Input your search keywords and press Enter.

दुई पहाडी जिल्लाका सदरमुकाम सडक सञ्जालमा, म्याङ्लुङदेखि फिदिमसम्म सिधा यातायात

तेह्रथुमको माझीटार–पोक्लाबाङ कृषि सडकको बाटो खोलेसँगै कोशी र मेची अञ्चलका दुई जिल्ला तेह्रथुम र पाँचथरका सदरमुकाम सडक सञ्जालमा जोडिएका छन् ।

सडकको बाटो खोलेपछि कोशी पहाडी जिल्ला तेह्रथुमको सदरमुकाम म्याङ्लुङ र मेची पहाडी जिल्ला पाँचथरको सदरमुकाम फिदिम सडक सञ्जालमा जोडिएका हुन् ।

यही साताबाट व्यवसायीले म्याङ्लुङदेखि फिदिमसम्म सिधा यातायात सेवासमेत सञ्चालन गरेका छन् । म्याङलुदेखि फिदिमसम्म र फिदिमदेखि म्याङलुङसम्म दैनिक एक/एक वटा ट्याक्सी सञ्चालन भइरहेका छन् । कच्ची सडकबाटै भए पनि सवारी सञ्चालन हुन थालेपछि म्याङ्लुङबाट धनकुटा, सुनसरी, मोरङ र झापा हुँदै इलाम उक्लिएर फिदिमसम्म पुग्नुपर्ने बाध्यता हटेको छ ।

एकफन्को मारेर फिदिम पुग्नुपर्ने अवस्थामा ट्याक्सी सञ्चालन हुन थालेपछि यस क्षेत्रका यात्रुलाई सुविधा मिलेको छ । लामो समयपछि दुई जिल्ला सदरमुकामलाई यातायात सञ्जालले जोडेपछि दुवै जिल्लावासीलाई सहज भएको छ । सवारी साधन सञ्चालन नहुँदा म्याङ्लुङ र फिदिम आवतजावत गर्दा पाँच जिल्ला हुँदै महँगो भाडा तिरेर यात्रा गर्नुपर्ने बाध्यता थियो भने कम्तीमा पनि दुई दिनको यात्रा तय गर्नु पर्दथ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *