Input your search keywords and press Enter.

त्रिबेणी कार्बाही र सहिद बिजय घलेलाई सम्झदा

“ईतिहास वहादुरहरुको हो कायरहरुको होईन ।” यो भनाई कुनै दार्सनिक तथा वैज्ञानिकहरुको होईन न त यो कुनै धार्मिक ग्रन्थहरुमा गाईएको भजन कृतन नै हो । यो भनाई त ती महान विचार, उद्धात चेतना र वर्ग समाजमा रहेका तमाम विसंगति र विकृतिहरुको माखेसाँगलोले झेलिएको असंख्य शोषण दमन, उत्पीडन, अन्याय अत्याचार र उच नीचको अन्त्य गर्नका लागि वर्ग संघर्षको रापिलो तापिलो र पेचिलो संघर्षलाई आफ्नो जीवन दर्शन वनाएर कम्यूनिष्ट आन्दोलनमा होमिएको एक होनहार, शाहसिक, निडर प्रखर सर्वहारावादी व्यक्तित्व अर्थात २०५३ साल पौष १ गते डोल्पा जिल्लाको त्रिवेणि चौकी आक्रमणको फौंजी कमाण्ड गर्दै गर्दा उच्च शाहदत प्राप्त गर्ने महान शहिद कमरेड दौलतराम घर्ती अर्थात विजय घलेको हो । त्यसो त रुकुम जिल्लाको ग्रामीण वर्ग संघर्ष र सर्वहारा आदर्श एवम् मूल्य मान्यतालाई आत्मसात गर्दै हजारौं लाखौं शोषित पिडित जनताको मुटुको ढुकढुकी वनेर चम्किलो ताराको उपमा पनि शहिद विजय घलेले नपाएका होईनन् । तत्कालीन पञ्चायतकालीन कालरात्रीहरुलाई चिर्दै कम्यूनिष्ट शिक्षाद्धारा लैंस भएको वर्ग संघर्षका तमाम मोर्चाहरु खोल्न र सयौं क्रान्तिकारी योद्धाहरुलाई पञ्चायत विरोधी आन्दोलनमा सरिक वनाउन सकेको गर्विलो ईतिहास छ विजय घलेसंग ।

२०४० सालमा एस.एल.सी. गर्नु भएका शहिद विजय घलेले तत्कालीन पञ्चायत विरोधी आन्दोलनमा सहभागी हुँदै गर्दा २०४१ सालमा ने.क.पा.मशालको सदस्यता प्राप्त गरी कम्यूनिष्ट पार्टीको प्रचार प्रसार र कम्यनिष्ट संगठनको निर्माण र विस्तारमा उहाँको अथक प्रयास जारी नै रह्यो । तत्कालीन संयुक्त जनमोर्चा नेपाल (ने.क.पा.एकता केन्द्रको बैधानिक मोर्चा) को प्रचार प्रसारमा उहाँ अहोरात्र खटिनु भयो भने २०४६ सालको वहुदलीय व्यवस्था स्थापनाका लागि उहाँले महत्वपूर्ण भूमिका निर्वाह गर्नु भयो । २०४८ सालको संसदीय निर्वाचनलाई पार्टीले संयुक्त जनमोर्चा नेपालका नामबाट चुनावको उपयोग गरेको थियो । जसको उहाँले विरोध गर्नु भयो किन कि यस संसदीय व्यवस्थााबाट सर्वहारा वर्गको मुक्ति नहुने वरु शोषण उत्पीडनले थप मलजल पाउने उहाँको जोडदार तर्क थियो । २०५१ सालको मध्यावधि चुनावलाई सशक्त वहिष्कार एवम् भण्डाफोर गर्ने पार्टी केन्द्रको नीति अनुरुप उहाँ उत्साहित हुँदै ग्रामीण वर्ग संघर्षको तयारी र त्यसका लागि सर्वहारा वर्गले वन्दुकको नालमा अडेको सत्ता ढाल्नका लागि वन्दूक नै उठाउनु पर्ने र पार्टीभित्र दुईलाईन संघर्ष (शान्तिपूर्ण संघर्ष या सशस्त्र संघर्ष भन्ने वहस तीव्र थियो) लाई जोडदार रुपमा अगाडि बढाउनु पर्ने धारणा सहित पार्टीभित्र सशक्त आवाज उठाउनु भयो । फलतः पार्टी केन्द्रको संसदीय व्यवस्थाको बहिष्कार गर्ने नीति अनुरुप नै चुनावका मतपत्रहरु च्यात्ने, जलाउने, कव्जा गर्ने, निर्वाचन टोलीमाथि आक्रमण गर्ने, चुनावै हुन नदिने जस्ता संघर्षका कार्यक्रमहरुमा सरिक हुनु भयो । उता पार्टी केन्द्रले ग्रामीण वर्ग संघर्षको उठान रोल्पा र रुकुम जिल्लाका वस्तीबाट सञ्चालन गर्ने र त्यसका लागि रुकुम स्थित सिस्ने हिमाल र रोल्पा स्थित जलजला पहाडलाई प्रतिकात्मक रुपमा लिई “सिज मितेरी अभियान” सञ्चालन गर्ने पश्चिमाञ्चल क्षेत्रीय व्यूरोको निर्णय अनुसार ग्रामीण वर्ग संघर्षको घनिभूत तयारी भईरहेको थियो । सो मार्फत शहिद विजय घले उत्साहित हुदै ग्रामीण वर्ग संघर्षको महान यात्रामा समाहित हुनु भयो ।

पार्टी यतिवेला स्थानीय जाली फटाह, सुदखोर, सामन्त, दलाल पूंजीपति वर्गका एजेन्टहरुको रेड लिष्ट तयारी गर्दै सशक्त कार्वाहीहरुलाई वढावा दिंदै आएको थियो । यसले एकातिर वर्ग विहिन समाजको निर्माण गर्न उद्धत रहेका आम क्रान्तिकारी युवा पंक्तिमा विरोधी शक्तिहरु र तिनीहरुका भरौटेहरु प्रति तीव्र घृणा र आक्रोस पैदा भईरहेको थियो भने अर्कोतिर ग्रामीण वर्ग दुष्मणहरु गाउँ छोडेर सदरमुकाम केन्द्रित हुने र न्यायपूर्ण आन्दोलनमा लागेका क्रान्तिकारीहरुका विरुद्धमा सुराकी गर्ने, झुट्टा मुद्धा लगाउने, वारेन्ट जारी गर्ने, गाउँ निकाला गर्ने जस्ता काला कर्तुतहरुलाई निरन्तरता दिई रहेका थिए । पार्टीको योजना र निर्देशन अनुसार विजय घले यस दिशामा लागिरहेका थिए । यतिवेला पार्टी केन्द्रले नेपालमा नयाँ जनवादी व्यवस्था स्थापना गर्नका लागि जनयुद्धको तयारीलाई अन्तिम रुप दिंदै थियो । २०५२ साल फाल्गुण १ गतेको दिन जति नजीक आउँदै थियो विजय घले थप उत्साहित हुँदै सशस्त्र संघर्षका मोर्चाहरुमा रहेर संघर्षको नेतृत्व गर्न तथा वर्ग संघर्षकोे उच्चतम एवम् केन्द्रिकृत रुप जनयुद्धमा होमिन आतुर हुनुहुन्थ्यो ।

१. को हुन् शहिद दौलतराम घर्ती अर्थात विजय घले ?
साविक रुकुम जिल्लाको खारा गा.वि.स.वडा नं. ७ जिवाङ अर्थात हालको त्रिवेणि गाउँपालिका वडा नं. ५ मा वुवा हरि प्रसाद घर्ती र आमा लिला घर्तीको कोखवाट विं.सं.२०२१ साल माघ २५ गते जन्मिनु भएका शहिद विजय घले अर्थात दौलतराम घर्ती सानै देखि लडाकू र विद्रोही स्वभावका थिए । २०३४ सालतिर भलाक्चा लहुँमा अवस्थित स्कूलमा अध्ययन गर्दै गर्दा तत्कालीन कम्यूनिष्ट विचारबाट प्रभावित थिए । २०४० सालमा एस.एल.सी पास गर्नु भएका विजय घलेले २०४१ सालमा तत्कालीन नेपाल कम्यूनिष्ट पार्टी मशालको पार्टी सदस्यता प्राप्त गर्नु भएको थियो । राजनैतिक जीवनका कठिन तथा संघर्षपूर्ण क्षणहरुमा पनि निर्भिक र निस्वार्थ भावका साथ अहोरात्र खटिरहने विजय घले कहिल्यै पनि हार्न नजान्ने एक सफल कमाण्डर अर्थात विजयी ओजस्वी नाम हो । उनमा श्रमजीवि वर्ग अर्थात सर्वहारा वर्गप्रति आत्म विश्वास थियो भने श्रमचोर अर्थात जनताका विरोधीहरु प्रति तीव्र वर्ग घृणा र आक्रोस थियो । जहिले पनि सैन्य कला कौशल अनि युद्ध र सैन्य विज्ञानहरुको वारेमा चासो राख्ने विजय घले जनयुद्ध र ग्रामीण वर्ग संघर्षको एक अथक योद्धा हो । विजय घलेले नसम्हालेका लडाईका मोर्चाहरु सायदै होलान् । जहाँ उनले प्रत्यक्ष कमाण्ड नगरेका हुन् । भौतिक रुपमा आक्रमण, सेर्वोटेज, ध्वंस लगायत जति पनि लडाई र लडाईका मोर्चाहरुको उहाँले सफल नेतृत्व र कमाण्ड सम्हाल्दै आउनु भएको हो । ग्रामीण वर्ग संघर्ष र अन्य थुप्रै साना ठूला संघर्षका मोर्चाहरुको सफल नेतृत्व गर्दै जाँदा तत्कालीन माओवादीले स्थापना गरेका सैन्य मोर्चाका प्रारम्भिक संरचनाहरु जस्तैः अखिल नेपाल युवक संघ, लडाकु दल हुँदै स्क्वायड अर्थात जिल्ला लडाकू दलका कमाण्डर समेत थिए विजय घले ।

२. शहिद विजय घले संगको सहयात्रा ः
माओवादी आन्दोलन एक अविराम रुपमा सञ्चालन भएको सर्वहारा वर्गीय विचार, मूल्य मान्यता र आदर्शका साथ शुरु भएको थियो दशवर्षे सशस्त्र जनयुद्धका रुपमा । २०४६ सालमा स्थापना भएको वहुदलीय व्यवस्थासंगै म पनि विद्यार्थी संगठनमा आवद्ध भएँ । त्यतिवेला नेपालमा शैसव अवस्थामा रहेकोे शिशु वहुदलीय व्यवस्थाले कम्यूनिष्ट पार्टी रोज्ने या काँग्रेस पार्टी ? भन्ने वहसले सबैतिर वातावरण तातेकै थियो । मेरो रोजाई पनि कम्यूनिष्ट नै बन्नतिर मोडियो । फलस्वरुप शुरुदेखि नै अखिलमा आवद्ध भएँ । यसवेला विजय घले मलाई कम्यूनिष्ट बन्ने शिक्षा दिन म पढ्ने विद्यालयहरुमा भेटन् आउनु हुन्थ्यो । सरल जीवन शैली, मीठो वोली, उत्साहित बनाउन सक्ने कला र सैन्य विज्ञान सम्बन्धीका प्रशिक्षणबाट साँच्चिकै हामीमा भएको युवा अवस्थाको जोशमा नशा सल्वलाउँथ्यो, रगत उम्लन्थ्यो । यो समाजमा वर्ग वैरीहरु छन्, हामीले पढ्ने शिक्षा, खाने गाँस, वस्ने वास जस्ता दैनिक जीवनका नभई नहुने आधारभूत कुराहरुमा विभेद छ, असमानता छ भन्ने कुराले मलाई कम्यूनिष्ट बन्न उद्धेलित गरायो । २०४८ सालमै मलाई अखिल नेपाल युवक संगठनको सदस्यता दिनु भयो घले दाईले । म पनि उहाँकै एक सदस्य बन्न पुगें । तत्कालीन ने.क.पा. (एकता केन्द्र) को बैधानिक मोर्चा संयुक्त जनमोर्चाका नाममा आयोजना हुने आमसभा, जनसेवा, साँस्कृतिक कार्यक्रमहरु, संगठनात्मक कार्यक्रमहरु लगायतमा मेरो सहभागिता नियमित हुन्थ्यो । त्यतिवेलै देखि विजय घले वर्ग संघर्षका मोर्चाहरुमा सहभागी भएको देखेर तत्कालीन पञ्चांग्रेसहरु विजय घलेको निगरानी गर्न थालेपछि उहाँ अर्थभूमिगत रुपमा हामीलाई जनयुद्ध तयारी सम्बन्धीत सैन्य तालिम, संगठनात्मक कला कौशलहरु सिकाउनु हुन्थ्यो । उता जनयुद्ध शंखघोष गर्ने फाल्गुण १ गतेको दिन नजिकिदैं थियो । ग्रामीण वर्ग संघर्षका कार्यक्रमहरु घनिभूत रुपमा अगाडि बढ्दै थिए । सिज मितेरी अभियान अन्तगर्तका जनपरिचालन र संगठनात्मक विस्तारका कार्यक्रमहरुले थप उत्कर्ष रुप लिंदै थिए ।

३.जनयुद्धको शंखघोष र हाम्रो सहभागिता ः
जनयुद्ध तयारीका सम्पूर्ण कार्यक्रमहरुले त्यतिवेला मात्र मूर्त रुप पाए, जतिवेला जनयुद्धको पहिलो फौंजी कार्वाहीको निशाना (Taget) आठविसकोट स्थित राडीज्यूलामा अवस्थित प्रहरी चौकी निशानामा पर्यो । यसका लागि तत्कालीन क्षेत्रीय व्यूरोको प्रस्ताव र पार्टी केन्द्रको निर्णय अनुसार उक्त राडि ज्यूला प्रहरी चौकी माओवादी जनयुद्धको पहिलो फौंजी आक्रमणको निशाना बनेको थियो । उक्त दिन अर्थात २०५२ फाल्गुण १ गते रोल्पाको होलेरी चौकी, सिन्धुली जिल्लाको सिन्धुली गढी चौकी र गोरखाको च्याङली कृषि विकास बैंक पार्टी केन्द्रका केन्द्रिय फौंजी निशाना वनेका थिए । त्यस रात देशभर हजारौं फौंजी तथा गैरफौंजी कार्वाहीहरु, सर्वोटेज र प्रचारात्मक कार्वाहीहरु शुरु गरिएका थिए । आठविसकोट स्थित राडिज्यूला प्रहरी चौकी आक्रमणका निम्ति निर्धारण गरिएका चार विभागीय फाँट अन्र्तगत रहेको Attacking Group (आक्रमण दल) का कमाण्डर थिए कमरेड विजय घले । म पनि उनकै आक्रमण दलको एक सदस्यका रुपमा पहिलो पटक जनयुद्ध र पहिलो फौंजी कार्वाहीमा सहभागी बन्ने अवसर प्राप्त गरेको थिएँ । यस अघिका तयारीका हाम्रा सबै कार्यक्रमहरुमा हाम्रो सहयात्रा नियमित नै थियो । उक्त फौंजी कार्वाहीको सफलता पश्चात हामी संग संगै रह्रयौं । केही समय हाम्रो सैन्य तालिमलाई निरन्तता दिने र पुनः पार्टीको योजना अनुरुपका कार्वाहीहरुको तयारी स्वरुप अगाडि बढ्ने निर्देशन अनुसार केही समय विकेन्द्रित भएर जनपरिचालनका काममा लाग्यौं । यस अन्र्तगत हाम्रो सैन्य शक्तिलाई मजवुत गर्नु जनसंगठन विस्तार गर्नु आर्थिक तथा प्राविधिक तयारीलाई व्यवस्थित गर्नु जस्ता कार्यक्रमहरु रहेका थिए । त्यस्तै विशाल जनताको सहभागिता विना जनयुद्ध तीव्रतामा अगाडि वढ्न नसक्ने कुरालाई आत्मसात गरेर संगठन विस्तारका कामलाई हामीले अर्को उचाईमा पु¥याउन अहोरात्र खटन पटन गरेका थियौं ।

४. त्रिवेणि आक्रमण र विजय घलेको उच्च शाहदत ः
२०५२ साल फाल्गुण १ गते थालिएको महान नेपाली जनयुद्ध तमाम उतार चढाव, जीत हार र क्षति र उपलब्धी जस्ता कुराहरुलाई आत्मसात गर्दै अगाडी बढ्यो । यस क्रममा दिर्घकालीन जनयुद्धको माध्यमबाट छापामार ईलाकाहरुको विकास गर्दै हान्ने र भाग्ने रणनीति (Hit And Run ) मा आधारित छापामार ईलाकाहरुको विस्तार गर्दै गाउँबाट शहर घर्ने पार्टी केन्द्रको नीति अनुसार थप फौंजी कार्वाहीहरुको निरन्तरता स्वरुप पार्टी क्षेत्रीय व्यूरोको निर्णय बमोजिम डोल्पा जिल्ला स्थित त्रिवेणिमा रहेको त्रिवेणि प्रहरी चौकी माथिको फौंजी कार्वाहीको योजना निधार्रण भयो । जसको सफलतापूवर्क सम्पन्न गर्नका लागि तत्कालीन अवस्थामा स्थापना गरिएका फौंजी स्क्वायडहरुको केन्द्रिकरण गरी फौंजी कार्वाही सफल पार्ने निर्णय हामीलाई सुनाईयो । यसबाट उक्त अविभारा पुरा गर्नका लागि हाम्रा आर्थिक, प्राविधिक तथा संगठनात्मक तयारीलाई घनिभूत पार्ने तर्फ हामी अहोरात्र जुटी रह्यौं । यस कार्वाही सफल पार्नका लागि कमरेड विजय घले उक्त प्रहरी चौकी रहेको स्थानको रेक्की (Survey) गर्ने कामको जिम्मेवारी स्वयम् कमाण्डर कमरेड विजय घलेले प्राप्त गरेर त्यतापट्टि केन्द्रित हुनु भयो । हामी जिम्मेवारी वोधका साथ कार्वाही सफल पार्ने र सवै आन्तरिक तथा प्राविधिक तयारीलाई व्यवस्थीत गर्ने काममा लाग्यौं । सम्बन्धीत चौकी, त्यहाँ रहेको जनशक्ति, भौगोलिक अवस्था, आदिको विस्तृत सर्वे (रेक्की) गर्ने काम पुरा भए पश्चात् उक्त कार्वाही सफल पार्नका लागि आबश्यक जनशक्तिको विन्यास, हतियार एवम् प्राविधिक सामाग्री तयारी लगायतका कामहरु सहित आक्रमणको मिति निर्धारण गर्ने काम सम्पन्न भयो । उक्त कार्वाही सम्पन्न गर्ने दिनका रुपमा २०५३ साल पौंष १ गतेलाई निधार्रण भए वमोजिम हामी उक्त कार्वाही सफल पार्नका लागि फर्मेशन वद्ध तरीकाले विभिन्न अप्ठ्याराहरु छिचोल्दै अघि वढ्यौं । यस कार्वाहीका होल कमाण्डर स्वयम् कमरेड दौलतराम घर्ती अर्थात विजय घलेले गर्नु भएको थियो भने त्यसको सहायक कमाण्डरको जिम्मा कमरेड नन्द न्यौपाने डोल्पा (उहाँलाई २०५४ सालमा गिरफ्तार गरी तत्कालीन सुरक्षा फौंजले निर्मम यातना पश्चात् वोरामा राखेर भेरी नदीमा वगाएका थिए )ले गर्नु भएको थियो । त्यस्तै यो फौंजी कार्वाहीको राजनीतिक नेतृत्व शक्ति बहादुर वस्नेत कमरेड सुरेशसिंहले गर्नु भएको थियो । हाम्रो कार्वाहीको अन्तिम कोचिङ्ग मंसीर ३१ गते दिनभर डोल्पा जिल्ला स्थित लहँ गा.वि.स.को कालिका गाउँमा गरिएको थियो भने कार्वाही गर्ने रात सोही भोली पल्ट अर्थात पौष १ गते रातको ११ः०० वजे निर्धारण गरिएको थियो ।

मलाई राम्रोसंग याद छ, जव हाम्रो तर्फबाट आक्रमणको पहिलो निशाना सेन्टूी पोष्टमाथि गर्ने थियो सो अनुसारको हाम्रो आक्रमण शुरु भयो । सेन्ट्री पोष्टमा वसेको सुरक्षाकर्मी चिच्याउँदै भित्र पसेपछि हामीसंग भएको थ्रीनट थ्री राईफल (जसलाई होलटाईमर राईफल भनिन्थ्यो, जो जनयुद्ध थालनी गर्ने वेला भएको एकमात्र राइफलका रुपमा पनि परिचित थियो) र केही थान वाह्रवोर, भरुवा बन्दुक, खुर्सानी वम लगायतका युद्ध सामाग्रीहरुद्धारा हाम्रो तर्फबाट आक्रमण गरिएका थिए । एकैसाथ चौकीको थारेघर कब्जामा लिई आक्रमण गरिएका थिए । उक्त आक्रमण करिव मध्यरात सम्म चलेको थियो । दोहोरो भिडन्तले त्रिवेणि वस्ती युद्धमय भएको थियो । कार्वाहीका वीचमा कमाण्डर कमरेड विजय घलेले सुरक्षा कर्मीहरुलाई हाम्रो लडाई तपाईहरुसंग नभई राज्यसत्तासंग भएको र यसमा तपाई हाम्रो दुष्मणी नभएको जस्ता काशन गरिरहनु भएको थियो । यस क्रममा सुरक्षाकर्मीले हतियार बुझाउन ५ मिनेटको समय मागिरहेका थिए । त्यति नै वेला सुरक्षाकर्मीहरुलाई चेतावनी दिई रहेको समयमा गोली लागेर शहिद विजय घले हाम्रै अगाडि ढल्नु भएको थियो । यसपछि थप लडाई लम्विएको थियो भने विहानी पखको उज्यालो संगै हामी रिटिूट भएका थियौं । हामीलाई एउटा कमाण्डर ढल्दाको पिडावोध थियो । युद्धमैदानमै कमाण्डर गुमाएका थियौं । शोकलाई शक्तिमा वदल्ने कशम खाएका थियौं, वाँकी अविभारा पूरा गर्ने अठोट सहित कमाण्डर कमरेडलाई अन्तिम श्रद्धाञ्जली दिएका थियौं, अविभावकत्व गुमाएर फर्केका थियौं । यसरी त्रिवेणि आक्रमण भएको र विजय घलेले शाहदत प्राप्त गरेको पनि आज २२ वर्ष भई सकेछ । जनयुद्धका भीषण १० वर्ष र शान्तिकालका यी वर्षहरु आज विभिन्न उतार चढावका वीचबाट गुज्रीरहेका छन् । विजय घले लगायतका आदरणीय शहिदहरुको साँचो सम्मानको खाँचो खड्किरहेको छ । वीर शहिद दौलतराम घर्ती कमरेड विजय घले लाल सलाम । शहिदको सपना पुरा गरौं । निष्ठा र मूल्य मान्यताको आर्दश कायम गरौं ।

यो पनि पढ्नुहोस  

सहिद बिजय घलेका बुवाको निधन

 

Share Button

First and best news portal from rukum for world.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares