Home आहा टक यहाँको बसाईमा बन्द हड्ताल के हो थाहा छैन

यहाँको बसाईमा बन्द हड्ताल के हो थाहा छैन

3860
0

देबिलाल पुन, भूमे गाउँपालिका ३, सिमा रुकुम पूर्व, हाल कतार
तपाईको हिजोआजको दैनिक कसरी बितिरहेको छ ?
स्हाल दोहा,कतारमा छु । दैनिकी त १२ घण्टा कम्पनीको डिउटि गरेर नै बितिरहेको छ । छुट्टीको समयमा साथी भाई र आफन्तहरु संग भेटघाट गरेर गाउँ र समाजको बारेमा केहि नयाँ योजनाहरुको बारेमा भलाकुसारी गर्छौं । नेपाल बाट पहिलो पटक कतार आउँदा अफिस ब्याय मा आएको थिए । २ बर्ष त्यसैमा काम गरे । काम राम्रो थियो पैसा खासै कमाई थिँएन,बरु ड्राईभिङमा पैसा थियो । मैले ति सबै बुझेर म २ बर्षमा नै नेपाल फर्किए । अनि फेरि दोस्रो पटक मैले ड्राईभिङ सिकेर पुनः ड्राईभिङ कामको लागि कतार आएको हुँ । अहिले ११ बर्ष देखी कतारमा गाडी चलाई रहेको छु बरु मलाई काठमाण्डौ त्यति थाहा छैन होला तर कतारमा गल्ली गल्ली पुगेको छु ।

नेपालबाट बिदेश जाने सबै कामदार जाँदा जुन कामको लागि गएका हुन्छन त्यहि काम गर्न पाउछन, जस्तो लाग्छ ?
नेपालबाट जुन कामको लागि भनेर नेपाली दाजु भाईहरु बिदेश आउनु हुन्छ तर अनुभवी हेरेर मात्र अधिकांश दाजु भाईहरुले मात्र जुन कामको लागि आउनु भएको हो त्यो काम गरिरहनु भएको छ । भाग्य नै भन्नुपर्छ मैले त जुन कामको लागि भनेर बिदेश आएको थिँए त्यहीँ काम नै गरिरहेको छु रेगिस्थानमा गाडीको चक्काहरु धेरै फटाईयो थाहा छैन कुनै दिन आफै फाट्ने हो भनेर यस्तै छ ड्राईभरको जिन्दगी ।

काम र कमाई कस्तो छ ?
काम अनुसार कमाई पनि राम्रै छ भनौं हाल परिवारहरुको बसाई दाङमा छ । ठुली छोरी ब्याचलर पढिरहेकी छिन,सानी छोरी नर्सरी देखिनै क्लास प्रथम हुँदै सिक्स मा पढिरहेकि छिन् । छोरा पनि सिक्समा ५ मा पढिरहेको छ । म बिदेश बसेको दुईपटक गरेर लगभग १३ बर्ष भयो, अब २÷४ बर्ष जति बस्ने बिचार गरेको छु हेरौं समय र परस्थितिले कहाँ सम्म पु¥याउछ ।

त्यहाको कानून कस्तो छ, नेपाली श्रमिकलाई त्यहाँका बासिन्दाले कस्तो व्यवहार गर्छन् ?
यहाँको कानुन भन्नुपर्दा एकदमै ठिक छ । जसले गल्ती ग¥यो राम्रो तरिकाले जाँचबुझ गरेर मात्र उसैलाई कार्बाही गरिन्छ यदि गल्ती छैन भने यहाँ न्याय पाईन्छ । श्रमिकलाई यहाँका बासिन्दाहरुले धेरै सम्मान गर्छन् । जति ठुलो अफिसियल किन नहोस् उ आफैले पहिल्यै सलाम वईलकम, गुड मर्निङ भनेर बोलाउछन् अनि त्यहि माथी नेपाली भनेपछि अझैँ इमानदारी र मेहनति भनेर बिश्वास गर्छन् । कतारमा २०२२ मा बिश्व कप हुँदैछ त्यसको लागि अहिले कतारमा १२ वटा एयर कन्डिशन सिस्टमका रंगशालाहरु बनिरहेका छन् । अस्ति भर्खरै कतारको अल वक्रा एरियाको रंगशाला बनाउने क्रममा स्काफोल्डिङको रुपमा काम गर्ने हाम्रै नेपाली माथी बाट तल झरेर घटना स्थलमा नै मृत्यु भयो त्यसले पनि अझैं कतारमा नेपालीहरुलाई कडा परिश्रम गर्ने श्रमजीवीको रुपमा चिनाएको छ ।

नेपालको र त्यहाँको राजनीतिक घटनाक्रम कस्तो फरक छ ?
नेपाल र कतारको राजनीतिक घटनाक्रम एकदमै फरक छ यहाँका बासिन्दाले राजालाई धेरै सम्मान गर्छन । कतार नेशनल डे को दिन त हरेकको घर घरमा राजाको तस्बिर अंकित झन्डाले घर नै सिँगारिएको हुन्छ । हाल रोयल फ्यामली बाट युबा राजकुमार “शेख तामिम बिन अहमद अल्तानी“ ले कतारको शासन गरिरहनु भएको छ । मेरो कतार बसाई १३ बर्ष हुँदैछ आज समन यहाँ नारा जूलूस बन्द हडताल भन्ने कहिल्यै पनि देखेको छैन ।

तपाई रहेको देशमा नेपालीहरु करिब कतिको संख्यामा होलान ?
कतारमा अहिले नेपाली राजदुतावासको रेकर्ड अनुसार ५ लाखको हाराहारीमा नेपालीहरु निर्माण कार्य, होटेल, अफिससियल र चालकको रुपमा कार्यरत छन् ।

बिदेश जाँदा लाग्ने रकम र युवा जोश आफ्नै देशमा लगाउन सकिदैन ?
बिदेश आउनु कसैको रहर होइन । त्यो बिदेश आँउदा लाग्ने रकमलाई आफ्नै देशमा सानो तिनो कुनै व्यापार व्यबसाय गर्नपनि सकिन्छ त्यसको लागि सरकारले सहि बाताबरण बनाउनु पर्छ । देशको राजनीतिक अस्थिरता अनि शासन सत्ता भत्ताको खिचातानीले गर्दा नै बेरोजगार युबाहरु गाउँको साहु महाजन बाट चर्को ब्याजमा ऋण लिएर बिदेश पलायन हुनुपर्ने बाध्यता छ । यसलाई रोख्न सरकारले देशमा ठाँउ ठाँउमा उद्योग धन्दा कलकारखानाहरु खोल्नु प¥यो । यो सरकारले पछिल्लो पटक पानी जहाज र रेलको कुराले खुबै चर्चा पाएको छ । के देशमा विकाश भनेको त्यो रेल र पानी जहाज मात्र छ र ? नेपाल जस्तो भुपेरिबेस्तित रास्ट्रमा के पानी जहाजको संभब छ र ? रेल त संभावना छ साच्चिकै सरकारले चायो भने नेपालमा रेल आउन सक्छ आयो भने त्यो रेलको डिब्बामा नेपालले चाहिँ के चिज निर्यात गर्ने त ? त्यो रेल आउनु भन्दा पहिले नै देशमा कलकारखाना खोल्नु प¥यो खोलेर युबाहरुलाई देशमै रोजगारीको सिर्जना गर्नुप¥यो । त्यसपछि यो बिदेश आउने क्रम आफै रोकिने छ । म संगै बिदेशमा बसेर नेपाल फर्केका कतिपय साथिहरुले यहाँ सिकेको सिपहरु नेपालमै सदुपयोग गरेर धेरै राम्रो कामहरु गर्नु भएको छ । मलाई पनि कुनै दिन यी बिदेशमा सिकेका सिप र सँगालेका अनुभवहरुलाई अब त देशमै गएर केही गर्नुपर्छ भन्ने लागि रहेको छ ।

मानौं तपाई कुनै दिन नेपालको युवा मन्त्री हुनुभयो भने, युवाको क्षेत्रमा के कस्ता काम र परिवर्तन गर्नुहुन्छ ?
म युबामन्त्री भएको भए देशका सम्पुर्ण शिक्षित युबाहरुलाई देशको नेतृत्व अब तपाईं हामीहरुले गर्नुपर्छ भनेर अपिल गर्थे । किनकी यो स्मार्ट फोनको जमानामा यि ल्यान फोनहरुको काम छैन,र अर्को कुरा युबाहरुको उर्जासिल बौद्धिक क्षमताको कदर गर्दै देशमै स्रोत र साधनको ब्यबस्था गरिदिन्थे ।

अन्त्यमा केहि सोध्न छुटेको र तपाईले भन्नै छुटेको केहि छ ?
अन्त्यमा २०७२ साल असोज ३ मा जारी भएको नेपालको संघीय संविधानको अनुसूचीमा साबिकको रुकुमलाई दुई भागमा राखियो त्यसको दुई बर्षपछि गत असोज १८ गते रुकुम पुर्ब नाम दिएर नयाँ जिल्ला गठन गरियो । सरकारको त्यसै निर्णय अनुसार असोज १९ मा नै जिल्ला प्रशासन कार्यालय लगाएत अन्य सरकारी कार्यालय राख्नेगरी उत्घाटन समेत गरियो । शेर बहादुर देउवा प्रधानमन्त्री हुँदा गोलखाडालाई सरकारले सदरमुकाम तोकेको थियो अहिले आएर रुकुमकोट र गोलखाडाको बीचमा सदरमुकाम सक्दो आफ्नो ठाँउतिर पार्नुपर्ने दाँउपेचमा लागिपरेको अवस्था छ । त्यसको लागि मेरो ब्यक्तिगत तर्फबाट के अनुरोध गर्न चाहन्छु भने कृपया सदरमुकाम जहाँ भएपनी केही छैन एकापसमा आरोप प्रत्यारोप नगरौं बरु रुकुम पुर्बको विकाश र समृद्धिको लागि सबैले आआफ्नो ठाँउ बाट महत्वपूर्ण भुमिका खेलौं भन्न चाहन्छु ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here