डिल्ली बहादुर खत्री
चौरजहारी : पश्चिम रुकुम चौरजहारी नगरपालिकामा निर्माणाधीन अवस्थामा रहेको चौरजहारी टार सिँचाइमा कामको जिम्मा लिएको ठेकेदार कम्पनीले १ बर्ष बित्दा पनि डिजाइन नपाउँदा समयमा काम सम्पन्न गर्न समस्या भएको छ । सन २०१७ फेब्रुअरीमा सम्झौता भएको योजना २०१९ फेब्रुअरीमा सम्पन्न गरिसक्नुपर्ने छ ।
तर १ बर्ष बितिसक्दा समेत निर्माण कम्पनीले सिँचाइ बिभागबाट योजनाको पुर्ण डिजाइन नपाउँदा प्रभावकारी काम हुन नसकेको हो । १० करोड बढीको उक्त आयोजना निर्माणको जिम्मा बज्र ग्रुप प्रालिले पाएको थियो । पटकपटक बिभागका कर्मचारीहरु आएर मौखिक रुपमा मात्र टुक्रे डिजाइन दिने गरेको र त्यहिअनुसार काम भैरहेको निर्माण कम्पनीका सहायक सुपरभाइजर सोमनाथ थकालीले बताए । ‘हामीले एकमुष्ट लिखित रुपमा डिजाइन पाएका छैनौं त्यसकारण काम गर्न समस्या भएको छ’ उनले भने, ‘कहिलेकाहीँ लामो समयसम्म बिभागका कर्मचारी नआउँदा काम रोखिने र मौखिक रुपमा दिइएको स्टमेट अनुसार पछि पास हुन्छ कि हुदैन भन्ने नै शंका समेत हुने गर्दछ ।’
डिजाईन नपाएर एकैपटक ठुलो मात्रामा कामदार लगाएर समयमै काम पुरा गर्न आफुहरुले नपाएको निर्माण कम्पनीको भनाई रहेको छ । तत्काल डिजाइन प्राप्त भयो भने सहमति भएकै समयमा काम सम्पन्न हुने तर डिजाइन आउन सकेन् भने सहमतिको समयमा काम सम्पन्न नसकिने उनीहरुको भनाई छ । चौरजहारी क्षेत्रमा सिंचाई सुबिधा का लागि निर्माण शुरु भएको योजनाको काम अहिलेसम्म २५ प्रतिशत मात्रै भएको बताइएको छ ।

election adv.

https://www.facebook.com/aahasanchar.weekly/posts/844458092401020

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto