Input your search keywords and press Enter.

एक पटक पुग्नै पर्ने ठाउँ : घलेगाउँ होमस्टे

पहलसिंह घर्तीमगर
अध्यक्ष, संस्कृति तथा पर्यटन विकास केन्द्र नेपाल रुकुम ।

१.घलेगाउँ होमस्टे सम्बन्धी एक परिचय
नेपाली समाजको परिवर्तन र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना पश्चात वनेको गण्डकी प्रदेश अन्र्तगत पर्ने लमजुङ्ग जिल्लाको सदरमुकाम वेशी शहरबाट उत्तर–पश्चिममा अवस्थित घलेगाउँ पुग्न जीपको यात्राबाट करिव ४ घण्टाको वाटो हिडेपछि आईपुग्छ घलेगाउँ अर्थात गुरुङ्ग पहिचान वोकेको दक्षिण एशियाकै नमूना होमस्टे गाउँ । नेपालमा दर्जनौं होमस्टे स्थापना भएकोमा यस गाउँमा स्थापित होमस्टे दक्षिण एशियाकै नमूना होमस्टे गाउँ हो । जहाँका ९५ प्रतिशत आदिवासी गुरुङ्ग सहित अन्य स्थानीय समुदायका लागि आयआर्जनको भरपर्दो स्रोत बन्न पुगेको छ होमस्टे । त्यसो त पर्यटन र स्थानीय संस्कृति एवम् अर्गानिक खानाका परिकारहरुमा रमाउन चाहने आन्तरिक एवम वाह्य पर्यटकहरुका लागि पनि घलेगाउँ एक गन्तब्य स्थल हो भन्दा अतिशयोक्ति नहोला । गण्डकी प्रदेशका थुप्रै गन्तब्य स्थलहरुमध्ये यो गाउँ एक आकर्षणका रुपमा स्थापित रहेको छ । यहाँ पुग्न वेशीशहरदेखि वाग्लुङ्गपानी कपुरगाउँ आदि स्थानहरुलाई छिचोल्दै अघि वढ्नु पर्दछ । प्राकृतिक सौन्दर्यता र वातावरणीय प्रचुरताको खानीका रुपमा रहेका विभिन्न पर्यटकीय स्थलहरुले जो कोहीको पनि मन लोभ्याउने गर्दछन् । त्यसमा पनि स्थानीय घलेगाउँवासी गुरुङ्ग महिला दिदी वहिनीहरुको हार्दिकतापूर्ण र न्यानो स्वागतले त झन त्यहाँ प्रवेश गर्ने सबैको मन चङ्गा झैं बन्न पुग्दछ । प्राचीन सभ्यताको होईन एकाईसौं शाताव्दीको आधुनिक सभ्यताको विकासले यो स्थान पर्यटकीय हव वन्न पुगेको छ भन्दा अतिरञ्जना हुने छैन ।

२.घलेगाउँ होमस्टेको स्थापना :
पर्यटकीय आकर्षणहरु मध्ये एक हो ग्रामीण पर्यटन । यही मान्यतामा आधारित रहेर घलेगाउँका स्थानीयहरु आन्तरिक र वाह्य पर्यटकहरु भित्र्याउने अभियानमा जुटे । यो काम जो कोहीले पनि सहज ढंगवाट शुरुवात गर्न कठिन नै थियो । त्यसमा पनि सामाजिक र साँस्कृतिक चेतनाको कमी रहेको समाज र त्यहाँ रहेका विविधताहरुलाई एकतामा जोडाउनु पनि कम चुनौतिको विषय हुने कुरा भएन । समय परिवेश संगै “जहाँ ईच्छा त्यहाँ उपाय” भने झैं घलेगाउँले एकजना समाजसेवी र नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने अगुुवा पाए । ती अगुवा थिए प्रेम घले । प्रेम घले त्यही नाम हो जसले सामाजिक राजनीतिक हिसावले विभिन्न क्षेत्रबाट नेतृत्व गरिरहँदा नेपाल कम्यूनिष्ट पार्टी एमाले बाट तत्कालीन उत्तरकन्या गा.वि.स.को अध्यक्ष समेत निर्वाचित वनेर घलेगाउँ ग्रामीण पर्यटनको सफल नेतृत्व प्रदान गरिरहेको थियो । अन्ततः प्रेम घलेले होमस्टे अर्थात सामूहिक ढंगबाट आयआर्जन गर्न सक्ने माध्यमको अगुवाई गरे । फलतः २०५७ सालमा आफ्नै नेतृत्वमाग्रामीण पर्यटन व्यवस्थापन समिति घलेगाउँ स्थापना गरेरै छाडे । शुरुवातीका दिनहरुमा सबै स्थानीयहरुलाई होमस्टेको मालामा उनिनका निम्ति कतिपय चुनौतीहरु रहेकामा त्यसलाई नेतृत्व, कला र पर्यटनका विभिन्न सैद्धान्तिक र व्यवहारिक ज्ञान सहित एकजुट वनाउन सकेको गर्विलो ईतिहास सुनाउछन उनी । निरन्तरताकै प्रयत्न र त्यसकै परिणाम स्वरुप हाल २ जना दलित परिवार सहित ३२ घरधुरी गुरुङ्गहरु सामुदायिक होमस्टेमा आवद्ध भई आफ्रनै घर आगनमा पाहुनाहरुलाई भित्र्याई आय आर्जनमा वढोत्तरी गर्न सफल भएका छन् । आज तिनै प्रेम घलेको नाम मुक्तकण्ठले लिएरै भन्छन् स्थानीयहरु हाम्रो जीवन स्तर परिवर्तनको संवाहक नै ग्रामीण पर्यटन र त्यसमा पनि होमस्टे नै एक मात्र भरपर्दो आधारशिला हो, जसको साँचो नेतृत्व प्रेम घलेले गरे । सामाजिक कामको नेतृत्व लिंदै गर्दा देश संघीय संरचनामा प्रवेश गरेसंगै वनेको गुरुङ्ग पहिचानमा आधारित वनेको कोलासोथर गाउँपालिकाको अध्यक्षको गरिमामय पद सम्हाल्नु पनि प्रेम घलेका निम्ति अर्को राजनैतिक विजय र सामाजिक अगुवाईको अर्को शुरुवाती हो भन्दा अन्यथा लाग्ने छैन ।

३.होमस्टे (घरवास व्यवस्थापन) के हो ?
सवै सवैलाई होमस्टेका वारेमा जानकारी नहुन पनि सक्छ । तर होमस्टे एउटा आफ्नै व्यवस्थापनका साथ स्थापित गरिएको आन्तरिक र वाह्य पर्यटक भित्र्याई कम लगानीबाटै अधिकतम आम्दानी बढाउने माध्यम हो । नेपालका करिव ६ दर्जन वढी सामुदायिक र सोही हाराहारीमा व्यक्तिगत होमस्टेहरु सञ्चालनमा रहेका छन् । होमस्टे अर्थात घरवास व्यवस्थापन एक सस्तो, सर्वसुलभ र भरपर्दो होटेल व्यवसाय हो भन्न पनि सकिन्छ । आज दुनिया बनीवनाउ र महंगा खाना तथा आवासको सट्टा नितान्त स्थानीय, अर्गानिक,स्वास्थ्यवद्र्धक आहार विहारको रोजाईमा मन पराउन थालेका छन् । किन कि सस्तो, सर्वसुलभ र भरपर्दो खानपान र वसाईले एकातिर स्वास्थ्यमा लाभ दिईरहेको हुन्छ भने अर्कोतिर कम खर्च र लगानीमा पनि पर्यटकहरुले आफ्नो भ्रमण तथा यात्रालाई सहज रुपमा सफल पारिरहेका हुन्छन् । त्यस्तै चालु पूजीको अभावमा व्यवसाय गर्न नसकी निर्वाहमूखी कारोवार चलाउन विवस रहेका कतिपय निराश युवा युवतीहरुलाई समेत यस व्यवसायले थप उर्जा प्रदान गर्न सक्ने संभावनाका ढोकाहरु पनि यसले खोलिदिने हुँदा आज यस व्यवसायको रोजाई र आकर्षण वढ्न गएको पाईन्छ । झट्ट हेर्दा सहज जस्तो लाग्ने यो व्यवसाय सञ्चालनका लागि कार्य तत्परता, लगनशिलता, सभ्यता र पाहुनाहरुसंगको अमिट सम्बन्ध नभई नहुने कुरा हुन् । अर्को कुरा, होमस्टेसंग स्थानीय मौलिक संस्कृतिका अलावा आकर्षक मनोरम दृष्यावलोकन र गन्तब्यका सर्कीटहरु अनिवार्य जोडिन जरुरी छ, ताकि एउटा पर्यटकले आफूले सोचेको भन्दा वहुआयामिक फाईदाहरु सहजै लिन सकोस् ।

४.घलेगाउँ होमस्टेका मुख्य आकर्षणह्ररु के हुन्?
दक्षिण एशियाकै नमूना होमस्टे गाउँ अर्थात घलेगाउँ ग्रामीण पर्यटनका हिसावले महत्वपूर्ण स्थान हो भन्ने कुरा सबैलाई थाहा भएकै कुरा हो । त्यसो भए के हुन् त घलेगाउँका मुख्य आकर्षणहरु ? यो कुराको जानकारी हुनु पनि अर्को महत्वपूर्ण कुरा हुनेछ । घलेगाउँमा रहेका मुख्य पर्यटकीय स्थलहरुमा यहाँ विभिन्न आकर्षक स्वागत द्धारहरु निर्माण गरिएका छन । पाहुनाहरु प्रवेशद्धार संगै गाउँ प्रवेश गर्ने क्रममा स्थानीय गुरुङ्ग महिला दिदी वहिनीहरु आफ्ना पहिचान जनीत संस्कार संस्कृति सहित हार्दिकतापूर्ण स्वागत गर्दछन् ।

यसले त्यहाँ आउने पाहुनाहरु लाई मन्त्रमुग्ध पारिन्छ । त्यस्तै घलेगाउँमा प्रवेश गर्ने विभिन्न आन्तरिक तथा वाह्य पर्यटकहरुका लागि एउटा पर्यटन सभाहल निर्माण गरिएको छ । जहाँ यस क्षेत्रमा रहेका विभिन्न पर्यटकीय स्थलहरुको जानकारी गराईएको छ । विभिन्न संघ संस्थाका तर्फबाट गरिने अध्ययन भ्रमण, व्यक्तिगत र सामुहिक अध्ययन अवलोकन गर्न आउने पाहुनाहरु र घलेगाउँ सामुदायिक होमस्टेका सञ्चालकहरुका वीचमा हार्दिकतापूर्ण भलाकुसारी सहित अनुभव÷अनुभूतिहरु आदान प्रदान गर्ने काम यसै पर्यटन सभाहलमा आयोजना गरिन्छ । सवैजसो होमस्टे सञ्चालनमा रहेका घरहरु मौलिक पहिचान दिने र आकर्षणका केन्द्रविन्दुका रुपमा रहेका छन् । गाउँकै वीचमा “सार्कभिलेज पर्यटन संग्रहालय” रहेको छ । जसको विधिवत उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा २०७३ साल माघ २२ गते गराईएको थियो । उक्त संग्रहालयमा गुरुङ्गहरु र अन्य समुदायका प्राचीन सभ्यता झल्काउने विभिन्न पुरातात्विक सामाग्रीहरु सजाइर्एको छ । संग्रहालय भनेपछि त्यसले विगत ईतिहास र पूर्खाहरुले नयाँ पिंढीलाई सु्म्पेका परम्परागत संस्कार संस्कृति र पहिचान जनीत सम्पति हस्तान्तरण भन्ने बुझ्नु पर्दछ । घलेगाउँ आफैमा गुरुङ्ग संस्कृति तथा पहिचान जोडिएको गाउँ पनि हो । यहाँ रहेका गुरुङ्गहरुको घाँटु नाच असाध्यै प्रचलित र आकर्षक नाच हो । त्यस्तै झ्याउरे सोरठी, सालैजो जस्ता संस्कृति पनि होमस्टे गाउँका आकर्षक संस्कृतिहरु हुन् । यसबाट पूर्खाहरुको संस्कृति हस्तान्तरण सम्बन्धी ज्ञान प्रदान गर्ने गरेको छ । घलेगाउँको सम्मुख रहेको अर्को आकर्षक र मनोरम पर्यटकीय हिमालमध्ये अन्न्पूर्ण हिमाल पनि एक हो । गोधुली साँझमा होस या विहानी सूर्योदयको समयमा होस् अन्नपूर्ण हिमाल चाँदी झैं टलक्क टल्केर थप आकर्षण छर्दछ । यसले घलेगाउँलाई सधैं झैं हसिलो र आकर्षक बनाउने गर्दछ । घलेगाउँ पुग्ने पाहुनाहरुको यसले हसिलो र सौन्दर्यता सहितको न्यानो माया प्रवाह गरिरहेको हुन्छ । घलेगाउँ होमस्टे र त्यहाँ रहेका आकर्षणलाई पछ्याउँदै गरेको अर्को घना गुरुङ्ग वस्ती हो भुजुङ्ग गाउँ । त्यहाँ पुग्न गाडी यात्राबाट पौने घण्टा र पैदलमार्ग भएर २ घण्टाको रमणीय यात्रा पार गर्नु पर्दछ । झुरुम्म परेको गुरुङ्ग वस्ती, एकै प्रकारका मौलिक पहिचान दिने घरहरु रहेको यस गाउँमा २२ घरधुरीहरुले अर्को नमूना भुजुङ्ग होमस्टे सञ्चालन गरेका छन् । आदि गुरुङ्ग संस्कृतिमा आधारित संस्कृति, स्थानीय खाना र नास्ताका परिकारहरु सहित सञ्चालनमा रहेको यस भुजुङ्ग होमस्टे गाउँमा आन्तरिक एवम् वाह्य पर्यटकहरुको नियमित आवागमन हुने गर्दछ ।

५.घलेगाउँबाट के सिक्ने ?
घलेगाउँ एक ग्रामीण पर्यटन र मौलिक संस्कृति जोडिएको नमूना होमस्टे गाउँ हो भन्ने कुरा सवैको जनजीव्रोमा झुण्डिएको छ । सामाजिक र राजनितिक हिसावले यसले आफूलाई अग्रस्थानमा उभ्याउन सफल भएको छ । नेपालका विभिन्न स्थानहरुमा स्थापना गरिएका होमस्टेहरुको तुलनामा यस गाउँको होमस्टे आकर्षक र नमूनायोग्य रहेको छ ।

सामाजिक विकासको अभिन्न पाटो भनेको चेतनास्तरको विकास र सो अनुरुपको व्यवहार हो । त्यसको साँचो अभ्यास घलेगाउँका स्थानीयहरुले स्थापित गरेका छन् । पहिलो कुरा घलेगाउँबाट सिक्ने कुरा भनेको सभ्यता र संस्कार हो, जो सरसफाई, दैनिक रुपमा प्रयोगमा ल्याईने चालचलन, पाहुनाहरुसंगको हार्दिकतापूर्ण व्यवहार सहित स्वागत र विदाई, प्रथाजनीत संस्कृति, आकर्षक व्यवस्थापन जस्ता कुराहरु जोडिएका हुन्छन् । दोस्रो कुरा, भरपर्दो र अर्गानिक सेवा प्रदान गर्नु हो । सायद त्यसो भएर नै घलेगाउँका होमस्टे सञ्चालकहरु आर्थिक रुपमा समेत आत्मनिर्भर हुन पुगेका छन् । आफ्नै घर आगनमा उत्पादन हुने स्थानीय अर्गानिक खाना, नास्ता र आवास उपलब्धताले नै उनीहरुमा दैनिक आय आर्जनमा वढोत्तरी भएका छन । तेस्रो कुरा, स्थानीय पहिचानजन्य संस्कृतिको संरक्षण र संवद्र्धन पनि एक हो । जसलाई स्थानीयहरु संरक्षण गर्न सफल भएका छन् भने अर्कोतिर उक्त मौलिक संस्कृतिलाई देश विदेशमा समेत वेच्न सफल भएका छन् । पाहुनाहरु स्थानीय खाना आवास संगै मनोरञ्जनबाट पनि मख्खै हुन्छन् । विभिन्न संस्कार संस्कृतिहरुको देश विदेशमा प्रचार प्रसार गरेर यसको गरिमा वढाउन सफल भएका छन् । चौथो कुरा पर्यटकीय भौतिक पूर्वाधारको विकास हो । घलेगाउँ प्रवेश गर्ने नाका संगै विभिन्न स्थानहरुमा स्वागतद्धार, आकर्षक पैदलमार्ग निर्माण, प्रतिक्षालय, पर्यटन सूचना केन्द्र स्थापना, पर्यटकीय सभाहल, वातावरण मैत्री शौचालय निर्माण, स्वास्थ्य चौकीहरु निर्माण, भरपर्दो सुरक्षा व्यवस्था, खेलमैदान निर्माण, प्रत्येक होमस्टे सञ्चालकहरुका घरहरु मौलिक पहिचानमा आधारित हुनुका साथै कोठाहरुको आधुनिक सजी सजाउ र पाहुनाहरुको माग र ईच्छा अनुरुपका खाना तथा आवासको व्यवस्था सहितको सेवा प्रवाह, आकर्षक दृष्यावलोकनका संरचना आदिको निर्माणले घलेगाउँलाई साँच्ची नै एक नमूना होमस्टे गाउँ बनाउन सफल भएका हुन् । यहाँ रहेका नमूनायोग्य यिनै संरचनाहरुले आन्तरिक एवम् वाह्य पर्यटकहरुलाई आकर्षण गरी मनग्ये आम्दानी लिन सफल भएका छन् घलेगाउँका होमस्टे सञ्चालकहरु । यसबाट हामीले धेरै भन्दा धेरै फाईदा लिन सक्दछौं । सकारात्मक सोंचको विकास सहित थालिने प्रयासहरु आफैमा अरुहरुका निम्ति शिक्षा हुन सक्ने भएको हुदाँ हाम्रो ध्यान अव यस दिशा तर्फ मोडिन आबश्यक छ ।

Share Button

First and best news portal from rukum for world.

Leave a Reply

Your email address will not be published. Required fields are marked *