Input your search keywords and press Enter.

‘मन्दाकिनी’बारे केही चर्चा

  • श्रीराम श्रेष्ठ

स्रष्टा सिर्जना शर्मा मुक्तक सङ्ग्रह ‘मन्दाकिनी’ लिएर आएकी छन् । तीन सय पन्ध्र थान मुक्तक समाविष्ट सङ्ग्रह उनको पहिलो कृति हो । प्रस्तुत मुक्तकहरूमा विविधता, स्तरीयता, मौलिकता तथा लयात्मकता सबै पाइन्छ । विशेषतः स्रष्टा शर्माले प्रेम, प्रणय, रोग, भोक, पीडा, सामाजिक असन्तुष्टि, राजनैतिक व्यङ्ग्य, विश्वास, अन्याय, अत्याचार, हत्या, शान्ति जस्ता विषयवस्तुलाई केन्द्रित गरेर लेखिएका मुक्तकहरू चोटिला तथा मर्मस्पर्शी छन् ।

मान्छेको जिन्दगीमा उतार चढाव आउँछ । जीवन जिउनु नै कला हो । चतु¥याइँ गरेमा सुखी भइन्छ । बेवास्ता गरी बस्दा दुःख निम्तन्छ । प्रत्येक मानिसले सुखदुःखलाई चिन्ने अवसर नजिकबाट प्राप्त गर्छ । सुख भएमा मात्तिने र दुःख भएमा आत्तिने कुरा हुँदैन । आफ्नो जीवनलाई बुझ्ने प्रयास गर्नु पर्दछ । मान्छेको जीवन क्षणिक छ । चलचित्रको कथा परिवेशलाई जस्तै संयोजन गर्न कठिन छ । मनभित्र पीडा, तनावले ग्रसित तर बाहिरी रूपमा सुसम्पन्न भएको अर्थ रहँदैन । मान्छेको सोच सदैव सकारात्मक राख्नु पर्दछ । यसो गरेमा जीवनमा आइलाग्ने दुःखलाई पनि सहज रूपमा लिइँदै सुखीको अनुभूति गर्न सकिन्छ । मान्छेको जीवनको अन्त्य नै दुःख हो । अर्थात् मान्छेको जिउने क्रममा सुखभन्दा दुःखको अनुभूति साउने भेल जस्तै गरी आइदिन्छ ।
कहिले हाँसो कहिले रोदन जिन्दगीको खेल कस्तो
खुसी जीवन स्वर्गसरी दुःखी जीवन जेल जस्तो
कहिले उतार कहिले चढाव आफ्नो स्वार्थ पूरा गरी
उर्ली बग्छ थर्काइ बस्ती साउनको भेल जस्तो ।
० ० ०
चलचित्र जस्तो होइन जिन्दगीको कथा बेग्लै
सहनुपर्ने रैछ आखिर भए जति व्यथा एक्लै
कागजको त्यो फूलबाट सुगन्धको आश गर्छौ
मर्दा लान कसले सक्छ भन जयाजेथा भलै ।

नेपाली चेलीहरू विशेषतः भारत र खाडी मुलुकहरूमा बेचिने क्रम जारी नै छ । दिन प्रतिदिन चेलीबेटी बेचबिखन कार्य भुसको आगो सल्के सरी भएको छ । चेलीबेटी बेचबिखन गर्दा प्राप्त भएको रकमले घर खर्च चलाउने र ऐस आराम गर्ने प्रवृत्ति मौलाएको छ । विशेषतः काममा लगाइदिने, डर, त्रास एवम् धम्की देखाएर तथा नाटकीय ढङ्गले विवाह गरेर पनि बेचबिखन हुने कार्य भएको छ । बेश्यालयबाट फर्किएका चेलीबेटी र रोजगारीका लागि खाडी मुलुकमा जाने आउने क्रम जारी छ । तिनीहरूबाट नै एड्स रोग भित्री मुलुकलाई नै त्रासद बनाइरहेको अवस्था छ । अतः चेलिबेटी बेचबिखन कार्यलाई निरुत्सहित गर्नु पर्दछ भन्ने सन्देशमुलक भाव कवि शर्माले यसरी व्यक्त गरेकी छिन् ।
ललाई फकाई देशकी चेली कोठीतिर पु¥याएछ
देखाएर सपना खाडीतिर पु¥याएछ
दलाल पनि आफ्नै गाउँको चेलीबेटी बेची
आफू भागी बिचरीलाई एड्स रोग भिराएछ ।

समाजमा देखिएको वास्तविकतालाई कविले जोडदार रूपमा उठाएका छन् । गरिबी, अशिक्षा र बेरोजगारका कारण समाजका युवाहरूले गति छाड्ने काम गरेकाले मुलुकको प्रतिष्ठामा आँच आएको कुरालाई निकै सशक्त रूपमा उठाइएको छ ।
विकृति र विसंङ्गतिले छायो देशभित्र
अत्याचारले अत्यन्तै ठाउँ पायो देशभित्र
युवाहरू बरालिई सडक–गल्ली हिँड्दै छन्
बेरोजगारी महँगीले खायो देशभित्र ।
वीरताको गाथाले सजिएको देश हो नेपाल । मातृभूमिको रक्षा गर्नु नागरिकको कत्र्तव्य पनि हो । आफूभन्दा आफ्नो जन्मभूमि सबैलाई प्राणभन्दा प्यारो हुन्छ । नेपालको विगतको इतिहासलाई केलाउँदा थुप्रै उदाहरणहरू भेटिन्छन् । शत्रुहरूले आफ्नो मातृभूमिप्रति गिद्धे दृष्टि लगाउनु स्वभाविकै हो । धेरैपटक वीर नेपालीहरूले आफ्नो मातृत्व रक्षाका लागि प्रतिकार स्वरूप हातमा घरेलु हतियार लिई युद्ध गरेका छन् । आफै मरेका छन् भने अरूलाई मारेका पनि छन् । सदैव आफ्नो जन्मभूमिको पहरेदारी गरी वीरत्व प्रदर्शन गरेका छन् । संसारमा नेपालीलाई गोरखाली अर्थात् बहादुर भनेर चिनिन्छ । यो गर्वको विषय हो । पुर्खाले आज्र्याको मुलुकको अपनत्व गर्दै व्यक्तिगत स्वार्थभन्दा माथि रही यो मुलुकको गरिमालाई उच्च राख्ने गतिविधिमा समाहित हुनु पर्दछ जीवन रहेसम्म ।
कति ढाल्यो शत्रुलाई नेपालीको पाखुराले
लुटिँदैथ्यो अस्मिता नचाएथ्यो खुकुरीले
बली दिई देशलाई बचाएको नेपाल यो
चिनिरा’छ आज देश अग्ला हिमाल टाकुरीले ।
० ० ०
यदि देशले रगत मागे मेरो प्राण चढाइदिनू
कसै गरी भए पनि देशको माटो बचाइदिनू
छातीभरि देश राखी मुटुले ज्यान अर्पिदिँदा
कति रोयो मेरो देश अब भने हँसाइदिनू ।
० ० ०
धर्ती माता अब तिम्रो कसम खाई भन्छु
मेरो देश जय–जय झण्डा समाई भन्छु
यहीँ जन्मेँ केही गर्छु देश बचाउँछु
हट्ने छैन पछि म माटो छोई भन्छु ।
आधा आकाश ढाक्ने महिलाहरूको शैक्षिक, आर्थिक, स्वास्थ्य, सामाजिक जस्ता सबैजसो ठाउँमा पुरुषभन्दा महिला पछि नै परेको देखिन्छ । आज महिलाको अधिकारलाई सुनिश्चित गरिएको छ यद्यपि कार्वान्वयनको पक्ष पितलो भएको छ । महिलाको पहुँच पुरुषसरह हुन सकेका छैनन् । चुलो र चौकामा सीमित भएका महिलाहरू स्वतन्त्र हुुन सकेका छैनन् । घरेलु हिंसाबाट पीडित छन् महिलाहरू । रोग र भोकसँग पौँठाबाजी गर्दै बाँच्न विवश छन् । पीडा, वेदना, दुःख रोदनलाई पचाउँदै परिवार, समाज र राष्ट्रप्रतिको दायित्व बहन गर्न पछि परेका छैनन् महिलाहरू ।
आधा आकाश ओगट्दा नि अधिकार हुनु प¥यो
अन्याय र दमन मात्रै सम्झिएर रुनु प¥यो
भालेको डाकोसँगै पिठ्यूँभरि भारी बोकी
कस्तो भाग्य भयो मेरो अाँसुले मुख धुनु प¥यो ।
मान्छेको जीवनलाई सार्थक तुल्याउन शिक्षाको भूमिका अहम् हुन्छ । आफ्नो राज्यका सबै नागरिकलाई शिक्षित बनाउने राज्यको दायित्व हुन जान्छ । जीवन उपयोगी शिक्षा नै फलदायी हुन्छ । हाम्रो मुलुकको शिक्षा बेरोजगार उत्पादन गर्ने थलो सावित भएको व्यङ्ग्य प्रहार कवयित्री शर्माले यसरी गरेकी छन् ।
योग्यताको सर्टिफिकेट मेरो हातमा परेकै छ
युवा जोसको तातो रगत शरीरभरि बगेकै छ
काम कतै पाइएन बेरोजगारी भइयो
ऋण काटी भए पनि जिन्दगी त चलेकै छ ।
विश्वको भूगोलमा नेपाल एक सानो देश हो । सीमित सहरीकरणले मान्छेको जीवन सहज भएको छ तर अधिकांश भूगोल विकट भएकाले गर्दा जीवन कष्टकर नै छ । राज्य पक्षले मुलुकको सबै भूगोलमा समानुपातिक तरिकाले राज्यशक्तिको बाँडफाँड गर्न नसक्नाले पिछडिएका वर्गहरूको मन विद्रोही भएको थियो । विद्रोही पक्ष र राज्यबीचको मिलनको दुरी बढ्न जानाले तँछाड मछाडको स्थिति पैदा भयो । हत्या हिंसाको दुःखद् घटना घट्न पुग्यो । लामो समयसम्म शान्तिको सास फेर्न पाइएन । दिन र रात कसरी कटाउने भन्ने स्थिति आइलाग्यो । दुरदराजमा रहेकाहरूका लागि जीवन झन कष्टकर बन्दै गयो । बितेका ती दिनहरूलाई सम्झँदै मुक्तककार शर्मा आपसमा मिलिजुली अगाडि बढेमा सबैको हित हुन जान्छ भन्ने भाव व्यक्त गर्छिन् ।
अति रोयो रूकुम रोल्पा सिर्जियो धर्ती रगतले नै
धिक्कार गयो आखिरीमा फिर्दै हिँड्न बखतले नै
मिलेर बसौँ हामी त्यो दिन फिर्ता नहोस् अब
अाँगनभरि लास देख्दा अाँसु छाड्थ्यो जगत्ले नै ।
० ० ०
भाइ भाइ एक हामी विवादमा आउन हुन्न
कोही काखा कोही पाखा पर्न पनि पाउनु हुन्न
जिम्मेवारी बराबर हुन्छ मातृभूमि जननीमा
मातालाई नै चोट पुग्ने आरोप लगाउनु हुन्न ।
मान्छेको जीवन लीला नै सुखदुःखको मञ्चन हो । सुख निम्तिँदैमा मात्तिनु र दुःख निम्तिँदैमा आत्तिनु हुँदैन । सुखभन्दा दुःख बढी निम्तन्छ । विवेक नगुमाईकन सबै खाले समस्याहरूलाई अँगाल्दै अगाडि बढ्नुको विकल्प केही छैन । खास गरेर नेपालमा बाढी पहिरो साथै भूकम्पका कारणले धनजनको क्षति व्यापक हुन गयो । प्राकृतिक विगतले हाम्रा प्राकृतिक, ऐतिहासिक संस्कृति जस्ता सम्पदाहरू पनि तहस नहस भएका छन् । मुलुकलाई चिनाउने धार्मिक सम्पदा र पर्यटकीय स्थलहरू भनावशेषमा परिणत भएका छन् । विपत्तिले गर्दा गाउँ र बस्तीहरू बगर बनेका छन् । गाउँ नै मानवरहित बन्न पुगेको छ । तसर्थ हामी नेपालीको आत्मीयता सदैव जोडिनु पर्दछ । पूर्व मेचीदेखि महाकालीसम्मका सदैब सबै नेपाली एक हौँ । एकले अर्काको दुःखमा मलमपट्टी लगाउनु पर्दछ ।

ढिला गर्ने बेला छैन निर्माणमा जुट्नु पर्छ
पुरातत्व धरोहर हो इतिहासमा खट्नु पर्छ
विपत्तिको मारमा छौँ सिङ्गो देशै दुखेको छ
नेपाली हौँ सारा हामी दुःख पीडा छुट्नुपर्छ ।
समग्रमा कवि शर्माले मुक्तक सिद्धान्तलाई अक्षरस पालन गरेको देखिन्छ । तसर्थ शर्माले आफूलाई मक्तककारका रूपमा उभ्याउने प्रयत्नमा सफलता प्राप्त गर्न सकेकी छन् । उनका मुक्तकहरू पठनीय छन् ।

Share Button

First and best news portal from rukum for world.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares