Input your search keywords and press Enter.

खोज्दाखोज्दै हराउदैछ जीन्दगीको यात्रा

बिनाराम खड्का

कुनै दिन अज्ञानी अनाडी मनुवा ज्ञानको खोजीमा ऋषि आश्रम कुटीतिर लखरलखर लम्किन्छ । ऋषि कुटीभित्रै गुप्त तपस्यामा लीन । बाहिरतिर साइसुइ कोही नई । मनुवा खाक्क खुक्क खकार निकालेझैँ गर्छ । “अहम” “अँहहss” “ख्वाक्क” गर्छ । हावा मात्रै सुइय । बोल्दैन कोही पनि । “ऋषि स्वामीज्यू ।” मनुष्य न हो निधारमा धर्सा । अली ठूलो स्वर निकाल्छ बाहिरैबाट । भित्र के के गर्दै थे ऋषि ! उतैबाट प्रति उत्तर । “को हो बाहिर ?” मनुष्य निधार खुम्च्याएर कहन्छ “म को हुँ त्यही खोज्न त यहाँ आएको ! म को हुँ मलाई के थाहा सम्भो !”

जेष्ठ १२ २०७६ । आजकै दिनमा चार कार्यक्रम चारतिर थिए । (एक) ज.क.मा.वि. भलाक्चाको अभिभावक भेला । (दुइ) विशेष अनुदानतर्फ त्रिपुरा मा.वि. छिङ¸ चुन र सोलाबाङ्गमा संयुक्त अनुगमन । (तीन) बालमैत्री स्थानीय शासन सम्बन्धी अभिमुखीकरण खलंगा । (चार) शिक्षा तालिम केन्द्र सुर्खेतको आयोजनामा संचालित ३ दिने सघन क्षमता विकास तालिम वीरेन्द्रनगर सुर्खेत ।

तर जागिरीमा फिट नहुने मान्छे म । उछिट्टिएर यतातिर लट्पटिएको । जागिरीकै लरा जेउरामा जेलिएको जेलियै । यतै झुल्लमान । कस्तो कस्तो सोचाइ र चिन्तन भएको । अलि अमिल्दोजस्तो । अली फरकजस्तो । आफैले आफैलाई बुझ्न गाह्रो । माथिको कथाझैँ म को हु कता जाने हो के गर्ने हो किन गर्ने हो । मेरो औचित्य के हो । मेरो आवश्यकता के हो । कहाँ हो । किन कता कहाँ पुग्नको लागि ?! म स्वयमलाई ज्ञात छैन । अनि चारवटै कार्यक्रम छोडेर पुगेँ चन्दननाथ आवि डाँग्रीचौरतिर ।

नाम पनि विनाराम । इकार लगाउंदा विनिराम । काम पनि विनि अर्थात विद्यालय निरीक्षण । पद पनि विनि । अनि जानु पनि कहाँ । कतिखेरै लाष्टै टिन्सन हुन्छ । जागिरी खाउं कि नखाउं हुन्छ । निराशाको बाढीले बगाएर कता हो कता खोलाको अनकन्टार किनारामा पुर्याएर सुकेको रुखको जरामा जिन्दगी तुर्लुङ्ग झुन्डिएर लैलै लैलै गरेझैँ लाग्छ । कतिखेर ठुलो र भयावह भिरबाट सुइइइइइइ खसेर शान्त र गहिरो तलाउमा च्वपलाङ्ग परेझैँ लाग्छ । हावासंगै हराएझैँ । हुन्डरीले उडाएझैँ । जिन्दगीको अर्थ कतै भेटिदैन । जोखाना हेर्दा हेर्दा चारजना विद्वान शास्त्रीहरुले खेतको सिममा तितो पाथीसंगै भात पकाउंदा निस्केको भातको फतफत फतफत आवाज जस्तै अर्थहीन लाग्छ जिन्दगी । मुल्यहीन लाग्छ जिन्दगी । कतै खोज्दा कतै नभेटिने औचित्यहीन लाग्छ जिन्दगी ।

आफुसंगैका को कहाँ पुगे । केही ठेगान छैन । धेरै मिल्ने । मन परेका साथीहरु कोही युद्धमा हराए र सहिद नामाकरण भए । कोही रक्सीमै डुवे र ख्यालख्यालमै दिवंगत हुंदै कताकता शुन्यतामा विलाए । कोही हिड्दाहिड्दै गुड्दागुड्दै अनयास धर्तीबाट विलोप भए । कोही कता कोही कता । म मात्रै यता न उता ।

जागिरीको दुनियामा पनि हेर्दाहेर्दै को कहाँबाट कहाँ पुगे ? आफु भने जहाँको तहीँ । हिनतावोधको तलाउमा जिन्दगी चुर्लुम्म डुब्छ । अरुको प्रगतिमा इर्षा र डाहा होइन कि आफ्नै दुर्गती र यथास्थिति देखेर खिन्नता लाग्छ । कता कता के नमिलेजस्तो । के बिर्सेजस्तो । के हराए जस्तो लाग्छ । आफैप्रति आफैलाई विश्वास लाग्दैन । आफैले आफैलाई चिन्न सक्दैन । के गरिरहेछु । किन गरिरहेछु । आफैलाई चित्त बुझ्दैन । हिडिरहेको बाटोमै पत्यार लाग्दैन । फेरि झल्यास्स हुन्छु । हैन ठीकै त छ । यस्तै त हो । जिन्दगी भन्दै सामान्यिकरण गर्दछु । र फेरि आफ्नै काममा फर्कन्छु । आफ्नै पेशामा हराउंछु । साथीहरु भन्छन । के हो आजभोलि त स्टाटस आउन छोड्यो नि ! कति लेख्ने स्टाटस ? पोख्दा पोख्दै लामा हुने तर पनि नपोखिने । कति लेखिन्छ डिलिट गरिन्छ । कति My document folder मा शुरु वाक्यबाट फाइल नेम बनेर बसेका हुन्छन । कानमा रयाँइ रयाँइ गर्ने फोन । कहिलेकाही दिक्क लाग्छ । र अफ बटन दाविन्छ त कहिले Flight Mode । फेरि गर्नु त के छर अन गर्नै पर्यो । कोही सोध्छन “अरु हालखबर के छ त ?” हाल सबै सोधेपछि । खबर सबै भनेपछि । फेरि भन्न बाँकी “अरु खबर के हो ?” खोज्छु । घोत्लिन्छु । कहीँ भेट्दैन अरु खबर ! र फेरि भौतारिन्छु । यता न उता । स्टाटसमा अर्थ खोज्दै जिन्दगीको यात्रा । २०७६।२।१२

Share Button

First and best news portal from rukum for world.

Leave a Reply

Your email address will not be published. Required fields are marked *