Input your search keywords and press Enter.

स्यालाखदीलाई विकाससंग जोडेर पर्यटकीय स्थल बनाऔं

हरि जिज्ञासु
रुकुम जिल्ला देशको राजधानी काठमाण्डौं देखि २८० किलोमिटर पश्चिममा पर्छ । स्थानीय तह सरकार सञ्चालनको लागि सिंगो रुकुमलाई दुुई भागमा विभाजन गरियो । पूर्वी रुकुम र पश्चिम रुकुम । ठूला–ठूला हिमाल, पहाड र यार्सागुम्वा क्षेत्र भएकोले पुर्वी रुकुमलाई हिमाली जिल्ला घोषणा गरिएको छ । पश्चिम रुकुम हिमाली जिल्लाको रुपमा सूचीकृत नभएता पनि पर्यटकहरुको मन लोभ्याउन सक्ने धेरै राम्रा स्रोतहरु छन् ।

पश्चिम रुकुमको सदरमुकाम मुसिकोट खलंगाबाट यात्रा सुरु गरेपछि उत्तरमा रहेको आठविसकोट नगरपालिका पुग्न सकिन्छ । आठविसकोट, आठविस डाँडागाउँ, घेत्मा, स्याँलाखदी, गोतामकोट र मग्मा गाविसको ७ र ८ नम्बर वडा मिसाएर बनेको आठविसकोट नगरपालिकामा जम्मा जनसंख्या ३३६०१, क्षेत्रफल ५६०३४ वर्ग कि.मी. र १४ वटा वडा रहेको छ । यदि आठबिससकोट नगरपालिकाको केन्द्र राडि बजार नपुगेर सिधै रमनीय दृष्यहरु हेर्नको लागि स्यार्पुताल अवलोकन गरी बाँफिकोटको काँडा हुँदै पैदल यात्राबाट स्याँलाखदी पुग्न पनि सकिन्छ । बीचबाटोमा झारमारे लेक, ठूला खर्क, सानो खर्क लगायत रमणीय ठूला–साना रुखहरु र भेडा गोठालाहरुलाई भेट्दै स्याँलाखदी पु्ग्नुको मजा छुटै हुन्छ । आठविसकोट नगरपालिकाको केन्द्र राडि बजारमा पुगेर कर्णाली नदीको तिर तिरै आठविसकोटको दाजे, डाँफे र खामेको लेक हुँदै स्याँलाखदी पुग्न पनि सकिन्छ ।

अथवा सिस्ने हिमालको फेदिबाट कलकल गर्दै बग्दै आएर ठूलोभेरीमा मिसावट हुने जलिगाडको तिर हुँदै विभिन्न रमणीय दृष्य हेर्दै पनि स्याँलाखदी पुग्न सकिन्छ । पश्चिममा जाजरकोट जिल्ला, उत्तरमा डोल्पा जिल्ला, पूर्वमा पूर्वी रुकुमको सिस्ने गाउँपालिका, दक्षिणमा सानोभेरी र बाफिकोट गाउँपालिका पर्ने आठविसकोट नगरपालिकाको वडा नं.१,२,३ नं. वडा पर्यटकीय दृष्टिले अति उत्तम मानिन्छ ।

सिस्ने हिमाल ः पूर्वी रुकुमको सिस्ने गाउँपालिका र आठविसकोट नगरपालिकाको वडा नं. १ स्याँलाखदीको बीच केन्द्रमा पर्ने सिस्ने हिमालको उचाई समुन्द्री सतहदेखि करिब ५९११ मिटर रहेको छ । पहिलेदेखि नै सिस्ने हिमाल रुकुम जिल्लामा पर्छ भन्ने थाह भएतापनि कुन गाविसमा पर्छ भन्ने एकिन थिएन । सिस्ने गाउँपालिकाको नामले सिस्ने हिमाल सिस्ने गाउँपालिकामा परेता पनि बढि जसो भूभाग आठविसकोट नगरपालिकाको वडा नं १ मा पर्छ ।
पञ्च वर्षे यार्सा ः अहिले हिमाली जिल्लामा समेटिएको र हिमाली जिल्ला डोल्पासँग सिमाना जोडिएको पूर्वी रुकुमको पूथा उत्तरगंगा गाउँपालिकामा प्रत्येक वर्ष पाईने बहुमुल्य यार्सागुम्बा भन्दा फरक यार्सागुम्ममा आठविसकोट नगरपालिकाको वडा नं १ स्याँलाखदीमा पाईन्छ । अच्चमको कुरा त के छ भने अन्य ठाउँमा वर्षेनी पाइने यार्सा स्याँलाखदीमा पाँच वर्षको एकपटक सिस्ने हिमालको फेदिमा र त्यस आसपासमा थुप्रै पाटनहरुमा पाइन्छ । यार्सागुम्बा विक्रिहुने प्रचलन आएपछि र त्यहाँ यार्सा पाइन्छ भन्ने पत्ता लागेपछि स्थानीयवासीहरुले यार्सागुम्बा टिपेर ल्याएर गाउँमा मान्द्रोमा सुकाएको इतिहाँस छ । सिस्ने हिमालमा यार्सागुम्बा पाइन्छ भन्ने पत्ता नलाग्दासम्म ती सिस्ने हिमालको फेदिमा रहेको रमणीय स्थलहरुमा जोकोहीको प्रवेश हुँदैन्थ्यो र त्यो ठाउँ धेरैले देख्न पनि पाएका थिएनन् । प्रयाजसो सिस्ने हिमालको फेदिमा पञ्चवर्षिय यार्सा पाइन्छ भन्ने कुरा पहिलो सिकारीहरुले पत्ता लगाएको हुनुपर्छ ।

किनकि सिकारी बाहेक त्यो हिमालमा जोकोही व्यक्ति विनाकाममा पुग्न सक्दिैन्थ्यो । जव पञ्च वर्षिय यार्सा पत्ता लाग्यो त्यसपछि स्याँलाखदी गाविसका स्थानीयहरुले त्यो ठाउँको अवलोकन राम्ररी गर्न पाएका हुन र म आफै पनि त्यो ठाउँमा पुगेको छु । अझै पनि मोटर बाटो नपुगेको स्याँलाखदीमा सिस्ने हिमालको फेदमा जाने बाटो झन कस्तो होला भन्ने कल्पना कर्दा नै प्रष्ट हुनेगर्छ त्यहाँसम्म पुग्ने बाटो जटिल छ भन्ने कुरा । केही वर्ष यता अलि सहज बनाइएको छ । प्रकृतिले दिएको सुन्दर उपहारलाई त्यहाँका मान्छेहरुले यस्तो कुरा अन्त कतै छैन भन्ने आशामा मन बुझाउँछन् । त्यति धेरै प्रकृतिले दिएको उपहारलाई संरक्षण गर्नुपर्छ, देश भित्रका र देश बाहिरका पर्यटकहरुलाई ती रमणीय दृष्यलाई अवलोकन गर्नेको लागि सहज वातावरण बनाउँनुपर्छ, भन्ने चेतनाको विकास अझ हुनसकेको छैन । स्थानीय तहको निर्वाचन आसपासमा फरक–फरक पार्टीका जनप्रतिनिधिले आठविसकोट नगरपालिकाको स्याँलाखदीलाई पर्यटकहरुको गन्तव्य स्थल बनाउँने भनेर प्रतिवद्धता जाहेर गरेका थिए । तर अहिले उनीहरुको प्रतिवद्धता मौन रहेको पाइन्छ । मोटरबाटो, बिद्युत, सञ्चार लगायत शिक्षा र स्वास्थ्यको कुराबाट धेरै पछि परेकोले स्याँलाखदीलाई आठविसकोट नगरपालिका भन्न पनि नसुवाउने जस्तो छ । यी अति आवश्यक कुराहरुको पुर्ति गरेपछि स्याँलाखदी पश्चिम रुकुमको एउटा पर्यटकीय गन्तव्य स्थल बन्ने पक्का छ । एउटा आफ्नै फरक साँस्कृति र फरक रहनसहन होला जस्तो गरी टम्म मिलेर रहेका ढुङ्गाले छाएका घरहरु । ती घरहरुको ठीक अगाडि पट्टी सेताम्य हिउँले भरिएर मुसुक्क मुस्कुराएको सिस्ने हिमाल । सिस्ने हिमालको काखबाट बगिरहको दर्जनौ रहरलाग्दा झरणाहरु । झरणहरु बढि भएर होला सायद ती झरणका नाम समेत राख्न भ्याएका छैनन् त्यहाँका मान्छेहरुले । साँच्चि सुन्दरताले भरिएको छ स्याँलाखदी । पूर्ववाट उदाएको सूर्यले सबै भन्दा पहिले सिस्ने हिमालको टुप्पोलाई ठक्कर दिएपछि सिस्ने हिमालको छाया वडा नं. २ मा पर्ने पहाड गाउँकामा रहेको एउटा परिचित काँडा दहमा पर्न जान्छ । यो दृष्य सबैले एकपटक हेर्ने पर्ने देखिन्छ ।

प्रमुख रमणीय दृष्यहरु ः सिस्ने हिमाल, काँडा दह, चित्रिपाटन र चित्रिपाटबाट बगेका नौधारी झरणहरु एउटै पाटनबाट नौ भन्दा बढि झरणाहरु झरेको दृष्य देख्न सकिन्छ । झारमारे लेक, भुनबुने लेक, चोपा खोला झरणा, ठूला खर्क, सानो खर्क, जलिगाड, झिम्रु खोलामा रहेको थुप्रै झरणाहरु र बन मौरीले आफ्नो गुड बनाएका धेरै ठूला ठूला पहराहरु र सिस्ने हिमालको काखमा भएका तर पछि पत्ता लागेर अझै पनि नाम नराखिएका थुप्रै झरणाहरु छन् जुन झरणाको छेउछाउमा वर्षौसम्म पनि नपग्लीएर हरियो भएको हिउँको दृष्य हामी देख्न सक्छौं । त्यसैले पश्चिम रुकुमले पर्यटन क्षेत्रका लागि स्याँलाखदीलाई केन्द्रविन्दु बनाएर विकासको कामहरु अगाडि बढाउन नितान्त आवश्यक छ । यदि स्याँलादीलाई पर्यटन क्षेत्रमा विकास गर्ने हो भने पश्चिम रुकुमले छिट्टै एउटा सुन्दर पहिचान पाउँनेछ । स्याँलाखदीवासीहरुको जनजीवनमा पनि केही परिवर्तन आउनेछ । आर्थिक विकासले फट्को मार्नेछ । हाम्रो संस्कृति जोगिनेछ । यही हाम्रो सानो प्रयासले हाम्रो देशलाई नै फाइदा पुग्नेछ ।

Share Button

First and best news portal from rukum for world.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares