Input your search keywords and press Enter.

जनयुद्ध संग्रहालय : एक चर्चा

रुकुम पूर्वको भूमेमा रहेको जनयुद्ध फिचर ः तस्बिर ः जयमान बुढा

पहलसिंह घर्तीमगर
नेपाली समाजको रुपान्तरण र अग्रगामी परिवर्तनका क्षेत्रमा भएका बहुआयामिक पक्षहरुलाई नियालेर हेर्ने हो भने यससंग जोडिएका ईतिहासहरु हामी सहजै देख्न सक्दछौं । यसलाई विभिन्न कोण प्रतिकोण, विचार, आदर्श एवम् मूल्य मान्यताको शिखरबाट विश्लेषण गर्न सकिन्छ । ती विषय कतिपयका लागि जीवन दर्शन त कतिपयका लागि कालजयी रात्रीका रुपमा पनि स्थापित रहेका छन् । नेपालको राजनीतिक परिवर्तनको ईतिहास हेर्ने हो भने त्यो राणाकालीन आन्दोलन किन नहोस या त त्यो ३० वर्षे पञ्चायतकालीन राज्य व्यवस्था विरुद्धको आन्दोलन नै किन नहोस् त्यसको गर्भमा कतै न कतै कठोरतम र सुन्दरतम भविष्य सहितको परिकल्पना लुकेका थिए । त्यसलाई आफ्नो जीवन दर्शन वनाउन सकेका ऐतिहासिक सन्र्दभहरु पनि आज ईतिहासहरुमा हेर्न देख्न र अनुभव गर्न पाईन्छ । त्यसो भए के थिए त ती चमत्कारिक अर्थात दैवी शक्तिहरु ? के ती हाम्रा जीवन व्यवहार भन्दा वाहिर वा कसैका नियत र आदर्शमा अडिएका थिए ? यसको सहज जवाफ छ, ती कुनै अलौकिक थिएनन् न त ती कुनै दैवी शक्तिमा आधारित थिए । ती त थिए केवल गतिशील समाजका अनिवार्य विषयबस्तुहरु । ती सबैले प्रयोग र कार्यान्वयनको अपेक्षा राख्दथे, जो भौतिक जगतका अनिवार्य शर्त ठानिन्थे । त्यसैले त २००७ सालको राणा शासन विरोधी आन्दोलन नै किन नहोस या त तत्कालीन मालेले थालेको २०२८ सालको झापा आन्दोलन नै किन नहोस् अर्थात २०४६ सालको पञ्चायत विरोधी आन्दोलन नै किन नहोस् त्यसको अन्र्तयमा राजनीतिक उद्धेश्य अन्र्तनिहित थियो । विचार आदर्श र मूल्य मान्यताका असंख्य विषयवस्तुहरु जोडिएका थिए । पछिल्ला समयमा ती सबैले अनिवार्य रुपमा प्रयोगको अपेक्षा राख्दै आए । भलै त्यसलाई व्यवहारिक हिसावले अगाडि बढाउँदै गर्दा कतिपय समस्या र चुनौतिहरु रहेका हुन सक्दछन् । पछिल्ला समयमा नेपाली जनयुद्ध र यसले स्थापित गरेका वहुआयामिक पक्षहरुको संश्लेषण नगरी हामी ईतिहासको साँचो सम्मान गर्न सक्दैनौं । युद्ध संग्रहालय पनि त्यसैको एक अभिन्न अंग हुन सक्दछ ।

कसरी आयो नेपालमा संग्रहालयको अवधारणा :
मूलतः यो विषय पर्यटनसंग जोडिएर अगाडि आएको पाईन्छ । आज विश्वका शक्तिशाली राष्ट्रहरु हुन् या विकासोन्मुख देशहरु हुन्, ती सबैले पर्यटनलाई एक आधार स्तम्भका रुपमा लिई आ आफ्नो देशको सन्र्दभमा परिभाषित गरिरहेका छन् । यसको अर्थ यो एक प्रकारको आर्थिक समृद्धि र विकासको माध्यम हो । दोस्रो विश्वयुद्ध ताका जापानको हिरोसिमा र नागासाकीमा भएको अमेरिकी एटम वम आक्रमणबाट ध्वस्त भएको भूमीलाई आज जापानले संग्रहालयका रुपमा विकास गर्ने अवधारणा अगाडि सारेको पाईन्छ । खास गरी तत्कालीन अवस्थामा थालिएका लडाईका अवशेष, वारुण यन्त्र, ऐतिहासिक तथा पुरातात्विक धरोहरहरु र अन्य साँस्कृतिक सम्पदाहरुलाई ती देशहरुले संग्रहालयका रुपमा व्यवस्थापन गरेका प्रशस्तै उदाहरणहरु हामी देख्दर्छौ । यसलाई विश्व वजारमा प्रचार प्रसार गरी युद्ध पर्यटन जस्तो महत्वपूर्ण विषयसंग जोडेर अगाडी सारेका नमूनायोग्य कुराहरु हामी देख्दछौं । चाईना, रसिया, भियतनाम लगायतका देशहरु यसका केही उदाहरणहरु हुन् । नेपाल पनि त्यसको अपवाद हुने कुरै भएन । नेपाल पछिल्लो चरणको एक नमूना हो भन्न सकिन्छ ।

नेपालको सन्र्दभ :
नेपालमा थालिएको महान जनयुद्ध र यसले स्थापित गरेका जनयुद्धकालीन मूल्य मान्यता र अवशेषहरुलाई जोडेर यसको ऐतिहासिकता स्थापित गर्ने उद्धेश्यले युद्ध पर्यटनको अवधारणा अगाडि सारिएको छ । तर यसको गहिराईमा पुग्दा युद्ध पर्यटनका खास खास विषयवस्तुहरु के हुन सक्दछन् र कहाँ कहाँ छन् त्यस्ता महत्वपूर्ण स्थानहरु भन्ने विषयमा कतिपय सवालमा अहिले पनि भ्रम र अन्यौलताहरु रहेको देखिन्छ । अनि युद्धका उद्गम स्थल र वहुचर्चित घटना परिघटनाहरुको विस्तृत आंकलन नै नगरिकन कतिपय योजना र कार्यक्रमहरु अगाडि सारिएका देखिन्छन् । जो समयक्रमसंगै विवादित हुने संभावना रहेका छन् । त्यसका लागि सम्बन्धीत निकायका नेतृत्वबाट यस सम्बन्धी आबश्यक परामर्शको अभाव रहेको देखिन्छ । यस सन्र्दभमा कतिपयमा आफैले स्थापित गरेको ईतिहास र स्थापित जनयुद्धकालीन सम्पतीहरुलाई कसरी संस्थागत गर्ने भन्ने सोँच नै छैन भने कतिपयमा विषयको गहिराईमा नपुगी केवल सतही प्रकारले योजना र कार्यक्रम छनौट गरेको स्थिति देखिन्छ । यसका पछाडी दुई वटा कुराहरुले घर गरेको देखिन्छ । पहिलो कुरा, विषयवस्तु प्रतिको सहि बुझान र महत्वबोधको अभाव हो भने दोस्रो कुरा, विषयको अन्धानुकरण हो भन्ने कुराको सहज अनुमान लगाउन सकिन्छ । किन कि कुनै पनि योजना या कार्यक्रमको प्रभावकारी कार्यान्वयन त्यतिवेला मात्र संभव हुन्छ जति वेला सम्बन्धीत समुदाय र लाभान्वित वर्गले आफ्नो स्वामित्व तथा अपनत्व ग्रहणको महशुस गर्दछ । आज यही बहस छ, युद्ध पर्यटन र संग्रहालय एवम् यसका बहुआयामिक पक्षहरुको सवालमा । यसलाई सही अर्थ र भावमा नवुझेर युद्ध पर्यटन र युद्ध संग्रहालय के हो भन्ने विषयको गहिराई मापन हुन सक्दैन । न त निर्माण गरिएका नीति तथा कार्यक्रमहरुले नै मूर्त रुप धारण गर्न सक्दछन् । त्यसो भएर नेपालको राजनीतिक रंगमञ्चमा गौरवमय ईतिहास बोकेको नेपाली जनयुद्ध र यसले स्थापित गरेका सर्वहारा वर्गीय मूल्य मान्यता सहितका वहुआयामिक पक्षलाई धरातलीय यर्थातका आधारमा बुझेर मात्र युद्ध पर्यटनसंग सम्बन्धीत नीति तथा योजनाहरु बनाईनु आबश्यक ठानिएको छ ।

युद्ध संग्रहालयका क्षेत्रमा देखिएका चुनौतिहरु :
नेपाली जनयुद्ध एक ऐतिहासिक परिघटना थियो, जुन नेपाली जनतालाई सबै प्रकारका शोषण उत्पीडनबाट मुक्त गर्दै वर्ग विहिन समाज निर्माण गर्ने उद्धेश्यमा आधारित रहेर सञ्चालन गरिएको थियो । त्यसो त महान अक्टोवर समाजवादी क्रान्ति र चिनीयाँ नयाँ जनवादी क्रान्ति तथा विश्वका विभिन्न देशहरुमा भएका सर्वहारा वर्गीय र समाजवादी क्रान्तिहरु सम्पन्न गर्नका निम्ति गरिएका त्याग तपस्या र वलिदानका उदाहरणहरु पनि कम चुनौतिका विषय छैनन् । विश्वका परिदृष्यमा भएका कम्यूनिष्ट आन्दोलनहरुको संगठन र विघठन तथा जीत हारहरुको लामै फेहरिस्त हाम्रा अगाडि ताजै छन् । यद्यपी नेपाली जनयुद्धको मौलिकता र विशिष्टता भने आफ्नै प्रकृतिको छ । यसबाट प्राप्त उपलब्धीहरु र क्षतिहरु, जनयुद्धमा भएका दशौं हजारको वलिदान, हजारौं घाईते तथा अपांग र हजारौको घरवास उजाड भएका कहाली लाग्दा ईतिहासहरु आज देश र दुनियाका लागि खुल्ला किताव बन्न पुगेका छन् । जनयुद्धको क्रममा स्थपित गरिएका वलिदानका गाथाहरु र रचिएका ईतिहासहरु आज सबैका लागि चासो र चिन्ताका विषय बन्न पुगेका छन् । यी सबैलाई जस्ताको तस्तै कसरी दुरुस्त पार्ने र स्थापित गर्ने भन्ने चुनौति हाम्रा अगाडि छन् । दृढ ईच्छा शक्ति र वैज्ञानिक योजना तथा सिर्जनशील वन्न सके यो काम सहज ढंगले पुरा गर्न भने सकिन्छ ।

रुकुम जिल्लाका संभावित स्थानहरु :
भिषण दश वर्षे जनयुद्धको दौरानमा रुकुम जिल्लाले खेलेको भूमीका र वलिदान देशकै लागि नमूनाका रुपमा स्थापित रहेका छन् । तत्कालीन जनयुद्धको क्रममा भएका दोहोरो भिडन्त स्थलहरु, माओवादी जनमुक्ति सेनाका लागि सञ्चालन गरिएका सैन्य तालिम स्थलहरु, सञ्चार हेडक्वाटरहरु, हतियार तथा प्राविधिक सामाग्री निर्माण गरिएका स्थलहरु, सुरक्षा फौंजहरुसंग लड्नका लागि निर्माण गरिएका वङ्कर, ट्यानलहरु, युद्ध ट्रेन्चहरु, स्वास्थ्य शिविरहरु, मेश व्यवस्थापन गरिएका स्थानहरु, तत्कालीन जनसरकारद्धारा निर्माण गरिएका विकास निर्माण संग सम्बन्धीत भौतिक पूर्वाधारका क्षेत्रहरु लगायत जनयुद्धको प्रयोजनमा स्थापना गरिएका सबै प्रकारका गतिविधीहरु युद्ध पर्यटनसंग सम्बन्धीत सम्पदा र सम्पतीहरु हुन् । ती सबैको व्यवस्थापन नगरिकन युद्ध पर्यटन र युद्ध संग्रहालयको परिकल्पना गर्न सकिदैन । नेपाली जनयुद्धले स्थापित गरेको भौतिक चेतना र समृद्ध ग्रामीण जीवनशैली कम महत्वका छैनन्, जसको आज वर्णन नै गर्न सकिदैन । यसको लामो ईतिहास, फेहरिस्त र विवरणहरु हाम्रा अगाडि अहिले पनि ताजै छन् । आफ्नै राजनैतिक जीवनका उकाली ओरालीहरुमा व्यहोरिएका यी सत्य तथ्य घटना परिघटनाहरुको विहंगम महत्व छ एकातिर भने अर्कोतिर यी विषयवस्तुहरु समय सान्र्दभिक बन्दै पनि गएका छन् । रुकुम जिल्ला तत्कालीन दशवर्षे जनयुद्धको आधारभूमी र आधार ईलाका हुनुको नाताले युद्ध संग्रहालयका दृष्टिले महत्वपूर्ण रहेको छ ।

ऐतिहासिक चुन्वांग बैठकका नामले चीर परिचित चुन्वांगको भेरीडाँडा एक आकर्षक स्थल हो जनयुद्ध संग्रहालयका निम्ति, जसको तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २०७३ पौष ९ गतेका दिन जनयुद्ध संग्रहालयको विधिवत् रुपमा उद्घाटन गरिसक्नु भएको छ । त्यस्तै रुकुम पूर्वकै महत, क्यांसी, छिपखोला, रुकुमकोट, तकसेरा, काँक्री लगायतका क्षेत्रहरु यसका लागि उपयुक्त स्थानका रुपमा हुन सक्दछन् भने रुकुम पश्चिमको हकमा आठविसकोट राडीज्युला, त्रिवेणि, मौराखारा, थाम स्यालाखदी, खारा लगायतका स्थानहरु यसका लागि उपयुक्त स्थानका रुपमा हुन सक्दछन्, जहाँ तत्कालीन जनयुद्धको क्रममा सरकारी सुरक्षाकर्मी र माओवादी जनमुक्ति सेनाका वीचमा आमने सामने लडाईहरु र जनमुक्ति सेनाका सैन्य तालिम लगायतका गतिविधीहरु सम्पन्न गरिएका थिए । यी स्थानहरुको पहिचान गरी आबश्यक वजेट व्यवस्थापन गर्न सके युद्ध संग्रहालयको विकास हुनुको साथै युद्ध पर्यटनको यथोचित विकास हुने संभावनालाई नजीकबाट नियाल्न सकिन्छ । तर यस खालका स्थानहरुको पहिचान नै नगरी हचुवाको भरमा गरिने वजेट विनियोजनले खासै परिणाममुखी काम नहुने र वजेटको सही सदुपयोग नहुने कुरा पनि त्यत्तिकै सत्य हो । यो कामको सिलसिलामा केन्द्र सरकार र प्रदेश सरकारको यथासक्य चाँडो यतापट्टि ध्यान जानु पर्दछ कि ? सबैलाई चेतना भया ।।

Share Button

First and best news portal from rukum for world.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares