Home आहा कुराकानी संघको ताला कहिले खुल्छ अझै केहि भन्न सकिदैन

संघको ताला कहिले खुल्छ अझै केहि भन्न सकिदैन

2553
0

लामो समय देखि रुकुम उद्योग बाणिज्य संघ रुकुममा तालाबन्दी भएको छ । ताला नखुल्दा संघको नियमित कामकाजदेखि आन्तरिक राजश्व कार्यालय दाङको काम समेत रोकिएको छ । राजश्व कार्यालयको काम रुकुममा संघ मार्फत हुदै आएको छ । संघमा देखिएको समस्या, अपारदर्शीताको बिषय र आगामी यात्राको बिषयमा संघका उपाध्यक्ष बालकुमारी गिरी संग आहा सञ्चार साप्ताहिकका सम्पादक मेगराज खड्काले गरेको कुराकानी ।

रुकुम उद्योग बाणिज्य संघ त करिब ५ महिनादेखि बन्द त, खुलाउने प्रयास के भैरहेको छ ?
हो, तपाईले भने जस्तै रुकुम उद्योग बाणिज्य संघ लामो समय देखि तालाबन्दीमा परेको छ । असार अन्तिम साता देखि बन्द गरिएको कार्यालय अझै खुलेको छैन । संघको जिल्ला अधिबेशन उद्घाटन गर्ने तयारी भैरहेको बेला जसरी उद्योग बाणिज्य संघमा देखिएको आर्थिक अनियमितताको बिषयलाई लिएर जिल्ला स्थित व्यापारीहरुले तालाबन्दी गरेका हुन । ५ महिना बढी भैसकेको छ तर सहमति नभएर अझै ताला खोलिएको छैन । ताला खुलाउनका लागि संघको आर्थिक हिसाबकिताब पारदर्शीता हुनुपर्छ भन्नेर ताला लगाउने समुह र उद्योग बाणिज्य संघको नेतृत्व बिच पटक पटक छलफलमा बसेपनि निस्कर्ष निस्कन सकेको छैन । एकदुई पटक त जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारीको रोहभरमा समेत छलफल भएको छ । त्यस बाहेक अनौपचारिक रुपमा त धेरै पटक छलफल भईसकेको छ । तर आशा गरौं छिटै सहमति हुन्छ र उद्योग बाणिज्य संघमा लागेको ताला खुल्नेछ । जसरी पनि हामीले खुलाउनै पर्छ, यसरी लामो समय सम्म रुकुमको व्यापार व्यवसायलाई प्रभाबित पार्ने र जिल्लाका सयौं व्यापारीहरुलाई अन्योलतामा राख्न कसैले पनि पाईदैन ।

खास उद्योग बाणिज्य संघमा देखिएको अपारदर्शीताको बिषय के हो ?
संघमा देखिएका अपारदर्शीताको बिषय त धेरै छन । जसमा मुख्य कुरा संघको आयोजनामा गतबर्ष आयोजना गरिएको महोत्सवको आयव्यय र संघ मार्फत संचालन भैरहेका बिभिन्न परियोजनाहरुको आर्थिक हिसाबकिताबमा चित्त नबुझ्नु नै हो । जिल्लामा पहिलो पटक संघको आयोजनामा गरिएको भब्य रुपमा संचालन भएको महोत्सवमा करिब ७५ लाख रकम संकलन भएको थियो । तर महोत्सवको आर्थिक बिभागमा बसेका र अध्यक्ष लगायतको टिमले आम्दानी भन्दा खर्च बढी भयो भन्ने कुरा आयो । जसमा रुकुमका व्यवसायीहरु सहमत हुन सकेनन् । महोत्सवबाट उठेको रकमले जिल्लामा एम्बुलेन्स किन्ने लगायतका बिभिन्न अन्य घोषणाहरु गरिएको थियो तर पछि उल्टै घाटामा गएको रिपोर्ट बाहिर ल्याएपनि व्यवसायीहरुले महोत्सवको रकम हिनामिना भएको भन्दै अधिबेशन हुन दिएनन । त्यसको साथै संघ मार्फत जिल्लामा किसानका लागि बिउ बिजन कार्यक्रम, स्वरोजगार कार्याक्रम लगायतका अन्य सानातिना कार्यक्रमहरुको पनि हिसाब स्पष्ट बाहिर नआएसम्म अधिबेशन हुन नदिने अडान लिएर व्यापारीहरुले ताला लगाएका हुन । पदाधिकारीमा म पनि छु । तर मलाई नै हिसाबकिताबबारे चित्त बुझेको छैन भने सम्पुर्ण व्यापारीहरलाई चित्त बुझ्ने कुरा नै भएन । संघमा देखिएको आर्थिक अनियमितताको बिषय स्पष्ट रुपमा बारिर आउनुपर्छ, बिभिन्न नाममा संकलित रकममा केहि ब्यक्तिहरुको राज हुनु हुदैन भन्ने केरो पनि भनाई हो । मैले पनि बिभिन्न छलफल र कार्यक्रमहरुमा यो कुरा पनि राख्दै आएकी छु ।

संघको कार्यालय लामो समय देखि ताला लाग्दा कस्तो समस्या सृजना भएको छ ?
लामो समय देखि कार्यालयमा ताला लाग्दा धेरै समस्या भएको छ । आन्तरिक राजश्व कार्यालयको सबै काम रुकुम उद्योग बाणिज्य संघ बाट हुने गरेको थियो । जसले गर्दा कर तिर्न देखि पाना नम्बर ल्याउन दाङ जानुपर्ने बाध्यता हटेको थियो । जसले गर्दा रुकुमका व्यवसायीहरुलाई निकै राहत भएको थियो, खुसि पनि थिए । तर कायार्यलय बन्द भएदेखि यी सब काम अलपत्र परेको छ । रुकुमका व्यवसायीहरु दाङ गएर पनि पाना नम्बर ल्याउने र कर तिर्ने काम पनि हुन सकेको छैन । पाना नम्बर ल्याउदा, कर तिर्दा र अडिट रिपोर्ट लगाएका अन्य काम गर्दा रुकुम उद्योग बणिज्य संघको नबिकरण आवश्यक पर्ने भएका कारण कार्यालय बन्द हुदा नबिकरण पनि हुन सकेको छै भने दाङको काम पनि हुन सकिरहेको छैन । जसका कारण कर संकलन गर्ने राज्यलाई लाखौं रकमको घाटा भएको छ । त्यस्तै जिल्लामा नयाँ व्यवसाय दर्ता गर्ने व्यपसायीहरुलाई पनि मर्का परेको छ । घरेलु तथा कोष तथा लेखा नियन्त्रण कार्यालयबाट हुने बिभिन्न व्यवसाय दर्ताका लागि पनि संघको सिफारिस आवश्यक पर्छ ।

स्थानीय सरकार र संघ बिचमा यसअघि कस्तो सम्बन्ध छ । स्थानीयतहहरुको कर प्रणालीको बिषयमा संघको धारणा के छ ?
स्थानीय तहहरुको विकास भएपछि धेरै नितिगत रुपमा कुराहरुमा परिवर्तन आएको छ । अधिकार सम्पन्न स्थानीय तहहरु गठन भएपनि बिभिन्न गतिबिधीहरु गरिरहेका छन । हामी पनि स्थानीय तहहरु संग सकेसम्म सहकार्य गरेर नै अघि बढीरहेका छौं । स्थानीयतह आएपछि रुकुमको व्यापार व्यवसायहरुको लागि केहि राम्रो कामको पनि शुरुवात भएको छ भने केहि सुधार गर्नु पर्ने पनि धेरै कुराहरु छन । जस्तो कि रुकुम पश्चिमको सदरमुकाम खलंगामा पनि बजार क्षेत्रको फोहोर उठाउन गाडिको व्यवस्था नगरपालिकाले गरेको छ । पहिलोको भन्दा यो राम्रो पहल हो तर सोचेअनुसारको प्रभावकारी काम अझै भएको छैन । फोहोर अझै पनि अस्तब्यस्त रुपमा देखिन्छ । अर्को कुरा रुकुमको मात्र नभएर देशभरका स्थानीय तहहरुले पहिलेको भन्दा ठुलो मात्रामा कर बुृद्धि गरिएको छ । रुकुम पश्चिमका पनि ६ वटै स्थानस्य तहहरुमा बिभिन्न कर प्रणालीहरु लागु गरिएको छ । गाउँ, नगर र देशको लागि हो भने रुकुम जिल्लाका व्यवसायीहरुले पनि महंगो भएपनि कर तिर्न तयार छन तर त्यो कर जनप्रतिनिधीहरुको सेवा सुबिधा र मोजबस्तीमा खर्च गर्ने भन्दा पनि जनताको कामका लागि खर्च गर्नुपर्छ । हामी जति पनि कर तिर्न तयार छौं तर त्यो कर कुन कामको लागि प्रयोग हुदैन भन्ने जिल्लाका व्यवसायीहरु मात्र होईन आम नागरिकलाई जानकार हुनका साथै सहमति पनि चाहिन्छ । त्यसका लागि स्थानीय तहरुले व्यापारि सगै आम नागरिकबाट कर संकलन गरिरहेको छ तर उनीहरुको जीवनशैली र व्यापार व्यवसायहरुको प्रवद्र्धनको लागि खासै महत्व नदिएको पाईन्छ । कर मात्र बृद्धि भएको छ तर व्यवसायीहरुले समान ढुवानी गर्ने सडक उस्तै छन, बिजुलीको अवस्था उस्तै छ, खानेपानी र ढलनिकासको अवस्था पुरानै छ अनी हामीले कर किन तिर्ने ?

स्थानीय तहहरुले सोचे अनुसारको काम भएन भन्नुभयो, तपाईहरु पनि जिल्लाको व्यापारीहरुको प्रतिनिधित्य गर्ने नीजि क्षेत्रको ठुलो संस्था । तपाईहरु आफै पनि त केहि राम्रो कामको शुरुवात गर्न सकिन्छ नी ? कालोबजारी रोकथाम, म्याद गएका समाग्रीहरुमा बिक्रि बितरण रोकावट र व्यापारीहरुको व्यवसायिक ज्ञान बृद्धिको लागि संघको नेतृत्वले खासै पहल गर्न सकेन भनेर आलोचना पनि त भैरहेको छ नी ?
हो, अरुलाई मात्र दोष दिएर मात्र हुदैन । हामी भित्र पनि केहि गल्तीकमजोरीहरु पक्कै छन । केहि गरेका छौं तर धेरै गर्न बाँकी छ । उदाहरणको लागि तपाईले प्रश्नमा भनेको जस्तै म्याद गएको समानहरु बिक्रि गर्ने काम रुकुम पश्चिमका बिभिन्न बजारहरुमा पनि भैरहेको छ । जसमा हामीले त्यसको रोकथामको लागि स्थानीय तह, जिल्ला प्रशासान लगायतका निकायहरुबाट हुने बिभिन्न अनुगमनमा सहकार्य पनि गर्दै आएका छौं । तर रुकुम पश्चिममा यस्तो काममा ठुला डिलर व्यापारीले साना ब्यापारीहरुलाई मर्कामा पार्दै आएका छन । साना तिना बिसतिस हजारको लागानीमा संचालन गरिएका पसलहरुमा हेर्ने हो भने धेरै म्याद गएका समानहरु हुन्छन । अनुमगन गरेर फाल्ने हो भने उसको सबै पसल सकिन्छ । केहि ठाउँमा त्यसरी नै अनुगमन गरेर पनि फालिएको छ । तर त्यसको मुख्य समस्या भनेको ठुला व्यापारीहरु हुन । उनीहरुले म्याद जान लागेको समान कम्पनीमा फिर्ता गर्नुको साटो म्याद जाने समय हँदा गाडिमा हालेर बजार बजारमा डुलाएर बेच्छन र आफु पन्छिने गरेका छन । त्यसकारण अनुगमनको प्रभावकारी कडाई ठुला व्यापारी र डिलरहरुमा गरे सबै कुरा समाधान हुन । यस पटकको दशैतिहार हाम्रो संघमा नै तालाबन्दी भएका कारण अनुगमन र कालोबजारी रोकथामको लागि महत्वपुर्ण काम हुन नसकेको पक्कै हो । तर संघ अहिले आफै थला परेको छ, यसको समस्या समाधान हुने बित्तिकै अन्य बिषयमा पनि समस्या समाधान हुदै जान्छ ।

रुकुम पश्चिम पर्यटकीय दृष्टिकोणबाट पनि राम्रो जिल्ला हो । पर्यटकीय क्षेत्रमा विकास र प्रचारप्रसार गरे पक्कै पनि स्थानीय व्यापारव्यवसाय फस्टाउनुका साथै आम नागरिकको आर्थिक स्थिति पनि माथी उठ्न सक्छ । त्यस तर्फ संघले के कस्ता कार्यक्रम गरेको छ र आगामी दिनमा केहि नयाँ योजना बनाउदै छ ?
मैले माथी नै भने व्यापारीहरुको हितकारी काम गर्ने संस्था उद्योग बाणिज्य संघ नै अहिले आफै बिरामी जस्तो छ । करिब ५ महिना देखि कुनै पनि गतिबिधी गर्न सकिरहेका छैनौं । तपाईले भने जस्तै यसअघि हामीले जिल्लाको पर्यटन विकास र प्रचारप्रसारका लागि बिभिन्न पहलहरु गरेका छौं । जस्तो कि पहिलो मध्यपश्चिम रुकुम महोत्सव आफै आयोजना गर्ने देखि जिल्लामा हुने अन्य बिभिन्न महोत्सवहरुमा सहप्रयोजक र सहकार्य गर्ने जस्ता कुराहरु भएक छन । । त्यसबाहेक जिल्लाको पर्यटन सूचनालाई व्यवस्थित गर्न हाम्रो लगायत बिभिन्न निकायहरुको पहलमा पर्यटन सूचना केन्द्र स्थापना भएको छ । तर आवश्यक बजेट अभाबका कारण सोचेअनुसारको काम त पक्कै भएको छैन । त्यसबाहेक अन्य रुकुमका प्रमुख पर्यटकीय स्थलहरु डिग्रे मन्दिर, स्यार्पुताल र मुसिकोट डाडा लगायतका क्षेत्रको प्रचारप्रसार र प्रवद्र्धनको लागि आआफ्नो ठाउँबाट पहल गरिरहेका छौ । अब आउने नयाँ नेतृत्वले झन प्रभावकारी तरिकाले योजना बनाएर काम गर्नेछ ।

अन्त्यमा, रुकुम उद्योग बाणिज्य संघमा अब कस्तो नेतृत्व आउनुपर्छ ?
संघमा अब आउने नेतृत्व रुकुमका करिब ४ हजार व्यवसायीहरुको भावना बुझेर नीति तथा कार्यक्रम गर्न सक्ने आउनुपर्छ । संस्थामा हुने आर्थिक पारदर्शीता अपनाउने हुनुपदर्छ । पहिलेको भन्दा थप नयाँ र प्रभावकारी काम गर्ने खालको आउनुपर्छ र ल्याईन्छ पनि । तर हाम्रो बिधानमा नै पदाधिकारीहरु मात्र अध्यक्षको उम्मेदवार बन्न सक्ने र एक कार्यकाल जिल्ला समितिमा सदस्य बनेको मात्र पदाधिकारीमा आउन सक्ने भएका कारण फेरी पनि पुरानै अनुसार दोहरिन सक्ने त संभावना पक्कै पनि छ । तर बिधान संसोधन गरेर केहि गर्न सक्ने क्षमता र साहास भएको नयाँ व्यवसायीहरुलाई पनि नेतृत्व लिन सक्ने अवस्था हुनुपर्छ भन्ने आवाज पनि आएको छ । त्यसकारण बिधान संसोधन गरेर पहिलेको भन्दा केहि नयाँ अभ्यास पनि गर्ने की भन्ने सामान्य छलफल पनि भएको छ । उठेको आजाव जस्तै बिधानमा केहि संसोधन पनि गर्न आवश्यक जस्तो मलाई पनि लागेको छ । किनकी बिधानमा नै यसअघि पदाधिकारी बनेको मात्रै अध्यक्षको उम्मेदार बन्ने बिषयले पदाधिकारीमा बसेर जति नराम्रो काम गरेपनि फेरी पनि अध्यक्ष बन्ने संभावना बलियो छ । आशा गरौं, रुकुम उद्योग बाणिज्य संघको कार्यालयमा तागेको ताला छिटै खुल्नेछ र सबैकोमन जित्ने नयाँ नेतृत्व आउने छ । छिटै सहमति गराउन सबैले आआफ्नो क्षेत्रबाट सकारात्मक दवाब दिन पनि म सबैमा अनुरोध गर्दछु ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here