बिनाराम खड्का

पहिलो अन्तरविरोध¸ समाजवादप्रति प्रतिवद्धता संविधानको प्रस्तावनामै लेखियो तर समाजवादको मूल आधार शिक्षा र स्वास्थ्यमा लगानी गर्न तीनै तहका सरकारहरु अनिच्छुक देखिए । केही अपवादलाई छोडेर लगानीको हिसावले हरेक स्थानीय सरकारको पहिलो प्राथमिमा शिक्षा र स्वास्थ्य छैन । शिक्षित र स्वस्थ नागरिक विना समाजको कुनै पनि विकास सही दिशामा अघि बढाउन सकिदैन । लगानी विना मौखिक र सैद्धान्तिक प्रतिवद्धताले कहिँ पुगिदैन । कतिपयले फ्याट्ट भन्नसक्छन विगतभन्दा त भएकै छ त ! तर शिक्षा र स्वास्थ्यको तुलना विगतसंग होइन वर्तमानको आवश्यकता र भविष्यको अपेक्षा पुर्ती हुन सक्छ कि सक्दैन भन्ने सन्दर्भसंग गर्ने हो । विगतको कुरा गर्ने हो भने त २००७ सालमा जम्माजम्मी २ प्रतिशत साक्षरता थियो अहिले ८० प्रतिशत पुगेको दावी गरिन्छ के त्यसमै सन्तुष्ट हुने त ?

समाजवादी शिक्षाको लागि सर्वसुलभ गुणस्तरीय शिक्षा¸ बहुप्राविधिक शिक्षा¸ औपचारिक र अनौपचारिक शिक्षाको अन्तरसम्बन्ध¸ विभेदरहित शिक्षा¸ जीवन¸ प्रकृति¸ रोजगारमुलक¸ श्रम र उत्पादनमुखी शिक्षा र यसको लागि ठूलो लगानी शिक्षामा आवश्यक पर्छ । तर सबैको आशाको केन्द्र स्थानीय सरकार समेत अनुत्पादक दर्जनौँ सडकमध्ये कमसेकम एउटा सडक बराबरको रकम समेत आफ्नो पालिकामा अध्यननरत हजारौं बालबालिकाको गुणस्तरीय शिक्षाको लागि लगानी गर्न अनिच्छुक रहे ।

दोस्रो अन्तरविरोध¸ संघियताको कार्यान्वयन । प्रशासनिक र वित्तिय अधिकारविना राजनीतिक रुपमा मात्र संघियता लागू गर्न खोज्नु चेपागाडाले सगरमाथा आरोहण गर्छु भनेझैँ हो । स्थानीय स्तरमा जति धेरै सरकार बनाए पनि आर्थिक र प्रशासनिक अधिकार विना काम गर्न सक्दैनन । स्थानीय सरकारले जति गर्न चाहे पनि तपाइको प्रमुख कर्मचारी संघीय सेवाको छ । जसलाई तपाइ कानुनी रुपमा स्पष्टिकरण¸ कारवाही¸ सचेत त के उसको रौँसम्म हल्लाउन सक्नुहुन्न । तपाइको सरकारको योजनालाई उसले कार्यान्वयन गर्न चाहेन भने जवर्जस्ती गर्न सक्नुहोला तर त्यो कानुनी मान्यता प्राप्त हुदैन । यथार्थ यो हो कि तपाइको मातहतको प्रशासनिक हाकिम जो छ त्यसको कार्यसम्पादनको मूल्याङ्कन गर्ने अधिकार तपाइलाई छैन भने तपाइ प्रति उ कति उत्तरदायी होला ?

पहिले संघीय सरकारमा मात्र रहेका धेरै दुविधा अव क्रमश प्रदेश र स्थानीय तहसम्मै आइसकेको छ । संघियताको मुल मर्म र मान्यतामै प्रहार भइरहेको कुरा वर्तमान राजनीतिक नेतृत्वको चेतना स्तरले ठम्याउनै सकिरहेको छैन । प्रदेशले जिल्लासम्मै आफ्ना शाखा कार्यालय विस्तार गर्नु¸ संघले स्थानीय तहसम्मै संघीय सेवाका कर्मचारी खटाउनु¸ संघ¸ प्रदेशले संघिय र प्रादेशिक मापदन्ड मात्र बनाउनुपर्नेमा कार्यान्वयमा आफै तम्सिनु¸ कार्यान्वयनको अस्त्र कर्मचारीतन्त्र व्यवस्थापनमा अलमलम र केन्द्रिकृत मानसिकता कायमै¸ राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिस र सुझाव विनै संघको विभागस्तरीय कार्यालय र प्रदेशले सिधै स्थानीय तहका विभिन्न निकायमा बजेट प्रवाह गर्नु जस्ता विरोधाभाषपूर्ण फन्डिङ्ग मोडालिटी संघियता अनुकूल छैनन । वित्तिय र प्रशासनिक अधिकार राज्यको तल्लो इकाइसम्म नआइ काम कर्तव्य मात्र आएर संघियताले गति लिनै सक्दैन । स्थानीय सरकारहरु संघिय शासनका जरा हुन । सकिन्छ सही किसिमले संघियता लागू गरौँ । सकिदैन भने तत्काल खारेज गरौँ । जरैसित संघियता उखेलौँ । शासकीय स्वरुपजस्तो राज्यप्रणालीको मूल आत्मामा धेरै लामो दुविधा र खेलाँची गर्दा संघियतासंगै तपाइ हामी सबै फालिनसक्छौँ । त्यसपछि १४ बर्ष त १४० बर्ष जेल बसे पनि तपाइ यो अवसर पाउन सक्नुहुन्न ।

तेस्रो अन्तरविरोध¸ समाज र समाजको अपेक्षा धेरै अगाडी राजनीतिक नेतृत्वको क्षमता र चेतना स्तर धेरै पछाडि । चलनचल्तीको भाषामा भन्दा गाडा अगाडी गोरु पछाडि । अगुवा हौँ भन्नेहरुको दिमाग धेरै मन्द¸ स्थिर र पश्चगामी । नागरिकहरुको मानसिक विकास तिव्र¸ गतिशील र अग्रगामी । समाजमा अहिले देखिएको ठूलो असन्तुष्टिको कारक । हाम्रो नेतृत्व जेल¸ नेल भोगेको¸ विगतमा दुख पाएको¸ युद्ध¸ लडाइको नेतृत्व गरेको¸ त्याग¸ तपस्या र विरताले भरिपुर्ण त छ तर समाकालिन समाजको अपेक्षा¸ विश्व परिवेश र नागरिकका उर्लंदा आकाँशाहरुको वीचमा तालमेल छैन । पशुपति शर्माको एउटा गीत¸ रवि लामिछानेको एउटा अन्तरवार्ता¸ ज्ञानवहादुर शाहीको एउटा भाषणले मान्छेहरु यति धेरै तरङ्गित र राजनीतिक संयन्त्र यति धेरै भयभित किन हुदै गइरहेका छन् भने समाजका अपेक्षाहरु उर्लदा छन् । हाम्रो राजनीतिक नेतृत्वको सोँच र चिन्तन दुविधाग्रस्त र पश्चगामी । नागरिक अहिले र भविष्यको सुख¸ समृद्धि र विकास चाहने । नेतृत्व इतिहासकै बखान र यथास्थान तदर्थवादमा मख्ख । समाजको सबैभन्दा अगुवा हुँ भन्ने नेतृत्व नै सबैभन्दा अवुझ र अनपढ।

election adv.

हाम्रो नेतृत्व र चिन्तनले हँ हामी जति विगतमा दुख पाएको कोही छ ? हामी त हिजो दशकौँ जेल बसेको¸ लाखौँ हस्ताक्षर जुटाएको¸ दशकौँ लडेको¸ युद्ध गरेको ! हामीलाई चलाउने ? म जेलको कठोर कारावासमा हुँदा तँ नाथे जन्मेकै थिइनस !? लोकतन्त्रको आन्दोलनमा तँ त गर्भमै थिइस अहिले बोल्ने !? म हिजो खारा ब्यारेक हान्न जाँदा तँ कहाँ सिंगान पुछ्दै थिइस ?! नेता र नागरिकको वीचमा यस्तो खाले अन्तरविरोध बढ्दै गइरहेको छ । विगत इतिहासका विरताका गाथाको भजन गाएर मात्र वर्तमान र भविष्यको अपेक्षा परिपुर्ती हुदैन । तपाइले विगतमा गर्नै भएन¸ विगतमा सुखसयल¸ शोषण¸ दमन¸ अन्याय¸ अत्याचारमा जिन्दगी विताउनु भो कसले भनेको छ र ? हिजो सत्तामा होइन सडकमा हुनुहुन्थ्यो । महलमा होइन झुपडीमा हुनुहुन्थ्यो । डम्म अघाएर डकार कार्ने होइन भोकभोकै हवाई चप्पल पडकाउंदै हुनुहुन्थो । काठमान्डौँका सपिङ्ग मलका मालिक¸ घरजग्गा दलाली र स्वदेशमा निजी मेडिकल कलेजमा लगानी गरेर विदेशतिर सिङ्गापुर¸ अमेरिका स्वास्थ्योपचारको त के कल्पना गर्नु भुइतलाको चिसो अँध्यारो कोठा समेत भाडामा नपाउने स्थितिमा हुनुहुन्थ्यो । जनताले देखेकै कुरा हो नि हिजोको तपाइको दुख कष्ट त ! यसमा त असहमति नै छैन तर अहिले तत्काल वर्तमानको अपेक्षा अनुसार भूमिका निर्वाह गर्न सक्नुभएन भन्ने पो महशुस भइरहेको छ त !

चौथो अन्तरविरोध¸ नाममा कम्युनिष्ट काममा दलाल पुजीवादको एजेन्ट र नोकर । सबैभन्दा गहिरो र खतरनाक अन्तरविरोध । कि त कम्युनिष्टका आधारभूत मुल्य र मान्यता लागू गरौँ । कमसेकम एउटा पक्षबाट त सुरक्षित होइएला । सकिदैन भने हामी कम्युनिष्ट होइनौ । विगतमा थियौँ अहिले छैनौ । वा भए पनि कम्युनिष्ट दर्शनलाई लागू गर्न सक्दैनौ गर्दैनौ भनेर जनतालाई प्रष्ट भनौँ । कम्युनिष्टको नाम भजाएर दलाल पुजीवादी शासन चलाउनु अहिलेको विश्वमा दुबैतिरबाट सबैभन्दा खतरनाक र जोखिमपूर्ण छ । दलाल पुजीवादले आफ्नो हिसाव तलमाथि हुने वित्तिकै तपाइलाई टिपेर कहाँबाट कहाँ मिल्काएर फाल्छ तपाइलाई नै थाहापत्तो हुदैन ।

भविष्यको एउटा कालखन्डमा तपाइको व्यापार व्यवसायको लगानी¸ शेयर¸ ठेक्कापट्टाको लाइसेन्स¸ डोजर¸ गाडीमोटर सुरक्षार्थ कोही नागरिक सडकमा ओर्लिने सपना देख्नु भएको छ भने त्यो दिग्भ्रम हो । तपाइलाई तपाइकै लगानीले असुरक्षित गराउंदैछ किनकी निजी क्षेत्रमा कम्युनिष्ट भन्दा पुजीवादीहरुकै व्रचश्व शक्तिशाली हुन्छ । तपाइ व्यापार ठेक्कापट्टा गरेर¸ धर्मको भ्रम छरेर¸ सत्ताच्युत शक्तिलाई दोषारोपन गरेर समकालीन विश्वमा डुप्लिकेट कम्युनिष्ट राजनीति टिकाउन सक्नुहुन्न । तिनले गर्न सकेनन र त तपाइलाई सत्तासिन बनाइएको हो नि । फेरि उनैलाई दोषारोपन गरेर तपाइ उम्किने ? पुजीवादको भयङ्कर ठूला लगानीको अगाडी तपाइ आफुलाई व्यापारी घरानाको रुपमा सोच्न थाल्नु भो भने तपाइ पुजीवादीहरुबाट र आम जनसमुदाय दुबैतिरबाट असुरक्षित हुनुहुन्छ ।

जनताको घेराबाट कटेर सैनिकको घेरा भित्र तपाइ र नाम मात्रको कम्युनिष्ट राजनीति सुरक्षित छ भन्ने भ्रम मात्रै हो । अहिलेको क्षणिक र अल्पकालिन वहुमत र सत्तालाई के चिरकालसम्मको मान्नुहुन्छ ? मत कति प्रतिशत खसेको छ ? त्यसमा केही प्रतिशत फर्जि पनि होला । एउटा सेलिब्रेटी कलाकारको गीतमा लाखौँलाख दर्शक झुम्मिने देशमा तपाइको भागमा शुद्ध मत कति बाँकी रहला ! ९० प्रतिशतभन्दा बढी मतबाट निर्वाचित नाम मात्रका कम्युनिष्ट सरकारको पतन अत्यन्त भयानक रुपले भएको विर्सनु भो ? पुजीवाद र सोको एजेन्ट मार्फत हजारमा होइन लाखौँ लाखको संख्यामा नाम मात्रका कम्युनिष्ट सरकार र निहत्था नागरिकको कत्लेआम भएको विश्व इतिहास भुल्नु भो ?

शक्तिशाली सरकारहरु ढालिनको लागि धेरै ठूलो कारण चाहिदैन । संसारको सबैभन्दा शक्तिशाली फ्रान्सको राजतन्त्र पतन हुनुका पछाडी मामुली कारण थिए जनतामाथि थोपरिएको कर¸ रानीको विलासी जीवनशैली र निरङ्कुशता । तर नेपालको सन्दर्भमा मामुली होइन कारणहरु जटिल बन्दैछन ।

संविधान निर्माणमा सरिक नभएका¸ संविधान मान्दैनौ¸ संविधानमा संशोधन हुनुपर्छ भन्नेहरुको अन्तरविरोध यहाँ उल्लेख गरिएको छैन । यहाँ त संविधानको निर्माण र कार्यान्वयनमा सबैभन्दा अग्रभागमा छौँ¸ हौँ भन्नेहरुमा नै माथि उल्लेखित लगायतका थुप्रै अन्तरविरोधहरुको मात्रा बढ्दै गइरहेको देखिन्छ । संविधानको रक्षा र कार्यान्वयनको अग्रभागमा राजनीतिक नेतृत्व हुनुपर्छ । तर वर्तमान राजनीतिक नेतृत्व सबैभन्दा बढी संविधान उल्लंघनमा अग्रसर छ । यदि संविधानिक प्रावधानको सही कार्यान्वयन हुन सकेन जनताका न्युनतम भन्दा न्युनतम असन्तुष्टी¸ जिज्ञासाहरुको सुनुवाइ हुन सकेन भने संविधान र नेतृत्वको विकल्प खोज्ने कामले तिव्रता पाउनसक्छ । धन्यवाद । २०७६ असोज ३ । मुसिकोट नगरपालिका वडा नम्वर ४¸ सोलाबाङ्ग रुकुम ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto