Input your search keywords and press Enter.

माओबादीहरुलाई केहि व्यवहारगत सुझाब

  • मेगराज खड्का

माओबाद के हो र माओबादी को हुन ? त्यसको बिस्तृत अध्ययन म संग पनी छैन । सिद्धान्तत यस्ता अध्ययन आम मानिसको क्षेत्र र रुचीको बिषय पनि नबन्ला तर राजनीतिक पार्टीको व्यवहारगत गुण भने सबैले बुझेका नै हुन्छन । पार्टीको किताबी सिद्धान्त भन्दा व्यवहारगत राजनीतिक अभ्यासनै जनताले सहि वा गलत छुट्याउने अस्त्र चुवाब वा अन्य बेला प्रयोग गर्छन । माओबादी बिचारधारा अर्थात कम्युनिष्ट राजनीतिक नेतृत्व भनेर जसरी जनयुद्धताका माओबादीहरुलाई चिनिन्थ्यो र भोगिन्थ्यो त्यो अहिले पाउनै पुस्किल छ । सामान्यतय आम मानिसले बुझेको माओबादी सिद्धान्त भनेको माओबादीहरु क्रान्तिकारी र परिवर्तनकारी शक्ति हुन, सामाजिक सांस्कृतिक कुरिति आफु पनि गर्दैनन् र गर्नेका बिरुद्ध पनि लड्छन, जनताको अधिकारको पक्षमा जस्तोसुकै क्षति ब्यहोरेर पनि संघर्ष गर्छन, ब्यक्तिगत फाईदालाई नहेरेर सामुहिक जिबनपद्धतिमा बिश्वास र अभ्यास गर्छन, हरेक क्षेत्रबाट पछि परेका वा पारिएका ब्यक्ति तथा समुदायलाई मुलधारमा ल्याउछन र माओबादी बिचारधारा मान्ने नेतृत्व आफैबाट माथीका यी क्षेत्रको परिवर्तन शुरुवात गर्छन । त्यति मात्र होईन समग्रतामा माओबादीहरुको सामाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिक र धार्मिक संस्कार पनि फरक हुन्छ ।
उनीहरुले पुरानो र रुढिबादी सामाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिक र धार्मिक संस्कार आफु पनि अंलाल्दैनन र त्यसको प्रवद्र्धन पनि गर्दैनन् । तर आम मानिसको सामान्य जानकारीमा रहेको माओबादी नेताकार्यकर्तामा हुनुपर्ने गुण २१ औ सताब्दीको बैज्ञानिक समाजबादको नारा लगाउन नछोडिरहेको पार्टी मुल नेतृत्वहरुमा पनि व्यवहारत अन्य पार्टीहरुको भन्दा खासै फरक भुमिकामा देखिदैन ।

जनयुद्धको माओबादी र संघियताको माओबादी
नेपालको राजनीतिक बृत्तमा माओबादी जनयुद्धको एउटा सफल एजेण्डा भनेको संघिय संरचनामा देशलाई लैजानु हो । तर बाहेक अन्य नेपाली समाजको सामाजिक, सांस्कृतिक तथा आर्थिक रुपान्तरणको मुद्धा भने जस्ताको जस्तै छ । द्धन्द्धकालको समाज र हिजोआजको शान्तिकालको समाज एकदमै फरक छ । फरक भन्नुको मतलव राम्रो भनेको चाँहि पटक्कै होईन बरु बिग्रेर फरक भएको छ । जति द्धन्द्धकालमा समाज बिकृतिबाट जोगिएको थियो र बिकृतिमुक्त समाज थियो अहिलेको शान्तिकालमा त्यस्तो कहि देखिदैन ।

द्धन्द्धकालमा दुई पक्षिय बिच हुने झडप वा राजनीतिक आस्थाका आधारमा मृत्युका घटना त धेरै थिए तर सामाजिक स्तरबाट हुने हत्या, हिंसा, बलात्कार, चोरी, डकैति, बोक्सी आरोप र रुढिबादी धार्मिक संस्कारहरु पुरै अन्त्य जस्तो देखिन्थ्यो । त्यसको मुख्य योगदान माओबादी जनयुद्धकाल नै थियो । यस्ता बिकृत काम गर्नेलाई माओबालीले जनकारबाही गर्छ भन्ने जसरी त्रास थियो त्यसकै कारण नै समाज सुध्रिएको थियो । तर जसरी जनताका घरमा खाँदै, जंगल र ओढारहरुमा बास बस्दै गरेको माओबादी सिंहदरबारमा पस्यो अनी पुनः यी गतिबिधीहरु दोहोरिन थालेका छन ।

माओबादी अरु भन्दा कसरी फरक ?
बेला बेला माओबादी केन्द्रका अध्यक्ष प्रचण्ड सहितका जिल्ला स्तरका नेताहरुले पनि भाषणका क्रममा भन्ने गर्छन माओबादी संसदस्यीय राजनीतिमा आएको भएपनि अन्य संसदीय दल भन्दा माओबादीको व्यवहार र एजेण्डा फरक छ । हामी नेपालको आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपान्तरणको पक्षमा छौं र हाम्रो नेता कार्यकर्ता र जनताको व्यवहार पनि त्यसमै छ ।
तर साँच्चीकै व्यवहारगत रुपमा हेर्दा माओबादी, काग्रेस र एमाले सहित अन्य दलहरुको व्यवहार एउटै छ । केहि माओबादी नेताहरुले सपथ खाँदा ईश्वरको नाम कटाएर देश र जनताको नाममा बोल्ने बाहेक अघिकांस नेता कार्यकर्ता उहि ईश्वरकै नामको दिशामा छन । जनयुद्धकालमा गाउँगाउँमा रक्सी खोज्दै फाल्ने माओबादीहरु अहिले आफै रक्सी खाने त छदैछ रक्सीकै डिलर राखेर व्यवसाय गरेका छन । त्यस्तै अन्य पार्टीका कार्यकर्ता र जनताहरु जस्तै माओबादी पार्टीका नेता कार्यकर्ताहरुको पनि जन्म तथा मृत्यु संस्कारमा कुनै फरक छैन । त्यस बाहेकका अन्य सामाजिक तथा सांस्कृतिक मुद्धामा झन जोडतोडका साथ उठिरहेका छन । माओबादी अध्यक्ष प्रचण्डले नै भैसी पुजा गरेको निकै चर्चाको बिषय बनेको थियो भने हालै माओबादी नेता तथा कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द बहादुर शाहीले सरकारी निबास सर्दा कालो बोका काटेर कार्यालय सारेको समेत नेपाली राष्ट्रिय मिडियाहरुमा समाचार छापिए । जनबादी बिबाहको बैबाहिक संस्कार अंगाल्ने माओबादी नेता कार्यकर्ताहरु नै जनबादी बिबाह त के बालबिबाह र बहुबिबाहका मुद्धामा मसेत निकै आलोचना खेप्नु परिरहेको छ । मृत्यु पछि घटनाक्रम सेलाएपनि माओबादी अध्यक्ष प्रचण्ड पुत्र प्रकासले नै बहुबिबाह गरेर श्रीमतिहरुलाई दुख दिईरहेको बारम्बार समाचार तथा प्रतिक्रियाहरु आउने गरका थिए । त्यस्तै मान्छेको मृत्यु संकारको कुरा गर्दा जनयुद्धमा मृत्यु हुँदा जंगलमा खाल्डो खनि लास गाडेर लाल सलाम गर्दै अर्को युद्धमोर्चामा सहभागी हुने सहयोद्धाहरु समेत अहिले कपाल फालेर १३ दिने संस्कार गरिरहेको पाउछौं ।

बुर्जुवा शिक्षा भन्दै पढाई छोडेर जंगल हिडेहरुकाहरु अहिले छोराछोरीका उमेर संग भर्ना भएर पढिरहेको पाउछौं । त्यति मात्र होईन नीजि बोडिंग स्कुलहरुको बिरोध गर्दै खारेजी अभियान चलाएको माओबादी नेताकार्यकर्ताबाट नै अहिले निजि स्कुलहरु खोल्ने, आफ्ना छोराछोरी सरकारी छोडेर त्यसमै पढाउने पनि गरेको पाउछौं । त्यसका साथै अध्ययन तथा स्वास्थ्य उपचारको शिलसिलामा बिदेशका महंगा महंगा संस्थाहरुमा जानेमा पनि कम्युनिष्टहरु नै पछिल्लो समय बढी देखिएका छन । द्धन्द्धकालमा मन्दिर भत्काउदै हिड्ने माओबादी जनप्रतिनिधहरु नै अहिले मन्दिर निर्माणका लागि लाखौं रकम छुट्याएको त झनै नौलो कुरा भएन ।

माओबादीलाई व्यवहारगत सुझाब
माओबादी पार्टीले अरु भन्दा फरक पार्टी हो र हामी संग फरक नेतृत्व छ भनेर देखाउनका लागि पुरै संभव नभएपनि केहि हदसम्म चाँहि पक्कै गर्नुपर्ने देखिन्छ । किताबी सिद्धान्तमा जस्तो सुकै राम्रो दस्तोबेज भएपनि गाउँमा रहेका नेता कार्यकर्ताहरुको व्यवहारमा परिवर्तन छैन भने सच्चा क्रान्तिकारी हुन सकिदैन । माओबादी नेता, कार्यकर्ता र सुबेच्छुक हुन केहि मापदण्ड पक्कै पनि बनाउनु पर्छ । यस्ता मापदण्ड सकेसम्म पार्टीको उच्च नेतृत्व देखि जनता सम्म र यदि त्यो संभव नभएमा कम्तिको केहि सिमा बनाएर अनिबार्य लागु गर्नु पर्दछ ।
अहिले मनोमानी रुपमा कसैले गर्ने र कसैले नगर्ने मनपरी भएको हुँदा माओबादी नेता कार्यकर्ताहरुको ब्यवहारगत खिचडी देखिएको हुन्छ । त्यसकारण तल उल्लेखित केहि बिषयमा गम्भीर रुपमा समिक्षा गर्न आवश्यक छ । यी बिषयहरुमा कम्तिको पनि केन्द्रिय समिति, प्रदेश समिति, जिल्ला समिति वा सबै आम सुबेच्छुक जनताहरुमा कुन सम्म अनिबार्य लागु गर्न सकिन्छ त्यसमा नैतिकताको प्रश्न उठाउदै कडाईका साथ लागु गर्नु पर्छ । तब मात्र अन्य पार्टी भन्दा माओबादी पार्टी फरक हुनेछ र सिद्धान्त र व्यवहारमा एकरुपता आउने छ ।

१, बिरामी पर्दा अस्पताल भन्दा पहिले धामीझाक्रि मात्र होईन माओबादी नेताले कुनै न कुनै रुप र प्रसंगमा ईश्वर छ भन्ने आशयको क्रियाकलाप ब्यक्त गर्ने की नगर्ने, ईश्वरका नाममा सपथ खाने कि नखाने, बिभिन्न पर्बहरुमा ब्रर्त बस्ने, देबिदेउताका नाममा बली चढाउने कि नचढाउने ।
२, केन्द्रमा प्रचण्डले दशैतिहारमा टिका नलगाएको समाचार आईरहँदा माओबादी अन्य नेता तथा जिल्ला स्तरका अध्यक्षहरु समेत टिकाजमरा लाएर सामाजिक संजालहरुमा फोटो पोष्ट गरिरहेका हुन्छ, चाडपर्बहरुमा नेताहरुको सामाजिक संकारमा एकरुपता ल्याउने कि नल्याउने ?
३,माओबादी नेता कार्यकर्ताहरु नै हिजोआज आफ्नो आफन्तको मृत्यु हुँदा १३ दिने संस्कार गर्ने, कपाल फाल्ने, ब्राह्मण बोलाएर पुजापाठ गर्ने र मृतकलाई स्वार्गमा पठाउन अनेक संस्कारहरु गरिरहेका हुन्छन भने कसैले रुढिबादी संस्कार भनेर नगरेको पनि पाईन्छ । माओबादी पार्टीको सिदान्तमा स्वर्गको कल्पना छ की छैन । माओबादीकै नेताहरुमा मृत्यु सहितका जन्म संकारहरुमा किन एकरुपता छैन ?

४, माओबादी दाईजोप्रथा र तामझाम सहितको बैबाहिक संस्कारको बिरोध गर्छ तर अधिकांस उसकै नेता कार्यकर्ता ठुलै भोजभत्तेर, गरगहना र दाईजो सहित बिहे संस्कार गरिरहेका पाउछौं । जनयुद्धताका हुदै आएको जनबादी बिबाहको अभ्यास शान्ति प्रकृयापछि व्यवहारमा एउटा पनि किन आउन सकेन । माओबादी नेता कार्यकर्ताहरुको बिहे संस्कार कस्तो हुने ?
५,धर्मका बिषयमा पनि माओबादी नेता कार्यकताहरु बिच निकै बिरोधभास कुरा र व्यवहारहरु रहेको पाउछौं । नेपालमा धर्म निरपेक्षता संबिधानमै भैसकेको छ तर नेपालका अधिकांस जनताहरुको आस्था हिन्दु धर्ममा रहेका कारण बेला बेला केहि व्यवहारगत समस्या पनि देखिने गरेको छ । द्धन्द्धकालमा माओबादीहरुले हिन्दुको प्रतिक वा राष्ट्रिय जनावर गाईलाई कोटेर खाने काम पनि भयो । तर संबिधानले गाई काटेर खाए मुद्धा लाग्ने प्रावधान स्थापित गरेको छ । द्धन्द्धकालमा गाई काटेर खाएको मुद्धामा प्रहरीले खोजी गरेपछि फरार हुँदा माओबादीमा लागेको घटनाक्रमहरु पनि छन । त्यसका साथै हिन्दु धर्ममा जोडिएका धेरै कुराहरु माओबादीले भन्दै आएको रुढिबादमा जोडिएका छन । रुढिबादको अन्त्य र धार्मिक स्वतन्त्रताका बिषयलाई कसरी लिने ? द्धन्द्धकालमा गाई काटेर खाने माओबादी आफै सरकार र संसदमा हुँन पनि अझै सम्म गाई कोटेर खाँदा मुद्धा लाग्ने कानुन कसरी बन्यो ?

६, द्धन्द्धकालमा माओबादीहरुले रक्सी गाउँगाउँमा खोजेर फाले । रक्सीका कारण समाजमा बिकृति मच्चीएको भन्दै त्यसो गरेको पाईन्थ्यो । तर शान्ति प्रकृयापछि स्थानीय रक्सीलाई गैरकानुनी भनेपनि बहुराष्ट्रिय कम्पनीका रक्सीहरु सरकारले अनुमति नै दिएर खुल्ला रुपमा बिक्रिबितरण र सेवन गर्ने वाताबरण सृजना गर्यो । माओबादी पनि पटक पटक सरकारमा जाँदा पनि त्यसको कुनै व्यवहारगत परिवर्तन गर्न गर्न सकेन । पहिले रक्सी खोजीखोजी फाल्ने नेताकार्यकर्ता नै अहिले रक्सीको डिलर संचालन गरेर बसिरहेको हुन्छन । अब माओबादी नेता कार्यकर्ताहरुले रक्सी चुरोट सेवन वा बिक्रि बितरण गर्ने कि नगर्ने ? बहुराराष्ट्रिय ठुला कम्पनीमा रक्सीहरु गाउँगाउमा खुल्ला रुपमा बिक्रिबितिरण हुँदा गाउँमा बनाईने सांस्कृतिक मदिरा कसरी अबैधानिक भयो ?
यस बाहेक हाम्रो दैनिक व्यवहारिक जीवनमा आईपर्ने धेरै बिषयमा माओबादी नेता कार्यकर्ता र सुबेच्छुकहरुमा माथी स्पष्ट मापदण्ड हुन जरुरी छ । नत्र सिद्धान्त र व्यवहारको सिमा कहिलैपनि भेटिदैन र जनताबाट आलोचित भैरहने छ । यी माथीका कुराहरु माओबादी बाहेक अरुले सुधार गर्नु पर्दैन भन्न खोजेको पटक्कै होईन । तर जनताको सामाजिक, आर्थिक र सांस्कृतिक रुपान्तरको लागि भन्दै लामो जनयुद्ध गरेका माओबादीका लागि यी कुरामा निश्चित गर्नु भने पहिलो सर्त नै हो ।

एकतापछिको कम्युनिष्ट र नयाँ माओबादी
हाल माओबादी केन्द्र फरक पार्टी भएपनि निकट भबिश्यमै नेकपा एमाले र माओबादी पार्टी एक हुदैछन । एकताको लागि अधिकांस कामहरु पुरा भैरहेको दाबी दुबै पार्टीहरुले गरिरहेका छन । एकताको लागि पहल गरेको लामो समय बितिसक्दा पनि अझै ठोस निर्णय चाँहि हुन सकेको छैन । नयाँ पार्टी बनेपछि पनि पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी राख्ने निर्णय गरेका छन । नाम फरक राखेपछि उक्त पार्टीको मार्गदर्शन सिद्धान्त माओ बिचार नै हुनेछ । त्यसकारण एकता पछि हुने एउटै पार्टीका नेता कार्यकर्ता र सुचेच्छुकहरुलाई पनि धार्मिक, सामाजिक, आर्थिक र सांस्कृतिक मुद्धामा व्यवहारगत एकरुपता हुन आवश्यक छ ।
त्यस्तै अहिले प्रचण्ड नेतृत्वको माओबादी संसद र सरकारमा छ भने बिप्लव र मोहनबैद्य नेतृत्वको माओबादी सडकमा छ । बिप्लवले माओबादी द्धन्द्धकालको जस्तै जनसरकार, जनअदालत घोषणा गर्दै संघर्षको कार्यक्रम संचालन गरिरहेको छ । तर यसले पनि व्यवहारगत रुपमा माथि उल्लेखित मुद्धामा खासै ध्यान दिएको पाईदैन । ब्यक्ति अनुसार उसको व्यवहार क्रान्तिकारी र रुढिबादी त्यसमा भर पर्दै आएको छ तर पार्टीगत नैतिककताको प्रश्न कतै देखिदैन । जब सम्म सिद्धान्त अनुसार कुनै पनि पार्टीको नेतृत्व, कार्यकर्ता र सुबेच्छुकको जीवनशैलि र व्यवहार परिवर्तनमा कुनै मापदण्ड बन्दैन तबसम्म सच्चा देशभक्त, क्रान्तिकारी वा जनमुखिको निरन्तरता हुन सक्दैन । त्यसका लागि अन्य ठाउँका भन्दा जनयुद्धका आधार ईलाका मानिएका रुकुम रोल्पाकै माओबादीबाट यसको व्यवहारगत परिवर्तन र नैतिककताको बन्धन बनाउन शुरुवात गर्न आवश्यक छ ।

Share Button

First and best news portal from rukum for world.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares