Input your search keywords and press Enter.

जनसरकार र स्थानीय सरकारको अनुभव फरक छ

  • झरणा शाही संयोजक, बिधेयक समिति
    बाँफिकोट गाउँपालिका, रुकुम पश्चिम

रुकुम पश्चिम बाँफिकोट गाउँपालिका ५ बडागाउँकी झरणा शाहीको जीवन निकै संघर्षशिल छ । देशको राजनीतिक प्रणाली तथा जनताको जीवनस्तर परिवर्तनका लागि भन्दै सानै उमेरमा तत्कालिन नेकपा माओबादीमा होमिएकी शाही कयौं पटक मृत्युको मुखबाट बचेर अहिलेको समयसम्म आएको बताउछिन । राजनीतिको क्रममा एरिया सदस्य देखि जनमुक्ति सेनाको कमाण्डर सम्ममा आफ्नो भुमिका प्रस्तुत गरीसकेकी शाही बेनी देखि चर्चित खारा आक्रमणमा सहभागी भएको बताउछिन । युद्धक्रममा पार्टीको लागि बालबच्चा, घरपरिवार र आफ्ना सम्पुर्ण ईच्छाचाहाना त्यागेर पनि महत्वपुर्ण समय गुमाएको भएपनि पार्टीले आफ्नो योगदान नचिनेको भनेर बेलाबेला गुणासो गर्ने शाही शान्ति प्रकृयाका केहि समय माओबादी पार्टी बिग्रीएको भन्दै फरक बिचार बोकेर पनि राजनीति गरिन । जेजस्तो भएपनि जनयुद्धको उपलब्धीबाट आएको नयाँ शासन प्रणाली मार्फत आफ्नो गाउँको विकास र समृद्धि अभियानमा लाग्नुपर्छ भन्ने उदेश्यका साथ स्थानीय चुनाब अघि मुल पार्टीमै जोडिएकै उनी वडा सदस्यमा उठि निर्बाचित भएर हाल बाँफिकोट कार्यपालिका अन्र्तगत बिधेयक निर्माण समितिको संयोजकको भुमिका समेत छिन । उनै शाहीसंग उनको जीवनका संघर्ष, राजनीतिक घटनाक्रम, गाउँपालिका गतिबिधि र गाउँपालिकाबाट निर्माण भैरहेका ऐन, नियम र कार्यबिधिको प्रगति बिषयमा आहा सञ्चारका लागि सम्पादक मेगराज खड्काले गरेको कुराकानी ।

कुराकानीको शुरुवात तपाईको राजनीतिक जीवनबाटै गरौं, जनयुद्धमा लाग्नुपर्छ भनेर कसरी चेतना र पे्ररणा जाग्यो ?
मेरो सानै देखि राजनीतिमा रुचि थियो । त्यसैले होला सानै उमेरदेखि बिद्यार्थी संगठनमा रहेर काम गरे । माओबादीको बिद्यार्थीको संगठनमा रहेर काम गर्दा सरकारी सुरक्षा निकायबाट निगरानी बढ्दै गएपछि कक्षा ९ मा पढ्दै गर्दा म १६ बर्षको उमेरमा तत्कालिन नेकपा माओबादीको जनयुद्धमा होमिए । २०५४ सालमा पार्टीको सम्पर्कमा गएर म पुर्णकालिन राजनीतिमा संलग्न भए । जनयुद्धमा गएर देशको शासन प्रणालीमा परिवर्तन गर्नुपर्छ, जनताको जीवन स्तर परिवर्तनका लागि जनयुद्धमा संलग्न हुनु नै एउटा सच्चा क्रान्तिकारीको भुमिका हो भन्ने स्कुलिंग नेताहरुबाट आएपछि म झन उत्साहित भएर लागे । माओबादी नेता लोकेन्द्र बिष्टमगर र जनार्दन शर्मा लगायतका नेताहरुको प्रेरणा नै मुख्य रुपमा रह्यो । शुरुमा एरिया कमिटि सदस्यबाट आवद्ध भएर २०५५ सालमा अनेमासंघ क्रान्तिकारी रुकुमको सचिबालय सदस्य हुदै पार्टीको आवश्यकता अनुसार जनमिलिसियामा आवद्ध भएर लडियो । त्यसपछि त जनमुक्ति सेनाको कम्पनी कमिसार भएर बेनी र खारा जस्ता बिभिन्न आक्रमणहरुमा सहभागी भइयो । यसक्रममा धरै पटक मृत्युको मुखबाट बचियो, धेरै संघर्ष र धेरै दुखका साथ माओबादी आन्दोलन र जनयुद्धमा योगदान गरियो ।

एउटा महिला जनमुक्ति सेना कमाण्डर भएर लड्दाभिड्दा धेरै संघर्ष आए भनेर भन्नुभयो । केहि त्यस्ता पल छन, जो अहिले पनि मानसटलमा आईहरन्छन ?
त्यस्ता घटनाक्रम त धेरै छन । युद्धक्रममा मृत्यु बाहेक सबै दुख भोगियो । युद्धबेला भागेका धेरै घटनाहरु आजभोली पनि सपनामा आएर निद्रा हराउने गरेको छ । जनयुद्धक्रममा धेरै पटक आर्मीप्रहरीको घेराबाट भागेर बाँचिएको छ । शत्रुको पञ्जाबाट फुत्केर बाँच्दाको अनुभव धेरै छन, जो अहिले पनि ताजा अनुभव छ । २०५७ सालको लिस्ने गामको आक्रमण, खारा र बेनी आक्रमणका केहि पलले अहिले पनि सताउने गर्छन । बेनी आक्रमणमा म कम्पनी कमिसारको भुमिकाममा थिए । बेनी आक्रमण सफल गरेर हामी हातहतियार देखि डिएसपि सहितका प्रहरीलाई कब्जा गरेर फर्कदै थियौ । म सगै दांङको साथी मेलिना चौधरी र गणेशमान पुन पनि हुनुहुन्थ्यो । त्यहि क्रममा सेनाले माथीबाट हेलिकप्टर मार्फत बमगोली बर्षा गर्न थाल्यो, सबैलाई अढेस लागेर सुरक्षित हुन कासन गरियो तर पनि मेरो एकदमै मिल्ने अनी मेरै छेउकी साथी मेलिना चौधरीलाई गोली लागेर सहिद हुनुभयो । त्यो पल सम्झेर म अहिले पनि पिडाबोध हुन्छ अनी सपनमा पनि बारम्बार आईरहन्छ ।

जनयुद्धक्रममा नै तपाईले जनबादी बिबाह गर्नुभएको थियो, जनयुद्धक्रममा माया, प्रेम कसरी भयो अनी बालबच्चाको हेरचाह कसरी गर्नुभयो ?
हो मैले जनयुद्धक्रममै बिबाह गरेको थिए । मेरो जीवन साथी चन्द्र बहादुर शाही पनि शुरुवातदेखि नै जनयुद्धमा होमिनु भएको थियो । मेरो राजनीतिक प्रेरणामा उहाँ पनि हुनुहन्छ । जनयुद्धक्रममै माया र प्रेम बस्यो । जसअनुसार पार्टीको अनुमति लिएर युद्धमैदानकै क्रममा जनबादी बिबाह नै भएको हो । बिबाह पश्चात २०५५ सालमा नै मेरो बच्चा जन्मियो । मौराखारा जंगलमा मेरो बच्चा जन्मिएको हो । पेटमा बच्चा हुँदा अरु बेला त कति दुख हुन्छ आमालाई पेटको बच्चा सहित बमगोलीसंग लड्दा भिड्दाको पल कस्तो हुन्छ, तपाई पनि सहजैअनुमान गर्न सक्नुहुन्छ । मौराखारा जंगलमा बच्चा जन्माएर बसिरहेको छ भन्ने सेनापुलिसले थाहा पाएर एकदिन त्यहि पुगेछ, म सानो बच्चा सहित घेरा तोडेर भागेकी थिए । एकतातिर ग्रिनेट अर्कोतिर सानो बच्चालाई काँखमा च्याप्दै कहिले घर, कहिले गोठ, कहिले ओढार गर्दै दैनिक गुजारियो । बच्चा डेढ बर्षको भएपछि बच्चालाई पार्टी अन्र्तगत संचालित शिशु स्याहार केन्द्रमा छोडेर म रुकुम रोल्पा जिल्लाका केहि भागलाई समेटेर बनाएको बिशेष जिल्लाको महिला बटालियन कमिसार भएर पुनः सक्रिया युद्धमोर्चामा लागे ।

ज्यानको बाजि थापेर जनयुद्धमा होमिएको तपाई शान्ति प्रकृयापछि माओबादी पार्टी बिग्रीएको भनेर मोहनबैद्य किरण समुहको राजनीतिमा पनि लाग्नु भयो, अहिले मुल पार्टीमै हुनुहुन्छ । प्रचण्ड नेतृत्वको पार्टीमा कसरी बिचलन आयो ?
जनयुद्धको पार्टी र अहिलेको पार्टी पक्कै पनि बिग्रीएकै हो । शान्ति प्रकृयापछि अवसरबादीहरुको पार्टीमा प्रबेश र बर्चश्व भएर पार्टी बिग्रीएको त कसैले नकार्न सक्दैन । जनयुद्धक्रममा निकै दुख कष्ट गरेका कमरेडहरुलाई बिर्सिने र चिल्लो घसाउन तगडाहरु अघि बढ्ने अवस्था आएपछि पार्टी बिग्रीएको भन्दै मैले पनि फरक बिचार राखेकै हो । रुकुमको सन्दर्भमा मेरो भन्दा सामान्य योगदान भएका पनि ठुल्ठुलो पद र अवसरमा मात्र पुगेनन् हामीलाई चिन्न समेत छोडेपछि केहि त पक्कै संघर्ष गर्नु थियो । किरण समुह पार्टीबाट बाहिरिएपछि हाम्रो क्षेत्रको नेता पुर्ण घर्ति हुनुहन्थ्यो । उहाँले पनि पार्टी बिग्र्रीएको र अब तपाई हामी सच्चा क्रान्तिकारीहरु मिलेर जनयुद्धबाट प्राप्त उपलब्धीको रक्षा गर्नुपर्छ भन्ने जस्ता कुरा राखेपछि पनि प्रभाबित भए । केहि बर्ष त्यहाँ रहँदा पनि किरण समुह जुन अर्थका साथ अर्को फरक पार्टी बनेको थियो, त्यो पुरा गर्ने दिशामा अघि बढेन । स्पष्ट र प्रभावकारी नीति र कार्यनीति भएन । त्यसपछि म निस्कृए भएर गाउँमै बसेको थिए । स्थानीय चुनाबको बेला माओबादी रुकुमका अध्यक्ष गोपाल शर्मा लगाएका नेताहरुबाट पुन पार्टी जोडिन आग्रह आयो । मलाई पनि लाग्यो कि अन्य नयाँ पार्टीको पनि सहि रणनीति नभईरहेको अवस्था र हामीले नै रगत पसिना बगाएर आएको गणतन्त्र, नयाँ संबिधान र स्थानीय सरकार मार्फत विकास, शान्ति र समृद्धिमा जोडिनु नै उत्तम हुन्छ भनेर माओबादीमै जाडिए र अहिले वडा मार्फत निर्बाचित भएर गाउँपालिकाको कार्यपालिकामा छु । कार्यापालिकाले मलाई नयाँ बिधेयक बनाउने समितिको संयोजक जीम्मेबारी दिएको छ ।

लामो समयपछि जनप्रतिनिधीहरु निर्बाचित भएर काम शुरु गरेका छन । स्थानीय सरकार बनेपछि केहि परिवर्तन आएजस्तो लाग्छ ?
करिब दुई दशक पछि जनप्रतिनिधीहरु चुनिएर आएका छन । म पनि एउटा त्यसकै पात्र हु । सर्बप्रथम त नयाँ जिम्मेबारी दिनुभएकोमा सम्पुर्ण न्यायपुर्ण जनताहरुलाई धन्यबाद दिन चाहान्छु । ताजा निर्बाचनपछि स्थानीय सरकारबाट केहि राम्रा कामको शुरुवात भएको छ तर पनि पुगेजस्तो चाँहि मलाई पनि लागेको छैन । अहिले सम्म आउँदा पनि धेरै गर्नुपर्ने थियो त्यो संभव भएको छैन । एउटा कुरा दुई दशक पछि जनताहरुले निर्बाचन पश्चात आफनो जनप्रतिनिधीहरु पाएका त्यस बिचमा खाली रहेको विकास खाडल निकै ठुलो छ, जनताका ईच्छा, चाहाना र विकास आवश्यकता धेरै छ । त्यो पुरा गर्नका लागि छलाङ मारेर नै विकास अभियान र नीति अपनाउनु पर्छ । तर संघिय सरकार र स्थानीय सरकारको नयाँ अभ्यास संगसगै भएका कारण जनप्रतिनिधीहरु समेत अन्योलमा छौं । आफै नयाँ कानुन बनाउदै अघि बढ्नुपर्ने अवस्था छ । त्यसकारण केहि सोचेअनुसारको काम नभएको पक्कै हो तर पनि केहि काम नमुना रुपमा नै भएका छन । हाम्रो गाउँपालिकाको हकमा कुरा गर्दा सबै वडामा पुग्नका लागि कच्ची सडकको भएपनि सञ्जाल पु¥याउन सफल भएका छौं । त्यस्तै खानेपानी, शिक्षा, स्वास्थ्य र पर्यटन लगायतका बिभिन्न बिषयमा ऐन र कार्यबिधि बनाएर काम गर्दै छौं । गाउँपालिका अन्र्तगतको एउटा अस्पताल संचालनका लागि उद्घाटन भएको छ भने महिला र अन्य लक्षित समुदायको आर्थिक र चेतनाको रुपमा अगाडि बढाउन बिभिन्न गतिबिधी पनि भएका छन । जनताहरुको सक्रिय साथ छ, हाम्रो कार्यकालमा नमुना बाँफिकोट बनाएर छाड्छौं ।

तपाई यस गाउँकार्यपालिका अन्र्तगत महत्वपुर्ण मानिएको बिधेयक निर्माण गर्ने समितिको संयोजक पनि हुनुहुन्छ ? के कति कानुन पारित भए र के कति नयाँ बनाउने तयारी गर्दै हुनुहुन्छ ?
एकदम, म त्यसको जीम्मेबारीमा दिनरात खटिएर लागि परिरहेकी छु । स्थानीय सरकार संचालनका लागि अधिकांस ऐनकानुनहरु आफै बनाएर कार्यन्वयनमा जानुपर्ने भएका कारण पनि यो निकै महत्वपुर्ण पनि छ । केहि संघिय सरकारबाट प्राप्त भएका नमुना कानुन, केहि आफ्नै ज्ञानसिप र केहि अन्य स्थानीय तहका साथीहरुसंग सहकार्य गरेर करिब १७ वटा ऐन, कार्यबिधि बनाएका छौं । जसमा गाउँपालिका संचालन नियमावली देखि लिएर शिक्षा, सहकारी, कृषि र आर्थिक कार्यबिधि लगाययत छन । यो कानुन बनाउने कुरा यति बनाएर पुग्छ भन्ने रहेनछ, जहाँ र जतिबेला आवश्यक पर्छ त्यहिबेला त्यस सम्बन्धी कानुन बनाएर कार्यन्वयन गर्नुपर्ने अवस्था छ । सभ्य समाज निर्माण गर्न मदिराजन्य चिजहरुको व्यवस्थित वा समय तोकेर बिक्रिबितरण गर्न दिने वा निषेध गर्ने जस्ता बिषयमा पनि छलफल चलिरहेको छ । त्यस्तै बाँफिकोट पर्यकटीय क्षेत्रको रुपमा समेत रहेका यहाँ रहेको स्यार्पुताललाई नमुना पर्यटकीय स्थलको रुपमा विकास गर्न र त्यहाँबाट गाउँपालिकाले आम्दानी गर्न सक्ने खालको बृहत गुरुयोजना र कार्यबिधि पनि बनाउने तयारीमा छौं ।

जिल्लाका अन्य गाउँ तथा नगरपालिकाहरुले यहाँको भन्दा पहिले नै धेरै कानुनहरु पारित गरेर कार्यन्वयनको चरणमा समेत आईसकेका छन, बाँफिकोटमा ढिलो हुनुको कारण के हो ?
अन्य गाउँ तथा नगरपालिकाको भन्दा खासै पछि परेको जस्तो त लाग्दैन । हामीले पनि नयाँ ऐनकानुन बनाएर धेरै काम गरेका छौं । अरुको थोरै गरेर पनि धेरै प्रचार भएको छ हामी गरेर पनि प्रचार नभएको हो जस्तो मलाई लाग्छ । तपाईले लिएको यो अन्र्तवार्ताले पनि हाम्रो गाउँपालिकाले विकास निर्माण देखि ऐन कानुन बनेको कुरामा धेरै प्रचारप्रसार हुन्छ होला भन्ने मैले बिश्वास दिएको छु । हाम्रो गाउँपालिका मात्र होईन अन्य ठाउँहरुमा पनि केहि ऐनकानुनहरु बनाउने कुरामा सोचेअनुसारकै समयमा त पुरा भएकै छैनन् । कार्यपालिकालाई कर्मचारीतन्त्रबाट पनि आवश्यक र मन खोलेर सहयोग नहुँदा केहि समस्या पनि छन । स्थानीय तहमा कानुन बन्नुभन्दा पहिले केहि कानुन प्रदेश सकारमा पनि बन्नु पर्छ । प्रदेश सरकार भर्खर मात्र गठन भएको छ । अब त्यहाको सरकारले केहि कानुन बनाएर पारित भएसगै त्यससंग जोडिएका केहि कानुनहरु पनि हामीलाई बनाउन सजिलो हुन्छ । नेपालको ईतिहासमै संघिय र स्थानीय सकारकार नयाँ अभ्यास हो, सबैमा अनुभव र ज्ञानको समस्या नहुने कुरा पनि भएन तर समग्रमा हेर्दा राम्रो र सकारात्मक रुपमा लिनुपर्छ ।

तपाईहरुले माओबादी जनयुद्धकालमा जनसकार चलाउनु भयो, अहिले आएर स्थानीय सरकार पनि चलाउदै हुनुहुन्छ, यी दुई सरकारमा के फरक, अनी कुन जटिल ?
धेरै फरक छ । कार्यन्वनको हकमा जनसरकार जस्तो प्रभावकारीता यो सरकारमा मैले पाउन सकेको छैन । हामीले जनसरकार चलाउदा हामी एउटै विचार र उदेश्य बोकेका राजनीतिक नेतृत्व देखि कर्मचारीको भुमिकामा हामी आफै हुन्थ्यौ । अहिले त्यस्तो छैन, राजनीतिक नेतृत्वले राम्रो भिजन सहितको कार्यक्रम ल्याएपनि कर्मचारी तन्त्रबाट अवरोध गर्ने र असहयोग गर्ने खालका गतिबिधी देखापरिहेका हुन्छ । राजनीतिक नेतृत्व र कर्मचारीको बिचार र भावना अधिकांस ठाउँमा मिलेको पाईदैन ।

रुकुममा त माओबादी सरकार भनेपनि स्थानीय सरकार भनेपनि फरक नपर्ने खालको छ, एकलौटि जित हाँसिल गरेर गाउँ तथा नगरपालिका चलाउनु भएको छ । प्रतिपक्षहरुको भुमिका कस्तो पाउनुहुन्छ ?
एकदम तपाईले भनेजस्तै रुकुममा त्यस्तो छ । कहिले पार्टीको बैठकमा छु की कार्यापालिकाको बैठकमा छु भन्ने झुक्कीन्छु । रुकुम जिल्लामा एकलौटि नेकपा माओबादी केन्द्रको राजनीतिक नेतृत्वले नै स्थानीय सकारकार चलाएको छ । खासगरी जिल्लामा क्रियासिल रहेका अन्य दुई पार्टी एमाले बाम गठबन्धनका कारण असहयोगको अभ्यास गर्ने कुरा भएन कहिले काँहि नेपाली काग्रेसका साथीहरुरुले सानोतिनो निहुँ खोज्ने काम हुन्छ तर प्रभावकारी प्रतिपक्षको आभास नै छैन । अन्य पार्टी छ की छैन जस्तो लाग्छ ।

Share Button

First and best news portal from rukum for world.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares