Home आहा बिचार सहभागीतामुलक विकास र सूचना प्रविधिको अन्तरसम्बन्ध

सहभागीतामुलक विकास र सूचना प्रविधिको अन्तरसम्बन्ध

210
0

कर्णबहादुर नेपाली
१. पृष्ठभुमीः
रोबर्ट च्याम्बर्स (च्याम्बर्स १९९२)का अनुसार तल्लो तहमा रहेका जनतालाई अगाडी ल्याई उनीहरुको चौतर्फी र दिगो विकास गराउने सशक्त माध्यम जनसहभागीता हो । वास्तवमा अर्थपुर्ण जनसहभागीता विना दिगोे विकासको परिकल्पना समेत गर्न सकिदैन । विकासलाई सामान्यतया प्रष्ट्याउँदा नागरिक वा जनताको जीवनमा आउने सकारात्मक परिवर्तन वा रुपान्तरण भनिन्छ । कुनै पनि विकासले विगत भन्दा आज र भोलीको नागरिकहरुको जीवनस्तर, हैसियत वा अवस्थामा परिवर्तन ल्याउनका लागि महत्वपुर्ण भुमिका खेलेको हुनुपर्छ । विकासलाई कुनै एक व्यक्ति वा निश्चित पात्रले मात्र गरेर हुँदैन यस प्रक्रियामा नागरिकहरुको अपनत्व, सहभागीता, लगानी र प्रतिफलको उचित बाँडफाँडमा समेत समान हिस्सेदारी कायम भएको हुनुपर्छ । २१ औं शताब्दी विज्ञान, सुचना, संचार र प्रविधिको युग भएको छ । प्रत्येक क्षणक्षणमा भएका प्रविधिको विकासले संसारलाई एक global village को रुपमा परिणत गरिदिएको छ । कुनै एक क्षेत्र वा स्थानमा भएको घटना क्षणभरमा विश्व भर फैलिन सक्छ । यस भुमण्डलिकृत विश्वमा सबै विषयको नियन्त्रण वा व्यवस्थापन प्रविधि सँग जोडिएको छ र हाल आएर artificial Intelligence (AI) नै मानवको चुनौतिको रुपमा देखापर्दै गएको छ र यसका विषयमा गम्भीर बहसहरु भई रहेका छन् । त्यसकारण अवको विकास प्रक्रियालाई सुचना र प्रविधिसँग कसरी एकाकार गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित हुनु जरुरी भईसकेको छ । यस आलेखमा सहभागीतामुलक विकासमा सुचना प्रविधिको आवश्यकता वा औचित्यलाई प्रष्ट्याउन खोजिएको छ ।

२.सहभागीतामुलक विकास
समाबेशी लोकतान्त्रिक व्यवस्थामा जनसहभागीता भन्ने पक्ष सँगै जोडिएर आउँछ वा अलग गर्नै सकिदैन । यस समावेशी लोकतान्त्रिक व्यवस्थालाई जनसहभागीतामुलक व्यवस्था पनि भन्न सकिन्छ किनभने यसमा नागरिकहरुका विकासका आकांक्षाहरु सहज रुपमा सम्वोधन हुने तथा प्रतिफलहरुको न्यायोचित बाँडफाँड तथा वितरण हुने विश्वास गरिन्छ । सन् १९७० पश्चात विकासमा जनसहभागीताको विषय सशक्त रुपमा उठेको देखिन्छ । त्यसैले निर्णय प्रक्रियामा सहभागी भई सेवा प्रवाहलाई प्रभावकारी बनाउन, राज्यप्रति उत्तरदायित्व निर्वाह गर्न, विकासका आकांक्षाहरु सम्वोधन गर्न, सीमान्तकृत एवं पछाडि पारिएका वर्ग समुदायको विकासको प्रतिफल परिणाममुखी बनाउन पनि सहभागीताको आवश्यकता पर्छ । यसकारण पनि पछिल्लो समयमा समावेशीकरण भन्ने विषय टड्कारो तथा अभिन्न रुपमा आएको छ । विकास प्रक्रियामा मात्र नभई यथार्तमा राज्य संचालन प्रक्रियामा होस् वा अधिकारका विषयमा होस् राज्य भित्र रहेका सम्पुर्ण वर्ग, धर्म, वर्ण, लिंग, क्षेत्र, जात, जाति पछाडि पारिएका समुदाय वा क्षेत्रको अर्थपुर्ण संलग्नता समेतलाई सहभागीताको विषयका रुपमा लिइनुपर्छ ।
विकासका सन्दर्भका हिसाबले कुरा वा नारामा जनसहभागीताका कुरा गर्ने वा नीति तथा कानुन पनि सहभागीतालाई अर्थपुर्ण बनाउने विषयमा निर्माण गर्ने तर व्यवहारमा फेरि पनि प्रक्रियामा होस् वा लाभको वितरण गर्ने सवालमा होस् , हुनेखानेहरुकै वा elite हरुकै मात्र सहभागीता भएको देखिन्छ । नेपालको संविधानतः स्पष्ट रुपमा विकास प्रक्रियामा नागरिकहरुलाई कसरी सहभागी गराउने वा कुन कुन संयन्त्रमा कसरी सहभागी बनाउने भन्ने विषय समेत उल्लेख गरेको छ । जबसम्म निर्णय र कार्यान्वयन प्रक्रियामा नागरिकहरुको उचित तथा समतामुलक तवरमा सहभागीताको सुनिश्चित नभएसम्म विकास भन्ने प्रक्रिया आफैमा अपुरो हुन्छ र कहिल्यै पनि दिगो हुन सक्दैन किनकी नागरिकहरुमा विकासप्रति अपनत्व भन्ने पक्ष नै हुँदैन ।

३. सुचना प्रविधि
विश्वलाई यतिवेला सुचना र प्रविधिले एउटा संजालभित्र ल्याई पुरयाएको छ र सुचना र प्रविधिको अधिक विकासले मानवको दैनिक व्यवहारलाई समेत परिवर्तन गरेको यथार्त हाम्रो सामु छ । सुचना प्रविधिले विद्यमान अवस्थामा हाम्रा प्रत्येक गतिविधिहरुका साथै जीवनशैली नै बदलिदिएको छ । यस परिवर्तित अवस्थमा सुचना र प्रविधिको उचित प्रयोगमा विपन्न, जोखिममा परेका तथा पछाडि पारिएका वर्ग समुदायको पहुँच र प्रयोगको जरुरी छ । नेपालको मात्र अवस्थालाई हेर्ने हो भने औसतमा प्रत्येकको हातमा मोवाईल पुगेको तथ्यांकले बताउँछ, अहिले हेर्दा ईन्टरनेटको पहुँच समेत विस्तारै फराकिलो बन्दै गएको छ । यसले के देखाउँछ भने व्यक्तिको निर्णय प्रक्रिया वा जानकारी सहितको निर्णय गर्न पनि वास्तवमा सुचना प्रविधिको ठुलो हात छ । आजकल युवा युवती तथा किशोर किशोरीहरुको त झन् सुचना तथा प्रविधिमा ठुलो चासो रहेको देखिन्छ । उनीहरुलाई प्रविधिमैत्री पनि बनाउने र यसलाई जीवनोपयोगी बनाउनु उत्तिकै आवश्यकता समेत देखिएको छ । यसले व्यक्तिलाई सकारात्मक रुपमा उन्नति तथा प्रगति हुने खालको विषयमा पनि सहयोग गर्छ साथै यसको दुरुपयोगले व्यक्तिलाई नकारात्मक बाटोमा समेत धकेल्छ, सुचना तथा प्रविधिको गलत प्रयोगले आज मानिसहरुले साईबर क्राईम अन्तर्गत विभिन्न खालका अनाहकमा दुःखहरु समेत वेहोर्नु परिरहेको छ । सुचना प्रविधिको सकारात्मक प्रयोगले व्यक्तिले अनेक सफलताहरु समेत हात पारेका असल उदाहरणहरु समेत हामीले दैनन्दिन देखिरहेका छौ । त्यसकारण कसरी यसको सहज पहुँच, प्रयोग, नियन्त्रण एवं व्यक्तिको कल्याण, फाईदा र प्रगतिमा कसरी लगाउने भन्ने प्रमुख विषय हो । जुन घरमा ईन्टरनेटको सुविधा छ, त्यहाँ व्यक्तिहरु एक अर्कामा कुरा गर्दैनन्, कुरा त हुन्छ तर कुनै त्यो घरभन्दा बाहिर रहेको व्यक्ति सँग मात्र । यसरी हेर्दा सुचनाप्रविधिले हामी हाम्रो जीवनशैली फेरिदिएको छ र हामीलाई हाल आएर जबर्जस्त रुपमा प्रविधिसँग एकाकार हुन वाध्य बनाईरहेको छ । प्रविधिले हाम्रो जीवनपद्धतिलाई सहज समेत बनाएको छ , हामीले क्षणभर मै धेरै कामहरु सजिलैसँग गर्न सक्र्छौ , यसले हाम्रो संचार प्रणालीमा आकाश पातालको फरकपन ल्याएको छ र दिनानुदिन यसको प्रयोगमा बढोत्तरी साथै नयाँ नयाँ अविष्कारहरु समेत भईरहेका छन् ।

४. सहभागीमुलक विकास र सुचना प्रविधिको अन्तरसम्बन्ध
जनसहभागीतामुलक विकासले सकारात्मक परिवर्तन वा रुपान्तरणको मार्गलाई सहज बनाउँछ वा यसले समाबेशीकरणलाई सुनिश्चित गर्छ भन्दै गर्दा, विकास प्रक्रियामा नागरिकहरुलाई सहभागी बनाउने विधि वा पद्धतिमा फरकपन आएको देखिन्छ । पुरानो विकास पद्धति जनसहभागीतामुलक भएन भनी सबैले स्वीकारेको विषय थियो र नीतिगत रुपमै नागरिकहरुको सहभागीतालाई विकासका हरेक कार्यमा सुनिश्चित गर्ने भन्ने कानुनी प्रावधानहरु समेत छन् । विकासका नागरिकहरुको अर्थपुर्ण सहभागीतालाई सुनिश्चित गर्न योजना निर्माण प्रक्रिया पनि सहभागीतामुलक विधि मार्फत हुनुपछृ भनी प्रयोग समेत भईराखेको छ । तर विद्यमान अवस्थामा सहभागीतामुलक विकासलाई मुर्तरुप दिनका लागि सुचना तथा प्रविधिको पहुँचलाई नागरिक सम्म विस्तार गर्नैपर्ने भएको छ । विकास प्रक्रियामा नागरिकहरुको सहभागीता नहुनुका थुप्रै कारणहरु रहेका छन् , समयमा जानकारी नपाउनु , सधै अरुले नै पाउँछन् हामी गएर के हुन्छ भन्ने सोच वा मानसिकता, योजना निर्माण तथा कार्यान्वयन प्रक्रियामा हुनेखाने कै पहुँच तथा नियन्त्रण, नीतिगत प्रक्रिया तथा प्रावधानको प्रभावकारी कार्यान्वयन नगर्नु, तथ्यमा आधारित पैरवी नहुनु, जस्ता विषयले गर्दा समेत सहभागीतामा असर गरेको देखिन्छ ।
सुशासनको दृृष्टिकोणले समेत सरकारले सार्वजनिक सेवाप्रवाहलाई प्रभावकारी बनाउन सुचना प्रविधिलाई अँगालेको छ भने सरकार, सेवाप्रदायक तथा सरोकारवालाहरुका आफ्नै वेबसाईटहरु, नागरिक वडापत्रहरु, मोवाईल एप्सहरु, सामाजिक संजालका विभिन्न माध्यमहरु रहेका छन् । उनीहरुले विकास तथा अन्य विषयसँग सम्बन्धित सुचना तथा जानकारीहरु तिनै संचारका माध्यमबाट प्रवाह गरेका हुन्छन् अनि त्यस्ता माध्यममा जसको पहुँच हुन्छ उसले मात्र सहभागीता हुन्छ। भनिन्छ नि सुचना शक्ति हो । त्यसकारणले गर्दा पनि एकातिर प्रत्येकजसो नेपालीहरुको हातमा मोवाईल छ भन्ने तथ्यांक छ, तर त्यसको सही प्रयोगले सबै प्रकारका सेवाप्रदायकहरुले के कस्ता कार्यक्रम वा गतिविधिहरु गरिरहेका छन् भन्ने कुरा मोबाईल जस्ता प्रविधिका माध्यमबाट नागरिकहरुलाई सहज रुपमा प्रदान गर्ने माध्यम बनाईयो र वास्तवमा विकासका गतिविधिले हाम्रो जीवनमा सकारात्मक परिवर्तन गर्छन् साथै योजना हाम्रै लागि हो एवं हाम्रो कर संकलनबाट उठेको रकम नै विकासका लागि आउने बजेट हो भन्ने आत्मसात गराउन सकेमा नागरिकहरुको सहभागीतामा पक्कै वृद्धि हुन्छ । साथै त्यस्ता माध्यममा नागरिकलाई चित्त नबुझेको विषयमा जिज्ञासा राख्ने, प्रश्न गर्ने तथा त्यसको जवाफ पनि आउँछ भन्ने कुरा निश्चित गर्न सकियो भने झन् नागरिकहरुको सहभागीतामा वृद्धि हुन्छ ।
सर्वप्रथम त नागरिकहरुले यो विकास कसका लागि र कसरी हुँदैछ भन्ने विषय स्पष्ट रुपमा बुझ्नु जरुरी छ । विकास हुनुपर्छ, यस प्रक्रियामा हाम्रो पनि सहभागीता हुनुपर्छ भन्ने जनचेतना एकहदसम्म नागरिक स्तरमा भएको भान पनि हुन्छ र अर्को तर्फ हामी समावेशी लोकतन्त्रको अभ्यास भईरहेको देशका नागरिक हुनुको नाताले पनि विकासका प्रक्रियामा नागरिकहरुको चासो, चिन्ता र आकांक्षा सम्वोधन हुन पनि सहभागीताको जरुरी छ भन्ने विषय बुझ्न आवश्यक हो तर नागरिकहरुले हाल भईरहेको विकास प्रक्रियाले वास्तवमा उनीहरुलाई नै फाईदा पुरयाउँछ भन्ने महसुश गरेका छैनन् । यस्तो अवस्थामा घरघरमा पुग्ने सुचना प्रविधिलाई विकासको प्रक्रिया वा सहभागीतालाई वृद्धि हुने पक्षमा जोड गर्नु नै अहिलेको टड्कारो आवश्यकता हो ।
सहभागीतामुलक विकासलाई सुचना प्रविधिसँग जोड्का लागि अब सरकारले प्रयोग गर्ने विभिन्न संचारमाध्यमहरुको बारेमा सबैलाई जानकारी गराउने र प्रतिवद्धता बमोजिम सुचनाहरु पनि नियमित रुपमा अद्यावधिक गर्ने । नागरिकहरुलाई वस्ती वस्तीमा पुगेर प्रयोग भईरहेका संचारमाध्यमको प्रयोग गर्ने तरिका, यसका फाईदा तथा बेफाईदाका बारेमा समेत व्यवहारिक अभिमुखीकरण गराउने । उक्त माध्यमबाट आएका जिज्ञासा र प्रश्नहरुको जवाफ यथाशिघ्र प्रदान गर्ने जस्ता विषयले नागरिकहरुको विश्वास र अपनत्व पैदा गर्छ । अनि यस्ता पक्षले नागरिकहरुलाई भरोसा सृजना भएपछि स्वतःस्फुर्त उनीहरुको सहभागीतामा समेत वृद्धि हुन्छ, जब सेवाप्रदायकले दिएको सेवाले नागरिकहरुको मन छुन्छ, त्यसपछि उनीहरुको सहभागीता नीति योजना निर्माण प्रक्रिया देखि यसको अनुगमन र मुल्यांकनसम्म रहन्छ । त्यसकारण सहभागीतमुलक विकास र सुचनाप्रविधिको मजबुत सम्बन्धले मात्र दिगो विकास तथा अर्थपुर्ण सहभागीतामा टेवा पुरयाउन सक्छ ।

५. निष्कर्षः
हालको सुचना प्रविधिको विकासलाई हेर्ने हो भने, अब यसको द्रुततर विकास सँगसँगै सहभागीतालाई समेत एकाकार गर्नु आवश्यकता देखिएको छ र पुर्नसंरचित राज्यको संयन्त्र अन्तर्गत संघीय, प्रान्तीय तथा प्रत्येक स्थानीय तहहरुले आफ्नो ईकाईलाई सकेसम्म डिजिटल बनाउने र यसको माध्यमबाट सुचना प्रवाह गर्ने भन्ने छ र गरि पनि रहेका छन् । कुनै कुनै स्थानीय तहले मोबाईल एप्स समेत निर्माण गरेका छन् । प्रतिवद्धताका हिसाबले, प्रविधिमैत्री बनाउने सबै तहका सरकार कटिवद्ध छन् । सबै सरोकारवालाहरुले आफ्ना नीति कार्यक्रममा तथा गतिविधिहरुमा कसरी नागरिकहरुको सहभागीता सुनिश्चित गर्ने भन्ने विषय प्रविधिका विभिन्न माध्यमबाट मात्र सफल हुन सकिन्छ ।अब विभिन्न सेवाप्रदायक, सबै तहको विशेष गरी स्थानीय तहले निर्माण गर्ने विभिन्न लामो तथा छोटो अवधिका योजनाहरु एवं पाश्र्वचित्रहरु समेत प्रविधिमैत्री बनाउने भन्ने छ, यस्तो प्रक्रियामा नागरिकहरुको अर्थपुर्ण सहभागीता भएको छैन नत जनतालाई भौतिक रुपमै भएपनि वस्ती बस्ती पुगेर घरदैलो पुगेर थाहा दिने काम भएको छ नत प्रविधिलाई जनमैत्री,

जनस्तरसम्म पुग्ने गरी निर्माण गरिएको छ । तर प्रविधिमैत्री सेवाप्रदायक मात्र भएर पुग्दैन सेवाग्राही पनि उत्तिकै अभ्यस्त हुनुपर्छ , यसको लागि पहिलो शर्त भने कै नागरिकहरुलाई यसमा पहुँच र फाइदाको बारमो जानकारी हुन जरुरी छ । यसका लागि सेवाप्रदायकले सरकारको नीतिगत रुपमै व्यवस्था भएको प्रावधान अनुरुप कार्य गर्न सकेमा मात्र पनि सुनमा सुगन्ध हुन्छ । सहभागीतामुलक विकासका लागि हाल तिब्रगतिमा बढेको सुचना र प्रविधिलाई अर्थपुर्ण तरिकाले अँगाल्न सकियो र यसको सकारात्मक प्रभाव नागरिक स्तरसम्म पुरयाउनुका साथै नागरिकहरुको ईच्छा र आंकाक्षाको सम्वोधन हुने गरी योेजना निर्माण, कार्यान्वयनका साथै महसुश हुने गरी विकासका प्रतिफल वा नतिजाको बाँडफाँड न्यायोचित हुनसक्यो भने जनताको सहभागीता अनपेक्षित तवरमा वृद्धि हुन्छ र अपनत्व सहितको दिगो विकास हुन्छ । आउनुहोस् , म, तपाई र हामी सबै मिली एकजुट तथा एकढिक्का बनौं, सुचना प्रविधिको उचित सदुपयोग मार्फत जनताहरुको सहभागीतामा अर्थपुर्ण वृद्धि गरी लोकतन्त्रका लाभहरुको समुचित प्रयोग गर्न नागरिक निगरानी बढाऔं । जय देश ! जय देश !! प्रतिक्रियाको लागि karnanepali777@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here