढा रहन्छ र मानिस प्रकृतिदेखि टाढा रहनेक्रम चलिरहेको छ ।

म आफैले गाउँ छोडेको वषौँ भईसक्यो । मलाई अलिअलि गरेर सहरको हावापानीले तानीसकेको छ । सहरका अमिल्दा सेवा सुविधाले गाउँको आर्गानिक दृष्यहरुलाई मनदेखि टाढा पु¥याउन खोज्छ । मनले भने गाउँघरतिर नै जोडिन खोज्छ । भविष्यको योजना र जीवनको सहजताको लागि धेरै मानिसहरुले प्रकृति भुलिरहेका छन् । प्रकृतिसँग रमाउँन विर्सेका छन् । बास्तवमा हामी प्रकृतिसँग रमाउँनु पर्ने हो । प्रकृतिका अनिगिन्ति संरचनाहरुको अध्ययन गर्नुपर्ने हो ।

केहि दिन अगाडि गाउँको एक जना साथीले फोन गरेर गाउँको बाल्यकालको सम्झना दिलाउँनुभयो । रुकुम पश्चिमको स्याँलाखदी आफैमा पनि प्राकृतिक रुपमा धनी छ । त्यहाँको हावापानी र प्राकृतिक दृष्यहरुले मानिसहरुको मनलाई सजिलै तान्छन् । साथीसँग फोनमा कुरा गर्दा हामीले बाल्यकाल अर्थात स्कुल पढ्दै गर्दा गरेका क्रियाकलापको बारेमा एकले अर्कालाई सम्झना गरायौँ । हामीलाई अरु समय भन्दा वसन्त ऋतुको समय बढो लाभदायिक हुन्थ्यो । खोलामा माछा मार्न जाने, गहुँ काट्ने, काफल खान जाने, एैसेलु खान जाने चराहरुको गुँड खोज्न जाने लगायत यसरी नै साथीभाइहरु प्रकृतिसँग प्रत्यक्ष जोडिन्थियौँ । प्रकृतिलाई हामीले माया गर्थियौँ अनी प्रकृतिले हामीलाई माया गरेको आभास हुन्थ्यो ।

वास्तवमा भन्ने हो भने मानिसहरु धेरै ठूलो चाहाना राखेर आफ्नो जीवनलाई तनावमा राख्छन् । मानिसको असिमित चाहाना र एउटाले अर्काको देखासिखीको कारण मानिसहरुमा अनावश्यक तनाव सृजना हुन्छ । यदि जीवनलाई सहज बनाउँने हो भने अरुको देखासिखी नगरेर स्वतन्त्रसाथ जीवनलाई रंगाउनुपर्छ । आफूभन्दा धनी मानिसहरुलाई हेरेर आफू पनि धनी बन्नुपर्छ भन्ने चाहानालाई उत्कट बनाएरमात्र मानिस खुसी हुँदैन । आर्थिक रुपमा आफूलाई सम्पन्न तुल्याएकाहरु पनि मानसिक रुपमा धनी नहुन सक्छन् । प्रकृतिसँग रमाउँनु एउटा कुरा हो भने, धन पैँसासँग रमाउँनु अर्को कुरा हो । हामीले निरन्तर पढ्दै र देख्दै आएको नेपाल प्राकृतिक रुपमा धनी देश हो र यो देशमा अनेक सुन्दरता लुकेको छ । तर दुःखको कुरा नेपालको हिमालहरु हामीले हेर्न पाएका छैनौँ विदेशी प्रर्यटकहरु आएर हाम्रो हिमाल हेरिरहेका छन् ।

election adv.

बसन्त ऋतुलाई ऋतुहरुको राजा भनेर चिन्छौँ । वास्तवमा राजा नै हो वसन्त ऋतु जसले प्रकृतिलाई हरेक वर्ष नयाँ बनाउँछ । हरेक वर्ष नयाँ पहिरणमा सजिएको प्रकृतिमा यदि मानिस भएन भने आखिर प्रकृति सजिनुको अर्थ के रह्यो र ? भर्खर पालुवा पलाएको घना जंगलमा न्याउली चरीको मिठो स्वर सुनेर जिन्दगी बुझ्ने मान्छे भएन भने न्याउली चरीको सुरिलो भाकाको के अर्थ भयो ? त्यसकारण प्रकृतिसँग देशको राजनीति पनि जोडिएको छ । अहिले गाउँघरका धेरै युवाहरु गाउँ छोडेर विदेश पलायन हुँदैछन् । राजनीतिले नै देशका नागरिकहरुलाई प्रकृतिबाट टाढा राख्दैछ । बसन्त ऋतुको सुुन्दरता हेर्नबाट मानिसहरुलाई बन्चित गराउँदैछ । यदि गाउँघरमा युवाहरुलाई सहजसाथ जिउँन सक्ने अवस्था भइदिएको भए धेरै युवाहरु प्रकृतिको सुन्दरता हेर्नबाट बन्चित हुने थिएनन् । गाउँघर स्वभनीय हुनेथियो ।

हाम्रो देशको राजनीति कहाँ चुक्यो ? हामी कहाँ चुक्यौँ ? यी गम्भिर प्रश्नको जवाफ खोज्नु सबैले आवश्यक छ । बसन्त ऋतुमा पालुवा फेरेर आफूलाई सजाएको प्रकृतिलाई पनि खासै मजा लागेको छैन होला । किनकि प्रकृतिको सुन्दरता हेर्न सृष्टिको सर्बश्रष्ठ प्राणी मान्छे नै नभएपछि प्रकृति कसको लागि सजिनु र सकलाई देखाउन सजिनु जस्तो लाग्छ होला । त्यसकारण जव मानिस प्रकृतिसँग रमाउँन चाहाना राख्छ र प्रकृतिसँग हरेक समय बिताउन चाहान्छ त्यो मान्छेले जीन्दगी बुझेको हुन्छ । उदारणको लागि अहिले हामीले भन्न सक्छौँ अझै पनि रुकुम, डोल्पा, लगायत देशका विकट गाउँहरुमा बस्ती छ । त्यहाँ मान्छेहरु बस्छन् । जीवन चलेको छ । उनीहरु प्रकृतिसँग रमाएका छन् । प्रकृतिले उनीहरुलाई माया गरेको छ उनीहरले प्रकृतिलाई माया गरेको छ । यदि उनीहरुसँग प्रकिृतिको माया नभएको भए त्यो यातायात र सञ्चार नपुगेको ठाउँमा किन बस्नु पथ्र्यो र ? मान्छेहरु बसिरहेका छन् प्रकृतिसँग रमाई रहेका छन् ।

हाम्रो चाहाना भनेको मानिसहरु प्रकृतिसँग रमाउँन चाहान्छन् । नेपाल सरकारले मानिसहरु प्रकृतिसँग रमाउँने बातावरण बनायो भने नेपालका नागरिकहरु विश्वका खुसी हुने नागरिकमा पर्न सक्छन् । किनकि आत्मा सन्तुष्टीले मानिसहरुलाई जीवनमा सफल हुन सिकाउँछ । अर्को कुरा धन सम्पतीको पछि लागेर मात्र जीवन बुझिदैन । हाम्रो कतिपय पुर्खाले प्रकृतिसँगै आफ्नो जीवन सकाए । उनीहरु जीवन कति खुसी थिए र कति दुःखी थिए भन्न त सकिदैन तर पनि प्रकृतिसँग प्रत्यक्ष जोडिएको मानिसहरु खुसी नै हुन्छन् । अहिले पनि गाउँघरमा प्रकृतिसँग प्रतक्ष्य जोडिएका व्यक्तिहरु खुसी देखिन्छन् । सहरमा जस्तो गाउँमा तनाव छैन । गाउँघरमा बसोबास गर्नेहरुलाई अहिले अलि सहरको रमझम र उच्च स्तरीय चाहानाले बिगारेको छ । प्रकृतिसँग प्रत्यक्ष जोडिएर खुसी खोजिरहेका आमा बुवाहरुलाई छोछोरीले अनावश्यक माग राखेर दुःख दिइरहेको अवस्था छ । हामीले नागरिकहरुलाई प्रकृति र प्रकृति सँगको सम्बन्धले जीवन सहज हुन्छ भन्ने कुरालाई फैलाउन सकेनौँ ।

प्रकृतिसँग प्रत्यक्ष जोडिएको जीवन आर्थिक रुपमा सफल नभएपनि मानसिक रुपमा धनी हुन्छ भन्ने कुरालाई हामीले बुझाउँन सकेनौँ । त्यसकारण नेपालको राजनीति दलहरुले नागरिकलाई खुसी बनाउनको लागि बसन्त ऋतुमा कोइलीको सुरिलो भाका सुनिदने मान्छेहरु गाउँमा हुनुपर्छ भन्ने बातावरण मिलाउनु पर्ने हुन्छ । सानो भएपनि जीवन जीउने रोजगार गाउँमै मिल्ने ब्यवस्था राज्यले गर्नुपर्छ । मान्छेहरु प्रकृतिको समिपमा बाहेक अन्त कतै गएर खुसी हुन सक्दैन । मान्छेहरले जस्तो भए पनि आफू जन्मेको ठाउँ नछोड्नुको मुख्य कारण त्यहि हो किनकि त्यहाँ प्रकृतिको माया लुकेको छ ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto