Input your search keywords and press Enter.

रुकुमबाट यसरी शुरुवात भएको थियो जनयुद्ध

मेगराज खड्का
आज २३ औं जनयुद्ध दिवस अर्थात फागुन १ तत्कालिन नेकपा माओबादीले ऐतिहासिक जनयुद्ध शुरु भएको दिन । १२ बर्ष चलेको ऐतिहासिक जनयुद्धका कारण नेपालमा शासन प्रणालीमा परिवर्तन मात्र ल्याएन बिश्व शक्तिकेन्द्र समेत रहेको अमेरिका सम्म रुकुम खारा र आठबिसकोट जस्ता घटनाक्रम सन्देश पुगे । नेपाली जनयुद्ध संसारकै एउटा ईतिहास बन्यो । युद्धमा परेर १५ हजार बढीले ज्यान गुमाए । तत्कालिन जनयुद्धको नेतृत्व गरेको नेकपा माओबादी यहिले शान्ति प्रकृया मार्फत सरकार र सदनमा आएर संसदिय राजनीतिमा छ । त्यस्तै माओबादी केन्द्रले संसदीय ब्यवस्थामा झुलेर जनयुद्धको एजेण्डा भुलेको र जनयुद्धका कार्यभार पुरा गर्न भन्दै बिप्लव नेतृत्वको र मोहनबैद्य नेतृत्वको माओबादी अहिले एकिकृत जनक्रान्तिको अभ्यासमा छन । बेलाबेला हुने चुनाब बहिस्कारमा प्रभाव जमाउने र सक्रिय हुने बिप्लव माओबादी अन्य समयमा भने खासै क्रियासिल देखिदैन । नेकपा माओबादी र नेकपा एमाले मिलेर एकिकृत सिंगो कम्युनिष्ट पार्टीको अभ्यास पनि अन्तिम चरणमा पुगेको उद्घोष भैरहेको छ ।

यसरी शुरु भएको थियो रुकुमबाट जनयुद्ध
२०५२ माघ २९ गते सोमबार दिनभर रुकुमको दुली–१, स्थित साँरदुलामा रहेको एउटा घरको तल्लो कोठामा दिनभर युद्धको योजना बनाइयो । तत्कालिन नेकपा–माओवादीले घोषणा गरेको जनयुद्धको पहिलो कारवाहीका स्वरुप आठविसकोट राडिमा रहेको इलाका प्रहरी चौकी कब्जाका अनेकन विषयमा छलफल भएको थियो । जनयुद्ध घोषणा पछिको पहिलो कारबाहीको निशानामा थिए रुकुमको आठविसकोट, रोल्पाको होलेरी र सिन्धुली जिल्लाको सिन्धुलीगढी प्रहरी चौकी । आठविसकोट इलाका प्रहरी कार्यालय आक्रमणको राजनीतिक कमाण्डर थिए हालको एकीकृत नेकपा माओवादी त्यागी बिप्लव माओबादीमा लागेका हेमन्तप्रकाश ओली सुदर्शन र फिल्ड कमाण्डर थिए पुर्ब मन्त्री समेत भएका गणेशमान पुन रश्मी । साँरदुलाको प्रशिक्षणले कुनै तालिम विनै प्रहरी चौकी आक्रमण गर्ने मानसिकता सबैमा खडा गरिदिएको थियो ।

आक्रमण गर्ने टोलीका सदस्यलाई प्रशिक्षण बाहेक अन्य तालिमको व्यवस्था केही थिएन । माघ २९ गते दिनभर सोही घरको तल्लो तलामा ईलाका प्रहरी कार्यालय कब्जाको तयारी, आवश्यक बन्दो वस्त, म्याप अध्ययन, ईप्रकामा सम्भावित जनशक्ति लगायतका विषयमा प्रशिक्षण सुदर्शन र रश्मीले प्रशिक्षण दिए । दिनभरको प्रशिक्षणपछि फिल्ड कमाण्डर गणेशमान पुनको नेतृत्वमा ईलाका प्रहरी कार्यालय आठविसकोट आक्रमणका लागि माओवादीका लडाकुहरु साँरदुलाबाट अघि बढेका थिए । साँरदुलाबाट आठविसडाँडागाउँ गाविसमा पुगेर बेलुकीको खानापछि अघि बढेका उनीहरुले राती ११ बजे ईप्रका आक्रमणका निम्ती राडी पुग्छन् । हाते माइक मार्फत कमाण्डर गणेशमान पुनले प्रहरीलाई आत्मसमर्पनका निम्ति काशन गर्छन् । काशनसंगै अन्य पनि आ–आफ्नो आर्कबाट प्राप्त निर्देशन बमोजिम अघि बढ्छन् । करिव दुई घन्टापछि ईप्रका पूरै कब्जा हुन्छ । त्यहाँ रहेका सम्पूर्ण बन्दोवस्तीका सामान पनि उनीहरुले कब्जामा लिन्छन् । प्रहरीलाई सम्झाई बुझाई गरी जनयुद्ध जिन्दाबाद जस्ता नारा लगाउँदै माओवादीहरु आफ्नो सेल्टरतिर हिड्छन् । माघ २९ गते राती ११ बजे चौकी आक्रमणको निम्ती राडी पुगेका उनीहरु फागुन १ गते बिहान ३ बजे सफल भएर फर्किए ।

पहिलो आक्रमणमा कस्ता हतियार प्रयोग
जनयुद्धको थालनीको पहिलो आक्रमण मध्यको एक आठविसकोट ईलाका प्रहरी कार्यालय आक्रमणमा घंगारुको लठ्ठी, घरेलु हतियार सावेल, गैंती, बेल्चा, घन, सहित केही थान बार बोर बन्दुक, केही थान भरुवा बन्दुकको साथै एउटा राइफल पनि लिइएको थियो । यद्यपी त्यो जनयुद्धको पहिलो लडाईमा कुनै पनि हतियार फायर भएन । जनयुद्ध थालनीको पहिलो आक्रमणमा कसैको हताहती भएन । माओवादीहरुको योजना पनि प्रहरीको हत्या गर्नु नभई चौकी कब्जा गर्नु र उनीहरुलाई सम्झाउनु मात्रै थियो । चौकी कब्जाबाट थ्री नट थ्री राइफलको गोली, डाइनामाइट, फ्यूल वायर, अन्य बन्दोवस्तीका सामग्रीहरु माओवादीले कब्जामा लिए । त्यसबाहेक त्यहाँ अन्य हतियार नभएका कारण कब्जा हुन सकेन र माओबादीले पनि सोचेअनुसारको हतियार कम्जा गर्न सकेन । प्रहरी कर्मचारीको तलव बुझ्न सदरमुकाम पुगेका प्रहरीले हतियार पनि संगै सदरमुकाम ल्याएपछि चौकी हतियार बिहीन थियो । प्रहरी चौकीमा भएको विभिन्न निवेदन मुद्दामामिलाका कागजात पनि आक्रमणको क्रममा नष्ट गरिएको थियो । प्रहरी चौकी आक्रमण गर्न दुई दर्जन बढी माओबादी थिए । सफल आक्रमणको निम्ती विभिन्न समूह विभाजन गरिएको थियो । जनयुद्धको पहिलो आक्रमण कुनै कारणवस असफल भयो भने जनयुद्धको आगामी बाटो असहज पनि बन्नसक्ने सोचाईले जीतको पुर्ण आत्मबिश्वास साथ युद्ध प्लान बनेको थियो । त्यसैले पनि आक्रमण सफल बनाउन विभिन्न समूह निर्माण गरिएको थियो । विशेष गरी समूहले पाएको आफ्नो जिम्मेवारी पूरा गर्नैपर्ने थियो । रुकुम खाराका दौलतराम घर्ती, विजय घले जो २०५३ मंसिर ३ गते डोल्पाको त्रिवेणि प्रहरी चौकी कब्जा गर्ने क्रममा सहिद भए । उनले आक्रमण समूहको कमाण्डिङ गरेका थिए । उनको समूहको मुख्य जिम्मेवारी चौकीमा रहेको स्टोर कब्जा गरेर हतियार कब्जा गर्नु थियो । रिजर्भ समूहका कमाण्डर थिए महेश्वर गहतराज अथक उनको समूहले युद्ध सामग्री सकिएको खण्डमा थप मद्दत गर्ने जिम्मेवारी पाएको थियो । यज्ञश्वर शर्मा ‘बारुण’लाई एसल्ट ग्रुपको कमाण्डर बनाइएको थियो भने मेघबहादुर श्रेष्ठ महेश स्टकीङ समूहका कमाण्डर थिए । (ईलाका प्रहरी चौकी आठविसकोट आक्रमणमा सहभागी पहलसिङ घर्तीमगर ‘ज्वलन्त’संग पत्रकार हरि गौतमले गरेको कुराकानी संक्षेप । ज्वलन्त समग्र टीम अन्तर्गतको आक्रमण समूहको सदस्य थिए ।)

आठबिसकोट चौकी आक्रमण पछि..
रुकुम र रोल्पा सहितका केहि चौकी आक्रमणपछि औपचारिक रुपमा तत्कालिन माओबादीले जनयुद्ध शुरु गर्यो । सरकार पनि युद्धका लागि तयारी अवस्थामा भएर आफ्नो पुरै शक्ति लगायो । माओबादी जनयुद्ध सोचेभन्दा बढी फैलिएपछि नेपाल प्रहरीका सगै शाहि नेपाली सेना सहित बिदेशी सेना माओबादी युद्धका लागि उतार्यो । यद्धक्रममा रुकुमको खारा आर्मी ब्यारेक पनि निकै चर्चाको बिषय बनेको थियो । माओबादीले देशका बिभिन्न ठाउँमा रहेका ठुल्ठुला सरकारी सुरक्षाकर्मीको ब्यारेकहरु कब्जा गरेपनि खारा भने तिन पटक आक्रमण हुदा पनि कम्जा भएको थिएन । जसमा माओबादीको ठुलो क्षति पुगेर शान्ति प्रकृयातर्फ माओबादी आन्दोलन मोडिएको पनि राजनीतिक बृत्तमा बहस चल्छ । हेर्नुहोस यस्तो छ खारा आर्मी ब्यारेक


जनयुद्धताका माओबादीले सरकारी सुरक्षाकर्मीको ब्यारेक कब्जाको तत्कालिन जनगणतन्त्र रेडियोबाट पनि प्रत्यक्ष प्रशारण गर्ने गरेको थियो भने युद्धपत्रकारहरुले त्यसको दृष्य छायांकन समेत गरेर केहि डकुमेन्ट्री समेत बनाएका छन । जुन केहि युट्युवमा समेत राखिएका छन । रणनैतिक प्रत्याक्रमणको दोस्रो योजना शिर्षकमा जनमुक्ति सेना नेपालले तयार पारेको यस दृष्य सामाग्रीले पनि युद्धबारे धेरै कुरा जान्न र बुझ्न सकिन्छ । ५० मिनेटको यस सामाग्रीमा युद्धका प्रत्यक्ष घटनाक्रम र आन्दोलन तयारीको सम्पुर्ण जानकारी छ । हेर्नुहोस सामाग्री

युद्धताका सास्कृतिक मोर्चाको पनि निकै महत्वपुर्ण भुमिका थियो । माओबादी पार्टीको बिचार र धारणा जनस्तरसम्म फैलाउन माओबादी पार्टीले बिभिन्न सांस्कृतिक कार्यक्रम र नाटकहरु प्रदर्शन गर्ने गरेको थियो । सरकारी सुरक्षाको डरबिच पनि रुकुम रोल्पाका जनताहरु लुकिलुकि त्यस्ता गीत संगीत रुचाउने, सुन्ने र हेर्ने गर्थे । सुन्नुहोस त्यसताका केहि चर्चित गीतहरु

Share Button

First and best news portal from rukum for world.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares