Input your search keywords and press Enter.

रुकुम पुर्ब : नयाँ जिल्ला, पर्यटनको नयाँ गन्तब्य

के.बि.मसाल
आजभोली प्रदेश नम्वर ५ को पुर्वी रुकुम पर्यटनको गन्तब्य बनेको छ । शहरी क्षेत्रको बढदो धुलो, धुवा र प्रदुषणबाट केहि समयको लागि भए पनि मुक्ति पाउन घुमफिरको रोजाइ पर्यटकहरुको पहाडी र हिमाली भेगमा हुने गरेको छ । पुर्वी रुकुममा प्राकृतिक, साँस्कृतिक, धार्मिक सम्पदा तथा मगर खाम बस्तीको अध्ययन अवलोकन र पद यात्राको रोमाञ्च अनुभुती पर्यटकले पाएका छन ।

मगर संस्कृतिको अध्ययन, ढोरपाटन शिकार आरक्ष, यार्सागुम्बा पाइने बुकिपाटनदेखि रुकुमकोटसम्म पर्यटकहरु पुग्ने गरेका छन । प्राकृतिक महत्वका सम्पदाका कारण अहिले पुर्वी रुकुममा पर्यटकहरु घुमघामको लागि जाने पर्यटकको सख्या क्रमश वृद्धि हुन थालेको छ । पुर्वी रुकुममा युद्ध पर्यटन अर्थात द गुरिल्ला ट्रेकिङको कारणले पनि आजभोली धेरै पर्यटकहरु पुग्ने गरेका छन । माओवादीले द्वन्द्वकालमा बनाएका आधार इलाका, द्वन्द्वका अवशेषहरु अब पर्यटकीयस्थल बनेका छन । गाउँमा अब होमस्टेको व्यवस्था हुन थालेको छ । गुरिल्ला पदमार्ग मगर खाम जातीको संस्कृति अध्ययनका लागिसमेत उपयोगी छ । तत्कालीन माओवादी र सरकारी पक्षको आक्रमणबाट बनेका अवशेष समेत पर्यटकहरुको लागि आकर्षणका केन्द्र बनेका छन् ।
गुरिल्ला पदमार्गमा पर्ने सम्पूर्ण स्थल द्वन्द्वताका तत्कालीन माओवादी र राज्य पक्षका सेना तथा प्रहरीले प्रयोग गर्ने मुख्य बाटोमा पर्दछ । गुरिल्ला पदमार्गमा साना–ठूला ताल, नदी तथा खोला, मन्दिर, झरनाको दृश्यावलोकन गर्न सकिन्छ । गुरिल्ला मार्गले धेरैजसो द्वन्द्वपीडित बस्ती छुने भएकाले द्वन्द्वपीडितको बेदना, क्षति भएका भौतिक संरचना एवं विभिन्न संस्कृतिको अवलोकन गर्दा तत्कालीन युद्धको अनुभूति हुनेछ भने यसले युद्ध गर्दा हुने असरका बारेमा शिक्षासमेत पर्यटकलाई दिने गर्दछ । अहिले पुर्वी रुकुम नेपाली मात्र होइन बिदेशि पर्यटकहरु समेत पुग्ने गरेका छन । समाजशास्त्र, मानवशास्त्र एवं राजनीतिशास्त्र का विद्यार्थीहरुका लागि अध्ययन, अनुसन्धान र खोज गर्नको लागि गुरिल्ला पदमार्ग गन्तब्य भएको छ । विदेशी पर्यटक अधिकांश द्वन्द्व व्यवस्थापनमा चासो राख्ने पर्यटकहरु भेटिएका छन । पर्यटकलाई गाउँमा बासको राम्रो व्यवस्था छ भने स्थानीयवासीको आतिथ्यता समेत पर्यटकलाई हुने गर्दछ ।
रुक्मीणी अर्थात कमलदहको नामबाट रुकुमको नाम रहेका हो । हिमालपारीको जिल्ला त होइन पुर्वी रुकुम तर पनि हिमाल भएकै कारण हिमाली जिल्ला भएको छ । अहिले रुकुम दुई जिल्लामा बिभाजन भएको छ । पूर्वी रुकुम प्रदेश नम्वर ५ मा पर्दछ । स्थानीय तहको नामकरणले पनि प्राकृतिक र सांस्कृतिक सम्पदाले पुर्वी रुकुम धनि मानिएको छ । सिस्ने हिमाल, पुथा हिमाल र मगर खाम क्षेत्रको प्रसिद्ध भूम्या नाचको नामबाट भूमे गाउँपालिका नाम राखिएको छ । सिस्ने हिमाल, मैकोटको पुथा हिमाल र सामझाङ हिमचुलीले पुर्वी रुकुमलाई प्राकृतिक सौन्दर्यता दिलाएको छ । जुन सौन्दर्यता गर्दा रुकुमकोट पुग्ने पर्यटकहरु रमाउने गर्दछन ।
राणा शासनमा रुकुमको पूर्वी भाग पाल्पाबाट र पश्चिम भाग सल्यान र जाजरकोटबाट शासित थियो । २०१७ सालसम्म पश्चिम रुकुमको चौरजहारी क्षेत्र जाजरकोट, हुकाम रन्मामैकोट क्षेत्र बागलुङ र मुसिकोट, रुकुमकोट क्षेत्र सल्यान जिल्लाको प्रशासनको मातहतमा थियो । राजा महेन्द्रले २०१८ सालमा ३६ बाट १४ अन्चल ७५ जिल्ला बनाएपछि सल्यान, जाजरकोट र बागलुङ जिल्लाका केही भाग मिलाएर रुकुम जिल्ला बनेको हो । सुरुमा रुकुमको सदरमुकाम रुकुमकोटमा थियो । अर्को तर्फ समग्र रुकुम रुकुमकोटे, मुसिकोटे र बाँफिकोटे राजाहरुले शासन गरेको क्षेत्र हो । रुकुम जिल्ला भएपछि सुरुमा २०१८ सालमा रुकुमकोट बसेको सदरमुकाम १२ वर्षपछि २०३० वैशाख १ गते मुसिकोट सारियो । २०३२ सालमा बागलुङ जिल्लाबाट हुकाम, मैकोट, रन्मा र तकसेरालाई रुकुममा गाभियो । अहिले राज्य पुनस्संरचनाका क्रममा जिल्ला विभाजन गर्दा रुकुम जिल्ला पूर्व र पश्चिम बन्न पुगेको छ । पूर्वी रुकुमको सदरमुकाम ४४ वर्षपछि रुकुमकोटनै तोकिएपनि फेरि सदरमुकामको लागि गोल्खाडा र रुकुमकोटको बिवाद हुन थालेको छ ।

रुकुमकोटमा मगर राजा, बोक्सेजार भन्ने भोटे राजाले राज्य गरेको स्थान हो । होचा अग्ला थुम्काहरुबाट सजिएको भौगोलिक संरचना, सानोभेरी नदी र रुकुमगार खोलाको संगम स्थल बिशाल धाउने बगर फाट बाटमाथी उठेको सुन्दर पहाडी उपत्यका रहेको छ । जुन ठाउमा पर्यटकहरु पुगेपछि त्यहाको दृष्यबाट आनन्द लिन सक्दछन । प्राकृतिक जलासय, अलौकिक कमलका फूलहरुले सजिएको कमल दह भएको रुकुमकोट ऐतिहासिक अध्ययनको लागी महत्वपूर्ण स्थल मानिन्छ । थुम्काहरुबीच–बीचमा लुकेका साना ठूला पोखरी र सुन्दर बस्तीहरुले दिने मनोरम प्राकृतिक सौन्दर्यता, आकर्षक भूबनोट सन्तुलित हावापानीको वातावरणले रुकुमकोट पुग्ने पर्यटकहरु प्रकृति संग रमाउछन ।

सिस्ने हिमाल पुर्वी रुकुमको उत्तरी सिमानामा अवस्थित रमणिय एबम् सुन्दर हिमाल हो । यसलाई स्थानिय भाषामा मुर्कट्टा हिमाल पनि भनिन्छ । यो कान्जिरोवा हिम श्रृखला अन्तर्गत पर्दछ । रुकुमकोटलाई वरिपरिबाट सर्प झै डांडांले घेरेको छ त्यसैले पहिले रुकुमकोटको नाम सर्पकोट थियो पनि भन्ने गरिन्छ । सिस्ने हिमालको वरिपरि बिभिन्न सना–ठूला हिम तालहरु रहेका छन् । रुकुमकोटको मैदान डांडांबाट सिस्ने हिमालको मनमोहक दृश्य हेर्न सकिन्छ ।
रुकुम जिल्लाको पूर्वीभेगको दुर्गम, बिकट, हिमाली, लेकाली बस्ती जहा खाममगर जातिहरुको बस्ती रहेको पहाडी भूगोल पर्दछ । खामबस्ती भाषा, सस्कृतीको अध्ययन अनुसन्धान गर्न खामभाषा बोल्ने बस्तीहरुको क्षेत्र पर्यटकहरुका लागी महत्वपूर्ण मानिन्छ । भाषा, संस्कृतिसँगै प्राकृतीक सम्पदाको खानी रहेको र पर्यटकहरुको लागि आकर्षण कै केन्द्र बिन्दु भन्दा पनि हुन्छ । पुर्वी रुकुम खाम भाषीहरुको साँस्कृतिक पहिचान भएका गाउँ र बस्तीहरुको रमणीय, ऐतिहासिक र प्राकृतिक छटाले श्रृगारिएको भूगोल हो ।

नेपालमा तीन किसिमको मगर भाषा छ । डोल्पाका मगरले काइके भाषा बोल्दछन । रुकुम र रोल्पाका मगरहरु खाम (अठार मगराती) भाषा बोल्छन् भने, पाल्पा, स्याङजा, तनहुँ र नवलपरासीका मगर ढुट (बाह्र मगराती) भाषा बोल्छन् । भाषा, संस्कृती, परम्पराले मगर जाती धनी मानिन्छ । मगरजातीको शारिरीक बनोट देखि रिति, रिवाज, रहनसहन, चालचलनमा छुट्टै खालको विशेषता रहेको छ । बिशेषत पहाडी इलाकामा बसोवास गर्ने भएका कारण पुर्वी रुकुमका मगरहरुले बाक्लो कपडाहरु लगाउने परम्परा रहेको छ । मगर जातीको संस्कृतिमा पनि छुट्टै खालको मौलिक पहिचान पाइन्छ । मगर जातीमा बहुल भाषा, संस्कृति, परम्परा र चाडपर्वहरु रहेका छन् । बिबिध संस्कृति, चाडपर्वको कुरा गर्दा अथार मगराँत क्षेत्रका मगरहरुले मनाउने संस्कृतिको प्रमुख चाडमा भुम्या (नोगोबाङ्गे) पर्वलाई लिने गरिन्छ । भुम्या पर्व भुमी देवताको कुनैपनि आपतविपत्त नहोस भनेर भुमी देवतालाई मनाउने पर्व हो । यो पर्वको शुरुवात कहिलेदेखि भयो ? त्यो खोजीकै विषय छ । तर पनि परमपरागत मगर खामहरुले मान्दै आएको पर्व हो । जेठ मसान्तबाट शुरु हुने भुम्या पर्व असार ५ गतेसम्म मनाइन्छ ।
पूर्वी रुकुमलाई आदिम सांस्कृतिक थलोको रुपमा चिनिन्छ । मगर खाम यहाँको मुख्य भाषा हो । मगर खाम समुदायको जीवनशैली हिमाली संस्कृतिसँग मिल्दोजुल्दो छ । पुर्वी रुकुममा पर्यटकहरु रमाउने भनेकै मगर खाम भाषाको अध्ययन, पाटन, वनस्पति, जंगल, नदीनाला, तालतलैया, वन्यजन्तुहरु पर्दछन । मगर खाम गाउँका बासिन्दा सामूहिकतामा विश्वास गर्छन् । सामाजिक एकताबिना उनीहरु आफ्नो अस्तित्व स्विकार्न नगर्ने सँस्कार छ । मगर खामहरुको गाउँमा समान संरचनामा घर निर्माण भएका हुन्छन । गाउँमा उनिहरुले खेतीपातीमा अर्मपर्मको सिद्धान्त र विकास निर्माणमा परम्परागत झाराप्रथा कायम राख्दछन । यो नै पुर्वी रुकुमको सामाजिक विशेषता हो ।

पुर्वी रुकुमको सांस्कृतिक नृत्यहरु सबै सामूहिक हुन्छन । लहरै पैसेरी, भूम्या, डिग्रे, झोल्हा नाचहरु मगर खाम बस्तीका परम्परागत सामूहिक नाच हुन् । भूम्या नाचमा पुरुषको गोलबद्ध लहरलाई महिलाले घेरिएको हुन्छ भने पुरुषहरु खुकरी भिरेर नाच्छन् । अगुवालाई पछ्याएर गोलबन्द भई नाच्नु भुम्या नाचको विशेषता हो । पाका र ज्येष्ठतालाई प्राथमिकता दिइने यो नाचमा युवायुवतीहरु पनि सामेल हुन्छन । भूम्या नाचले मुख्यगरी एकता, भ्रातृत्व र सामूहिकताको भावना प्रवद्र्धनसँगै सामाजिक सम्बन्ध विस्तार गर्ने सन्देश प्रवाह गर्छ । सिंगारु नाच यहाँको एउटा सांस्कृतिक गहना हो । पुरुषलाई एउटा निश्चित परम्परागत पहिरनले रुपवती महिलाको भेषमा सिंगारपटार गराई मादल, दुँदी र झ्याली बजाएर काव्यात्मक शैलीको गीतिकथा गाएर सिंगारु नचाइन्छ ।
टक्सार, कोलको विरगुम गाउको तामा खानी, पोखराको तातोपानी र सानोभेरीले पनि पर्यटकहरुलाई नया गन्तब्य स्थल बनाएको छ । यो बाहेक तकसेराको मनोरम वस्ती, उत्तर गङगा माछेमूल, कोल किनवाङ घनचौरको भेडाको बथान निस्कने ओढार हिमाली वन्यजन्तु र पशुपन्छीको वासस्थान लगायतका कतिपय पहिचान भएका र पहिचान हुन नसकेका भौगोलिक प्राकृतिक संरचनाहरुको धनि रहेको छ पुर्वी रुकुमको प्राकृतीक सम्पदा । पर्यटकहरुको लागि चुनबाङ, रुकुमकोट, महत, लुकुम, मोराबाङ, राङ्सी, कोल, तकसेरा, हुकाम, खाराबाङ, रन्मामैकोटलगायतका गाउँहरु पूर्वी रुकुमका मुख्य आकर्षक गन्तव्य हुन् । यी गाउँका बस्ती संरचना निकै लोभलाग्दा छन् । सबै गाउँको आ–आफ्नै विशेषता छन् ।

पोखरा बाग्लुङ भएर रुकुमकोट आउने पर्यटकहरुले पहिला ढोरपाटन पुग्न सकिन्छ । ढोरपाटन पुथा, चुरेन र गुर्जा हिमालको काखमा रहेको छ । फागुन महिनामा ढोरपाटन क्षेत्र लालीगुरासको फुलले सजिएको हुन्छ । चैत्र, बैशाख महिनामा गोवे्रसल्ला, भोजपत्र, ठिङगे्र सल्ला, सिदुर र धुपि सल्ला र देवदारका बनस्पतिले ढोरापाटन सिगारिएको हुन्छ । प्राकृतिक आनन्द लिन हिमालि भागको दृश्यावलोकन र बन्यजन्तु सिकारको रोमाञ्च अनुभुति लिन चाहने पर्यटकको लागि ढोरपाटन आनन्दको स्थल मानिन्छ । ढोरपाटनको अर्थ फराकिलो ठाँउ हो । ढोरपाटनके अर्को नाम हो बादलपारीको गाँउ । वरीपरी हिमालि दृष्य हिमालको काखमा राता डाँडा त्यसमुनि हरीयो जङगल, जङगल मुनि मैदानि भाग अनि बस्ति र कञ्चन पानिका स्वच्छ नदिको प्राकृतिक उत्तम उपहार हो ढोरपाटन । ढोरपाटनको दक्षिण पट्टी रहेको रुद्र तालको पानी कालिगण्डकिमा मिल्दछ । ढोरपाटन क्षेत्रमा झनु ताल पनि छ । त्यस तालको पानिबाट उत्तर गंगा अर्थात सानो भेरी नामबाट पुर्वी रुकुम जिल्ला प्रबेश गरी टकसेरा, कोल, नाथिगार, माछिने, सिम्ले हुदै भेरी नदिमा मिल्दछ । ढोरपाटनको उत्तर तर्फको गर्पा डाडाबाट कास्की, म्याग्दी, बाग्लुङ, गुल्मी, पाल्पा, र पुर्वी रुकुमका धेरै भूभाग देख्न सकिन्छ । त्यसैगरी उत्तर तर्फका हिमाल, चुरेन पुठा, हिमचुली, गुर्जा हिमाल, सिस्ने हिमाल, धौलागिरी हिमाल,माछापुच्छे्र, निल गिरी, अन्नपुर्ण हिमाल एकै ठाँउबाट देख्न सकिन्छ । ढोरपाटनमा हिमाल मात्र होइन, पार्मी ताल, मान्द्रे ताल, जाल्पा ताल, पुठातालले पनि पर्यटकहरुलाई आकर्षण गराउछ । पुर्वी रुकुमको गाउँठाउँको भ्रमणबाट धेरै किसिमका कुराहरु सिक्न र जान्न पाईन्छ । प्रकृति, समाज र प्रविधिको अवस्था, आवस्यकता र सम्भावनाहरुको पहिचान गर्न सकिन्छ । त्यसैले होला भ्रमणलाई खुल्ला विश्व बिद्यालय पनि भन्ने गरिन्छ ।

मिती ः– २०७४ फागुन १० गते दाङ

 

Share Button

First and best news portal from rukum for world.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares