Input your search keywords and press Enter.

अस्थिर समाज, बरालिएको सरकार र द्वन्द्व पुनरावृत्तिको खतरा

  • ताराप्रसाद ओली

हरेक नागरिकको जिउ धनको सुरक्षा गर्नु, कानुनी शासनको प्रत्याभुति गराउनु तथा नागरिकका अधिकारहरुको संरक्षण गर्नु मुलत राज्यको दायित्व हो । खुला, उदार तथा लोकतान्त्रिक समाजमा प्रत्येक नागरिकले सुरक्षित महसुस गर्नुपर्छ, सम्मानजनक ढंगले जीवन पाउछ । नेपाल कुनै निरंकुश तथा अधिनायकवादी शासन व्यवस्था मुलक होइन । संवैधानिक रुपमा नेपाल संघीय लोकतान्त्रिक मुलक हो । राणा शासन, निर्दलीय पञ्चायती व्यवस्था तथा शाहवंशीय राजतन्त्र जस्ता निंरकुश र तानाशाही शासन व्यवस्थाहरुको अन्त्य गर्दै नेपाल लोकतान्त्रिक युगमा प्रवेश गरिसकेको छ । २००७ सालमा भएको सशस्त्र क्रान्तिदेखी जनआन्दोलन भाग २ सम्ममा नेपाली जनताको त्याग, तपस्या र बलिदानको प्रतिफल स्वरुप हामी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकको नागरिक बन्न सकेका हाँै । सानोतिनो संघर्षले आजको नेपालको निर्माण भएको होइन, नेपाली जनताले लडेका अधिकारका लडाइहरुको लामो फेहरिस्त बन्न सक्छ, नेपाली समाज सदैव अग्रगमनको पक्षमा उभियो, परिवर्तनको पक्षमा उभियो, लोकतन्त्रको पक्षमा उभियो, सबैखाले निरंकुशता र अधिनायकवादलाई अस्विकार गरिरह्यो । परिवर्तनको पक्षमा उभिने राजनैतिक शक्तिहरुले जनताको साथ र समर्थन पाइरहे । नेपाली समाजलाई नियन्त्रित र अनुकुल समाजको रुपमा परिणत गर्ने शासकहरुको प्रयास कहिल्यै सफल हुन सकेन । जनताको शासनमा जनताको सुरक्षा, सम्मान र अधिकारको संरक्षण सबैभन्दा महत्वपुर्ण सवाल हो ।

नेपालमा सिद्धान्ततः लोकतन्त्र छ, गणतन्त्र छ, संघीयता छ, प्रेस स्वतन्त्रता छ, वाक स्वतन्त्रता छ । त्यति मात्र होइन, नेपाली जनताले दशकौँ देखिको राजनैतिक अस्थिरताको अन्त्य गर्दै दुई तिहाइको बहुमत पनि दिएका छन् । मुलुकमा दुई तिहाइको बहुमतको सरकार छ, मुलुकमा संक्रमणकाल पनि छैन, शान्ति प्रक्रिया पनि लगभग टुंगोमा पुगिसकेको छ, सरकार सामु त्यति ठुला वाधा अवरोधहरु पनि छैनन, प्रतिपक्षहरु पनि निकै कमजोर र निरही छन्, मधेश आन्दोलन पनि मत्थर भइसकेको छ, पहिचानको लडाइ लडेर राज्य माग्नेहरु पनि चुपचाप भइसकेका छन्, वैदेशिक रुपमा पनि सरकारलाई दह्रो भरथेक भइसकेको छ, सरकारसामु त्यति ठुला अतिरिक्त कार्यभारहरु पनि छैनन, पार्टी भित्र पनि प्रधानमन्त्री केपी ओलीको एकछात्र राज रहेको छ । यस्तो सहज र सरल अवस्थामा, मुलुकमा राजनैनिक स्थिरता कायम भएको स्थितिमा संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुदै जानुपर्ने हो, लोकतान्त्रिक शासन व्यवस्था मजवुद हुदै जानुपर्ने हो । कानुनी शासनको प्रत्याभुति हुनुपर्ने हो, दण्डहीनताको अन्त्य हुनुपर्ने हो, समाज सुरक्षित बन्नुपर्ने हो, नागरिकहरुले निर्वाध रुपमा आफ्ना अधिकारहरुको उपयोग, उपभोग तथा प्रयोग गर्न पाउनुपर्ने हो । समाजमा अपराधको मात्रा घट्दैै जानुपर्ने हो, मुलुक विकास र संवृद्दिको यात्रामा अगाडि बढ्नुपर्ने हो, समाजमा शान्ति सुरक्षा र अमनचयन कायम हुनुपर्ने हो, जनताको जीवनस्तरमा वदलाव आउनुपर्ने हो ।
तर परिस्थिति निकै फरक छ । दलाल, माफिया तथा विचौलियाको विगविगी छ, कल्पना समेत गर्न नसकिने गरी जघन्य अपराधका घटनाहरु दिनप्रतिदिन बढ्दै गइरहेका छन्, बलात्कार, लुटपाट, हत्या, अपहरणका घटनाहरु दिन दुई गुणा, रात चौगुणा बढ्दै गइरहेका छन् । विकासले गति लिने, जीवनस्तरमा वदलाव आउने, राजनैतिक स्थिरता छाउने अपेक्षाले एउटै पार्टीलाई म्यान्डेट दिएका नेपाली जनतामा निराशा छाएको छ, आक्रोश उत्पन्न भएको छ । कल्पना गरे अनुरुप सरकार खरो उत्रन सकेको छैन, स्थानीय सरकारहरु नयाँ सामन्तको रुपमा उदय भएका छन्, राजामहाराजाहरुलाई उछिन्ने गरी रवाफ देखाउन थालेका, वाइसी चौवेसी राज्यका छोटे राजाका नयाँ अवतारका रुपमा जनप्रतिनिधिहरु देखा परेका छन्, बोक्नै नसक्ने गरी करको भारी बोकाइएको छ, लुटतन्त्र संस्थागत बन्दै गएको छ ।

नेपालमा कुनै पनि शासन व्यवस्थाको आयु लामो छैन, राज्य सञ्चालनमा शासकहरु असफल बन्दै जाँदा जनतामा चाडै असन्तोष पैदा हुने, वितृष्णा पैदा हुने र विद्रोहमा उत्रने गरेको देखिन्छ । शासकका विरुद्ध गरिएका हरेक आन्दोलनहरु ढिलोचाडो सफलतामा पुग्ने गरेको उदाहरण छ । जुन जोगी आए पनि कानै चिरेका भनेजस्तै राज्य सञ्चालनको जिम्मवारी पाएका हरेक शासकहरु असफल बन्दै गएका छन् । जनताको चाहना एवं भावना अनुरुप राज्य सञ्चालन हुन नसक्दा छिटोछिटो राजनैतिक परिवर्तनहरु हुने गरेका छन् । जनताका चाहना, आकांक्षा एवं भावनाहरुको उचित संवोधन हुन नसक्दा विद्रोहको खतरा सधैँ कायम रहन्छ । आशा गरे अनुरुप घटनाक्रमहरु अगाडि बढेका छैनन् । गाँउगाँउमा सिंहदरवार, घरघरमा रोजगार, घर आँगनमा सरकार जस्ता आकर्षक नाराहरुले लोभिएका मतदाताहरु अहिले खिन्न हुदँै गएका छन् । सरकार विगतका प्रतिवद्धताबाट पछाडि हटिरहेको अनुभुति गरिरहेका छन्, प्रतिपक्ष कांग्रेस पनि अझैँ गतिहिन र दिशाहिन बन्दै गएको देखिएको छ । चुनावताका सपनाको खेती गरेर आशाको सञ्चार गराउन सफल भएपनि सत्तामा पुगिसकेका पछि जनताको जीवनस्तरमा प्रत्यक्ष प्रभाव पार्ने काम गर्न नसकेपछि मतदाता निराश बन्दै गएका छन् ।

रोम जलिरहेको छ, निरो बाँसुरी बजाइरहेको छ भनेजस्तै जनतामा सरकारप्रति आशंका, अविश्वास, घृणा, आक्रोश बढीरहदा समेत सरकारको कानमा वतास चलिरहेको छैन । सरकार आफ्ना विगतका वाचातिर फर्कन तयार छैन, कमजोरीहरुको समीक्षा गर्न तयार छैन, गन्तव्य निर्धारण गर्न चुकिरहेको छ, सकिरहेको छैन । जनताको अपेक्षा अनुसार काम नभइरहेको तर्क स्वीकार गर्न उनीहरु तयार छैनन्, भर्खर नाच्न सिक्दै गरेकोले स्टेप विग्रनु स्वाभाविक भएको तर्क गरेर आलोचनालाई महत्वहिन विषय ठानिरहेका छन् । विभाजित समाजमा समर्थन र आलोचना हुुनु स्वाभाविक भएको नेताहरुको बुझाई रहेको छ, ताली र गाली राजनितिका स्वाभाविक प्रक्रिया भएको उनीहरुको ठम्याई रहेको छ । जनताको असन्तुष्टि एवं आक्रोशले सत्तासीनको रौँ पनि हल्लिएको छैन । समाज दिनानुदिन असुरक्षित बन्दै गएको तर्फ सत्ताधारीको ध्यान गएको देखिदैन । पछिल्लो समयमा विकसीत राजनैतिक घटनाक्रमहरुको अध्ययन तथा विश्लेषण गर्दा परिस्थिति भड्किहालेको छैन, नियन्त्रण बाहिर पनि छैन, समाल्न नसकिने गरी विग्रिएको पनि छैन । सरकारले परिकल्पना गरे जस्तो सहज परिस्थिति पक्कै पनि छैन, जनताको असन्तुष्टिहरु भुसको आगो जस्तै सल्किरहेका छन् ।

नेपाली समाजको चरित्र विचित्रको छ, निरन्तर परिवर्तनको पक्षमा उभिनु नेपाली समाजको विशेषता हो । दिमागले होइन, मनले चल्ने, भावनाले चल्ने नेपाली समाजको विशेषता हो । नेपाली समाज निकै चाडोँ बहकिन्छ, भड्किन्छ, दायाँबायाँ नसोची धारणा बनाउछ, विद्रोही बन्छ र विद्रोहमा उत्रिन्छ । नेपाली समाजको यही चरित्र एवं विशेषतालाई राम्रो सँग बुझ्न नसक्दा नै शासकहरु असफल भएका हुन, बडारिएका छन् । हामी सँग धैर्यता हुदैन, दिर्घकालीन सोच हामीमा विकसीत भएको छैन, दुरदर्शी पनि छैनौँ । स साना कुराबाट तरंगीत हुन्छाँै, सत्य असत्य, ठिक बेठिक छुट्याउने फुर्सद हामीमा छैन, हामी छिट्टै आवेगमा आउँछौ, उत्तेजनामा आउँछौँ र क्रान्तिकारी बनिदिन्छाँै । बहसलाई निषेध गर्ने, आलोचनालाई पचाउन नसक्ने, प्रश्नहरुदेखि भाग्ने, डराउने, सामना गर्न नचाहने तथा नसक्ने बडो जडशुत्रवादी चिन्तनले नेपाली समाजमा जरो गाडेको छ । हल्ला र अनुमानको भरमा उद्धेलित हुने नेपाली समाजको मुलभुत विशेषता हो, देवत्वकरण र राक्षसीकरण गर्न नेपाली समाज खप्पीस छ । नेपाली समाज कतिखेर भड्किन्छ र कतिखेर पट्टिन्छ भन्ने कुराको अनुमान गर्न कठिन छ । हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने हाम्रो आम प्रवृत्ति नै बनिसकेको छ । छिनछिनमा धारणा बदल्न नेपाली समाज माहिर छ, वस्तुगत तथा तथ्यपरक ढंगले सोच्ने प्रवृत्तिको विकास भइसकेको छैन । आकाशका तारा झार्ने गफ पत्याएर पनि हामी भोट दिन्छाँै, आकाशका तारा झारिदिएन भनेर पनि भड्किन्छाँै । बडो विचित्रको मनोदशाबाट हामी गुज्रिरहेका छाँै हामी । विकास र संवृद्धिको लागि मुलभुत रुपमा नेपाली समाजको यही चरित्र बाधक छ । आग्रह, पुर्वाग्रह र दुराग्रहको चश्मा लगाएर निष्कर्ष निकाल्नु हाम्रो विशेषता नै हो, गुण र दोषको आधारमा समर्थन र विरोध गर्ने परीपाटीको थालनी समेत हुन सकेको छैन । सत्तामा बस्नेहरुले समयमै यतातर्फ ध्यान दिन नसक्ने हो भने नेपालको दुर्गति हुनबाट कसैले रोक्न सक्ने छैन ।

कमरेड ओलीप्रतिको हिजोको आकर्षण एकाएक घट्दै गएको छ, जनताका माझमा नाकावन्दी ताकाको जस्तो रौनक पनि छैन, चुलिएका आंकाक्षाहरुको संवोधन गर्न कमरेड ओली सफल हुने छन् भन्ने विश्वास नेपाली समाजमा घट्दै गएको छ । प्रधानमन्त्री ओलीको छवि केवल उखान सम्राट तथा गाली सिरोमणीको रुपमा वन्दै गएको छ, गर्जने तर नवर्सिने बादलको रुपमा मान्छेहरुले बुझ्न थालेका छन्, जिव्रो चल्ने तर शरीर नचल्ने नेताको रुपमा पहिचान बन्दै गएको छ, भुक्ने तर नटोक्ने कुकुरको रुपमा बुझ्न थालिएको छ, कुराले मात्र चिउरा चपाउन खोज्दा उहाँको लोकप्रियताको ग्राफ दिन प्रतिदिन घट्दो क्रममा छ । कुरामा आकाश पाताल जोड्ने तर कामको नाममा सिन्को पनि नभाँच्ने, माँखो पनि नमार्ने हो भने कमरेड ओली जनताको नजरमा नराम्ररी गिर्नेछन् । भिरबाट लडेको मानिस फेरी उठ्न सक्छ तर नजरबाट गिरेको मानिस कहिल्यै उठ्न सक्दैन, जनताको नजरमा गिरे भने ओली निकै ठुलो राजनैतिक मुल्य चुकाउनुपर्ने छ, सगरमाथाको चुचुरामा पुगेका ओलीले हेक्का राख्न जरुरी छ ।

एकातिर समाज असुरक्षित बन्दै जानु, अपराधका घटनाहरुले सिमा नाघ्दै जानु, दण्डहिनता बढ्दै जानु, जनताको प्राण फुत्किने गरी करको बोझ बोकाउदै जानु, नेताहरुको राजषी तथा विलाशी जीवनशैली देखेर जनता आजित हुदैँ जानु, सरकार चलाउनेहरुले विचलित हुदैँ जानु, भ्रष्टाचार बढ्दै जानु, हुने खाने र हुँदा खानेहरुविचको खाडल बढ्दै जानु अनि अर्कोतिर सरकार पनि जंगलमा बाटो विराएको यात्री जस्तो बरालिदै जानुले विद्रोहको आधारभुमि तयार गर्ने निश्चित छ । तर्कको खेती, सपनाको व्यापार गरेर मात्र जनताको चित्त बुझाउन अब कठिन हुनेछ । संघीयता, लोकतान्त्रिक गणतन्त्रप्रति जनताको मोहभंग हुने खतरा बढ्दै गएको छ । शासकहरु सेवक बन्न नसक्दा जनतामा क्रान्तिकारी चेतना विकसीत हुँदै जान्छ । मञ्चमा बस्ने र फ्लोरमा बस्नेहरुको जीवनशैलीमा देखिएको आकाश पातालको अन्तरले पनि जनतामा नेताप्रति विद्रोही भावना बढ्दै जान्छ । दशक लामो सशस्त्र विद्रोहले दिएका घाउहरु ओभाउन नपाउदै मुलुक फेरी पनि द्वन्द्वको दुष्चक्रमा फस्ने खतरा जिवीत रहेको छ ।
कमरेड विप्लव यतिखेर मौकामा हिरा फोर्ने दाउमा हुनुहुन्छ, धमीलो पानीमा माछा मार्ने दाउमा हुुनुहुन्छ, द्वन्द्वको पसल थाप्ने प्रयासमा हुुनुहुन्छ । नेपाली समाजको चरित्रसँग उहाँ राम्रोसँग परिचित हुनुहुन्छ । हो, नेपाली जनता हिंसाबाट थाकिसकेका छन्, विगतका ति कहालीलाग्दा दिनहरु फर्केर आउन भन्ने चाहदैनन्, हत्तपत्त हिंसाको समर्थन गर्न सक्ने अवस्थामा छैनन । मर्नु भन्दा बहुलाउनु बेश भने जस्तै सरकारले असफलताको दर बढाउदै गयो भने त्यो दिन आउदै आउदैँन भनेर ठोकुवा गर्न सकिदैन । राजनिति संभावनको खेल त हुदैँ हो, राजनिति कहिले पनि सरल रेखामा हिड्दैन, राजनितिमा आउने परिणाम अक्सर कल्पना गरे भन्दा भिन्नै हुन्छ ।

एकातिर नेपाली समाज अस्थिर छ, सरकारले प्रभावकारी ढंगले काम गर्न सकिरहेको छैन । अर्कातिर कमरेड विप्लव विद्रोहको लाल झण्डा उचाल्ने प्रयासमा हुुनुहुन्छ । सरकार कुहिरोमा हराएको कागजस्तै रनभुल्लमा परेको छ । विप्लव समुह राजनैनिक हो कि अपराधिक हो कि आतंककारी हो ठम्याउन सकेको छैन, यो समस्याको समाधान राजनैतिक तवरले हुन्छ कि कानुनी तवरले हुन्छ भन्नेमा सरकार अलमलमा छ । सरकार सरासर उल्टो बाटोमा हिड्दैछ, एकाध दुई चार जना कार्यकर्तालाई थुनेको भरमा, मुद्धा चलाएको भरमा विप्लव समुह समाप्त भएर जान्छ भन्नु दिवालीयापनमात्र हो । केही थान कार्यकर्तालाई कानुनको डण्डा चलाएको भरमा समस्या समाधान हुन्छ भनेर सोच्नु मुर्खता मात्र हो । विनाश काले, विपरीत वुद्धि भनेझँै सर्वोच्च अदालतले आदेश दिदा समेत विप्लव समुहका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई रिहा नगरेर सरकारले विप्लवलाई थप निहुँ दिएको छ, आधार दिएको छ । वर्तमान शासन प्रणाली र न्यायिक प्रक्रियामा विप्वल समुहको विश्वास हुनु भनेको निकै सकारात्मक कुरा हो । दमनले विद्रोहलाई निम्तो गर्छ । जतिजति सरकार अनिर्णयको वन्दी जान्छ, त्यति त्यति विप्लव समुहलाई लाभ हुदँै जान्छ । सौताको रिसले लोग्नेको घुडामा पिसाव फेर्ने नेपाली समाजको चरित्र नै हो । नेपाली जनताको समर्थन विप्लव समुहलाई हुनै सक्दैन भन्ने कुरामा कुनै विश्वासनीय आधारहरु छैनन् ।

संभावित विद्रोहलाई निस्तेज पार्ने एक मात्र उपाय भनेकै काम गरेर देखाउने हो । हिजो जनताका सामु दुई हात जोडेर भोट माग्दा गरेका वाचाहरु झल्झली सम्झेर पुरा गरेर नदेखाउने हो भने विद्रोहलाई रोक्न कठिन हुनेछ । नेपाली जनताको धैर्यताको बाँध कतिखेर टुट्छ भनेर अनुमान गर्न समेत सकिदैन । जनताको जीवन स्तर उकास्ने, जनताको दैनिकीसँग सम्बन्धित कार्यक्रमहरु तय गरिनुपर्छ । वर्षदिनमा एकसरो लुगाफाटोको जोहो गर्न नसक्ने तथा हात मुख जोर्न समेत धौधौ पर्ने अवस्थामा रहेका नेपाली जनतालाई जुनतारा झार्ने सपनाले खासै प्रभाव पार्ने देखिदैन । जनताका मृत अवस्थामा रहेका आशाहरु फेरी जगाउन आवश्यक छ । जनताका चाहना, भावना तथा आंकाक्षाहरुलाई सम्बोधन गर्न जरुरी छ । नेपाली समाजको चरित्र एवं विशेषताको अध्ययन गर्दा अब सरकारले परिणाममुखी काम गर्न ढिला भइसकेको छ ।

सरकार प्रति जनताको विश्वास गर्दै जानु भनेको विद्रोहको लागि अुनकुल वातावरण बन्दै जानु हो । आशाहरु निराशमा परिणत हुनु निकै खतरानाक कुरा हो, नेतृत्वप्रति मोहभंग हुनु निकै घातक हो । भीर बाट लड्ने गोरुलाई राम राम मात्र भन्न सकिन्छ, काँध थाप्न सकिदैन । एउटा यात्रु जतिसुकै दक्ष भए पनि गाडी दुर्घटनाबाट जोगाउन सक्दैन, दुर्घटनाबाट जोगाउन केवल चालकले मात्र सक्छ, यसो खाल्डाखुल्डीहरु देखाएर, सानातिना पहिरोहरु हटाएर, बाधा व्यवधानहरु पन्छाएर, चालकलाई सचेत गराएर सहचालकले पनि दुर्घटना रोक्नको लागि योगदान दिन सक्छ । कमरेड ओलीले सहजतापुर्वक, सफलतापुर्वक यो देश हाँक्न सक्नु हुन्छ कि सक्नु हुन्न हेर्न बाँकी छ, उहाँका वरीपरी परिक्रमा गर्ने सहचालकहरुले बेलाबेलामा घच्घच्याउछन कि घच्घच्याउदैनन त्यो पनि हेर्न बाँकी छ । विहानीले दिनको संकेत गर्छ भन्छन् प्रारम्भिक संकेतहरु हेर्दा ओली कुशलतापुर्वक ड्राइभ गर्न सक्ने छाँटकाँट देखिदैन, जे भए पनि यो देशलाई फेरी पनि द्वन्द्वको भुमरीमा फस्नबाट कमरेड ओलीले मात्र जोगाउन सक्छन्, आशा गराँै ओली सफल हुनेछन्, शुभकामना !

Share Button

First and best news portal from rukum for world.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares