Input your search keywords and press Enter.

कुन कुन मुद्दामा सिडिओ ‘न्यायाधीश’ सरह बनेर मुद्दा हेर्न पाउँछन्?

देश संघीयतामा जाने भएपछि जिल्ला प्रशासन कार्यालय नै खारेज हुने प्रदेश सरकार मातहतमा आउने हो कि जस्तो भएको थियो। तर त्यस्तो भएन। प्रदेश सरकारका मुख्यमन्त्री वा मन्त्रीहरु काम नपाएका बेरोजगार झैँ भइरहँदा सिडिओहरु अझै पावरफूल नै छन्। कतिपय कुरामा न सिडिओहरुले प्रदेश सरकारले गरेका निर्णयसमेत टेरेका छैनन्। जस्तै अस्ति प्रदेश १ को सरकारले विश्व आदिवासी दिवसमा विदाको घोषणा गर्दा सिडिओहरुले त्यसलाई मानेनन्। अहिले भदौ १ गतेदेखि लागू भएको मुलुकी अपराध संहिता ऐनअन्तर्गतका विभिन्न मुद्दाहरु हेर्ने अधिकार सरकारले सिडिओहरुलाई दिएको छ। कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले भदौ ४ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी फौजदारी कार्यविधि संहिता ऐन २०७४ को दफा १६९ ले दिएको अधिकार प्रयोग गरी यी मुद्दा सिडिओले हेर्ने गरी तोकेको हो। सिडिओले बढीमा १ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना गर्ने अधिकार पाएका छन्। सिडिओले सबैभन्दा बढी ५० हजार रुपैयाँ जरिवाना दोस्रो पटकदेखि जुवा खेल्ने वा खेलाउनेलाई गराउन सक्छन्। त्यसैगरी सार्वजनिक बाटो, नदी वा स्थलमा खतरा वा बाधा पुर्‍याए २५ हजार रुपैयाँसम्म जरिवाना गर्ने अधिकार सिडिओले पाएका छन्। 

यी हुन् सिडिओले हेर्न अधिकार पाएका मुद्दा :

• सार्वजनिक शान्तिविरुद्धको कसूर अन्तर्गत गैरकानूनी भेला गर्न नहुने, भेला भएमा ६ महिनासम्म कैद र पाँच हजार रुपैयाँसम्म जरिवाना र हातहतियारसहित भेलामा सहभागी भएको भए एक वर्षसम्म कैद वा १० हजारसम्म जरिवाना वा दुवै सजाय गर्ने।

• गैरकानुनी भेला रोक्ने वा भङ्ग गर्ने आदेश उल्लंघन गर्नेलाई १ वर्षसम्म कैद वा १० हजारसम्म जरिवाना वा दुवै सजाय गर्ने।

• हुलदङ्गा गर्न उक्साउनेलाई हुलदङ्गा भइसकेको भए एक वर्षसम्म र भइनसकेको भए ६ महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय गर्ने।

• सार्वजनिक शान्तिमा खलल पारे एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना गर्ने।

• राष्ट्रसेवकलाई बाधा विरोध गरे एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय गर्ने।

• झुट्टा अफवाह फैलाए एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय गर्ने।

• शान्ति भंग गर्न घर, जग्गा वा सवारी साधन दिए ६ महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय गर्ने।

• संवेदनशील सार्वजनिक क्षेत्रमा मसाल जुलुस गरे ६ महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय गर्ने।

• कुनै राष्ट्रसेवकलाई कानुन बमोजिम गर्नुपर्ने काम गर्नबाट रोक लगाउन वा गर्न नपर्ने वा गर्न नहुने काम गरर्न लगाउने नियतले कसैलाई झुट्टा जानकारी दिए एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय गर्ने।

• आफ्नो पदीय कर्तव्य पालना गर्न लागेको कुनै राष्ट्रसेवकलाई कसैले जोरजुलुम वा हुलहुज्जत गरी वा अन्य कुनै किसिमले बाधा विरोध गरी कर्तव्य पालन गर्न अवरोध पुर्यााए वा कानुन बमोजिम हुन लागेको कुनै सम्पतिको जायजात तायदाती रोक्का लिलाम वा बिक्रीको प्रक्रियामा जानाजानी बाधा विरोध गरेमा एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय गर्ने।

• राष्ट्रसेवकलाई मद्दत दिन इन्कार गरे ६ महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय गर्ने।

• कसैले कानुन बमोजिमको आदेश अनुसार कानुन बमोजिम गर्नुपर्ने काम नगरी वा गर्न नहुने काम गरी त्यस्तो आदेशको अवज्ञा गरे ६ महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय गर्ने।

• सार्वजनिक बाटो, नदी वा स्थलमा खतरा वा बाधा पुर्यारए २५ हजार रुपैयाँसम्म जरिवाना गर्ने।

• पशुपंक्षी राख्दा वा पाल्दा लापरवाही गरे एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय गर्ने।

• आफ्नो पशुपंक्षी अर्काको घर जग्गा वा सार्वजनिक बाटोघाटो वा सार्वजनिक स्थलमा छाडा छोडे तीन महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय गर्ने।

• कसैले सार्वजनिक स्थान वा प्रवेश गर्न कानुनी अधिकार नभएको ठाउँमा प्रवेश गरी कसैलाई अभद्र व्यवहार गर्न वा सार्वजनिक स्थानमा महिला बालबालिका वा शारीरिक रुपमा अशक्त व्यक्तिलाई हातपात वा हैरानी गर्न वा त्यसको प्रयास गरे एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय गर्ने।

• १० वर्षभन्दा माथिको व्यक्तिले सार्वजनिक स्थानमा अश्लील क्रियाकलाप वा व्यवहार गर्न वा यौनाङ्ग देखाउन वा कसैलाई अश्लील शब्द बोल्ने वा इशारा गरे ६ महिनासम्म कैद वा ५ हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने।

• कसैले सार्वजनिक स्थानमा वा अरु मानिसले देख्ने गरी अन्य कुनै स्थानमा कसैसँग यौन क्रिया गर्न वा अप्राकृतिक मैथुन गरे एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय गर्ने।

• कुनै काम गरी वा कानुन बमोजिम गर्नु पर्ने कुनै काम नगरी छरछिमेक वा सर्वसाधारणलाई कुनै प्रकारको हानी नोक्सानी क्षति वा खतरा पुराए वा झिझ्याहट गरे २५ हजार रुपैयाँसम्म जरिवाना।

• जुवा खेले वा खेलाए पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना।

• दोस्रो पटकदेखि जुवा खेल्ने वा खेलाउनेलाई एक वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना र त्यसपछिको कसूरमा पटकै पिच्छे थप तीन महिनासम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना।

• कसैले कसैको सामाजिक रीति स्थितिमा खलल पर्ने वा खलल हुने गरी झुयाई वा जबर्जस्ती गरी कुनै काम गरे वा गराए एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय गर्ने।

• पशुपंक्षीलाई कुटी हिर्काई वा बोक्नसक्ने क्षमताभन्दा बढी भारी बोकाई वा सामर्थ्यभन्दा बढी दौडाई वा रोग घाउ खटिरा वा अन्य कुनै कारणबाट काम गर्न असमर्थ भएकोलाई काममा लगाई वा हानिकार वस्तु सेवन गराई वा अन्य कुनै प्रकारले यातना दिन वा आफूले पालेको पशुपंक्षी रोगी वा वृद्ध भएको कारणले सार्वजनिक रुपमा छाड्न वा अन्य कुनै किसिमले निर्दयी वा क्रुर व्यवहार गरे तीन महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय गर्ने।

• पशुपंक्षीलाई परम्परादेखि बली दिँदै आएको धार्मिक स्थलबाहेक अन्य कुनै पनि सार्वजनिक स्थलमा मारे एक महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय गर्ने।

• समाह्वान इतलायनामा इत्यादिको तामेलीमा बाधा पुर्‍याए ६ महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय गर्ने। राष्ट्रसेवकले गरेको भए तीन महिनासम्म थप कैद।

• समाह्वान इतलायनामा सूचना वा आदेश तामेल हुन नदिई छली हिँडे तीन महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय गर्ने।

• समाह्वान इतलायनामा इत्यादि च्याते वा उप्काए ६ महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय गर्ने।

• झुटो तरिकाले म्याद तामेल गरेमा एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय गर्ने।

• लिखत पेश गर्न इन्कार गरे ६ महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय गर्ने।

• अधिकारप्राप्त अधिकारी समक्ष साँचो कुरा व्यक्त गर्न उपस्थित भएको व्यक्तिले त्यस्तो कुरा व्यक्त गर्ने प्रयोजनको लागि शपथ लिन आदेश दिएकोमा त्यस्तो शपथ लिन इन्कार गरे तीन महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय गर्ने।

• अधिकार प्राप्त अधिकारीले सोधेको प्रश्नको जवाफ दिन इन्कार गरे ६ महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय गर्ने।

• झुट्टा उजुरी वा सूचना दिए पीडित व्यक्तिलाई कुनै किसिमको हानी नोक्सानी पुगेको भए त्यस वापतको क्षतिपूर्ति कसुरदारबाट भराई दिने।

• कुनै कसूरको अभियोग लागि जमानतमा छुटेको व्यक्ति मनासिब कारण बिना जमानतको शर्त विपरीत जमानत दिएको कार्यालय वा अदालतमा अनुपस्थित भए एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय गर्ने।

साभार : माईसंसार डटकम http://www.mysansar.com/2018/08/33070/

Share Button

First and best news portal from rukum for world.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares