Input your search keywords and press Enter.

राज्यबाटै विभेद खेपिरहेको एउटा दिवस

गणेश सिर्पाली
विषय प्रवेश
नेपालमा प्रेम गर्ने दिवस देखि यौन जोडिले आफुलाई सुरक्षित राख्न प्रयोग गर्ने कण्डम दिवस सम्म मनाईन्छ । थुप्रै राष्ट्रिय तथा अन्तराष्ट्रिय दिवस मनाउनका लागि वर्षेनी राज्यका विभिन्न निकायले मोटो रकम खर्च गर्ने गरेको सरकारी आँकडाले नै देखाउँछन । लोकतन्त्र दिवस, अन्तराष्ट्रिय श्रमिक दिवस, कानुन दिवस, गणतन्त्र दिवस, विश्व सहकारी दिवस, खिरखाने दिवस, निजामति सेवा दिवस, श्रीकृष्ण जन्मेको दिवस, संविधान दिवस, विश्व खाद्य दिवस, विश्व एड्स विरुद्ध दिवस, विश्व अपांगता दिवस, राष्ट्रिय टोपी दिवस, राष्टिूय एकता दिवस, शहिद दिवस, प्रजातन्त्र दिवस, नारी दिवस……………….यस्ता थुप्रै दिवस छन जसलाई राज्यले ठुलै महत्व दिएर संरक्षण गरीराखेको मात्र छैन प्रर्वद्धन पनि गरिरहेको छ ।
यस्ता दर्जनौँ दिवसको छायाँमा परेको भनौँ कि राज्यको मायामा नपरेको भनौँ । त्यो दिवस हो ( ‘अन्तराष्ट्रिय जातीय विभेद तथा रंबिभेद विरुद्धको दिवस’ । हरेक वर्षको मार्च २१ तारिकका दिन मनाईने अन्तराष्ट्रिय जातीय विभेद तथा रंगभेद विरुद्धको दिवस आज परेको छ ।

दिवसको औचित्य
जातिय विभेद तथा रंगभेद उन्मुलन दिवसको ईतिहास दक्षिण अफ्रीकाको सार्प भिल्लेमा सन १९६० मार्च २१ का दिन भएको ६९ जना ब्यक्तीहरुको नरसंघारको घटनासंग जोडिएको छ । रंगका आधारमा गरिने विभेदले अफ्रिकी मुलका काला जातिहरु बिश्वभरि अमानबिय र पशुतुल्य जीवन जिउन बाध्य बनाईएका थिए । काला जातिको स्वतन्त्रता र मानब अधिकार कानुनी रुपमानै वर्षौँसम्म कुल्चिएर राखेका, गोराहरुले कालाहरू माथि गरिएको दमन, भेदभाब, अन्याय, शोषण, उत्पीडन र दासत्वलाई सहन नसकी यसको बिरोधमा हजारौ मानिसहरु एकै ठाउमा भेला भई दक्षिण अफ्रिकाको विभेदी कानुनका बिरोधमा शान्तिपूर्ण तरिकाले जुलुस प्रदशन गर्ने क्रममा सन १९६० मार्च २१ का दिन त्यहाको प्रहरी प्रशासनले जुलुस माथि अन्धाधुन्ध गोलि चलायो र गोलि लागेर ८ जना महिला र १० बालबालिका सहित ६९ जनाको क्रुरता पुर्वक हत्या गरियो । यस घटनाले विश्वभरि तरंग उत्पन्न गरायो रंगभेदले पिल्सिएका करोडौ करोड जनताहरुलाई आन्दोलन गर्न वाध्य वनायो । यसै घटनालाई स्मरण गर्दै संयुक्त राष्टसंघले २१ मार्च १९६५ मा जातीय विभेद उन्मूलन सम्बन्धि महासन्धि पारित गरी जाति तथा रंगभेद उन्मुलन दिवसको रुपमा मार्च २१ लाई मनाउने घोषणा गर्यो र सन १९६६ देखि हरेक वर्ष मार्च २१ को दिन बिश्वभरि जातिय भेदभाव तथा रंगभेद उन्मुलन दिवसको रुपमा मनाईदै आईएको छ । नेपालले यो महासन्धिलाई सन १९७१ मा अनुमोदन गर्दै मार्च २१ लाई जातिय भेदभाब उन्मुलन दिवसको रुपमा मनाउने स्विकार गरेको छ । नेपालमा बिशेष गरि जातिय छुवाछुत र विभेदका कारण पछाडी पारिएका, उत्पीडन भोगिरहेका दलित समुदायहरुले मार्च २१ लाई बिशेष दिनका रुपमा विभिन्न कार्यक्रमहरु गरेर मनाउने गरेका छन भने दक्षिण अफ्रिकामा यस दिनलाई मानव अधिकार दिवसको रुपमा मनाउने गरिएको छ ।
नेपाल एउटा त्यस्तो देश हो जहाँ मान्छेले मान्छेलाई छुन समेत पाईदैन ।
विभिन्न गौरवपुर्ण ईतिहाससहित विश्व समुदाय माझ नेपाल र नेपालीको परिचय यसरी वनेको छ । अहिले नेपालका आधा करोड दलित समुदायले भोगिरहेको जातिय छुवाछुत तथा भेदभावको समस्या कुनैदिन राज्यले नै जबरजस्त लादेको थियो । रामशाह देखि जयस्थिति मल्ल हँुदै मुलुकी ऐन १९१० सम्मका कानुनहरु पल्टाएर हेर्दा हुन्छ कि आजका आधा करोड नेपाली नागरिकहरुलाई दलित बनाउन राज्यको भूमिका कति कठोर थियो भनेर । आफ्ना नागरिक माथि गरिएको त्यो पापको क्षमा अब राज्य र समाजले दलित समुदायसंग माग्नै पर्छ । अनि मात्रै अब यस्तो विभेद गर्दैनाँै भन्ने संकल्प आउछ । हो त्यहि क्षमायाचना दिनको रुपमा ‘अन्तराष्टिूय जातीय विभेद तथा रंगभेद विरुद्धको दिवस’ मनाउनुपर्ने देखिन्छ ।

को हुन र कति छन दलित
नेपालमा कुल जनसंख्याको १३ प्रतिशत दलितहरु वसोवास गर्छन भन्ने सरकारी आँकडा छ । तर दलितहरु त्यो भन्दा पनि वढी संख्यामा छन भनेर दावी गर्न सकिन्छ । त्यसको आधार के हो भने नेपालमा हरेक दश वर्षको अन्तरालमा जनगणना गरिन्छ, जनगणनामा परिचालन हुने धेरै जसो स्वयमसेवकहरु ड्युटी भन्दा पनि आफ्नो भत्ता सँग सम्वन्धित हुन्छन । जनगणनाको लागि तत्थ्याङ्क छिटो संकलन गर्दा पाउने पारिश्रमिक र ढिलोगरी काम पुरा गर्दा पाउने पारिश्रमिक वरावर हुन्छ ।
त्यसैले उनिहरु घना वस्तिहरुमा पुगेपनि न खोलाको तीरमा पुग्छन, न त लेकको भिरमा । तर त्यस्तै तीर र भिरमा वसोवास गर्छन दलित समुदाय । त्यसकारण पनि दलितहरुको खास आँकडा राज्यले लिन सकिरहेको छैन । यसकारण झण्डै २० प्रतिशत दलित समुदाय नेपालमा वसोवास गर्छन भन्न सकिन्छ । कुल जनसंख्याको २० भाग ओगटेका नागरिक जसले आफुलाई राज्यले विगतमा वनाएको नितीका कारण दोस्रो दर्जाका नागरिक ठान्नुपरेको छ । यो भन्दा अर्को विडम्वना के हुनसक्छ ? राज्यका लागि यो भन्दा अर्को दुःखको विषय के वन्न सक्छ ?
कल्पना गरौँ, एउटा फलामको काम गर्ने ब्यवसायीले आफ्नो शिल्पको प्रयोग गर्दै, आरनमा फलाम पगालेर अनि ठोकेर त कहिले खुटाले थिचेर अनि हातले वनाएर तयार गरेको भगवानको मुर्ती मन्दीरमा छिरेपछी त्यस्को निर्माणकर्ता अनि फलामका शिल्पकार सर्जक आँफै मन्दीर भित्र जानवाट रोकीन्छन । के यो सही हो ? सिलाईएका कपडाहरुलाई लगाउन हुने तर सिलाउनेलाई विभेद गर्ने परम्परा, जुत्ता र छालाका सामग्री लाई सम्पन्नताको प्रतिक मान्ने तर त्यसका सर्जकलाई विभेद गर्ने यस्ता धेरै पेशागत विभेदले जातीय असमानता र उत्पीडन निम्ताएको छ । कालान्तरमा यस्तो दिन पनि आउन सक्छ हाम्रा बाउबाजेले जातिय विभेद सहन्थे रे भन्ने भन्दा हाम्रा बाउवाजेले जातिय विभेद गर्थे रे भन्नेहरुले लज्जावोध गर्नुपर्ने छ ।

दलितलाई लाग्ने नयाँ आरोप
जातिय भेदभाव तथा छुवाछुत अन्त्यका सन्दर्भमा अहिले दलितहरुलाई दुई ओटा आरोप लाग्ने गरेका छन् । ति हुन ः
१.दलितहरु भित्र पनि त विभेद छ, पहिले त्यसको अन्त्य गर्नुपर्छ ।
२.दलितहरु फोहोर हुन्छन घरभित्र ल्याउन लायक हुँदैनन्, अनि कसरी घरभित्रै ल्याउन सकिन्छ ।
झट्ट हेर्दा यि दुवै तर्क सहि जस्ता पनि छन । तर यथार्थ त्यस्तो होईन । दलितहरु भित्रको विभेद त्यति ठुलो विषय होईन । किनकि एकातीर दलितहरु भित्रको विभेद पनि राज्यले नै वनाईदिएको असमानता हो भने अर्कोतीर यहाँ विभेद दलितहरु भित्र मात्र छैन ब्राह्मण भित्र पनि छ । उपाध्याय भन्दा गौतम सानो, गौतम भन्दा शर्मा सानो, शर्मा भन्दा…………………………..। दलितहरु फोहोर हुन्छन भन्ने अर्को आरोप पनि केहि हदसम्म सहि हो । तर दलितहरु आफुले आफुलाई रहरले फोहोर वनाएका भने होईनन् । मिठो खान, राम्रो लगाउन, चिटिक्क परेर हिड्न कस्लाई मन नहोला । विहानको झिसमिसे देखि साँझ अवेरसम्म आरनमा कालो अङ्गार (कोईला) र फलाम सँग पसिना चुहाउँदै वस्ने कामीदाई कसरी सफा र चिटिक्क देखिन सक्लान ? अव सम्झिनुहोस त्यहि झिसमिसेमा उठेर स्नानगरी एक हातमा पुजा थाली र अर्को हातमा घण्टी समातेर तुलसीको वोट वरिपरी ॐ भूर भुवस्वह………भन्दै गायत्री मन्त्र गाएर वस्ने ब्राह्मण कसरी सफा हुन नसक्लान ? एउटा ब्राह्मणलाई दिनभरी आरनमा फलाम गाल्न लगाएर अनि दलितलाई दिनभरी पण्डित्याँई गर्न लगाएर साँझ एकसाथ हेर्यो भने को फोहोर होला । दलित कि ब्रह्माण ?

निष्कर्ष
मान्छेहरु मंगल ग्रहमा पाईला टेकिसके । चन्द्रमामा वस्ति वसाल्ने कोसिस गर्दैन । एउटाको शिर र अर्काको शरिर जोडेर सिंगो मानव वनाउने प्रविधि वनिसक्यो । यन्त्र मानवले मान्छेको भन्दा वढि भावनात्मक अभिव्यक्तिमा काम गर्न थालिसक्यो । तर यहाँ राज्य निदाएको छ । नागरिकहरु अनेकन उत्पीडनको सिकार भैरहेका छन । मान्छेले मान्छेलाई छुन नहुने, एउटा मान्छेले छोएको अर्को मान्छेले खान नहुने, दलित भएकै कारण गैरदलितको घरभित्र छिर्न नहुने…………….। यो भन्दा अर्को हेलाहोचो के हुनसक्छ ? हरेक मानव आफ्नो जात, धर्म, पेशा या अन्य कुनै पहिचान वाहिर एउटा सर्वब्यापी र वृहत पहिचान, मानव पहिचानका रुपमा समान छ ।
कुनै पनि ब्यक्ति समाज, सरकार या समुहले कसैलाई जातीय आधारमा विभेद गर्नु र उनीहरुको मर्यादा माथी आघात पूर्याउनु अमानविय तथा दण्डनीय छ । आउनुहोस, सवै मिलि मान्छेमान्छेवीचको यो विभेद अन्त्य गरौँ । देशका एकथरी नागरिकलाई पछि राखेर राज्यले समृद्धि हाँसिल गर्न सक्दैन । जातिय भेदभाव तथा छुवाछुत दलितको समस्या होईन राज्यको समस्या हो । यसको अन्त्य राज्यले गर्नुपर्छ । जसको सुरुवात ‘अन्तराष्टिूय जातिय विभेद तथा रंगभेद विरुद्धको दिवस’ लाई पनि अरुअरु दिवस जत्तिकै महत्व दिएर मनाउन सुरु गरेर गर्नुपर्छ । ‘अन्तराष्ट्रिय जातीय विभेद तथा रंगभेद विरुद्धको दिवस’ को सवैलाई शुभकामना ।।

Share Button

First and best news portal from rukum for world.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares