Home आहा बिचार स्वाभिमान र महिला मुक्ति

स्वाभिमान र महिला मुक्ति

137
0


उपेन्द्रलाल कामी
बिषय प्रवेश
लैङ्गिक समानता एवं महिला मुक्तिको बारेमा महान बहस तथा परिवर्तनकारी राजनीतिक र सामाजिक–साँस्कृतिक रुपान्तरणका आन्दोलनहरु हुदै आएका छन् । त्यतिमात्र नभइ महिलाहरुलाई शिक्षा, स्वास्थ्य र आर्थिक रुपले सशक्तिकरण गर्न सरकारी तथा गैरसरकारी क्षेत्रबाट थुप्रै बजेट बिनियोजन गरेर कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेका पनि छन् । राजनैतिक तथा सामाजिक आन्दोलन र सरकारी तथा गैरसरकारी क्षेत्रबाट उपलब्ध सशक्तिकरणका कार्यक्रमहरुबाट धेरथोर मात्रामा महिलाहरुको राजनैतिक, आर्थिक, शिक्षा, स्वास्थ्य लगायत सामाजिक समावेशीकरणको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउदै आइरहेका छन । राजनैतिक तथा सामाजिक आन्दोलन र सरकारी तथा गैरसरकारी क्षेत्रबाट महिला हक–अधिकारको सुनिश्चितता एवं सेवा–सुबिधाहरु उपलब्ध गराउदा पनि अपेक्षाकृत प्रगति हासिल गर्न सकिरहेको अवस्था छैन । आधा भन्दा बढी धर्ती–आकाश ओगटेका महिलाहरु पुरुष सरह समान अधिकार नपाउनु र संबैधानि तथा कानुनी रुपले अधिकार पाएपनि त्यसको सहि ढंगले प्रयोग गर्न नसक्नुले बाँदरको हातमा नरिवल जस्तै हुन पुगेको छ । समान अधिकारकै लागी जीवन–मरणको संघर्ष गर्नुपर्ने र अधिकार पाएर पनि त्यसको सहि ढंगले प्रयोग गर्न नसक्नुका कारणहरु र अवलम्बन गर्नुपर्ने बैकल्पिक बिषय स्वाभिमानको बारेमा संक्षेमा केही चर्चा गर्न खोजिएको छ ।

(क) समानता र समताको बिषयमा प्रष्ट बुझाइको कमी
हामी मानव जातीलाई समानताको कुरा भट्याउदा र सुन्दा जति आनन्द आउछ तर जीवन ब्यवहारमा आफैले लागु गर्नुपर्दा फलामको च्यूरा चपाउनु जत्तिकै गा¥हो भइरहेको हुन्छ । भनाइ र गराइमा तादात्म्यता मिल्न सक्दैन भने कि सिद्धान्तमै त्रुटी हुन्छ र यसलाई सच्याउनु पर्ने हुन्छ या त ब्यवहार गलत छ भने सच्याएर सिद्धान्तलाई पछ्याउनु पर्दछ । समानताको सिद्धान्त भट्याउदा र सुन्दा मिठो लागेपनि ब्यवहारमा प्रयोग गर्दा असफल भइसकेको हुन्छ । मानव जाति उही हो भोक सबैलाई बराबर लाग्छ तर भोजनको मात्रा बराबर हुन सक्दैन । किनकी भोजन हरेकको आफ्नै पाचन क्षमता अनुसारको हुन्छ । नाप–तौल गरे जस्तो मानव जातीको ज्ञान, सीप, क्षमता, इच्छाशक्ति, भौतिक बल, स्वभाव, उमेर कसैको पनि समान हुदैन । समानताको सिद्धान्तलाई निरपेक्ष रुपमा ब्यवहारमा लागु गर्न खोज्नु भनेको हात्ती र खरायोलाई बराबर भोक लागेको छ भन्दैमा नापेर बराबर दाना दिन खोजियो भने हात्तीलाई अपुग हुन्छ र खरायोको लागी फालाफाल हुन्छ । यो समानताको बिधि किमार्थ सही हुदैन । बाँच्ने अधिकार सबैको बराबर हुन्छ । भोक सबैलाई बराबर लाग्छ, भोक सहने तथा भोजन गर्ने क्षमता असमान हुन्छ र अघाएपछिको सन्तुष्टि पनि प्रायः बराबर नै हुन्छ । यसको मतलब अघाएपछि पुनः भोजन गरिदैन र गरेर फाइदा पनि हुदैन बरु लोभ गरेर आवश्यकता भन्दा बढि भोजन गरेमा उल्टो असर पर्न जान्छ । तसर्थ यहाँ लैङ्गिक समानताको सवालमा पनि निरपेक्ष समानता भन्दा पनि समताको सिद्धान्त ब्यवहारमा लागु गर्दा नै बढि उपयोगी हुन्छ । जसलाई सकारात्मक बिभेदको नीति पनि भनिन्छ ।

(ख) अधिकारको पहिचान, प्राप्ति र प्रयोगमा सही बुझाइको समस्या
महिला मुक्तिको सवाल उठाउनुको अर्थ महिलाहरु अझै पनि बन्धनभित्र रहेका छन भन्ने नै हो । महिलाहरुलाई बाँध्ने ति बन्धनहरु के–के हुन ? ति बन्धनहरु अरु कसैले बनाइदिएका हुन या जानी–नजानी आफै बन्धनभित्र रहेको अवस्था हो ? बन्धनभित्र रहनुको आन्तरिक र बाहय कारण कारण के–के हुन ? अधिकार के हो ? अधिकार दिने–माग्ने, खोस्ने या सुनिश्चित गरेर प्रयोग गर्ने मध्य कुन हो ? भन्ने कुरामा पनि प्रष्ट हुनु पर्दछ । पहिलो कुरा त महिलाको लागी बन्धन के हो भन्ने कुराको सही पहिचान गर्न जरुरी छ । मूलतः धेरैले पहिचान गरेको महिलाका लागी राजनैतिक सत्ता, सम्पति, समाज, संस्कृति र सन्तान बन्धनको रुपमा रहेको कुरा स्वीकारोक्ति गरेको बिषय पनि हो । यि बन्धनहरुबाट मुक्त हुन महिलाहरुको लागी सामान्य मेहनेतले सम्भव नै छैन । महिलाहरुलाई यि बन्धनहरुबाट मुक्त गर्नको लागी पुरुषहरुको भूमिका सहयोगी मात्र बन्न सक्छ तर निर्णायक हुदैन । बन्धनबाट मुक्त हुन निर्णायक भूमिका महिला स्वयंको हुन्छ ।
महिला मुक्तिको लागी सत्ता, सम्पति, समाज, संस्कृति र सन्तानमा समान कानुनी अधिकार सुनिश्चित गर्ने र प्राप्त अधिकारहरुको सही पहिचान तथा प्रयोग गर्ने बिषय नै हो । महिला मुक्ति आन्दोलनमा कतै न कतै यो बिषयलाई सही ढंगले बुझ्ने र लागु गर्ने कुरामा समस्या देखिन्छ । कतै महिला मुक्तिको बाधक पितृसत्तावादी सोंच–चिन्तनलाई मात्र दोष दिने या त महिलामा देखापर्ने दास मानसिकतालाई औंल्याउने र सही बिकल्प खोजेर अघि बढ्न नसक्ने अवस्थाबाट गुज्रदै आइरहेको अवस्था हो । राजनैतिक सत्तामा महिलाको सहभागिता कायम गर्न राजनैतिक पार्टीमा आबद्ध हुने, पैतृक सम्पतिमा समान अधिकार लागु गर्ने, सामाजिक समावेशीता तथा सशक्तिकरणमा जोड दिने, साँस्कृतिक रुपान्तरणका कार्यक्रमहरु सञ्चालन गर्ने र सन्तानमाथि समान स्वामित्व तथा दायित्व बहन गर्ने सवालमा स्पष्ट दृष्टिकोण, कार्यदिशा र इच्छाशक्तिको कमी देखिन्छ । अधिकारको बिषय कसैले दिने र लिने जस्तो, कसैले खोस्ने जस्तो बुझाइको बहसमा अल्मलिदै आ–आफ्नो पार्टीको सिमा–रेखाभित्रै कैद भएर महिला मुक्ति आन्दोलनले खासै प्रभावकारी भूमिका खेल्न सकिरहेको छैन ।

(ग) स्वाभिमान र महिला मुक्तिको प्रश्न
महिला मुक्ति आन्दोलनमा स्वाभिमानको बिषय अति महत्वपूर्ण छ । पहिलो कुरा स्वाभिमान जागृत गर्ने हो भने कुनै पनि महिला कसैको दया–मायामा होइन सह–अस्तित्व कायम गरेर आत्मसम्मानका साथ जिउने अवस्था हुन्छ । आत्मसम्मानका साथ जिउनका लागी स्वाभिमानले संघर्षशील, श्रमशील, संवेदनशील, सहनशील र बिवेकशील बन्न सिकाउछ । त्यतिमात्र होइन संघर्षबाट प्राप्त अधिकार तथा उपलब्धीहरुको रक्षा, प्रयोग र बिकास गर्ने कुरामा जिम्मेवार ढंगले गतिशील सन्तुलन कायम गर्दै अघि बढ्न स्वाभिमानले आफैलाई सही दिशा निर्देश गर्दछ । महिलाका पाँच स बन्धन (सत्ता, सम्पति, समाज, संस्कृति र सन्तान) लाई स्वाभिमानले गलापासोको रुपमा होइन आफ्नो अस्तित्व रक्षाका लागी माकुरे जालोको रुपमा उपयोग गर्न सिकाउछ । आफ्नो अधिकारको प्रयोग गर्दा अरुको अधिकार हनन गर्न होइन स्वाभिमानले अरुको अधिकारको पनि सम्मान गर्न सिकाउछ । स्वाभिमानले कसैलाई अधिकार दिने, कसैबाट माग्ने वा खोस्ने होइन कि आफैले सुनिश्चित गरेर सही ढंगले प्रयोग गर्ने कुरामा जोड दिन्छ ।
बन्धन भनेको समस्या एवं चूनौतिहरुको जालो पनि हो । समस्या र चूनौतिहरु जहाँ र जहिले पनि आइरहन्छन् । मानव जीवनमा एउटा समस्या समाधान भए पनि अर्को समस्या आइहाल्छ । स्वाभिमानले समस्या र चूनौतिहरुलाई आफैलाई परिक्षण गरेर सफतामा पु¥याउने अवसरको रुपमा उपयोग गर्छ । यहाँ महिला मुक्तिको सवाल उठाउदै गर्दा स्वाभिमानले निरपेक्ष रुपमा महिला मुक्ति हुन सक्दैन बरु समस्या र चूनौतिका बन्धनहरुलाई अस्तित्व रक्षाका लागी माकुरे जालोको रुपमा उपयोग गर्ने जुक्तिको रुपमा अवलम्बन गर्न सिकाउछ । जसरी माकुराले आफैभित्र रहेको रेशा धागोलाई आफ्नो लागि बन्धन होइन बरु आहाराका लागी शिकार गर्ने जाल निर्माण गर्छ ठिक त्यसरी नै स्वाभिमानले महिलाको लागी बन्धन बनेका सत्ता, सम्पति, समाज, संस्कृति र सन्तानलाई बाधक होइन सम्बृद्धिका लागी भरपर्दो सञ्जाल बनाउन उत्प्रेरित गर्छ । निरपेक्ष महिला मुक्ति र समानताका कुरा कम्युनिष्टले भट्याउने साम्यवाद र आध्यात्मिकवादीहरुले परिकल्पना गरेको स्वर्गको सुन्दर कथा वाचन गरे जस्तै हो । जुन सुन्दा जति मिठो लाग्छ वास्तविक जीवनमा लागु नहुँदा निराशा र घृणा उत्पन्न हुन्छ । मुक्ति भनेको इच्छा, अनुभूति र सन्तुष्टिको योगफल हो । कुनैपनि समस्या हल गर्न अघि बढ्ने इच्छाशक्ति, समस्यासंग संघर्ष गर्दा हुने अनुभूति र समस्यामाथि विजय प्राप्त गर्दा हुने सन्तुष्टिको योगफल भनेको नै मुक्ति हो । तसर्थ मुक्ति भन्ने कुरा सवालसंग जोडिएर हुने संघर्षको गतिशीलताको आधारमा सापेक्षित रुपमा हुने गर्दछ । निरपेक्ष मुक्ति भन्ने कुरा हुदैन । हरेक संवेगको भावनामा विवेक खोज्ने, हरेक समस्याको सवालमा समाधान खोज्ने, हरेक चूनौतिको अन्तर्यमा अवसर खोज्ने, हरेक कामको परिणाममा मूल्य खोज्ने, हरेक शब्दको अक्षरमा अर्थ खोज्ने, हरेक पीडाको गर्भभित्र आनन्द खोज्ने, हरेक ब्यक्तिको बोलीमा ब्यवहार खोज्ने, हरेक असफलताको कारणमा सफलता खोज्ने र समग्रमा हरेक प्रतिकुलताभित्रै अनुकुलता खोज्ने बैकल्पिक सोंचकोे समुच्चता नै स्वाभिमान हो । महिला मुक्ति आन्दोलनमा स्वाभिमान अपरिहार्य बिषय हो । महिला मुक्ति आन्दोलनलाई उर्जाशील बनाउन र सिर्जनशील ढंगले ब्यवस्थापन गर्न स्वाभिमान महत्वपूर्ण मार्गदर्शक रामवाण सिद्धान्त पनि हो । लैङ्गिक समानताको सवालमा महिला र पुरुष बीचमा शारीरिक तथा मनोबनौटमा भिन्नता भएपनि स्वाभिमानले समता र सहअस्तित्व कायम गर्दै एक–अर्काको परिपुरक बनाउन गतिशील सन्तुलनकारी भूमिका खेलिरहेको हुन्छ ।

उपसंहार
स्वाभिमानको जगमा खडा भएको महिला मुक्ति आन्दोलनले मात्रै आन्दोलनलाई सार्थक निष्कर्षमा पु¥याउन सक्छ । महिलाहरुले कुनै राजनीतिक पार्टीको बिचार÷ आस्था अनुसार संगठित भएर जिम्मेवारी बहन गर्नु एउटा कुरा हो तर पार्टी र पार्टीका अमुक नेता बिशेषको पिछलग्गु भएर आन्दोलनको नेतृत्व गरि महिला मुक्ति गर्छु भन्नु पिंजडाभित्र रहेको सुगाले बाहिर स्वतन्त्र रुपमा उडिरहेका चराहरुको नेतृत्व गरि स्वतन्त्रताको स्वर्गमा पु¥याइदिने कल्पना गरेजस्तै हो । यसको मतलव महिला मुक्ति आन्दोलन राजनीतिक पार्टी निरपेक्ष हुनुपर्दछ भन्न खोजेको पनि होइन । बरु राजनीतिक पाटीहर्रुलाई सहि ट्रयाकमा ल्याउने गरि पार्टीभित्र र बाहिर प्रभावकारी ढंगले पहलकदमी लिने खालको क्षमताको बिकास गर्नुपर्दछ भन्ने नै हो । स्वाभिमानले मात्र त्यो हैसियत र क्षमता राख्दछ । जस्तोसुकै प्रतिकुलतालाई पनि अनुकुलतामा बदल्न स्वाभिमानले अभावको सामना गर्नसक्छ तर कसैको अनावश्यक दवाव र प्रलोभनमा हुदैन । स्वाभिमानले आपैm भित्रका असिमित इच्छाहरुलाई आत्मसात गर्छ तर इच्छाहरुको अधिनमा रहदैन । स्वाभिमानले हरेकलाई स्वचालित बन्न अभिप्रेरित गर्छ तर कसैद्वारा सञ्चालित एवं परिचालित हुन दिदैन । त्यसैले महिला मुक्ति आन्दोलनको लागी स्वाभिमान अपरिहार्य शर्त हो । स्वाभिमानी हुनु भनेको स्वतः उन्मुक्तिको मार्गमा हिड्नु पनि हो । यो मार्गमा हिड्दा भौतिक रुपमा कठिनाइहरुसंग पौंठेजोरी खेल्नुपर्ने भएपनि आत्मिक रुपमा स्वर्गीय आनन्द प्राप्त हुन्छ । अस्तुः



LEAVE A REPLY

Please enter your comment!
Please enter your name here