Input your search keywords and press Enter.

मुसिकोट क्याम्पस : विगत र वर्तमान

  • हरिविष्णु ओली

१.पृष्ठभूमी :
नेपालमा जनस्तरमा अर्थात जनताको सहभागितामा सञ्चालित क्याम्पसलाई पब्लिक क्याम्पस भनिन्छ । विसं २०१६ सालमा नेपालको पहिलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको स्थापना भएदेखि नै जनसहभागितामा क्याम्सप सञ्चालन हुन थालेका हुन् । तर विसं २०२८ मा राष्टिय शिक्षाा पद्धतिको योजनाको नाममा नयाँ शिक्षा योजना ल्याइएपछि तत्कालिन क्याम्पसहरुलाई त्रिभुवन विश्वविद्यालयका आँगिक क्याम्पसमा परिणत गरियो । यसरी आँगिक हुने पब्लिक क्याम्पसहरु काठमाडौंको शंकरदेव क्याम्पस र अमृत साइन्स क्याम्पस,बीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पस र जनकपुरको रामस्वरुप रामसागर क्याम्पसहरु रहेका थिए । जस्ले गर्दा जनसहभागितामा क्याम्पस सञ्चालन गर्ने पवित्र अभ्यास केही समयका लागि अबरुद्ध भयो ।
तर यो लामो समय रहेन । त्रिभुवन विश्वविद्यालयले विद्यार्थीको चाप र जनचाहना लाई ख्याल गरी विसं २०३७ सालदेखि जनसहभागितामा क्याम्पस खोल्न दिने सरकारको निर्णयलााई स्वीकार गरी केही क्याम्पसहरुलाई सम्वन्धन दिने निर्णय ग¥यो । त्यस नीतिको आधारमा हाम्रा अग्रज राजनीतिकर्मी श्री गोपाल जी जंग शाह लगायतका थुप्रै शिक्षाप्रेमी महानुभावहरुको पहलमा यो मुसिकोट खलंगा बहुमुखी क्याम्पस पनि स्थापना भएको हो । सम्वन्धन पत्रमा नीजि क्षेत्रमा सञ्चालन गर्न अनुमति दिइएको भन्ने शब्दावली उल्लेख भएता पनि उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन २०५५ ले जनस्तरवाट सञ्चालित क्याम्पसहरुलाई पब्लिक क्याम्पसको रुपमा मान्यता दिन थालेपछि यस क्याम्पसले पनि पब्लिक क्याम्पसको रुपमा मान्यता पाएको हो । विसं २०३७ असोज २३ गते नीजि क्याम्पसको रुपमा सम्वन्धनप्राप्त गरेको यस क्याम्पसले शुरुमा प्रविणता प्रमाणपत्र तह(आइए)को पठनपाठन सञ्चालन गर्ने अनुमति पाएको थियो । क्रमश विसं २०५१ मा बीए र विसं २०५८ मा बीएड,विसं २०६२ मा एक वर्षे बीएड,विसं २०६७ मा एमएड र विसं २०७०मा विविएसको पठन पाठनको अनुमति प्राप्त गरेको छ ।

२.उच्च शिक्षामा जनसहभागिताको सन्दर्भ :
विसं २०३७ सालदेखि जनसहभागिता जटाएर जनस्तरमा खोल्न थालिएका क्याम्पसहरुले २०४७ सालपछि मात्र गति लिन थालेको पाइन्छ । २०४७ सालको अन्तरिम सरकारले पब्लिक क्याम्पसहरुका समस्याहरुलाई हृदयङ्गम गरी न्युनतम रुपमा भए पनि जनस्तरबाट सञ्चालित पब्लिक क्याम्पसहरुलाई अनुदान दिने कार्य प्रारम्भ ग¥यो । शहरी इलाकामा मात्र अवस्थित रहेका आँगिक क्याम्पसहरमा आफ्ना छोराछोरीलाई पढाउन नसकिने अवस्थालाई स्वीकार गरी गरीब तथा पिछडिएका समुदायमा समेत उच्च शिक्षाको पहुँच पु¥याउने उद्देश्यले विद्यार्थीको चाप रहेको शहरी क्षेत्रमा तथा देशको दुर्गम क्षेत्रमा क्याम्पस स्थापना गर्ने काममा चेतनशील नागरिकहरु लागेको पाइन्छ । पब्लिक क्याम्पस स्थापना र सञ्चालनको कार्यमा जनसहभागिता जुटाउन थालियो । व्यक्ति व्यक्ति,स्थानीय संघ संस्था,स्थानीय सरकारी निकाय समेतको पहलमा सहयोग जुट्न थाल्यो र विद्यार्थीवाट पनि शुल्क उठाएर क्याम्पस सञ्चालन गर्ने काम भयो । यसरी पब्लिक क्याम्पसलाई बचाउने अभियानमा विश्वविद्यालय अनुदान आयोगले पनि साथ दिन थाल्यो । जस्ले गर्दा समुदायमा उच्च शिक्षाको पहँच विस्तार गर्न सहज भएको छ । विद्यार्थी संख्या राम्रो हुने शहरी क्षेत्रका क्याम्पसहरु जेनतेन धानिए पनि दुर्गम तथा विकट क्षेत्रमा सेवा पु¥याइरहेका क्याम्पसहरुको अवस्था भने नाजुक रहेको तथ्यलाई नकार्न सकिन्न । जस्का कारण नेपाल पब्लिक क्याम्पस संघ र पब्लिक क्याम्पस प्राध्यापक संघका महाधिवेशनहरुमा यस्ता पब्लिक क्याम्पसहरुलाई आँगिक बनाइयोस भन्ने माग उठ्ने गर्दछ । जुन मागहरु कहिले त्रिभुवन विश्वविद्यालयमा त कहिले मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा पुग्ने गरेको छ । तर कतैवाट पुरा हुन सकेको छैन । नेताहरुले पनि लौ अव यो क्याम्पस आँगिक भयो भनेर घोषणा गरिदिन्छन् । प्राध्यापक,कर्मचारी र विद्यार्थीहरु जोडले ताली ठोक्छन् तर बोलेको कुरा कहिलै पुरा हुँदैन । यसैवाट पनि प्रष्ट हुन्छ कि नेपालको बद्लिंदो परिस्थिति,क्षेत्रीय विकासको सन्तुलन र उच्च शिक्षाको विकासलााई व्यवस्थित र सर्वसुलभ बनाउनका लागि जनसहभागितालाई प्रोत्साहन गर्न सरकारको साझेदारी आवश्यक रहेको छ ।
३.सामाजिक गतिविधिमा मुसिकोट क्याम्पसको संलग्नता र समाजको योगदान
विसं २०३७ असोज २३ गते त्रिविवाट सम्बन्धनप्राप्त गरेको यस मुसिकोट खलंगा बहुमुखी क्याम्पस मध्यपश्चिममै प्रतिष्ठित तथा यस जिल्लाको सर्वोच्च शैक्षिक संस्थाको रुपमा स्थापित भएको छ । हाल यस मुसिकोट खलंगा बहुमुखी क्याम्पसले ३७ वर्षको कठिन र चुनौतिपूर्ण यात्रा पुरा गरी ३८ वर्षमा प्रवेश गरेको छ । यस ऐतिहासिक यात्रालााई उत्साहजनक र उपलब्धिमुलक नै मान्नुपर्ने हुन्छ । यी कालखण्डमा क्याम्पसले आर्जन गरेका उपलब्धिहरु सबैका सामु छर्लङ्ग नै छन् । आजसम्मको यात्रालाई हेर्दा क्याम्पस थोरबहुत भौतिक पूर्वाधार सम्पन्न भएको छ । आर्थिक दृष्टिले आत्मनिर्भर बन्ने प्रयत्नमा छ । शैक्षिक विश्वास कायम गर्ने प्रयास गरिरहेको छ । तथापी प्रयाप्तता छैन । यसलाई पूर्णता दिने कार्य नै आजको आवश्यकता र चुनौति रहेको छ ।
क्याम्पसका अतीतका दिनहरु अति कठिनाइपूर्ण थिए भन्ने कुरा अग्रजहरुको अनुभव र क्याम्पसको वर्तमान अवस्थाले स्पष्ट चित्रण गर्दछ । ती कठिन दिनहरु हिम्मतका साथ पार गरी आजको अवस्थामा आइपुग्दा अग्रज शिक्षाप्रेमीहरु भूपू जिल्ला पञ्चायत सभापति गेहेन्द्र बहादुर शाह र पूर्व राज्य मन्त्री तथा काँगे्रस नेता गोपालजी जङ्ग शाहलाई धन्यवाद दिनैपर्ने हुन्छ । हिजो र आजमा अन्तर हुनु स्वभाविक छ । आज सूचना प्रविधि र यातायातको सहज पहुँच विस्तार भैसकेको छ । तर हिजोका कठिनाइहरुलाई हामी कल्पनासम्म पनि गर्न नसम्ने अवस्थामा पुगेका छौं । हिजो यातायात र सञ्चारको कठिनाइ,पढेलेखेका मानिसहरुको कमी,साधनस्रोतको अभाव,स्थानीय निकायमा राज्यको लगानी नै नरहेको अवस्थामा उच्च शिक्षा अध्ययन गर्ने शैक्षिक संस्थाको स्थापना गरी सञ्चालन गर्नु ज्यादै नै कठिनाइपूर्ण कार्य हुँदाहुँदै पनि दुरदर्शी भविष्यद्रष्टा अग्रजहरुको सक्रियतामा क्याम्पस स्थापना हुनु सह्रानीय कार्य हो । यस महान कार्यलाई अझै शिखरमा पु¥याउन नयाँ पिंढीको दायित्व भएको छ । तर हामी संचालक समितिको अध्यक्ष काँग्रेसलाई,क्याम्पस प्रमुख माओवादीलाई तथा उपाध्यक्ष र सहायक क्याम्पस प्रमुख एमालेलाई गरी विगतमा भागवण्डा गर्नतर्फ लाग्यौं । कसले क्याम्पसलाई नेतृत्व गर्न सक्छ भन्दा पनि कसले दलहरुले भनेको काम हुबहु गर्न सक्छतर्फ लाग्यौं र लागीरहेका छौं ।

४.मुसिकोट क्याम्पस : अठोट र अवसर
अतीतका अनुभववाट शिक्षा लिंदै वर्तमानलाई सुन्दर र सम्पन्न भविष्यको निर्माणमा सक्रियतापूर्वक संलग्न हुनुपर्ने चुनौतिहरु हाम्रा सामु विद्यमान छन् । अग्रजहरुको लगानी र मिहिनेतका कारण विगतका ती अप्ठेरा दिनहरुलाई पछाडी धकेल्दै हामी वर्तमान अवस्थामा आइपुगेको छौं । यो विरासतलाई कायम गर्दै अगाडी वढ्नु आजको आवश्यकता रहेको छ । वर्तमानका चुनौतिहरुलाई सामना गर्दै अवसरमा वदल्ने सामुहिक अठोटको पनि जरुरी छ । यो काम संचालक समितिको अध्यक्ष वा क्याम्पस प्रमुखले मात्र गर्न सम्भव छैन । क्याम्पसका सवै प्राध्यापक एवं कर्मचारीको सामुहिक प्रतिवद्धता र वाचा चाहिन्छ । सम्भव भएसम्म अभिभावक र विद्यार्थीहरुसँग पनि हातेमालो गर्नुपर्छ । एक्लै कहीं पुगिंदैन । कसैले एक्लै यात्रा गर्न खोज्छ भने त्यो उसको मुर्खता मात्र हो । यस क्याम्पसको स्थापना गर्दा पनि ध्रवविक्रम शाह र गोपालजी जङ्ग शाहको विचमा झगडा थियो । ध्रुव पक्षधरले चौरजहारीमा स्थापना गर्न चाहन्थे भने गोपालजी पक्षधरले मुसीकोटमा । अन्ततः मुसीकोटमा स्थापना भयो र आज यो स्थितिमा आएको छ । त्यसैले एक्लैको यात्रा कुहिरोको काग झैं रुमल्लिने बाहेक केही हुँदैन । अव प्रण गरौं कि यस क्याम्पसलाई भागवण्डामा होइन सामुहिक भावना र योजनामा अघि बढाऔं । आफैलाई हिनतावोध हुन्छ । आफ्नै नैतिक बल कमजोर हुन्छ । मनोवल उच्च हुँदैन । घरवाट वाहिर निस्केदेखि नै कसैले केही भन्छ कि भन्ने मनोवैज्ञानिक त्रास भैरहन्छ । कमजोर मनोवल भएको सिपाहीले लडाई जित्न सक्दैन । अर्थात भागवण्डाको संस्कारले जितेर पनि हारिन्छ । समुहमै भएर पनि एक्लो महसुस हुन्छ । त्यसैले अरुको काँधमा चढेर नाम कमाउने र रमाउने होइन आफ्नो क्षमातामा विश्वास गरौं । अध्ययन अनुसन्धानको दायरालाई फराकिलो बनाऔं । परीक्षा प्रणालीलाई मर्यादित र व्यवस्थित गराएर लैजाऔं । प्रयोगात्मक खण्डको परीक्षामा विद्यार्थी उपस्थित हुन्छ भने राम्रै सहयोग गरौं तर उपस्थित हुँदैन वा प्रतिवेदन लेखन तयार गर्दैन भने होटेलमा बसेर वा फोनबाट मोलमोलाई गरेर अंकन नगरौं । स्नातकोत्तर तहमा आफै थेसिस लेखिदिने वा लेख्दै नलेखेको थेसिसको उधारो भाइभा गराउने काम नगरौं । अभ्यास शिक्षणमा स्कुल नै नगएका विद्यार्थीहरुलाई अन्तिम मुल्याँकनमा सहभागी नगराऔं । जतिसक्यो खोज तथा अध्ययनमा जागरुक गराऔं । आधुनिक सञ्चार प्रविधिको प्रयोग गर्दै शिक्षण विधिलाई व्यावहारिक र सीपमा आधारित बनाएर लैजाऔं । प्राध्यापकहरुको दक्षता अभिवृद्धिका लागि पालैपालो एमफील तथा पीएचडी अध्ययनको सेवाकालीन सुविधाको व्यवस्था गरौं । एउटा भनाई नै छ —‘ जब शिक्षक उड्छ, विद्यार्थी दौडन्छ । जब शिक्षक दौडन्छ विद्यार्थी हिंडछ । जब शिक्षक हिंडछ,विद्यार्थी सुत्छ । जब शिक्षक सुत्छ, विद्यार्थी मर्छ ।’ स्वभावैले विश्वविद्यालयको पठनपाठन अनुसन्धानमुखी हुन्छ । हाम्रो पठनपाठनलाई पनि अनुसन्धानमुखी बनाऔं । स्थापनाका हिसाबले संयुक्त रुकुमको जेठो क्याम्पस हो, कामले पनि जेठो नै भैरहनेछ । संस्थाको प्रतिष्ठित उचाईले नै हाम्रो विद्धताको उचाई निर्धारण गर्नेछ । यो अठोट नै आजको चुनौति र भोलिको अवसर हुनेछ । (लेखक : पब्लिक क्याम्पस प्राध्यापक संघ,नेपालका निवर्तमान उप–महासचिव तथा मुसीकोट खलङ्गा बहुमुखी क्याम्पसका उप–प्राध्यापक हुन् । )

Share Button

First and best news portal from rukum for world.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares