Input your search keywords and press Enter.

शान्तिको ‘मौन विद्रोह’मा समाज

  • श्रीराम श्रेष्ठ

गजलकार शान्ति अधिकारी पोखरेल दोस्रो गजलकृति ‘मौन विद्रोह’का साथ आएकी छन् । यसअघि उनको ‘शान्ति बाटिका’ गजलसङ्ग्रह प्रकाशित छ ।
मोतिराम भट्ट (१९२३–१९५३) बाट सुरू भई मोति मण्डली, शम्भुप्रसाद ढुङ्गेल र भीमनिधि तिवारी हुँदै आएको गजल परम्परामा आज सयौँ स्रष्टाहरू अत्यन्त सक्रियताका साथ लागिरहेका छन् । तिनै मध्ये साधनारत एक सफल गजल स्रष्टाको नाम हो शान्ति अधिकारी पोखरेल । कोहलपुर बाँकेकी स्थायी बासिन्दा शान्तिले विगत एक दशकदेखि कविता, गजल र मुक्तक विधामा कलम चलाउँदै आएकी छन् ।
प्रस्तुत सङ्ग्रह ‘मौन विद्रोह’मा शान्तिले वि.सं. २०६९ वैशाख १ गतेदेखि वि.संं २०७१ जेठ ७ गतेसम्म रचना गरेका एक सय बीस वटा गजल समाविष्ट छन् । यसमध्ये कतिपय गजल विभिन्न अनलाइन, राष्ट्रिय तथा स्थानीय पत्रपत्रिकाका साथै मुहार–पुस्तिकामा प्रकाशित भइसकेका हुन् । यी गजलले समाजका विविध विषयको प्रतिनिधित्व गरेका छन् ।

प्रेम, प्रणय, संयोग, वियोग, त्याग–समर्पण, राष्ट्र–राष्ट्रियता, वेदना, कुण्ठा, निराशा, शान्तिको चाहना, नारी चेतना, सामाजिक विकृति र विसङ्गति शान्तिका गजलका विषय बनेका छन् । रदिफ र काफिया मिलेका गजल सुन्दर बान्कीका छन् । उनका गजलमा कोमल छन्, शृङ्गारप्रधान छन् र यिनमा प्रेम प्रसङ्ग बग्रेल्ती भेटिन्छन् ।
सङ्ग्रहको नाम आकर्षक छ । साथै गजल विचार, भाव र शैलीका दृष्टिले समेत परिपक्व देखिन्छन् । मनुष्य चोला क्षणिक हो । तर मनुष्य आफूलाई अन्य जीवको तुलनामा सर्वश्रेष्ठ ठादन्छ । जीवन उपभोग गर्ने क्रममा अनेक चर्तिकला विचित्र रूपमा प्रदर्शित गर्दछ । तथापि धेरैले जीवन केहो बुझेकै हुन्नन् । जीवनलाई बुझ्नेहरूले मात्रै सकारात्मक सोच बोकेर हिँड्छन् । एकबारको चोलामा यो जगतका सबै प्राणीको हितमा काम गर्नु नै यो जीवनको प्राप्ति हो । लगनशील मनुष्यले सही र खराब छुट्याउनु सक्नु पर्दछ । सकरात्मक सोचको विकास गर्नाले मनुष्य जीवन सुखमय रहन जान्छ भन्ने भाव तलको गजल अंशले दिन्छ ः
जीवनसँग हार खाई योगी बनेपछि
बैरागलाई राग भन्ने पनि देखेँ मैले ।
आफूखुसी हुन अरूलाई दुःख दिने
स्वार्थलाई त्याग भन्ने पनि देखेँ मैले ।
० ० ०
तेरो मेरो भन्न छाडी हाम्रो भन्दै जुटौँ सबै
स्वार्थ हैन आत्मीयता भुलाउन सक्नुपर्छ ।

हिंसाभित्र देश डुब्दा जे नहुने त्यही भयो
अब सबै तिक्ततालाई भुलाउन सक्नुपर्छ ।
समाजमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा नारीमाथि चरम दमन र शोषण हुने गरेका छन् । सो दमनलाई सहन नसकेपछि मुख खोल्न र विद्रोह ओकल्न बाध्य हुनु पर्छ ः
किन बोल्नुप¥यो तिमी अभाव बोलेकै छ,
आज पनि नारीमाथि दबाब बोलेको छ ।

अधिकार दिएँ भन्छौँ अधिकारभित्र हेर,
घमण्ड र दम्भको त्यो नकाब बोलेकै छ ।

मुलुकमा प्रजातन्त्र स्थापना हुनुभन्दा अगाडि चुलाचौकामा सीमित रहन्थे नारी । राणाकालीन अवस्थामा झन लोग्नेको मृत्यु भएमा स्वास्नीमान्छेलाई ज्युँदै सति जानुपर्ने बाध्यता थियो । पछि त्यो कुरीतिको तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरले अन्त्य गरे । अहिले त्यस्तो छैन । जुनसुकै क्षेत्रमा महिलाको प्रतिनिधित्व उल्लेखनीय रूपमा भइरहेको छ । संविधानमै यस कुराको सुनिश्चितता गरिएको छ ।
समाजमा आवश्यक चेतनाको अभावले गर्दा महिलामाथि घरेलु हिंसा, बलत्कार, बेचबिखन जस्ता घटनाहरू अहिले पनि हुने गरेका छन् । तसर्थ नेपाली समाजमा महिलामाथि हुने समस्यालाई सुल्झाउन आत्मविश्वासका साथ लाग्नुपर्ने सन्देश तलको गजल अंशमा छ ः
दस नङ्ग्रा खियाएर पौरख गरिखाने,
पराई दैलो नढुक्ने म नेपाली छोरी ।
० ० ०
देशको निम्ति ज्यानै बाजी लगाएर लड्ने
डराएर नलुक्ने म नेपालकी छोरी ।

विश्वका जुनसुकै देशमा पनि भन्नलाई त भनिन्छ, पुरुष र महिला बराबरी हुन् । केही देशहरूमा छिटफुट रूपले महिलामैत्री कानुन बनेको पाइन्छ । यद्यपि, महिलाका हितमा बनेका कानुन पनि व्यवहारतः कार्यान्वयन भएका देखिँदैनन् । धेरैजसो देश पुरुष प्रधान छन् । विशेषतः महिलालाई दोस्रो दर्जामा नै राख्ने गरिन्छ । त्यसो त मानवीय संसारलाई डो¥याउन पुरुष र महिलाको सहकार्यले मात्र सम्भव छ । यति हुँदाहुँदै पनि महिलालाई बच्चा उत्पादन गर्ने मेसिनको रूपमा लिने गरिएको पाइन्छ ।
संकुचित सोचाइबाट हाम्रो समाज माथि उठ्न सकेको छैन । घरव्यवहार सञ्चालनका लागि महिलाको भूमिका अहम् रहन्छ । महिलालाई देवीको रूपमा लिँदा पनि खासै फरक पर्दैन । हाम्रो समाजमा लोग्नेस्वास्नीबीच प्रगाढ सम्बन्ध रहेको हुन्छ । विश्वासमा नै सम्बन्ध स्थापित भएको हुन्छ । यति हुँदाहुदै पनि महिला पुरुषदेखि पीडित छन् । यद्यपि, दुईबीच मनमुटाव भएमा कानुनी रूपले छुट्टिन अर्थात् स्वतन्त्र भई बस्न पाउने व्यवस्था छ । छुट्टिनका लागि महिलाले चाहेमा मात्र संभव हुन्छ । महिलामाथि हुने सबै खाले समस्याहरूलाई गजलकारले गजलमा यसरी प्रस्तुत गरेकी छन् ः
माया गरेजस्तो गर्छौ मरेँ भने अर्की ल्याउँछौ
केही महिना आफै थला परेँ भने अर्की ल्याउँछौ ।

तिमीविना मेरो कुनै संसार छैन भने पनि,
मन चोर्न ठूला अाँखा तरेँ भने अर्की ल्याउँछौ ।
० ० ०
एकैछिन नदेखेमा मर्छु भनी कसम खाने,
घुर्कीलाई ओराली म मरेँ भने अर्की ल्याउँछौ ।
प्रायःजसो गजल प्रेम र प्रणयमा लेखिएको पाइन्छ । प्रस्तुत सङ्ग्रमा प्रेम, प्रणय, रोदन, बिछोड, संयोग, वियोग, स्वीकार, त्यागजस्ता भावका गजलहरूले प्रशस्त स्थान पाएका छन् ः
चोखो माया छोडी पछुताउँदै रुनु पर्ला,
अमृतमा आफै रिसाएर कहाँ जान्छौ ।
० ० ०
हजारौँको भीडमा पनि मौन हुन्छ मान्छे
उसैसँग हुन्छ कुरा जसलाई मनले खान्छ ।
० ० ०
पर्खी बस देउरालीमा आउँछु मायालु
तिमीसँग चोखो प्रीति लाउँछु मायालु ।
० ० ०
करोडौँ बीचबाट तिमीलाई छानी
मुटुबाट अरूलाई हटाउने मन छ ।
० ० ०
दिन ढलेजस्तै गरी ढल्दै गए आशाहरू
साल्किएको दियालो झैँ जल्दै गए आशाहरू ।
अन्याय र अत्याचार मुक्त देख्न र अनुभूत गर्न कठिन छ । विकसित समाजको तुलनामा अविकसित समाजमा बग्रेल्तीहरू असभ्यता दागहरू देखिन्छन् । समाज परिवर्तनका लागि चेतनाको विकास हुनु जरूरी छ । चेतनाका कारणले मात्रै सभ्यता र समृद्धि सम्भव छ । विकासतिर लम्केको देशका नागरिकको आर्थिक हैसियत उच्चतातर्फ उन्मुख हुन्छ । त्यस्तै अविकसित मुलुकमा गरिबीको रेखा ह्वात्तै बढेको देखिन्छ । हाम्रो देशका नागरिकको आर्थिक स्थिति हेर्दा सन्तोषजनक देखिन्न । समाजका टाठाबाठा भनाउँदाहरूको आर्थिक स्थिति भने कल्पनाभन्दा बाहिर देखिन्छ ।
धनी र गरिबको दुरी आकाश जमिनको फरक देखिन्छ । यस्ता समस्या जोडिने भनेको राजनीतिमा हो । राजनीतिमा हुने गलत संस्कारले गर्दा नै राज्यबाट प्रतिपादित नियम कानुन सही रूपमा कार्यान्वयन हुन पाएका छैनन् । राजनीतिको छहारीमुनि गलत कामले प्रश्रय पाएको छ । दिनदहाडै हत्या, हिंसा, बलत्कार, गुण्डागर्दी, कालो बजारी जस्ता गतिविधिले राज्य नै आतङ्कित भएको स्थिति छ । आस्थाका कारणले नै गैरकानुनी काम गर्नेलाई संरक्षण गर्ने काम भएको छ । राजनैतिक दबाबका कारण नियम कानुन अन्धो बन्न बाध्य भएको छ । समाजमा देखिएको यस्तो बेतिथिलाई गजलकार पोखरेलले यसरी प्रकट गरेकी छन् ः
भ्रष्ट अनि अपराधीको सञ्जाल बढेपछि,
गाह्रो भयो लुटी खाने चण्डाल बढेपछि ।
० ० ०
गरिब देशका गरिब जनता मर्ने भए अब
बाँच्न गाह्रो यो महङ्गी हर साल बढेपछि ।
भारतसँग नेपालको सिमाना जोडिएको छ । सिमानामा स्थायी रूपमा बारबन्देज छैन । अस्थायी बारबन्देज भएको कारणले सिमाना मिचेको विषयले बर्सेनि मतभेद सिर्जना गरिरहन्छ । त्यस्तै, भारतले बल मिच्याइँ गरेर नेपालको भूमि हडपेको कुरालाई पनि उजागार गर्न खोजिएको छ ः
गाह्रो हुन्छ भत्काउन विचार गर आजै,
सिमानामा छिमेकीको पर्खाल बढेपछि ।
० ० ०
सिमानाको कुरा गर्दा ग्लानि हुन्छ आफैलाई,
रोक्ने को छ आफ्नै छोरी–चेलीलाई हर्दाखेरि ।

कोही छैन सुरक्षाको अनुभूति दिन सक्ने,
सुस्तासँगै कालापानी लक्ष्मणपुर डर्दाखेरि ।
नेपालमा निरङ्कुशताका विरूद्ध लामोसमय लडे सबैले । राणाशासन, पञ्चायत र राजसंस्थालाई नै अन्त्य गरी मुलुकमा प्रजातन्त्रको स्थापना गरे । फरक विचार धर्म, संस्कृति तथा समुदाय भए तापनि तानाशाहका विरूद्धमा गोलबन्ध भई सङ्घर्षमा उत्रेका थिए । धेरैले बलिदानी दिए । अहिलेसम्म पनि अपाङ्गता भई बाँचेका छन् योद्धाहरू । यसरी नै मुलुकमा सङ्कट आइपर्दा चनाखो भई लाग्दै आएकाहरूको मन कुँडिएको छ । शासनसत्ताहरू परिवर्तन भए तर सोचे अनुरूप परिवर्तन हुन नसक्दा आम जनता निराश देखिन्छन् । तसर्थ सङ्घर्षको उपलब्धीलाई संस्थागत गर्न सके मात्र शान्तिको दीप प्रज्ज्वलित भइरहने थियो भन्ने जस्ता अभिव्यक्ति गजलमा पोखेकी छन् गजलकारले ः
सङ्घर्षको अाँधी–हुरी चलेकै त थियो,
सामान्तीको क्रूर मुटु गलेकै त थियो ।
० ० ०
कति ढाँट्छौ हुतिहारा जवाफ दिन सक्छौ ?
निभ्यो किन ‘शान्ति’ दीप बालेकै त थियौ ।
० ० ०
देशभन्दा ठूलो कोही हुन्न यहाँ जनताको,
ज्वालामुखी फेरि फुट्छ हेर्दै जाऊ मातृभूमि ।
० ० ०
नेपालीको मनभित्र विश्वासको बीउ रोप्दै,
आशारूपी कोपिलालाई फुलउन सक्नुपर्छ ।
गाउँ नै गाउँले भरिएको देश हो नेपाल । ग्रामीण बस्तीमा अझै पनि शिक्षा, स्वाथ्य, विद्युत, पुल, खानेपानी जस्ता मान्छेका आधारभूत कुरा पूर्ण रूपमा व्यवस्थित हुन सकेका छैनन् । यद्यपि, प्राकृतिक, धार्मिक, सांस्कृतिक पक्षलाई नियाल्दा सम्पन्न छ गाउँ–बस्ती । बिहानीको पारिलो घामसँगै हिमाल मुस्कुराउँछ । भीरपाखामा लटरम्म फुलेका गुराँसका फूल, चराचुरुङ्गीको आवाज, अनेकन् देवीदेवताका मठमन्दिर, छाँगा, झरना, ताल, खोलानाला, हरिया वनजङ्गल, विभिन्न जातिका संस्कृतिहरूले सुसज्जित छ गाम्रीण बस्ती । पाहुनाहरूलाई गरिने सत्कार एवम् सम्मान सलामयोग्य छ । छलकपट, बेइमानी छैन यहाँका मानिसहरूमा । आफ्नै मेहनत र पौरखी हातहरूले खनी ख्रोस्री गरी पसिना रोपेर अन्न उब्जाउँछन् । यस विषयमा पनि रचिएको छ गजलः
भीरपाखा पहरामा गुराँसको फूल देखेँ
कलकल गरी बग्ने नदीका ती मूल देखेँ ।

सुन्दर यो देशभित्र थरिथरि देवताका
सजिएका टुँडाल अनि त्रिशूल देखेँ ।
समग्रमा हेर्दा यस सङ्ग्रहका गजलहरू सामयिक, व्यङ्ग्यात्मक, लयबद्ध हुनुका साथै मिठासपूर्ण छन् । गजलको पूर्णता सङ्गीत र गायनमा हुन्छ । विधि, नियम र भावका दृष्टिले सशक्त छन्सङ्ग्रहका गजल । यी गजलले गजलकार शान्ति अधिकारी पोखरेल एक सचेत र बौद्धिक गजलकारका हुन् भन्न सकिन्छ । सङ्ग्रह पठनीय छ ।

Share Button

First and best news portal from rukum for world.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares