रुकुम पश्चिम : नेपाल मानवअधिकार वर्ष पुस्तक २०१९ का लागि रुकुम पश्चिममा २०१८ जनवरीदेखि हालसम्म भएका मानवअधिकार उल्लंघन र ज्यादतिका घटनाहरुको वार्षिक पूर्व समिक्षा मंसीर ५ गते मुसिकोट खलंगामा सम्पन्न भएको छ । कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि मनिषा केसीले यस अवधिमा संकलन गरेका ५९ वटा मानवअधिकार उल्लंघन र ज्यादतिका घटनाहरु प्रस्तुत गरेकी थिईन । जसमा अन्य पक्षबाट हत्या ३, परिवारजनबाट हत्या ३, बालअधिकार अन्तर्गत विद्यालयमा शारीरिक यातना १, बालविवाह १, बलात्कार तथा यौन दुव्र्यवहार ११, महिला अधिकार अन्तर्गत घरेलु हिंसा र कुटपीट २१, बलात्कार तथा यौन दुव्र्यवहार ५ र बहुविवाहका ४ घटना रहेका छन् ।

समिक्षा कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले यस तथ्याङ्कबाट जिल्लाको स्थिति सबैलाई जानकारी हुनु राम्रो भएको बताए । यसबाट मानवअधिकार उल्लंघन र ज्यादतिको घटनामा महिला बढि पीडित हुने गरेको उनले बताए । जनचेतनाका कारण प्रहरीसम्म मुद्दा दर्ता हुने हुँदा घटनाहरु बढेको उनको भनाई छ । बालविवाहका कारण घरेलु हिंसा र बहुविवाह बढेको भन्दै यससम्बन्धी कानुनलाई कडाईका साथ कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिए । समुदायमा हुने कतिपय घटनाहरुको मेलमिलापबाट समाधान गर्दा दीगो हुने भएकोले त्यसतर्फ पनि लाग्नुपर्ने तर जघन्य अपराधका घटनामा भने कानूनी कारवाही नै गर्नुपर्ने उनको भनाई छ । अघिल्लो वर्षको मानवअधिकार उल्लंघनको घटनाहरु समेत प्रस्तुत गरेर हालको अवस्था तुलना गर्दा प्रभावकारी हुने उनले सुझाव दिए । जिल्लामा मसिनो ढंगले यी घटनाको सत्यतथ्य पत्ता लगाई प्रस्तुत गरेको भन्दै इन्सेक रुकुमप्रति प्रजिअ रेग्मीले सम्मान व्यक्त गरे ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख डीएसपी सुमित खड्काले यसरी सबै कुराहरु खुलस्त बाहिर ल्याउँदा आफूहरुलाई काम गर्ने उत्साह बढ्ने बताए । संकलित घटनाहरुमा केही छुटेकाहरुलाई समेत समेटेर पूर्णता दिन र आगामी डिसेम्बरसम्मका सबै घटनाहरुलाई वर्षपुस्तकमा समेट्न उनले सुझाव दिए । मानवअधिकार उल्लंघन र ज्यादतिका घटना कम गर्न सबै मिलेर काम गर्नुपर्नेमा उनले जोड दिए । गैसस महासंघ रुकुमका अध्यक्ष नारायण शाहले कानुन कार्यान्वयनलाई प्रभावकारी बनाएमा घटना कम हुने बताए ।

election adv.

जिल्ला बार इकाई रुकुम पश्चिमका उपाध्यक्ष भूवनेश्वर उपाध्यायले मुद्दा असफल हुनुमा अनुसन्धान फितलो हुनु, प्रमाण नष्ट हुनु र विरुद्धको बयान बलियो हुनु मुख्य कारण रहेको बताए । सरकारवादी मुद्दामा मिलापत्र गर्न नमिल्ने उनले बताए । पत्रकार मेगराज खड्काले प्रायः बलात्कारका मुद्दामा बयान फेरेर आरोपितले सफाई पाएको भन्दै यस्तो कार्यलाई रोक्नुपर्नेमा जोड दिए । जघन्य अपराधका सरकारवादी मुद्दा असफल हुँदा पीडक उम्किने भएकोले बलात्कारका घटना बढेको हुनसक्ने उनले बताए । कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, सरकारी तथा गैरसरकारी निकायका प्रमुख तथा प्रतिनिधि, सुरक्षा निकायका प्रमुख, अधिकारकर्मी, पत्रकार लगायत २१ जनाको सहभागिता रहेको थियो ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto