Home आहा बिचार स्वाभिमान र समाजवाद

स्वाभिमान र समाजवाद

203
0

उपेन्द्रलाल कामी
भूमिका
स्वाभिमान र समाजवादको बिषय खोज, अध्ययन, बहस र प्रयोगको सन्दर्भमा कुनै नौलो र अनौठो बिषय होइनन । यि दुई बिषय कुनै ब्यक्तिका लागि बुद्धिविलास गरेर समय ब्यतित गर्ने सन्दर्भ सामाग्री पनि होइनन, न त बिषय बस्तुलाई भजाएर कसैको स्वार्थसिद्ध गर्नका लागी मौखिक रुपमा जप्ने मन्त्र नै हुन ।
यि त हरेक ब्यक्तिले दैनिक जीवन ब्यवहारमा जानी नजानी प्रयोगमा ल्याइरहेका बिषय हुन । राजनैतिक दृष्टिकोणबाट हेर्दा कसैले ब्यवहारमा प्रयोग गरेर असफल भइसकेका, कसैले सैद्धान्तिक रुपमा मात्र भट्याउने मन्त्र झै बनाएका र कसैले मानव चेतना र बदलिंदो सामाजिक चरित्रलाई मध्यनजर गरेर मानव जातिमा कसरि लागु गर्ने भन्ने प्रश्नमा गहिरो खोज, अध्ययन र अनुसन्धान गर्दै पुनः सफल प्रयोग गर्न खोजिरहेका बिषय हुन ।
स्वाभिमान हरेक मानव जातिको अन्तरनिहित चेतनाको बैक्तिक गुणसंग अभिन्न रुपले जोडिएको बिषय हो भने समाजवाद मानव जातिको सामुहिक बिचार, भावना र आवश्यकतासंग जोडिएको बिषय हो । स्वाभिमान र समाजवादको बिषय सार र रुपमै फरक जस्तो देखिएता पनि अन्योन्याश्रित बिषय हुन । यि दुबै बिषयको गहिराइसम्म पुगेर अध्ययन गर्ने, सहि ढंगले बुझ्ने र तथ्यमा आधारित सृजनात्मक प्रयोग गर्ने सन्दर्भमा कहिं न कहिं गम्भीर त्रुटीहरु भइरहेका छन् र त यि बिषयहरुमा बिविध कोणबाट बहस तथा ब्याख्या बिश्लेशनहरु भइरहेका पनि छन् । स्वाभिमान र समाजवादको बिषय राजनीतिक दृष्टिकोणबाट हेर्दा प्रजातन्त्रवादीदेखि वामपन्थी बिचार राख्ने काँग्रेस र कम्युनिष्ट पार्टीका सैद्धान्तिक मान्यताहरु त छदैं छन त्यस अलवा पुरातनपन्थी यथास्थितीवादी राजनीतिक पार्टीहरुको पनि आदर्श सब्द हुन । त्यसोभए स्वाभिमान र समाजवाद सैद्धान्तिक रुपमा ब्याख्या गर्ने बिषय मात्र हो या जीवन ब्यवहारमा लागु गरेर देखाउने पनि हो ? उच्चारण गर्ने सब्द एउटै तर उही सब्दका आचरण र बिधिमा किन बिविधता छ ? के एउटै तथ्यका धेरै सत्यहरु हुन सक्छन ? या त धेरैलाई लाग्ने आ आफ्ना सत्यहरुबाट एउटै सत्य बन्न सक्छ ? यिनै प्रश्नहरु भित्र रहेर सोध खोज गर्दै अध्ययन, अनुसन्धान र प्रयोगमा सिमित ब्यक्तिहरुको पेवा जस्तो नभइ सबैको चासो र सरोकारको बिषय बन्न सकोस भन्ने हेतुले बिषय बस्तुको उठान गर्न खोजिएको छ ।
(क) उच्चारण, प्रयोग र आचरणमा बिविधताको कारण
मानव जातिको समाजमा जैविक रुपले हरेक मान्छेका फरक फरक अनुहार, शारीरिक बनौट, इच्छा, ज्ञान, क्षमता र स्वभावले आफ्नै खालको फरक बिशेषता निर्माण गरिदिएको हुन्छ । आफ्ना फरक बिशेषतालाई मानव समाजमा चिनाउनको लागी स्वाभिमानको भावले उर्जा दिइरहेको हुन्छ । मान्छेको इच्छाले कल्पनालाई जागृत गराउछ भने कल्पनाले बिचारलाई जागृत गराउदछ । जब बिचार जागृत हुन थाल्छ तब उसले आफ्नो पहिचान दिन मानव समाजका हरेक क्षेत्रमा सैद्धान्तिक तथा प्रयोगात्मक परिक्षण गरेर सफल हुन चाहन्छ ।
मानव समाजमा ब्यक्तिगत इच्छा र सामुहिक आवश्यता बीचमा जहिले पनि अन्तरबिरोध भइरहेको हुन्छ । कसैले ब्यक्तिगत इच्छालाई प्रमुख ठानेर सामुहिक आवश्यकतालाई वेवास्ता गर्छन भने कसैले सामुहिक आवश्यता लादेर ब्यक्तिका इच्छाहरु कुण्ठीत गरिदिन्छन । राजनीतिमा ब्यक्तिगत इच्छा सामुहिकतामा लाद्नेहरु हुन या सामुहिक आवश्यकताको नाममा ब्यक्तिका इच्छालाई कुण्ठित गर्नेहरु नै किन नहोउन् अन्ततः दुवैको गन्तब्य तानाशाही चिन्तनगत प्रवृत्ति नै हो । असिमित आवश्यकता सिमित श्रोत साधन, असमान क्षमता समान प्रतिस्पर्धा, उत्पादनमा समान सहभागिता बितरणमा असमानता वा उत्पादनमा असिमितता बितरणमा बिभेद जस्ता असंगतिपूर्ण सिद्धान्त र ब्यहारहरु पनि यिनै बिषयभित्र अन्तरसम्बधीत रहेका छन ।
स्वाभिमान र समाजवादको उच्चारण, प्रयोग र आचरण निर्माणको सवालमा ब्यक्तिका इच्छा र सामुहिक आवश्यकता, समय अनि परिस्थितीको बीचमा हुने अन्तरबिरोधको नियमभित्र रहनुपर्ने अपरिहार्य अवस्थाले पनि फरक पारिरहेको हुन्छ । मानव समाजमा खासगरि चार प्रकारका मानिसहरु रहेका हुन्छन् । पहिलो सोधकर्ता प्रवृत्तिका मान्छे हुन्छन जसले समाजमा हुने जुन कुनै बिषयको बारेमा चासो राखेर सोधखोज, अध्ययन अनुसन्धान गर्दै नयाँ आविष्कार गरेर समाजलाई अगाडि बढाउन महत्वपूर्ण भूमिका खेलीरहेका हुन्छन । दोश्रो सहयोगकर्ता प्रवृत्तिका मान्छे हुन्छन जसले सोधकर्तालाई रचनात्मक आलोचना र भौतिक रुपमा सहयोग गरेर नयाँ आविष्कार गर्ने काममा सकारात्मक ढंगले सहयोग पु¥याउछन । तेश्रो संदेहकर्ता प्रवृत्तिको मान्छेहरु हुन्छन जस्ले सोधकर्ताले उठाएका बिषयहरुमाथि आशंका र अविश्वास जगाउने गरि नकारात्मक टिका टिप्पणीहरु गरिरहन्छन । बिषय बस्तुमाथि आशंका र अविश्वास जगाउने गरि बिपरित कोणबाट टिका टिप्पणीहरु गरेता पनि नकारात्मक रुपमा सोधकर्तालाई थप अनुसन्धानमा लाग्न सहयोग पुगिरहेकै हुन्छ । चौथो उपभोक्ता प्रवृत्तिका मान्छेहरु हुन्छन जस्ले बिचार, सिद्धान्त, बस्तु निर्माण र उत्पादनमा कुनै सोध, खोज, अध्ययन तथा आविष्कारका लागी केहीपनि योगदान गर्नु पर्दैन मात्रै उपभोग गरिरहेका हुन्छन । कतिपय उपभोक्ता प्रवृत्तिका मान्छेहरु यतिसम्म हुन्छन की आफुले उपभोग गरिरहेको बिचार वा वस्तु कस्ले निर्माण गरेको होला भन्ने कुराको पनि चासो राख्दैनन । यिनै विविध प्रकृति तथा प्रवृतिले गर्दा स्वाभिमान र समाजवादको उच्चारण, प्रयोग र आचरणमा समेत विविधता हुने गरेको पाइन्छ ।
(ख) स्वाभिमान र समाजवाद बीचको अन्तरसम्बन्ध
ब्यक्ति, परिवार र समाज बीचको अन्तरसम्बन्ध तथा अन्तर भेदलाई सही ढंगले पहिचान, परिचालन र ब्यवस्थापन गर्ने नीति तथा बिधिको निर्माण, प्रयोग र बिकास गर्ने बिचारचक्रको गतिशीलता कुनै न कुनै माध्यमबाट अभिब्यक्त भइरहेको हुन्छ । ब्यक्ति, परिवार, समाज, देश र विश्व मानव जातिको स्थुल र बृहत रुप हो । मानव जातिको सामुहिक बिचार, भावना र आवश्यकतालाई जोडेर ब्यवस्थापन गर्ने सिद्धान्त समाजवाद हो भने ब्यक्तिका इच्छा, ज्ञान(क्षमता र मानवताको बिशेष गुणलाई उजागर गर्ने माध्यम भनेको स्वाभिमान हो । उदाहरणको लागी समाजवादलाई मानव शरीरको रुपमा बुझ्न सकिन्छ गने स्वाभिमानलाई प्राणको रुपमा बुझ्न सकिन्छ । मानव शरीर र प्राण बिचको अन्तरसम्बन्ध भनेको यस्तो चिज हो जुन एक बिना अर्काको अस्तित्व स्वतः समाप्त हुन्छ । स्वाभिमान र समाजवाद बीचको अन्तरसम्बन्धलाई शरीर र प्राणको रुपमा बुझ्न नसकेको वा नचाहेको कारण विश्वबाटै समाजवादी कम्युनिष्ट ब्यवस्थाहरु तासको महल झैं ढलेर समाप्त भए भने प्रजातान्त्रिक समाजवाद भन्ने पार्टीहरुले जीवन(ब्यवहारमा प्रयोग होइन सुगा रटान गरेर दिन गुजारिरहेका छन ।
स्वाभिमान र समाजवादको अन्तरसम्बन्ध बारे चर्चा गरिरहँदा यि दुई बिषयहरु राजनैतिक सत्तामा मात्र प्रयोग गर्नुपर्ने बिषय होइनन । यि त हरेक परिवार र ब्यक्ति बिशेषले आफ्नो दैनिक जीवन ब्यवहारमा समेत लागु गर्नुपर्ने बिषय हुन । आफु र आफ्नो परिवारमा लागु नगरि समाजमा मात्र लागु गर्न खोजियो भने स्वाभिमान र समाजवादले कहिल्यै पनि पूर्णता पाउन सक्दैन । सिद्धान्त र ब्यवहार बीचमा संगति हुन सकेन भने त्यहिबाटै चरम बिकृति र बिसंगति पैदा हुन्छ । स्वाभिमान र समाजवादमा आउने समस्या पनि यहि सिद्धान्त र ब्यवहार बीचमा हुने असंगति नै हो । हरेक समाजवादी ब्यक्तिमा हुने स्वाभिमानले समाजवादी ब्यवस्थाको प्राण भर्दछ भने स्वाभिमान सहितको समाजवादले मात्र राष्ट्रिय स्वाधीनताको रक्षा गर्दछ । ब्यक्ति र समाज बीचको अन्तरसम्बन्धमा जसरी ब्यक्तिहरु नै नभए मानव समाज हुदैन भने मानव समाज नै नभए ब्यक्तिको अस्तित्व स्वतः समाप्त हुने गर्दछ ठिक त्यसरी नै स्वाभिमान र समाजवाद बीचको अन्तर सम्बन्धलाई शरीर र प्राणको अर्थमा बुझेर जीवन ब्यवहारमा लागु गर्न आवश्यक छ ।

(ग) कसरी लागु गर्ने हाम्रो जीवन ब्यवहारमा ?
हरेक ब्यक्तिका आफ्ना भोगाइ अनुसार साेंचाइ बन्नु स्वभाविक नै हुन्छ । तर एउटा कुरा के पनि सत्य हो भने सोंचाइले पनि जीवन र जगतलाई बदल्न सकिन्छ भन्ने कुरा प्रमाणित भइसकेको बिषय हो । आजसम्म मानव जातिले जे जति खोज, अध्ययन र आविष्कार गरेका छन ति कुराहरु भोगाइको साथै सोंचाइमा आएको परिवर्तनले मात्रै सम्भव भएको हो । भोगाइ अनुसार सोंचाइमा परिवर्तन आएन भने त्यो यथास्थितीबाट प्रतिगमनको दिशातिर गएर पतन हुन्छ । आफ्नै सोंचमा परिवर्तन आयो भने मात्र समाजको अग्रगामी रुपान्तरणमा नेतत्वृदायी भूमिका निर्वाह गर्न सकिन्छ । तसर्थ स्वाभिमान र समाजवादको सैद्धान्तिक मान्यतालाई सर्वप्रथम आफ्नै जीवन ब्यवहारमा लागु गर्नुपर्ने बिषय भएकोले आफ्नो भोगाइसंगै सोंचमा पनि परिवर्तन गर्नुपर्दछ भन्ने कुरालाई पहिले गम्भीरतापुर्वक मनन गर्न जरुरी छ ।
ब्यक्ति र समाज बीचमा जहिले पनि इच्छा र आवश्कताको बिषयमा अन्तरबिरोध भइरहेको हुन्छ । ब्यक्तिका इच्छा एकातिर र समाजको आवश्यकता अर्कोतिर हुँदा यि दुई बीचको अन्तरबिरोधले कुनै न कुनै रुपमा द्वन्द सृजना भइरहेको हुन्छ । ब्यक्तिका इच्छा र समाजका आवश्यकताहरुको बीचमा समायोजन र सन्तुलन कायम गरेर उचित ब्यवस्थापन गर्ने इच्छाशक्ति स्वाभिमानबाट प्राप्त हुन्छ भने नीति र बिधिबाट अन्तरबिरोधको हल गर्ने सिद्धान्त समाजवादमा लागु हुन्छ । स्वाभिमानले मानिसका असिमित इच्छाहरुलाई दवाउने काम गर्दैन र इच्छाहरुको अधिनमा पनि रहदैन बरु इच्छा र आवश्यकतालाई सन्तुलन मिलाएर समायोजन गर्ने भूमिका खेल्दछ । समाजवादले मानव जातिको सामुहिक बिचार, भावना र आवश्यकतालाई सम्बोधन गरेर उचित ब्यवस्थापन गर्ने र ब्यक्तिका अन्तरनिहित इच्छा, क्षमता प्रतिभा र बिशेष गुणहरुलाई प्रष्फुटित गरेर प्रतिष्पर्धा गर्ने नीति र बिधि सहितको संरचनागत ब्यवस्था गरिदिनु पर्ने हुन्छ । समाजवादको परिकल्पना गर्ने र प्रयोग गर्ने सवालमा विश्वदृष्टिकोण, कार्यदिशा तथा कार्यशैलीमा कहीँ न कहीँ गम्भीर त्रुटीहरु रहेका छन । समाजवादमा स्वाभिमान अन्तरघुलित भयो भने मात्र मानवतावादमा आधारित न्याय, समता, स्वतन्त्रता र भातृत्वलाई जीवन ब्यवहारमा सहि ढंगले लागु गर्न सकिने छ । विविधताबाट समुच्चतामा जोड्न स्वाभिमान सहितको समाजवादबाट मात्र सम्भव हुन्छ । प्रकृति, बिज्ञान र मानवता बिरुद्धका गतिबिधि बाहेक अरु सबै बिषयमा खोज, अध्ययन, अनुसन्धान र प्रयोग गर्ने कुरामा स्वाभिमान सहितको समाजवादले पूर्ण स्वतन्त्रता प्रदान गर्नुपर्दछ । हामीले अरु कसैको बिचार हुबहु अनुकरण गर्ने वा उपभोक्ता बन्ने होइन कि अनुसरण गरेर आफ्नै मौलिकतामा सृजनात्मक ढंगले प्रयोग गर्नुपर्दछ । बिचारको उपभोक्ता मात्र बन्ने या त आलोचक मात्र बन्ने यि दुबैखाले चिन्तनगत प्रबृत्तिहरु समाज बिकासको र समाजवादको पनि बाधक नै हुन्छन । कुनैपनि बिषयको बारेमा पहिला सोध(खोज गर्ने, अध्ययन तथा प्रयोग गर्ने र प्राप्त उपलब्धीहरुको रक्षा एवं बिकास गर्ने अवधारणाबाट स्वाभिमान र समाजवादलाई हरेकले आफ्नै दैनिक जीवन ब्यवहारमा सृजनात्मक ढंगले लागु गर्ने प्रयास गर्नुपर्दछ । स्वाभिमान र समाजवादलाई कुनै राजनीतिक पार्टी र सत्तासंग जोडिएर मात्र लागु गर्ने पर्खाइमा रहेर समाज बिकासको गति अनि आफ्नै जीवनको प्रगतिमाथि अवरोध खडा गर्नु हुदैन ।

उपसंहार
अर्थ राजनीतिको दृष्टिकोणबाट समाजवादलाई हेर्दा ब्यक्तिका बिषयगत रुची र क्षमता अनुसार उत्पादनमा स्वैच्छिक तथा सक्रिय सहभागिता, प्रचुरता र न्यायोचित बितरणको ब्यवस्थाको साथै सबैखाले बिभेदहरु मुक्त, सामाजिक न्याय एवं सुशासनयुक्त लोकतान्त्रिक राजनीतिक प्रणाली, राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता सम्पन्न जनता आधारभूत शर्तहरु हुन । यसको साथै मानव अधिकार, प्रेश स्वतन्त्रता, शिक्षा, स्वास्थ्य, रोजगार तथा खाद्य सम्प्रभुता लगायतका मानवीय आधारभूत आवश्यकताका बिषयहरु मौलिक अधिकारमा अन्तरनिहित हुन्छन । नागरिकका नैसर्गिक अधिकारको रक्षा गर्दै नागरिकलाई समाज र देशप्रति उत्तरदायी बनाउन राज्यले सहजकर्ताको भूमिका खेल्नुपर्ने हुन्छ । समाजवादी राज्य ब्यवस्थाको लागी यि सवाल अति महत्वपूर्ण र बिशेष प्राथमिकतामा राखेर काम गर्नुपर्ने बिषयहरु हुन ।
स्वाभिमान हरेक ब्यक्तिका मानवीय गुण र बिशेषतासंग अभिन्न रुपले जोडिएको बिषय हो । स्वाभिमान ब्यक्तिगत र सामुहिक दुबै रुपमा अभिब्यक्त हुन्छ भने यो मानिसको बिचार, दृष्टिकोण, भावना, इच्छाशक्ति, ज्ञान(विवेक, आत्मीकी एवं मनोबिज्ञानसंग अन्तरसम्बन्धीत रहेको हुन्छ । सामाजिक संरचनाको बनौट र ब्यक्तिका मनोबनौटले एक(अर्कामा प्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ । स्वाभिमानले यि दुवैलाई सन्तुलित रुपमा संयोजन, परिचालन र ब्यवस्थापन गर्न निर्णायक भूमिका खेलेको हुन्छ । समाजवाद सिद्धान्तको भौतिक संरचना सहितको ब्यवस्था हो भने स्वाभिमान सिद्धान्तको आत्मीक मनोबनौट सहितको अवस्था हो । भौतिक ब्यवस्था र आत्मीक अवस्थाले एक अर्कालाई बदल्न निर्णायक भूमिका खेलीरहेका हुन्छन । त्यसकारण समाजवादमा स्वाभिमानको अपरिहार्यतालाई आत्मसातीकरण गरेर सृजनात्मक ढंगले लागु गर्न आवश्यक छ । जसरी हाइडूोजन र अक्सिजन ग्याँसको आवश्यक मात्रा अन्तरघुलित भएर पानी बन्छ ठिक त्यसरी नै स्वाभिमान र समाजवादका आवश्यक तत्वहरु मिलाएर समुन्नत समाजवादी ब्यवस्था भएको स्वाधीन राष्ट्र निर्माण गर्न सकिने छ । यसका लागी इमान्दारीता, दृढ संकल्प सहितको प्रतिबद्धता र इच्छाशक्तिको आवश्यकता छ । अस्तु ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here